कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

फरार सांसद कोइरी र उद्योगी मुरारकासहित ६ जनाको विभूषण रद्द

मातृका दाहाल

काठमाडौँ — सरकारले सुरक्षाकर्मी हत्या अभियोगमा फरार सांसद लक्ष्मी महतो कोइरी र भ्रष्टाचार मु्द्दा चलिरहेका उद्योगी पशुपति मुरारकासहित ६ जनाको विभूषण रद्द गरेको छ । मन्त्रिपरिषद्को गत साता बसेको बैठकले उनीहरूको विभूषण रद्दको निर्णय गरेको हो ।

फरार सांसद कोइरी र उद्योगी मुरारकासहित ६ जनाको विभूषण रद्द

मन्त्रिपरिषद्को निर्णय अनुसार विभूषण रद्द भएकाहरूको नाम राष्ट्रपति कार्यालय पठाउन लागिएको गृहमन्त्रालय स्रोतले जानकारी दियो । विभूषण रद्द भएका अन्यमा व्यापारी चिराग गोयल, शिक्षकहरु हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठ र कर्मचारी शेरबहादुर श्रेष्ठ छन् । भष्ट्राचार र विवादमा रहेका व्यक्तिहरुलाई विभूषण दिने निर्णय भएको भन्दै आलोचना भएपछि पूर्ववर्ति शेरबहादुर देउवा सरकारले गरेको विभूषण दिने सूचीमा रहेका विवादित व्यक्तिको नाम रद्द गरिएको हो ।

उद्योगी मुरारकामाथि खानी दोहनको अभियोगमा बिगो, कैद र जरिवाना असुलको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्दा छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारकाविरुद्ध अख्तियारले २०७८ माघ १२ मा विशेष अदालतमा ४९ करोड ४५ लाख ५१ हजार ६ सय ४५ रुपैयाँ बिगो र २ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको थियो । मुद्दाको किनारा नलाग्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मुरारकालाई ‘सुकीर्तिमय राष्ट्रदीप’ विभूषण घोषणा गरिएको थियो ।

सांसद कोइरी २०७२ भदौ २५ मा सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) थमन विक हत्या अभियोगका फरार व्यक्ति हुन् । उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘समाजसेवी’ का रूपमा 'प्रबल जनसेवाश्री' दिने घोषणा गरिएको थियो ।

विभूषणका लागि जिल्ला प्रशासनबाट सिफारिस भएर आएका नाममा गृह मन्त्रालयले विवादित पृष्ठभूमि भए/नभएकामा दोहोरो प्रमाणीकरण गर्ने अभ्यास छ । महोत्तरी प्रशासनले भने महतोको पृष्ठभूमि विवादित भएको जानकारी गृहलाई गराएन्। त्यसपछि मन्त्रिपरिषद्ले उनको नामसहित विभूषित हुनेको सूची अनुमोदन गरेर राष्ट्रपति कार्यालय पठाएको थियो । त्यही सूची सदर गर्दै राष्ट्रपति कार्यालयले उनको नाम अनुमोदन गरेको हो ।

संविधान दिवसको दिन पारेर सोमबार सरकारले ९ सय ९८ जनालाई विभिन्न किसिमका विभूषण घोषणा गरेको छ, जसअनुसार १७ जनाले ‘सुकीर्तिमय राष्ट्रदीप’ पाउने उल्लेख थियो। यो सूचीको दसौं नम्बरमा मुरारकाको नाम थियो । उनी खानी उद्योग सिद्धार्थ मिनिरल्सका सञ्चालक हुन् ।‘प्रबल जनसेवाश्री’ बाट विभूषित हुने ३ सय १२ जनामध्ये सांसद कोइरीको नाम १० औं नम्बरमा छ।

हरेक वर्ष संविधान दिवसमा विभूषण घोषणा गरेर नेपाली नयाँ वर्ष (वैशाख १) राष्ट्रपतिबाट वितरण गर्ने चलन छ। यो पटक विभूषण पाउनेको सूचीमा कालोबजारी र ठगी आरोपमा प्रशासन र प्रहरी अनुसन्धानमा तानिएका व्यक्ति पनि अटाएका छन्। विगतमा विभूषण बहिष्कार गर्ने केही कलाकार पनि सूचीमा छन्।

