प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उनीहरुबीच समसामयिक विषयमा छलफल भएको थियो ।

सभामुखमा निर्वाचित भएपछि उनले पहिलोपटक प्रधानमन्त्रीलाई भेटेका हुन् ।

नेकपा (एमाले)का सांसद घिमिरे यही माघ ५ गते सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा निर्वाचित भएका थिए । उनलाई नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत राजनीतिक दलले समर्थन गरेका थिए ।

प्रकाशित : माघ ९, २०७९ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्

माया नमारे मेरा शिरफूल

युवा कलाकारको फ्युजनसहितका सुदूरको सांगीतिक कोसेलीले आकर्षित गर्दै
रीना मोक्तान

आरजे राजको चर्चित गीत ‘शिरफूल’ को अर्को संस्करणलाई अहिले युट्युबमा श्रोता/दर्शकले मन पराइरहेका छन् । ‘कैले माया नमारे मेरा शिरफूल’ यसपटक रेखा जोशीको स्वरमा आएको गीतले नेपाली र सुदूरपश्चिमको भाषालाई जोडेको छ । मुलुक भाषा, संस्कृतिमा कति समृद्ध छ भन्ने यसरी गीतले जोड्दा आभास गराउँछ । यस्तै छ, केही अघि चक्र बमले ल्याएको ‘ओई काजल’ गीत ।

युवा कलाकारहरू पश्चिमेली भाकालाई विभिन्न भाषासँग जोडेर प्रयोग गरिरहेका छन् । यसले नयाँ पुस्तालाई मुलुकको भाषिक विविधताबारे आकर्षित गरिरहेको छ । कुनैबेला देउडा खेल/नाचमा मात्र सीमित थियो । नाच्ने भीडमा पुरानै अनुहार दोहोरिन्थे । तर, पछिल्लो समय देउडामा रमाउने युवा जमात् बढेको छ । हालै युट्युबमा सार्वजनिक भएको ‘मेरी इजु’ ज्वलन्त उदाहरण हो । छोटो समयमा अत्यधिक भ्युज प्राप्त यस गीतमाथि बनाइएका टिकटक भिडियोले पनि सुदूरपश्चिमको मौलिक भाका, शब्द अनि संगीतले दर्शकको मन जितेको साबित गर्छ । देउडा गीतलाई मूलधारसम्म ल्याउनमा जेआर भट्टहरूले पुर्‍याएको योगदानको उदाहरण पनि हो मेरी इजु ।

‘मेरी इजु’मा उनले डोटेली भाषाको र्‍याप पनि मिसाएका छन् । पराई घरमा गएकी छोरीको पीडा गीतलाई दर्शकले रुचाएको उनको बुझाइ छ । ‘एक सातामै २ लाखभन्दा बढीले यो गीतमाथि टिकटक भिडियो बनाइदिनुभएको छ । युट्युबमा पनि ७ लाखभन्दा बढीले हेरिदिनुभएको छ,’ उनले भने, ‘पहिले–पहिले देउडालाई खेलमै सीमित गरिएको थियो । तर, युवाहरूले देउडा गाउँदा युवा दर्शकले रुचाइदिँदा रहेछन् ।’ २०७६ मा सुदूरपश्चिमका ९ जिल्लामा खेलाइएको देउडामा महाकाली

साहित्य संगमबाट ‘वर्ष उत्कृष्ट देउडिया’को अवार्डसमेत जितेका जेआरले संस्कृतिमा योगदान पुर्‍याइरहेका छन् । ‘सुदूरपश्चिमको मौलिक भाका अहिले देशव्यापी बनेको छ । अहिलेसम्मकै धेरै भ्युज प्राप्त गर्ने देउडा गीत बनेको छ यो,’ २२ वर्षीय जेआरले भने ।

सुरुवाती दिनमा युवा गायक चक्र बमले पनि सुदूरपश्चिमेली भाकालाई नयाँ शैलीमा प्रस्तुत गर्दा विभिन्न आरोप सहनुपरेको थियो । एउटै शैलीका गीतमा दर्शकको चासो घट्दै गएको देखेपछि उनले सुदूरका भाका र लवजलाई नयाँ शैलीमा प्रस्तुत गरे । ‘उस्तै लेखन, गाउने शैली, भिडियो पनि एउटै किसिमका गीतहरूका दर्शक नयाँ स्वाद खोजिरहेका थिए । त्यसैले मैले नयाँ तरिकाले ल्याएँ, धेरैले मन पराइदिए,’ उनले भने । ‘कर्णालीतिर झुमाइदे’ बोलको गीतलाई ईडीएम (इलेक्ट्रोनिक डान्स म्युजिक) शैलीमा बनाउँदा उनलाई डोटेली भाका बिगारेको आरोप लाग्यो । तर, त्यहीबीच पनि उनले युवा दर्शकको माया र साथ पाए ।

चक्रले आफ्नो करिअर नै देउडा गीतबाट सुरु गरेका हुन् । दर्जन मौलिक देउडा गरिसकेपछि उनलाई लाग्यो,देउडालाई फरक शैलीमा प्रस्तुत गर्न नसके धेरै दर्शकमा पुग्न सकिन्न । ‘त्यसपछि सुरुवातमा मैले गरेको ११/१२ वटा गीत दर्शकले सुनिदिएनन् । तर, अहिले प्रयोगात्मक कामहरू गर्दै जाँदा दर्शकले त्यही पुरानो भाकालाई पनि मन पराइदिनुभएको छ,’ उनी भन्छन् । चक्रका ‘पश्चिमेली चेलो,’ ‘डोटीको बैकान’, ‘पहाडी गीत,’ ‘खेल मेरी दर्कादरी,’ ‘नौगेडी’ लगायतका थुप्रै गीतमा नयाँ शैली छ । अब त उनले चाहेर पनि नेपाली भाषाको मात्र गीत गर्न सक्दैनन् । गरिहाले दर्शक सोध्छन् ‘पश्चिमको भाका गीत खोइ ?’

