अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड अर्को साता आउँदै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड अर्को साता आउँदै

जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउँदै छिन् । परराष्ट्र स्रोतका अनुसार नुल्यान्डले माघ १५ र १६ मा नेपालको भ्रमण गर्ने तय भएको छ ।

पुस १३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ वामपन्थी सरकार बनेपछि विदेश मुलुकबाट नेपालमा हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो ।

उपमन्त्री नुल्यान्ड बदलिँदो भूराजनीतिक परिवेशमा नेपालको भ्रमण गर्दै यहाँको वस्तुस्थिती बुझ्न र नयाँ सरकारसँग सहकार्य गर्नका लागि आउन लागेको परराष्ट्रका एक अधिकारीले बताए । उनले प्रधानमन्त्री दाहालसहित एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन, परराष्ट्र मन्त्री विमला राई पौड्याललगायतलाई भेट्ने छिन् । स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने बारेमा भने टुंगो लागिसकेको छैन ।

नेपालमा सरकार गठनलगत्तै प्रधानमन्त्रीको दुई छिमेकी मुलुकहरू भारत र चीन भ्रमणको विषयमा बहस भइरहेको बेलामा अमेरिकाबाट भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भने भ्रमणको बारेमा गृहकार्य भइरहे पनि मितिको सम्बन्धमा अन्तिम टुंगो लागिनसकेको बताइन् ।

स्रोतका अनुसार अमेरिकी उपमन्त्री नुल्यान्डको भ्रमणको विषयमा आज वा भोलिसम्म वासिङ्टन डीसीबाटै विज्ञप्ति जारी गरी भ्रमणको जानकारी सार्वजनिक हुनेछ ।

परराष्ट्रका एक अधिकारीका अनुसार यो भ्रमणमा मुख्य गरी अमेरिकाको अनुदान सहयोगमा अघि बढेको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) को सहयोगमा भइरहेको कामको बारेमा छलफल हुनेछ । साथै, उपमन्त्री नुल्यान्डले नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि नियोग (यूएसएआईडी) मार्फत भइरहेका र भविष्यमा हुने प्रस्तावको बारेमा पनि छलफल गर्नेछिन् ।

साथै, भेटवार्ताहरूमा अमेरिकी मन्त्री नुल्यान्डले अमेरिकाको प्राथमिकतामा रहेका विषयहरु मानव अधिकार, प्रजातन्त्र, शरणार्थीलगायत विषयमा कुरा गर्ने अनुमान गरेको परराष्ट्रका ती अधिकारीले बताए ।

प्रकाशित : माघ ११, २०७९ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्

जसले गाउँगाउँ डुलेर कपडा व्यापार गर्छन्

फिरन्ते व्यापारीले सर्वसाधारणलाई घर आँगनमै सुविधा दिएका छन् भने आफूहरुसमेत स्वरोजगार बनेका छन्
भवानी भट्ट

कञ्चनपुर — पिठ्यूँमा कम्बल–ब्ल्यांकेट र हातमा गलैंचाको भारी । बिहानै कोठाबाट निस्केका २५ वर्षीय जनक महत गाउँ चहार्दै हिँड्छन् । आफूले बोकेका लुगाकपडा बिक्री गरेर साँझपख कोठामा फर्किन्छन् ।

हिउँदे याममा चाहिने कम्बल, ब्ल्यांकेट, फाइबर सिरक र तन्नालगायत कपडा गाउँगाउँमा पुगेर बिक्री गर्नु उनको दैनिकी हो । यसैबाट उनले परिवार चलाएका छन् । महत बिहान झिसमिसेमै खाना खान्छन् । उज्यालो हुनेबित्तिकै कपडाको भारी बोकेर निस्किन्छन् । गाउँ डुल्दै जाँदा कपडा बिक्री भएर भारी हलुका हुँदै जान्छ । साँझसम्म रित्तो हुन्छ । तर कुनै दिन बिहानकै भारी बोकेरै फर्किनुपर्छ ।

चिसो सुरु भएपछि न्याना लुगाकपडा बिक्री गर्न फिरन्ते व्यापारी तराईका गाउँगाउँमा पुगेका भेटिन्छन् । उनीहरूले एकातर्फ घरआँगनमै सुविधा दिएका छन्, अर्कोतर्फ स्वरोजगार पनि बनेका छन् । हुम्ला, जुम्लाबाट वर्षौंदेखि भेडा र च्यांग्राका ऊनबाट बनेका राडी, पाखी, चुटुका, स्विटरलगायत कपडा बिक्री गर्न तराई झर्ने पुर्खाको परम्परासमेत धानेका छन् । ‘यस वर्ष जाडो धेरै भएन, कपडा बिक्री हुन सकेन,’ महतले भने, ‘कात्तिकदेखि माघसम्म मात्रै हो हाम्रो व्यापार हुने, अहिले घाम लागेर गर्मी हुन थाल्यो, अब न्यायो खालका लुगा बिक्री हुँदैनन् ।’ एक सिजनमा ७/८ लाखका लुगा कडा बिक्री हुन्थे । तर यस पटक त्योभन्दा कम बिक्री भएको उनले बताए ।

