नेपाली क्रिकेटर पहिलो पटक फिक्सिङ काण्डमा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली क्रिकेटर पहिलो पटक फिक्सिङ काण्डमा

‘लाइभ बेटिङ’ र ‘ स्पट फिक्सिङ’ आरोपमा अलराउन्डर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम पक्राउ, दर्जन बढी खेलाडी शंकाको घेरामा
विनोद पाण्डे

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरेको हो । 


दुई साताअघि सम्पन्न विवादास्पद नेपाल टी–२० लिगलाई क्रिकेट लाइभ बेटिङ, स्पट फिक्सिङ, म्याच फिक्सिङ, पारिश्रमिक विवाद र आयोजकमध्येको एक पक्ष फरार प्रकरणले गाँजेपछि गृह मन्त्रालयले छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको थियो । प्रारम्भिक अनुसन्धानपछि दुई क्रिकेटर पक्राउ परेका हुन् । राजविराजस्थित पब्लिक विन्देश्वरी माविको खेल मैदानबाट पक्राउ गरिएका आदिल र विराटनगरको भिन्तुना होटलबाट समातिएका महबुबलाई प्रहरीले काठमाडौं ल्याइसकेको छ । बारा घर भएका आदिल जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट मुन्ना साह मेमोरियल अन्तरकलेज क्रिकेट प्रतियोगिता खेल्न राजविराज पुगेका थिए ।

महबुब र आदिल पक्राउका विषयमा मंगलबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । सीआईबीका अनुसार यस प्रकरणमा अन्य पनि अनुसन्धान घेराभित्र रहेका छन् । ‘खेलाडीलाई लाइभ बेटिङ र स्पट फिक्सिङका लागि प्रस्ताव राख्नेहरू व्यक्तिगतभन्दा पनि संस्थागत हिसाबमै देखिएको छ,’ आचार्यले भने, ‘विदेशी खेलाडी र खेलाउनेहरू पनि यसमा संलग्न देखिएका छन् । अनुसन्धान गरिरहेका छौं ।’ फिक्सिङ काण्डमा नेपाली क्रिकेट खेलाडी परेको यो पहिलो घटना हो ।

महबुबले सन् २००० देखि २०१७ सम्म राष्ट्रिय टोलीबाट खेल्ने क्रममा एकदिवसीयमा सबै १० विकेट लिने दुर्लभ कीर्तिमान बनाएका थिए । २००८ मा न्युजर्सीमा मोजाम्बिकविरुद्धको खेलमा उनले पाएको त्यो सफलता तीव्र गतिका बलरको हकमा विश्व क्रिकेटमै पहिलो हो । महबुब ५० ओभरको खेलमा नेपालबाट १ सय विकेट लिने पहिलो खेलाडीसमेत हुन् । आदिल गत वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । उनले आफूलाई राम्रो अलराउन्डरका रूपमा स्थापित गरेका छन् ।

नेपाल टी–२० लिगमा कमेन्ट्री गरिरहेका सचिन तिमिल्सेनाले खुलमखुला लाइभ बेटिङ र स्पट फिक्सिङ भइरहेको आरोप लगाउँदै प्रतियोगिताबाट आफू अलग भएको घोषणा गरेका थिए । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीमाथि सट्टेबाजले प्रस्ताव गरेपछि आफूहरूले एन्टी करप्सन युनिट (एसीयू) मा उजुरी दिएको जनाएका थिए । त्यसपछि गृह मन्त्रालयले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छुट्टै छानबिन समिति बनाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि नेपाल टी–२० लिगका विषयमा एक साताभित्र विवरण बुझाउन राखेपलाई निर्देशन दिएको थियो ।

