२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

अभियुक्त र हत्या गरिएका युवाबीच पुरानै ‘सम्बन्ध’

श्यामसुन्दर शशि

जनकपुर — अपहरणपछि भारतको सीतामढीमा हत्या गरिएका जनकपुरका दुई युवकमध्ये एक जनाको पक्राउ परेका अभियुक्तसँग पुरानै ‘सम्बन्ध’ रहेको खुलेको छ । जिल्ला प्रहरी धनुषाले दुवै युवकको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ गरेका किसन पण्डित र मारिएका रोहित साह साथी रहेको खुलेको जनाएको छ । 

अभियुक्त र हत्या गरिएका युवाबीच पुरानै ‘सम्बन्ध’

महोत्तरीको सिसवा नगरपालिका–२ इटहर्वाका २४ वर्षीय पण्डितलाई धनुषा प्रहरीले जनकपुर–८ बलवा टोलस्थित डेराबाट आइतबार पक्राउ गरेको थियो । पण्डित र साह साथी थिए । जिल्ला प्रहरी धनुषाका डीएसपी दीपक रायका अनुसार पण्डितले प्रयोग गर्ने मोबाइल ती दुवै युवक अपहरणमा परेकै बेलादेखि स्विचअफ थियो । ‘पछिल्लो समय यी दुवैबीच पटक–पटक फोन सम्पर्क भएको देखिन्छ,’ डीएसपी रायले कान्तिपुरसँग भने, ‘पण्डितले प्रयोग गर्ने मोबाइलको सिम अरूकै नाममा दर्ता छ ।’

संयोग कस्तो भने, पण्डितकै गाउँ इटहर्वाका २४ वर्षीय मुकेश पासवानलाई पनि धनुषा प्रहरीले दुई युवकको अपहरणपछि हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । पासवानलाई निजकै घरबाट पक्राउ गरिएको थियो । अपहरणमा परेका ११ दिनपछि जनकपुरका दुई युवकको सीमावर्ती भारतीय सहर सीतामढीमा हत्या भएको हो । उनको परिवार अपहरणकारीसित फिरौती रकममा बार्गेनिङ र जोरजाम गरिरहेकै अवस्थामा हत्या भएको थियो । धनुषा प्रहरीले शव नेपाल ल्याएको छ ।

जनकपुर उपमहानगर–८ का २२ वर्षीय रोहित साह र वडा १३ का २३ वर्षीय विष्णु साह पुस २७ मा भारतको परिहारमा आफन्तकहाँ पुगेका थिए । त्यही क्रममा अपहरणमा परे र उनीहरूको हत्या भएको थियो । उनीहरूको जनकपुरमा सोमबार अन्तिम संस्कार गरिएको छ ।

हत्या आरोपमा नेपालमा दुई तथा भारतमा चार जना पक्राउ परेका छन् । सीतामढीका अनुमण्डल पुलिस पदाधिकारी सुबोध कुमारका अनुसार सीतामढी जिल्ला बेला थानास्थित रजबाडाका सुनील सहनी, अजित भण्डारी तथा सुकी मुसहरनिया गाउँका इन्द्रजित बैठा र अजय बैठा पक्राउ परेका छन् । मुख्य अभियुक्त सुजित भण्डारी भने फरार छन् ।

पक्राउ परेकामध्ये केही आपराधिक पृष्ठभूमिका रहेको प्रहरीले जनाएको छ । ‘आरोपीहरूले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । अनुसन्धानका क्रममा नेपाल र भारतका अन्य केही जनाको नाम पनि आएको छ,’ विहार प्रहरीका सुबोध कुमारले भने ।

दुवै युवकको अन्तिम संस्कारपछि आक्रोशित भीड जनकपुर–ढल्केवर सडकखण्ड अवरोध गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना बसेका थिए । आक्रोशितहरूले दोषीलाई अविलम्ब पक्राउ गरी कडा सजायको माग गरे । प्रहरी उपरीक्षक विश्वराज खड्काले आरोपीलाई अविलम्ब पक्राउ गर्ने प्रतिबद्धता जनाएका छन् । रोहित र विष्णु छिमेकी तथा मिल्ने साथी थिए । पुस २७ गते दुवै जना रोहितको मामा गाउँ परिहार जान घरबाट निस्केका थिए । परिहार सीतामढी जिल्लाका बेला थानाअन्तर्गतकै गाउँ हो । पुस २७ गते घरबाट निस्केका छोरालाई खोज्न रामबाबु २८ गते सीमावर्ती गाउँ पुगेका थिए । रोहितको मामा गाउँ परिहार पनि पुगेका थिए । तर कहींकतै सुइँको पाएनन् । पुस २९ गते अपहरणकारीले सुरुमा विष्णुको फोन र पछि भारतीय नम्बरको मोबाइलबाट फिरौती माग्दा परिवारले अपहरणमा परेको थाहा पाएका थिए ।

प्रकाशित : माघ १०, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?