अछामी बड्डोको उपनाम पाएका लालबहादुर धामीले गीतहरूलाई सुदूरपश्चिममै छायांकन गर्दै आएका छन् । मौलिक देउडामा २०५५ देखि नै लागेका उनले सुदूरको बाहेकका गीत गरेका छैनन् । २५ वर्षदेखि मौलिक देउडा गर्दै आइरहे । नयाँ पुस्ताले गर्दै आएका देउडालाई उनी फ्युजनका रूपमा व्याख्या गर्छन् । ‘देउडा भन्ने शब्दको प्रयोग गरेर विकृति गर्नेहरू पनि छन् । देउडा भनेको छुट्टै शब्द हो । तर, देउडालाई पनि अलि फ्युजन गरेर सबैले सुन्ने खालका गीतहरू युवा पुस्ताले गरिरहेको देख्छु । देउडा भन्ने शब्दको प्रयोग गरेर संस्कृति बिगार्नेहरू पनि छन् । यो फ्युजन गीतको फाइदा पनि छ, बेफाइदा पनि देखेको छु,’उनले भने, ‘केटाकेटीले पनि देउडा खेलेको देख्दा खुसी लाग्छ ।’

२०७२ मा ल्याएको ‘अछामी बड्डो’ले उनलाई नयाँ परिचय थपिदिएको हो । ठट्यौलो शैलीको यो गीतले देउडा भाकामा नयाँ आयामकै काम गरेको छ । गीतमा निराशाका भाव आइरहेका बेलामा ‘अछामी बड्डो’ चर्चामा आयो । ‘अछामी बड्डो’ महेन्द्रनगरको रेडियो कञ्चनपुरको ‘भुटन भाटन’ कार्यक्रमले जन्माइदिएको हो । २०७१ तिर उनी उक्त कार्यक्रममा अछामी बड्डो चरित्रमार्फत हास्यव्यंग्य प्रस्तुत गर्थे । त्यही चरित्रलाई लिएर उनले गीत ल्याए । उनको गीतमा अहिले प्रत्येक मेला महोत्सवमा देउडा खेलाइन्छ ।

रेडियो कञ्चनपुरबाटै चर्चित देउडा गायिका रेखा जोशी पनि उदाएकी हुन् । २०७१ मा ‘घुटुक्क बाडुली लाग्या’ बाट उनले सांगीतिक करिअर सुरु गरिन् । घरपरिवार र आफन्तले उनको गायनको तारिफ गरिरहे । ‘लोक झन्कार’ भन्ने रेडियो कार्यक्रममा अरूका टुक्रा गीत गाउन थालेकी थिइन्, पहिलो गीत अफर आइहाल्यो । ‘घुटुक्क बाडुली लाग्या’पछि सुदूरका भाकामा गाउने अफर गर्नेहरू बढे । करिब हजार वटा देउडा गाइसकेकी रेखालाई अहिले गायनका व्यावसायिक अफर आइरहन्छ । तर, देउडाले नै चिनाइदिएका कारण उनी देउडा गाउनमै रमाउँछिन् । उनको स्वर पनि देउडासँग मिल्छ । अन्य गीत रहर र बाँच्ने आधारका रूपमा गाए पनि रेखाले देउडालाई आफ्नो विधा बनाएकी छन् ।

समयको मागअनुसार युवा पुस्ताले देउडामा फरक शैलीहरू अपनाएको रेखा बताउँछिन् । ‘पहिलाका गीतहरू टिपिकल हुन्थे । अब दर्शकले नयाँपन खोज्छन् । जसरी पुस्ता हस्तान्तरण हुन्छ, संगीत क्षेत्रमा पनि परिवर्तन ल्याइदिएको छ । यो समयको माग हो । अपाच्य खालका गीतहरू चाहिँ निकाल्न हुँदैन,’ उनले भनिन्, ‘अहिले प्रविधिले गर्दा श्रोता बढिरहेका छन् ।’ घाँटीमा समस्या देखिएपछि भोकल रेस्टमा बसेकी रेखा सर्जकहरूलाई मौलिक देउडा लेख्न सल्लाह दिन्छिन् । ‘पुराना सर्जकहरूले मौलिकता जोगाउने गीतहरू गरिरहनुभएको छ । तर, अहिलेको पुस्ताले देउडालाई खासै बुझेका छैनन्,’ उनले भनिन्, ‘छिटो चर्चा पाउन र स्टेज पाउनका लागि आफ्नो ढंगले गीतहरू प्रस्तुत गरिरहेका छन् । हामी पनि जसले जे दियो त्यही गाइरहेका छौं । सर्जकहरू अलि जिम्मेवार भएर राम्रो रचना लेखिदिए हामीले त्यस्तो गीत गाउन पाउँथ्यौं ।’

प्रकाशित : माघ ९, २०७९ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×