गोलीको छर्रा बोकेर साउदी गएका लडाकु कमान्डर कफिनमा फर्किए- समाचार - कान्तिपुर समाचार

गोलीको छर्रा बोकेर साउदी गएका लडाकु कमान्डर कफिनमा फर्किए

देश बदल्न ‘जनयुद्ध’ मा लागे, पेटमा गोलीको खत बोकेर विदेशिए, साउदीमा दिनभर श्रम गरेर सुतेका उनी उतै अस्ताए ।तर उनको पार्थिव शरीर एक्लो थिएन, मंगलबार मात्र विमानस्थलमा सातवटा कफिन आए
बुढा बाबुआमा, पत्नी, दुई छोरा र एक छोरीको एक्लो सहारा तिलक गोलीको छर्राका कारण बेलाबेला दुख्ने पेट लिएरै गत वर्ष साउदी उडेका थिए
घनश्याम खड्का

काठमाडौँ — रुँदारुँदा उनका आँखा भासिएर गुफाजस्ता भएका थिए । शोक र भोकले अनुहार सुकेको थियो । ‘अब म कसरी बाँच्न्या होला !’ खैरो बाकस मंगलबार बिहान जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्क्यो, लक्ष्मी कार्की छाँद हालेर चिच्याइन्, ‘क्या दिन देख्नुपर्‍यो नि आज मैले ।’ 

बाकसभित्र चिर निद्रामा थिए उनका ४० वर्षीय पति तिलकबहादुर कार्की । कुनै समय माओवादीको सेक्सन कमान्डर भएर देशै बदल्ने सपना देख्थे उनी तर त्यो सपनाले कहिल्यै मूर्तरूप लिएन । देश त के, आफ्नै दुःखी जिन्दगीलाई पनि तिलकले बदल्न सकेनन् । माओवादी लडाकुका तत्कालीन सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रधानमन्त्री भइरहेका बेला उनकै एक कमान्डर भने कफिनमा ल्याइएका छन् ।

देशमा शान्ति आयो, अनेक राजनीतिक परिवर्तन भए तर जुम्ला तातोपानी–३ तिलाकोटका तिलक र उनीजस्ता भुइँमान्छेको जीवनमा त्यसले कुनै फरक पारेन । भूमिगत जीवनले बदल्न नसकेको आर्थिक अवस्थाका कारण युद्धकालमा पेटमा लागेको गोलीको छर्रा निकाल्नसमेत उनले सकेनन् । बुढा बाबुआमा, पत्नी, दुई छोरा र एक छोरीको एक्लो सहारा तिलक छर्राका कारण बेलाबेला दुख्ने पेट लिएरै गत वर्ष माघ ९ गते साउदी उडेका थिए । फलाम कम्पनीमा काम गर्ने उनी खाडीको गर्मीमा अहोरात्र खटिँदा महिनाको ३५ हजार रुपैयाँ पाउँथे । साउदी जान लागेको तीन लाख ऋण र त्यसको ब्याज तिर्नुका साथै परिवारको दैनिक खर्च पुर्‍याउनै उनलाई हम्मे थियो । कुनै दिन भाग्य फिर्ला भन्ने विचारले उनी काममा खटिइरहेकै थिए ।

बाबु, घरतिर ख्याल राख्या है,’ १७ वर्षीय छोरा पारसलाई उनी हरेक दिनजसो भिडियो कल गरेर सम्झाउँथे, ‘पढ्न नछाड्या, भाइबहिनीलाई माया गरिरहनू ।’ गएको पुस २७ गते दिउँसो पनि उनीहरूबीच यस्तै कुरा भएको थियो । त्यसको तीन घण्टापछि तिलक सुतेको सुत्यै भएछन् । गत वर्ष माघमा २४ प्रतिशत ब्याजमा तीन लाख ऋण काढेर तिलकसँगै उनका बडाबाका छोरा बखत कार्की पनि साउदी उडेका थिए । दुवै एउटै कम्पनीमा काम गर्थे, एउटै कोठामा सुत्थे । त्यस दिन पनि काम गरेपछि कोठामा आई सुतेका थिए । तर, तिलक भने फेरि कहिल्यै नब्युँझिने गरी निदाए ।

‘उहाँले भनेअनुसार ज्वाइँलाई हृदयाघात भएको हो अरे,’ तिलकका जेठान भक्तबहादुर रावलले सुनाए, ‘कुनै रोग पनि लागेको होइन, यसअघि केही भएको पनि थिएन, कसरी एक्कासि यस्तो भयो, बुझ्नै सकिरहेका छैनौं ।’

