कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कर्मचारीलाई पर्यटनमन्त्री किरातीको चेतावनी- 'काम नगर्ने भए राजीनामा दिए हुन्छ'

पर्यटनमन्त्री सुदन किरातीले वायुसेवा निगमबाट अबको एक महिनाभित्र अनलाइन टिकेटको व्यवस्था लगायत काम गर्न नसक्ने भए राजीनामा दिएर जानुपर्ने भन्दै कर्मचारीहरूलाई चेतावनी दिए ।

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना जहाजहरुको रिपोर्ट हरेक दिन मन्त्रालयमा पेस गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् ।

कर्मचारीलाई पर्यटनमन्त्री किरातीको चेतावनी- 'काम नगर्ने भए राजीनामा दिए हुन्छ'

कुन जहाज, कति बजे, कहाँ डिले भयो ? भन्नेबारे रिपोर्ट आफूलाई हरेक दिन बुझाउन निगमका पदाधिकारीलाई मन्त्री किरातीले निर्देशन दिएका हुन् । उनले निगमको समस्या समाधान हुने गरी बिजनेस प्लान तत्काल बनाएर आफू समक्ष पेस गर्न पनि निगम पदाधिकारीलाई सचेत गराएका थिए ।

सोमबार मन्त्रीका लागि निगम व्यवस्थापनले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले नेपाल वायु सेवा निगमलाई गौरवको विषय बनाउने गरी तत्काल कार्ययोजना बनाउन पनि निर्देशन दिएका थिए । यदि त्यसो गर्न नसक्ने हो भने निगम पदाधिकारीहरुले तत्काल राजीनामा दिनुपर्ने भन्दै मन्त्री किरातीले चेतावनी दिएका थिए ।

‘अब हामीलाई बिजनेस प्लान चाहियो । प्रत्येक दिन यहाँको रिपोर्ट हामीलाई मन्त्रालयमा चाहिन्छ । कुन जहाज, कहाँ, कति मिनेट, कति घण्टा डिले भयो ? किन भयो ? कुन जहाज कहाँ, कहिले, कसरी त्यसको चक्का हरायो, मुसाले तार काट्यो ? त्यो रिपोर्ट हामीलाई चाहिन्छ । हामीले पनि त जवाफ दिनुपर्‍यो । बेलुका हामीलाई सोध्छन् मान्छेले । मन्त्रालयबाट फर्कँदा म जहाजको रिपोर्ट हेर्दै फर्कन्छु । म ढिलो फर्कन्छु कहिलेकाहीँ त ११ पनि बज्दैछ । म ८/९ बजे त मन्त्रालयमा अनिवार्य रुपमै हुन्छु । यसको रिपोर्ट के माध्यामबाट तपाइँहरूले पठाउने हो, रिपोर्ट मलाई चाहिन्छ । मन्त्रालयलाई रिपोर्ट चाहिन्छ । जे जे भयो भइसक्यो अब । आजसम्म जे जे भयो, आइन्दा त्यस्तो नहोस् । नीतिमा हामी छौं । तपाइँहरूले काम, कार्ययोजना, कार्यक्रम लिएर यसलाई साँच्चै गौरवको विषय बनाउन प्लान चाहियो,' मन्त्री किरातीले भनेका थिए ।

यस्तै उनले अबको एक महिनाभित्र अनलाइन टिकटको व्यवस्था गर्न पनि निर्देशन दिएका थिए । यति एयरलाइन्स, सीता र बुद्ध एयरले गर्नसक्ने काम नेपाल एयरलाइन्सले किन गर्न नसक्ने भन्दै प्रश्न गरेका थिए । अनलाइन टिकटको व्यवस्था गर्न नसक्ने भए राजीनामा दिनुपर्ने भन्दै उनले चेतावनी पनि दिएका थिए । 'सकिँदैन भने राजीनामा दिएर गए हुन्छ,’ उनले भने ।

मन्त्री किरातीले १ महिनाभित्र अनलाइन टिकट टिकट पाउने गरी आवश्यक व्यवस्था मिलाउन निगमलाई निर्देश दिएका थिए । त्यसका लागि आवश्यक नीतिगत व्यवस्था आफूहरुले तत्काल गरिदिने पनि उनको भनाइ थियो । मन्त्री किरातीले निगमलाई मान्छेहरुले घृणा गर्ने गरेको टिप्पणी गर्दै त्यसलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका थिए ।

प्रकाशित : माघ ९, २०७९ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?