नेपाल टी–२० लिगमा लाइभ बेटिङ र स्पट फिक्सिङ भइरहेको घटना बाहिर आएको दुई दिनपछि आईसीसीको प्रतिनिधिमण्डल अकस्मात् काठमाडौं आएको थियो । आईसीसी इन्ट्रिग्रिटी युनिटका एन्ड्रयु इफग्रेभको नेतृत्वमा आएको टोलीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल टी–२० लिगको खेल हेर्नुका साथै राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, सीआईबीलगायतका टोलीसँग छलफल गरेको थियो । सट्टेबाजले प्रस्ताव गरेका खेलाडी र नेपालका अन्य प्रमुख खेलाडीसँग पनि टोलीले सोधपुछ गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले टेन्डर आह्वान नगरी हचुवाका भरमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग साझेदार गरेर नेपाल टी–२० लिग आयोजना गरेको थियो । सेभेन थ्री स्पोर्ट्स नेपाल टी–२० लिगको स्ट्राटेजिक र कमर्सियल साझेदार थियो ।

८ वर्षे सम्झौताअनुरूप क्यानले दस्तुरबापत ३३ करोड पाउने भनिएको थियो, जसमध्ये ३ करोड ९० लाख रुपैयाँ पहिलो वर्ष भुक्तानी हुनुपर्ने सम्झौता थियो । यो रकम सेभेन थ्री स्पोर्ट्सले प्रतियोगिता सुरु हुनु एक दिनअघिसम्म क्यानको खातामा जम्मा गरिसक्नुपर्थ्यो । तर सम्झौताको ३० प्रतिशत रकम अर्थात् १ करोड २० लाख मात्र खातामा आएको थियो ।

नेपाल टी–२० लिगको पाँचौं दिनसम्म क्यानले पनि दस्तुर नपाएको र खेलाडीले पारिश्रमिक नपाएको गुनासो सुरु भइसकेका बेला सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन आहलुवालिया र प्रमुख कार्यकारी अधिकृत अभिषेक सकालानी क्यानलाई कुनै जानकारी नदिई सुटुक्क दिल्ली पुगेका थिए । भारतीय पक्षले त्यसको दुई दिनपछि ९६ लाख रुपैयाँ क्यानको खातामा पठाइदिएको थियो ।

सीआईबी स्रोतका अनुसार महबुबले तिनै जतिनको सम्पर्कमा रहेर नेपाली खेलाडीलाई प्रस्ताव गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । स्पट फिक्सिङ गरिएको अवस्थामा सट्टेबाजको निर्देशनमा बलरहरूले विशेष गरी इनिङ्सको पहिलो र अन्तिम ओभरमा वाइड र नोबल फाल्ने गर्छन् । ब्याटरले धेरै बल खेलेर थोरै रन बनाउँछन् ।

आफ्नो इसाराअनुरूप खेलाडीले खेल्न लागेपछि सट्टेबाजले लाइभ बेटिङमा ठूलो रकममा पैसा लगाएर मालामाल हुने र त्यसको केही अंश स्पट फिक्सिङ गरेका खेलाडीलाई दिने गर्छन् ।

स्पट फिक्सिङमा गरिने नोबल अधिकांश ‘ओभर स्टेप’ को हुन्छ । आदिलले एक खेलमा ओभर स्टेपमा क्रिजभन्दा निकै बाहिर गएर नोबल गरेका थिए । त्यसपछि उनी शंकाको घेरामा परेका थिए । स्पट फिक्सिङको आरोपपछि एसीयू टोलीले विराटनगर सुपर किंग्सका विदेशी कप्तान र भारतीय व्यवस्थापकलाई टोलीबाट हटाएको थियो । लुम्बिनी अल स्टार्ससँगको क्वालिफायर्स १ खेलमा जनकपुरका कप्तान वेस्ट इन्डिजका ट्रेभोन ग्रिफिथले ७ वाइड बल फालेका थिए ।