सात वर्षअघि मधेसमा चर्केको सरकारविरोधी प्रदर्शनमा असई विक आन्दोलनकारीबाट मारिएका थिए। महतोलाई योजनाकारका रूपमा प्रहरीले किटान गरेको छ। घटनापछि फरार उनी वारेसबाट मनोनयन दर्ता गराएर मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ बाट विजयी भएका छन्। आफैं उपस्थित हुँदा पक्राउ पर्ने डरले वारेसमार्फत उम्मेदवारी दिएका उनले निकटतम प्रतिद्वन्द्वी माओवादीका गिरिराजमणि पोखरेललाई पराजित गरेका हुन्। उनी प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन गत पुस २६ गते प्रतिनिधिसभामा उपस्थित भएका थिए । फरार सूचीमा रहेका उनलाई प्रतिनिधिसभामा उपस्थित हुँदा पनि पक्राउ गरिएको छैन ।

महतोलाई विभूषण दिलाउन जनता समाजवादी पार्टीको पनि जोडबल रहेको थियो । त्यसबेलासम्म उनी जसपामै थिए । असोज २७ सम्म उनको दल जसपा सरकारमै थियो । गत चुनावमा कांग्रेस–माओवादी गठबन्धनसँग सहमति नजुटेपछि जसपाका मन्त्री असोज २७ मा बर्खास्तीमा परेका थिए। त्यसपछि एमालेसँग सम्पर्कमा पुगेका महतो टिकट पाउने सुनिश्चित गरेर मनोनयनको अघिल्लो दिन जसपाबाट अलग भएर एमाले छिरेका थिए ।

थमन विकको हत्यासम्बन्धी मुद्दामा महतोलाई जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी वकिलले उच्च अदालत जनकपुरमा पुनरावेदन गर्‍यो । धरौटीमा छाड्ने जिल्लाको आदेश उल्ट्याउँदै उच्चले पक्राउ गरी थुनामा पठाउन आदेश दिएको थियो। तर, उच्चको आदेश तीन वर्षसम्म पनि कार्यान्वयन भएको छैन। महतो खुलेआम सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका छन्। सांसद निर्वाचित प्रमाणपत्र वारेसमार्फत बुझेपछि आयोजित विजयी र्‍याली/जुलुसमा महतो सहभागी भए पनि प्रहरीले पक्राउ गरेन।

जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। ड्युटीमा रहेका सुरक्षाकर्मीलाई घाइते अवस्थामा अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट थुतेर हत्या गरेको जस्तो गम्भीर अभियोग लागेका व्यक्तिलाई धरौटीमा छाड्ने न्यायाधीश अधिकारीको आदेश त्यतिबेलै विवादित बनेको थियो ।

विभूषण रद्द भएका व्यापारी गोयललाई प्रवल जनसेवाश्री दिने घोषणा गरिएको थियो । उनले अघिल्लो वर्ष जनसेवाश्री पदक पाइसकेकोले उनी यसवर्ष अर्को पदक पाउने योग्यताभित्र नपरेका कारण रद्द गरिएको हो । एउटा पदक पाएको दुइवर्ष पुरा नुहँदै अर्को पदक दिन नमिल्ने व्यवस्था छ ।

विभूषण रद्द भएका हरिप्रसाद कँडेल । भिमोदय नमूना माबी चितवनका शिक्षक हुन् । भ्रष्टाचार आरोपमा अख्तियार अनुसन्धानको दायरामा छन् । उनलाई प्रवल जनसेवाश्री दिने घोषणा गरिएको थियो । त्यस्तै यामबहादुर श्रेष्ठ जननमुना माबी सुर्खेतको शिक्षक हन् । उनी पनि भ्रष्टाचार आरोपमा अनुसन्धानको दायरामा छन् । उनलाई पनि प्रवल जनसेवाश्री दिने घोषणा गरिएको थियो ।

प्रवल जनसेवाश्री पाउने सूचीमा रहेका कर्मचारी शेरबहादुर श्रेष्ठको पनि रद्द गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यलय सुर्खेतमा कार्यरत रहेका बेला भ्रष्टाचार गरेको भन्दै उनीमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित : माघ ९, २०७९ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?