महत १५ वर्षकै उमेरदेखि बुवा रकम बहादुरसँगै फिरन्ते व्यापारका लागेर तराई झर्थे । जुम्ला सिञ्जाका उनले बुबाकै बिँडो थामे । त्यति बेला बिक्री हुने राडीपाखीको माग कम भए पनि फाइबर सिरक, ब्ल्यांकेट र कम्बलको व्यापारमा लागेका छन् । ‘बुबाका पालामा जुम्लाबाटै हिमाली भेडा–च्यांग्राका ऊनबाट बनेका राडीपाखी बोकेर आउँथ्यौं,’ उनले भने, ‘तर अहिले तिनको माग घट्दै गयो, समयअनुसार मूल्य पनि निकै महँगो हुन्छ, त्यो सामान चिन्ने र त्यसको फाइदा थाहा पाउनेले अहिले पनि खोजिराख्छन् ।’ राडीपाखीको मूल्य जुम्लामै ५/६ हजार पर्छ । त्यहाँबाट कञ्चनपुरसम्म पुर्‍याएर बिक्री गर्दा अझै महँगो हुने भएकाले त्यसको माग कम भएको हो । कैलालीको टीकापुरका १७ वर्षीय विकास न्यौपाने पनि साइकलमा कपडा बोक्दै गाउँ गाउँ डुलिरहेका भेटिन्छन् । कालीकोटबाट टीकापुर बसाइँ सरेका उनले महेन्द्रनगरमै कोठा भाडामा लिएर फिरन्ते व्यापार गरिरहेका छन् । हिउँदमा न्यानो खालका र गर्मीमा पातला खालका लुगा कपडा बिक्री गरेर घरपरिवारको गुजारा गरिरहेको उनी बताउँछन् । ‘बुबाबाजेकै पालादेखिको काममा लागेको छु, अहिले पहिले जस्तो कारोबार छैन,’ न्यौपानेले भने, ‘यो पाला त माघमै गर्मी हुन थाल्यो, अब न्याना लुगाको कारोबार हुँदैन ।’ उनले काठमाडौं र धनगढीबाट ब्ल्यांकेट तथा फाइबरका सिरक, तन्ना र तिनका खोल ल्याएर बिक्री गर्छन् । दिनभरि डुलेर साँझपख हजार/पन्ध्र सयसम्म बचत हुने उनले बताए । व्यापार कम हुने दिन चार/पाँच सय मात्रै बचत हुन्छ । न्यौपानेका बुबा जगत र बाजे तुलाराम पनि यस्तै काम गर्थे । तर उनीहरू भेडा र च्यांग्राको उनबाट बनेका लुगा ल्याएर बिक्री गर्थे । अहिले जस्तो कोठा भाडामा पनि लिँदैनथे । डुल्दा डुल्दै जहाँ पुग्यो, त्यहीँ बास हुन्थ्यो । त्यतिबेला उनीहरूले हिमाली भेगमा पाइने जडीबुटी पनि बिक्री गर्थे । चिसो सुरु हुनासाथ तराई झर्ने उनीहरू फागुनमा घर फर्किन्थे । ‘अहिले पनि चिसोमै हामी तराई झर्छौं, तातो लागेपछि घर फर्किन्छौं,’ महतले भने, ‘तर त्यति बेलाका जस्ता घरेलु उत्पादन छैनन्, बाहिरबाट आएका सामान बिक्री गर्छौं ।’

महतले काठमाडौंबाट कपडा ल्याउँछन् । महेन्द्रनगरमै कोठा भाडामा लिएर बस्छन् । गर्मी लागेसम्म जसरी पनि बिक्री गरिसक्नुपर्ने हुन्छ । अन्तिममा त घाटा खाएर पनि बेच्नुपर्ने उनी बताउँछन् । हिउँदमा तराईतिर डुल्ने उनीहरू बर्खामा लुगा कपडा बिक्री गर्नकै लागि पहाडी भेगमा जाने गरेको महत बताउँछन् । फागुनमा घर फर्किन्छन् । वैशाख–जेठसम्म घरमै बस्छन् । खेतीपातीको काम सकिएपछि असारमा दार्चुलातिर जाने गरेको उनले बताए । दार्चुलामा हिउँद र गर्मी दुवै सिजनमा चल्ने खालका लुगा कपडाको व्यापार हुने उनको भनाइ छ ।

विगतमा बुढापाकाहरू गाउँगाउँ डुलेर लुगा कपडाको व्यापार गर्थे । अहिले युवा पनि यसतर्फ लागेका छन् । धेरैजसो बुबाबाजेकै पालादेखि व्यापार गरिरहेका भेटिन्छन् । उनीहरू कर्णाली प्रदेशको हुम्ला, जुम्ला, कालीकोट र जाजरकोटलगायत जिल्लाबाट व्यापार गर्नकै लागे तराई झरेका हुन्छन् । महतसंँगै उनकै गाउँका ९ जना युवा आएका छन् । न्यौपानेसँगै टीकापुर र कालीकोटका ८ जनाको टोली छ । उनीहरू सबैले महेन्द्रनगरमै कोठा भाडामा लिएर व्यापार गरिरहेका हुन् ।

प्रकाशित : माघ ११, २०७९ ०९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×