साउदीमा सुतेकै ठाउँमा मृत्यु भएका जुम्ला तातोपानी–३ का तिलक कार्कीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार आइपुगेपछि भावविह्वल आफन्त । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

साउदीबाट शव कसरी झिकाउने भन्ने चिन्ताले कार्की परिवारलाई ज्यादा पिरोल्न थाल्यो । तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावल पारसकी माइजू हुन्, जसले काठमाडौं जान ३५ हजारमा गाडी रिजर्भ गरिन् । त्यसैमा चढेर लक्ष्मी, पारस, भक्तबहादुर, रेवती र अरू तीन आफन्त गरी सात जनाको टोली ३१ घण्टापछि काठमाडौं आइपुग्यो । सुन्धाराको एउटा होटलमा बसेर उनीहरूले भ्याएसम्मका ठाउँ गुहारे । जुम्लाबाट जितेका सांसद ज्ञानेन्द्र शाहीले केही गरिदेलान् भन्ने आस पारसलाई थियो । तर, शाहीलाई भेट्नै पाँच दिन लाग्यो । ‘भेटे पनि खासै काम हुन सकेन उहाँबाट,’ पारस भन्छन्, ‘कहाँ गएर कसलाई के भन्ने भन्ने भयो हामीलाई त ।’

माओवादीबाट समानुपातिक सांसद चुनिएकी जुम्लाकै ३० वर्षीया छिरिङ लामासँग कसैले कार्की परिवारलाई भेटाइदियो । छिरिङले पूर्वसभामुख कृष्णबहादुर महरालाई, महराले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई, उनले परराष्ट्र सचिव भरतराज पौडेललाई, सचिव पौडेलले काउन्सिलर विभागका निर्देशक प्रकाशमणि पौडेललाई र उनले साउदीका राजदूत नवराज सुवेदीलाई अनि सुवेदीले तिलक काम गर्ने कम्पनीका सञ्चालकलाई भनेपछि कतार एयरवेजबाट काठमाडौंसम्म शव झिकाउँदा निकै दौडधुप गर्नुपर्‍यो । ११ दिनसम्म काठमाडौं बस्दा डेढ लाख खर्च भएको पारस बताउँछन् ।

पहिलो पटक काठमाडौं टेकेका १७ वर्षीय पारस र उनकी ३५ वर्षीया आमा लक्ष्मी मंगलबार बिहानै सुन्धाराबाट विमानस्थल पुगेका थिए आफन्त र शुभेच्छुकका साथ । उनीहरूलाई ढाडस दिन साथै उभिएकी थिइन् सांसद लामा, जसले बाटाखर्चका लागि केही रकम पनि लक्ष्मीका हातमा राखिदिइन् । नेपाल एयरलाइन्स कार्गो शाखाका अधिकृत सन्तोष खड्काले लक्ष्मीको सहीछाप गराएर शव बुझाएपछि उनीसहित आफन्तको रुवाबासी सुरु भयो । तर, धेरैबेर बिलौना गर्ने समय विमानस्थल प्रशासनले दिएन । किनभने, कतारदेखि मलेसियासम्मका अरू ७ युवा पनि त्यसैबेला तिलकझैं कफिनमा स्वदेश फिरेका थिए ।

तिलक बितेको खबरले जुम्लाको शान्त तिलाकोट गाउँ बिथोलिएको छ । यही गाउँमा २१ वर्षअघि ‘जनमुक्ति सेना’ मा भर्ती भएर भूमिगत भएका भक्तबहादुर रावलले तिलकसँग बहिनी लक्ष्मीको जनवादी बिहे गराइदिएका थिए । त्यतिखेर तिलक थिए १८ वर्षका र लक्ष्मी थिइन् १४ की । बिहा भएको एक वर्षमै छोरा पारस जन्मिए । कक्षा आठसम्म पढ्न पाएका तिलकचाहिँ जेठानझैं बन्दुक समातेर भूमिगत भए । बर्दियाको कुसुममा भएको भिडन्तमा गोली लागी घाइते हुन पुगे, त्यतिबेला उनी सेक्सन कमान्डरको जिम्मेवारीमा थिए । गोलीको छर्रा निकाल्न लाग्ने महँगो उपचार उनले गराउन सकेनन् । १८ वर्षसम्म केही होला कि भनेर पर्खिरहे । तर, जति पटक पार्टी सरकारमा गए पनि र ‘जनमुक्ति सेना’ कै सर्वोच्च कमान्डर प्रधानमन्त्री भए पनि तिलकको दुःख हटेन । परिवारको आर्थिक अवस्था सुधार्न साउदी गएका उनी भने बाकसभित्र आए ।

