१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बझाङमा भूकम्पले दर्जनौं घर भत्किए

भूकम्पपछि सुरक्षित स्थानतर्फ भाग्न खोज्दा जयपृथ्वी नगरपालिकाका हरिकृण्ण जोशी घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी सिफारिस गरिएको छ ।

बझाङ — मंगलबार दिउँसो बाजुरालाई केन्द्र बनाएर गएको भूकम्पको धक्काले बझाङमा दर्जनौं घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भूकम्पमा परी एक जना घाइते भएको र जिल्लाका सबै पालिकाका कतिपय भौतिक संरचनामा क्षति भएको छ ।

बझाङमा भूकम्पले दर्जनौं घर भत्किए

बाजुराको हिमाली गाउँपालिका बिच्छ्याँको मौलालाई केन्द्रबिन्दु बनाएर दिउँसो २:४३ बजे ५.९ म्यानिच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण बाजुरामा भने एक जनाको मृत्यु भएको छ ।

भूकम्पपछि सुरक्षित स्थानतर्फ भाग्न खोज्दा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ११ का ५२ वर्षीय हरिकृण्ण जोशी घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी सिफारिस गरिएको छ ।

भूकम्पको धक्काले सदरमुकाम चैनपुरमा रहेको कृषि ज्ञान केन्द्रको भवन, जिल्ला अस्पताल, केही होटल र निजी घरमा पनि क्षति भएको छ । कृषि ज्ञान केन्द्रको भवनमा सशस्त्र प्रहरी बस्दै आएका छन् । यस्तै सुर्मा गाउँपालिकामा रहेको प्रहरी चौकीको भवनमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

भूकम्पका कारण जयपृथ्वी नगरपालिका, बुङगल नगरपालिका, सुर्मा, मष्टा, तलकोट, खप्तडछान्ना, थलारा र साइपाल गाउँपालिकास्थित थुप्रै निजी घर र विद्यालय, स्वास्थ्य चौकी जस्ता सार्वजनिक संरचनाहरुमा क्षति पुगेको विवरण आइरहेको प्रहरीले जनाएको छ ।

'दर्जनौँ घर भत्किएको खबर आइरहेका छन् । क्षतिको यकिन विवरण आइसकेको छैन,' प्रवक्ता अवस्थीले भने, 'हाम्रा संयन्त्र मार्फत् क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।' मंगलबार बिहानदेखि भइरहेको वर्षा र हिमपातका कारण कतिपय ठाउँमा टेलिफोन सेवा अवरुद्ध भएकाले क्षतिको यकिन विवरण आउन समस्या भएको बताइएको छ ।

भूकम्पको धक्काले थुप्रै घरहरु चर्किएको स्थानीयहरूले बताएका छन् । मंसिरयता सुदूरपश्चिमका कतिपय स्थानमा थुप्रै पटक भूकम्पको धक्का महसुस हुने गरेको स्थानीयहरूले बताएका छन् ।

गाउँमा थुप्रै घर चर्किएकाले आरामले भित्र बस्न पनि त्रास फैलिएको स्थानीयहरूको गुनासो छ । बाहिर भने हिउँ परिरहेकाले भाग्न पनि कठिन भएको जयपृथ्वी नगरपालिका १, कैलासकी इसरा सिंहले बताइन् ।

यसअघि कात्तिकको तेस्रो साता डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । साथै उक्त भूकम्पपछि सयौं परकम्प गएका थिए ।

प्रकाशित : माघ १०, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?