केही फ्रेन्चाइज टोलीको मालिक पहिचान नै नभएको तर तिनीहरू सट्टेबाजमार्फत आफ्ना खेलाडीलाई प्रस्ताव राख्न सक्रिय रहेको पाइएको प्रहरी स्रोतले जनाएको छ । खेल दौरान स्वस्फूर्त प्रदर्शन पनि नदेखिएको र लाइभ बेटिङसँग जोडिएका घटनामा पैसाको कारोबार बढी भएको पाइएपछि घटना छानबिन गरेका हौं,’ प्रहरी स्रोतले भन्यो, ‘दर्जनभन्दा बढी खेलाडी शंकाको घेरामा छन्, त्यसमध्ये प्रत्यक्ष संलग्न भएको प्रमाणकै आधारमा खेलाडी समातिएका हुन् । उनीहरूसँग जोडिएका अरू पनि हुन सक्छन् ।’

लाइभ बेटिङबाट आम्दानी हुने भएपछि खेलाडीहरू प्रलोभनमा फसेको प्रहरी स्रोतको भनाइ छ । ‘यसलाई आधार बनाएर अरू खेलसँग सम्बन्धितलाई पनि अनुसन्धान गर्न सकिन्छ तर तत्कालका लागि मान्छे पक्राउ परिसकेका कारण मुद्दा चाँडो दर्ता गराउनुपर्ने दबाब छ । अन्यलाई शंकास्पद हिसाबमा राखेर अरू मुद्दा दर्ता पनि गर्न सकिन्छ,’ स्रोतले भन्यो ।

प्रकाशित : माघ १०, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्

त्यो खाली ‘डगआउट’

काठमाडौं नाइट्स टोलीमा वैकल्पिक खेलाडी नहुँदा विपक्षी विराटनगरका खेलाडीले मैदानमा पानी पुर्‍याउनुपरेको दृश्य टीठलाग्दो रह्यो
विनोद पाण्डे

काठमाडौँ — काठमाडौं नाइट्सका तीव्र गतिका बलर कमलसिंह ऐरी बाउन्ड्रीलाइनमा फिल्डिङ गर्दै थिए । उनलाई विराटनगर सुपर किंग्सका वैकल्पिक खेलाडी अमरसिंह राउटेलाले पानी र फलफुल लगेर सघाइरहेका थिए । नाइट्सकै सन्तोष कार्की बाउन्ड्रीलाइनमा फिल्डिङ गरिरहेको समयमा विराटनगरका रिजन ढकालले पिउनका लागि पानीको बोटल लगिदिएका थिए ।

अन्य समयको क्रिकेटमा यो सामान्य दृश्य हो । नेपाल टी–२० लिग क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको काठमाडौं नाइट्सको हकमा यो टीठलाग्दो दृश्य हो । आफ्नो टोलीमा रहेका सबै चार विदेशी खेलाडी फर्किएपछि नाइट्सले उपलब्ध सबै ११ नेपाली खेलाडी लिएर मैदान उत्रिनुपरेको थियो । जसका कारण टोलीसँग कोही खेलाडी विकल्पमा थिएनन् । एउटा टोलीमा कम्तीमा ११ नेपाली र ४ विदेशी खेलाडी राख्न पाउने प्रावधान छ ।

सोही क्रममा विराटनगरका वैकल्पिक खेलाडीको काममा काठमाडौं नाइट्सका खेलाडी खटिनुपरेको थियो । नाइट्सको टोली फिल्डिङमा रहेको समयमा ड्रिङस ब्रेक हुँदा मैदानभित्र पानी र फलफुल पुर्‍याउने जिम्मेवारी फिजियो सागर पाण्डेको काँधमा थियो । त्यतिबेला नाइट्सको ‘डगआउट’ खाली हुन्थ्यो ।