यसरी विदेशबाट बाकसमा आउने शवलाई उनीहरूको घरसम्मै पुर्‍याइदिन वैदेशिक रोजगार बोर्डले निःशुल्क शववाहनको व्यवस्था गरिदिएको छ । बोर्डका कर्मचारीले हतार हतार तिलकको बाकसलाई वाहनमा राखे । पछिपछि अर्को गाडीमा लक्ष्मी, पारस र अरू आफन्त चढे । दुई दिनसम्म लगातारको यात्रापछि भर्खरै परेको हिउँले बाटो छेकेन भने उनीहरू जुम्ला पुग्नेछन् । त्यहाँ बैंसको रूखमुन्तिर खेलाछेउमा चिहान छ । तिलकलाई उनका बुढा बाबुआमा, १४ वर्षका छोरा र ११ वर्षकी छोरीले त्यहीँ अन्तिम पटक हेर्नेछन् ।

प्रकाशित : माघ ११, २०७९ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

के प्रधानमन्त्री पिँजडामा छन् ?

राष्ट्रपति, सभामुख, उपसभामुख सत्ता साझेदार दलले लिएको र गृह, अर्थ, परराष्ट्र, कानुनजस्ता मन्त्रालय साथमा नरहेकाले प्रधानमन्त्री दाहाल चेपुवामा
घनश्याम खड्का

काठमाडौँ — ‘प्रधानमन्त्री पिँजडामा छन्, त्यस्तो नगर्दिनुहोला,’ सभामुखका लागि आफ्नो दलबाट ईश्वरीदेवी न्यौपानेलाई प्रस्ताव गर्नेक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिहीबार संसद्‌मा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै भने, ‘तर कांग्रेसले ढोक्सा थापेको छैन ।’

अघिल्लोपटक यही संसद्मा प्रधानमन्त्रीका लागि विश्वासको मत दिने बेला सरकारलाई समर्थन गरेको कांग्रेसप्रति व्यंग्य गर्दै ओलीले ‘ढोक्सा (ढडिया) थापेको’ बताएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षको हैसियत गुमाएको कांग्रेसले बिहीबार सभामुखका लागि भने प्रतिस्पर्धा गर्‍यो । यो क्रम राष्ट्रपति निर्वाचनमा पनि जारी रहने संकेत गर्दै शर्माले ढोक्सा थापेको भन्न नमिल्ने तर्क गरे ।

प्रधानमन्त्री पद पुष्पकमल दाहाललाई दिएर सत्ताका सबै शक्ति आफ्नो हातमा पारेका ओलीले आफैं शासन गर्न खोजेको विश्लेषण कांग्रेसको छ । विश्वप्रकाशले भनेजस्तै, के प्रधानमन्त्री साँच्चै पिँजडामा छन् ?

पछिल्लो राजनीतिक घटनाक्रम, मन्त्रालयको बाँडफाँट र मुख्य पदहरूको चुनावलाई हेर्ने हो भने प्रधानमन्त्री चेपुवामा देखिन्छन् । सामान्यतः गृह र अर्थ मन्त्रालय प्रधानमन्त्री हुने दलकै पोल्टामा पर्छ । स्रोतका अनुसार दाहालले पनि सके यी दुवै, नसके एउटा मन्त्रालय आफ्नो भागमा पार्न निकै प्रयास गरेका थिए । तर, ओलीको साथ पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह चाहिने अड्डी कसे । प्रधानमन्त्रीमा दाहालको प्रस्तावक एमालेले रोजेरै अर्थ मन्त्रालय लियो । परराष्ट्रमन्त्री पनि एमालेकै भागमा छ भने राज्य चलाउनका लागि चाहिने अर्को महत्त्वपूर्ण कानुन मन्त्रालय राप्रपाले लिएको छ ।

