रेशम चौधरी छुटाउन मुख्यमन्त्रीको दौडधुप- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेशम चौधरी छुटाउन मुख्यमन्त्रीको दौडधुप

अर्जुन शाह

धनगढी — प्रदेश सभामुख चयनमा देखिएको संकटलाई जेनतेन पार लगाएका सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावल त्यसलगत्तैदेखि काठमाडौंमा छन् । विश्वासको मत नलिँदै उनी काठमाडौं हानिनुको उद्देश्य नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको रिहाइका लागि कसरत गर्नु हो । रेशमको रिहाइलाई प्रमुख मुद्दा बनाइरहेको नागरिक उन्मुक्ति पार्टीको साथ नभए मुख्यमन्त्री रावललाई विश्वासको मत पुग्दैन ।

मुख्यमन्त्री रावल र नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीसहितका नेताले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेका छन् । भेटमा प्रधानमन्त्री दाहालले प्रक्रिया पूरा गरेर रेशमलाई छुटाउने प्रतिबद्धता गरेको एक नेताले बताए । ‘हाल सदन चलिरहेकाले अध्यादेश ल्याउन नसकिने, विधेयकको बाटो पनि सहज नभएको र न्यायपालिकाको पनि सवाल भएकाले कठिनाइ रहेको तर रिहाइका लागि हरसम्भव प्रयत्न गर्ने आश्वासन प्रधानमन्त्रीले दिनुभयो,’ उनले भने ।

नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक चौधरीले सोमबारको भेटले आशा जगाएको बताए । ‘हामीले दिएको समयसीमामा प्राविधिक हिसाबले रिहाइ सम्भव छ, छैन भन्नेमा भने हामीले पनि ख्याल गर्नुपर्ने हुन्छ,’ उनले भने । पद बाँडफाँटका सन्दर्भमा भने ठोस कुरा नभएको उनको भनाइ छ ।

मुख्यमन्त्री रावलसँग माओवादी केन्द्रका मन्त्री खगराज भट्ट पनि काठमाडौंमा छन् । एमाले संसदीय दल नेतासमेत रहेका रावलले रेशमलाई डिल्लीबजार कारागार पुगेर यसअघि नै भेटघाट गरिसकेका छन् । सोमबार बिहानको छलफलपछि एमाले नेताहरू विश्वासको मत पाउनेमा आशावादी देखिएका छन् तर पूर्ण विश्वस्त हुन सकेका छैनन् ।

मुख्यमन्त्रीको शपथ लिएकै रावलले माओवादी र एमालेबाट एक–एक जनालाई मन्त्री नियुक्त गरेका थिए । मन्त्रीहरूले जिम्मेवारी तोकिएको छैन । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री रावल रहेको एमालेका सांसदहरू बताउँछन् । सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी निर्णायक छ । नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत दिने नदिनेबारेमा निर्णय गरिसकेको छैन ।

प्रकाशित : माघ १०, २०७९ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्

विश्वासको मत लिनुअघि नागरिक उन्मुक्तिका सांसदसहित मुख्यमन्त्री रावलले भेटे प्रधानमन्त्री

अर्जुन शाह

धनगढी — सभामुख चयनमै देखिएको संकट समाधान भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावल काठमाडौंमा छन् । नागरिक उन्मुक्ति पार्टीका सांसदको समर्थन नपाएसम्म विश्वासको मत पाउन नसकिने भएकाले उनी काठमाडौंलाई केन्द्र बनाएर लबिङमा व्यस्त रहेका हुन् । नागरिक उन्मुक्तिले संस्थापक नेता रेशम चौधरीको रिहाइको मागलाई ‘बटम लाइन’ भन्दै आएको छ ।

सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग मुख्यमन्त्री रावल, नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीसहितका नेताहरूले भेटघाट गरेका छन् । भेटमा प्रधानमन्त्रीले रेशमको रिहाइको मागका सन्दर्भमा प्रक्रिया पूरा गरेर रिहा गर्ने गराउने प्रतिबद्धता गरेको भेटमा सहभागी एक नेताले बताए ।

‘हाल सदन चलिरहेकाले अध्यादेश ल्याउन नसकिने, विधेयकको बाटो पनि सहज नभएको र न्यायपालिकाको पनि सवाल भएकाले कठिनाइ भए पनि रिहाइका लागि हरसम्भव प्रयत्न गर्ने आश्वासन सहभागी नागरिक उन्मुक्तिका नेताहरुलाई दिनु भयो,’ सहभागी एक नेताले भने ‘पावरसेयरिङका सन्दर्भमा पनि छलफल भएको छ । त्यस्तै परे प्रदेश प्रमुखसमेत नागरिकलाई दिनेमा पनि छलफल चलेको छ ।’

नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले पनि आजको भेटले आशा जगाएको बताए । उनले भने, ‘हामीले दिएको समयसीमामा प्राविधिक हिसाबले रिहाइ सम्भव छ/छैन भन्नेमा हामीले पनि ख्याल गर्नु पर्ने नै हुन्छ ।’ उनले पद बाँडफाँडका सन्दर्भमा भने ठोस कुरा नभएको र पछि कुरा गर्न सकिने बताए ।

सोमबार बिहानको छलफलपछि एमाले नेताहरू विश्वासको मत पाउनेमा आशावादी देखिएका छन् । सुदूरपश्चिममा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी सत्तापक्षमा २९ सांसद छन् । अर्कोतिर कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र १ स्वतन्त्र सांसद छन् । गठबन्धन दलबीच मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख नागरिक उन्मुक्तिले पाउने सहमति भएको थियो । तर उन्मुक्तिले उपसभामुख लिन नमान्दा एमालेकै कोइलीदेवी चौधरी निर्वाचित भइन् ।

प्रकाशित : माघ ९, २०७९ १९:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×