काठमाडौं नाइट्स फिल्डिङका क्रममा खाली रहेको डगआउट ।

नाइट्सले टसका लागि बुझाएको टिम लिस्टमा आफ्ना चार विदेशी खेलाडी जिम्बावेका रायन बर्ल, अफगानिस्तानका अजमतुल्लाह ओमारजाई, इंग्ल्यान्डका एलेक्स ब्लेक र मलेसियाका वीरनद्वीप सिंह ‘अनुपस्थित’ लेखिएको थियो । बर्लले ५ र ओमारजाईले ६ खेलमात्र खेलेर फर्किएका थिए । पारिश्रमिक, स्पट फिक्सिङ र बेटिङ प्रकरण आएपछि विदेशी खेलाडी फर्किन लर्को लागेको थियो । बर्ल ‘इन्टरनेसनल ड्युटी’ का कारण जनाइ फर्किएका थिए भने ओमारजाई नेपालबाट ढाका लागेर बंगलादेश प्रिमियर लिगमा एक खेल खेलिसकेका छन् ।

टोलीका खेलाडीलाई पानी पुर्‍याउँदै विपक्षी टोलीका खेलाडी र फिजियो। तस्बिर : कान्तिपुर

दुई दिनअघि ब्लेक र वीरनद्वीप पनि फर्किएपछि काठमाडौं नाइट्समा भएका सबै घरेलु खेलाडी क्रिजमै खटिनुपरेको थियो । प्रतियोगितामा धेरै मुद्दाहरू आएको र उनीहरूको टिकट पनि त्यहीअनुरुप बनेर आएकाले आफ्ना विदेशी खेलाडी फर्किएको भन्दै व्यवस्थापनसँग समझदारी मिलाउन नसक्दा यस्तो हुन पुगेको नाइट्सका कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन् । ११ खेलाडीमात्र हुँदा छनोट गर्न केही गर्नु नपरेकाले सिधै मैदानमा खेल्दा हुने भनेर हँसीमजाक गर्न खोजे पनि टिमभित्रको पीडा ज्ञानेन्द्रको भावमा झल्कन्थ्यो ।

पोखरा एभेन्जर्ससँग पुस १८ को खेलमा पराजित भएयता नाइट्सका भारतीय प्रशिक्षक चेतन नन्दा देखिएका छैनन् । सोही दिन नेपाल टी–२० लिगका लागि क्यानको कमर्सियल एन्ड स्ट्रेजेटिक पार्टनर सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन आहलुवालिया र प्रमुख कार्यकारी अधिकृत अभिषेक सकालानी क्यानलाई कुनै जानकारी नदिई दिल्ली लागेपछि धेरै अन्योल देखिएको छ । पछिल्ला दुई खेलमा नाइट्सका भारतीय व्यवस्थापक जशकरण वाही पनि ‘डगआउट’ मा देखिएका छैनन् । जबकि प्रतियोगिताको नियमावलीमा प्रमुख प्रशिक्षक, सहायक प्रशिक्षक, ट्रेनर, फिजियो, टेक्निकल विश्लेषक र व्यवस्थापक अनिवार्य हुनुपर्ने र मेन्टर स्वेच्छिक हुनुपर्ने नियम छ ।

टोलीका खेलाडीलाई पानी पुर्‍याउँदै विपक्षी टोलीका खेलाडी र फिजियो। तस्बिर : कान्तिपुर

‘टिमका मालिकहरू अन्तिममा परिवर्तन हुनु, हाम्रो टिममा धेरै कुरा छिटो छिटो परिवर्तन भइरहेको थियो । त्यसैले यसरी नै जाने भन्ने सुरुदेखि नै अनिश्चित थियो,’ ज्ञानेन्द्रले भने, ‘पछि पनि जस्तो सोचेका थियौं, त्यस्तो भएन । ११ खेलाडीमै खेल्नु बाध्यता हो, यो अवस्थामा अरू कोहीलाई ल्याएर राख्न पनि नमिल्ने जस्तो थियो । यो सबै पक्षमा बोर्डलाई दोष दिनुभन्दा पनि फ्रेन्चाइज र व्यवस्थापनको कुरा हो । व्यवस्थापनले अझ राम्रोसँग सम्हाल्नुपर्थ्यो जस्तो लाग्छ ।’