सभामुखको निर्वाचनमा एमालेका उम्मेदवारले बहुमत ल्याइसकेका छन् । राष्ट्रपति पनि एमालेकै तर्फबाट निर्वाचित गराउने गठबन्धनमा सहमति भएकाले त्यसैलाई मान्नुपर्ने अभिव्यक्ति ओलीले पटक–पटक दिएका छन् । उपसभामुख रास्वपाको भागमा परेको छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री दाहाल एक्लै परेका छन् । यता, ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेर सत्ताको साँचो आफ्नो हातमा रहेको छनक दिइसकेका छन् । कसलाई मन्त्री बनाउने भन्नेबारे निर्णय हुनुअघि दाहालले ओलीनिवास बालकोटमा चार घण्टा ‘लन्च मिटिङ’ गरे । प्रधानमन्त्री चार घण्टा सत्ता साझेदार दलको नेताको घरमा बसेर मन्त्रालय बाँडफाँटको टुंगो लगाउनुपर्ने अवस्था आउनु नै सत्ता कब्जा भएको संकेत देखिनु हो भन्ने कांग्रेस नेताहरूको बुझाइ छ ।

प्रधानमन्त्री निरीह बनेको र सत्ताको खास साँचो ओलीकै हातमा पुगेको भन्दै माओवादीभित्रै असन्तुष्टि चुलिएको छ । ‘हाम्रो हातमा प्रधानमन्त्रीको पदबाहेक केही आएन, शासन त ओलीको तजबिजमा चल्ने अवस्था छ,’ माओवादीका एक नेताले भने, ‘यो भनेको राजकाजमा फेरि पनि ओली नै हाबी हुनु हो ।’

यो व्यवस्थालाई समग्रमा भन्नका लागि आफूले पिँजडा शब्द प्रयोग गरेको शर्माले बताए । ‘प्रधानमन्त्री भनेको के हो ? त्यो आर्थिक शक्ति, सुरक्षा शक्ति र बाह्य शक्तिको स्रोत हो,’ उनले कान्तिपुरसँग भने, ‘तर त्यो सबै अहिलेका प्रधानमन्त्रीसँग छैन । सभामुख अर्काकै, राष्ट्रपति पनि अर्काकै हुने भएपछि प्रधानमन्त्री पिँजडामा भएनन् र ?’

ओली प्रधानमन्त्री हुँदा दाहालले उच्चस्तरीय संयन्त्रको नेता बन्ने प्रयास गरेका थिए । त्यतिबेला ओलीले संयन्त्रलाई संविधानले नचिनेको भनेर पन्छाए । अहिले दाहाल प्रधानमन्त्री हुँदाचाहिँ त्यही संयन्त्रलाई ब्युँताएर सरकारले सार्वजनिक गर्नुपर्ने कार्यक्रम ओलीले गर्न थालेकाबाट पनि प्रधानमन्त्री पिँजडामा परेको प्रस्ट संकेत देखिएको शर्माको विश्लेण छ । ‘सुनकै भए पनि पिँजडा पिँजडा नै हो,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीकै कुर्सी भए पनि राजकाज अर्कैले गर्ने भएपछि त्यो सुनको पिँजडाजस्तै आकर्षक अवश्य छ तर त्यसले बन्धन सिर्जना गरेको छ ।’

दुई तिहाइको प्रधानमन्त्री हुँदा ओलीले राष्ट्रपतिबाट मिल्नेभन्दा बढी सहयोग पाएको र सभामुखबाट त्यस्तै साथ नमिल्दा असहयोग भएको भनेर गुनासो गरेको स्मरण गर्दै शर्माले सन्निकट खतरा टार्न शीतलनिवासमा कांग्रेसको दाबी स्वाभाविक भएको बताए ।

वामविश्लेषक झलक सुवेदी प्रधानमन्त्रीको अवस्था सुरुवातमै कमजोर देखिएकाले उनी चेपुवामा रहेको बताउँछन् । ‘राजनीतिक हिसाबले प्रधानमन्त्रीको डिफ्याक्टो र डिजुरे भूमिका आफैंले देखाउन खोजेको ओलीको गतिविधिले संकेत गर्छ,’ उनी भन्छन्, ‘दाहाललाई प्रधानमन्त्री बनाएर ओलीले राजनीति आफ्नो कमान्डमा राखेका छन् र दैनन्दिनको काममा मात्रै उनलाई (प्रधानमन्त्रीलाई) सीमित गरेका छन् ।’

शर्माले भनेजस्तो पिँजडासँग यो अवस्थालाई तुलना गरिहाल्न नमिले पनि प्रधानमन्त्रीलाई सकस भने अवश्य भएको उनको ठम्याइ छ । ‘प्रधानमन्त्रीले राजीनितक शक्तिको अनुभव गर्न नसकेको देखिन्छ,’ उनी भन्छन्, ‘यो क्रम जारी रहे गठबन्धन लामो समय जाँदैन ।’

प्रकाशित : माघ ६, २०७९ ०६:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×