मैदानबाहिरको प्रसंगभन्दा पनि खेलमा केन्द्रित हुनुपर्ने उनी जनाउँछन् । काठमाडौंको टोलीमा कतिसम्म थियो भने लोकेश बमलाई बलिङ गर्न दिइएको थियो । सुरुमा विकेटकिपरको भूमिकामा खेलेका उनी पछि बलिङमा आएका थिए । अफ स्पिन बलिङ गरेका उनले १ ओभरमा १३ रन खर्चेका थिए ।

पुस १९ गते काठमाडौं र विराटनगरबीचकै खेलमा दुवै टोलीले आफ्ना मुद्दाहरू रहेको भनी टसअगाडि टिम लिस्ट लिन अस्वीकार गरेका थिए । आफूहरूले कुनै पारिश्रमिक नपाएको भन्दै खेलाडीले खेल्न मानेका थिएनन् । यही खेलका दौरान बर्ल र ओमारजाई फर्केका थिए । त्यसयता काठमाडौंले लगातार चौथो खेल हारेको हो । विराटनगरले सोमबार काठमाडौंलाई ९९ रनले पराजित गर्दै क्वालिफायर २ मा पुगेको छ ।


ब्लेकले १० खेल खेल्दै टोलीबाट सर्वाधिक २ सय ९८ रन बनाए । पुस १८ मा खेलाडीको पारिश्रमिक विवाद उठेयता काठमाडौंलगायत धेरै टोलीका खेलाडी मैदानमा केन्द्रित देखिएको छैनन् । पहिलो ६ खेलमा २ सय ४४ रन बनाएका ब्लेकले पारिश्रमिक मुद्दा आएयता पछिल्ला ४ खेलमा ५४ रनमात्र बनाउन सके । ओमारजाईले ६ खेलमा १ सय ८२, वीरनद्वीपले ९ खेलमा १ सय २७ रन बनाए । यी दुईभन्दा बढी रन बनाउने काठमाडौंका नेपाली खेलाडीमा सुनाम गौतम (१९० रन) मात्र रहे । बर्लले ५ खेलमा ६७ रन बनाएका थिए ।

विराटनगरसँग पराजित भएपछि काठमाडौंको यात्रा टुंगिएको छ । प्रतियोगितामा आफ्नो खेल सकिँदासम्म नाइट्सका कुनै खेलाडीले पारिश्रमिक पाएका थिएनन् । सोमबार साँझ खेलाडीको खातामा ६५ प्रतिशत रकम आएको थियो । सम्भवतः बैंकहरू मर्जरको प्रक्रियामा रहेका कारण ३–४ खेलाडीको खातामा रकम आउन बाँकी नै थियो ।

काठमाडौंमा चार विदेशी खेलाडी नभए पनि विपक्षीलाई कमजोर रूपमा लिएर नखेलेको विराटनगरका कप्तान रोहित पौडेलले बताए । उनले ४९ बलमा ६१ रन बनाउँदै विराटनगरको विजय कथा कोरेका थिए । उनी चौथो पटक प्लेयर अफ द म्याच बने । विराटनगर र जनकपुर रोयल्सबीच मंगलबार हुने खेलको विजेताले लुम्बिनी अल स्टार्सविरुद्ध फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

‘काठमाडौं नाइट्समा ११ खेलाडीमात्र हुँदा अलिकति अचम्म लागेको थियो, प्रायः यस्तो हुँदैन,’ रोहितले भने, ‘क्रिकेटका लागि अवस्था राम्रो छैन, यो माहोलमा खेलाडीलाई खेल्न गाह्रो भइरहेको छ ।’ उनले आफ्नो टोलीका एक खेलाडीको ६५ प्रतिशत पारिश्रमिक आएको र अरूको बैंकमा हालिसक्यो भन्ने खबर आएको जनाए । पारिश्रमिक आउनेमा आफूहरू आशावादी रहेको रोहित बताउँछन् ।

प्रकाशित : पुस २६, २०७९ ०७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×