कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

उपल्लो डोल्पाका अधिकांश गुम्बा रित्तै

गुम्बा व्यवस्थापन समितिको सूचीमा डोल्पामा १ सय १८ वटा गुम्बा छन्, ती गुम्बा कस्ता छन्, भित्रका सम्पदा सुरक्षित छन्/छैनन् भन्ने खोजी गरिएको छैन

काठमाडौँ — उपल्लो डोल्पाको धो–तरपस्थित गाकार गुम्बाबाट ६ वर्षअघि चोरिएको शाक्यमुनि बुद्धको पुरातात्त्विक कास्यमूर्ति बेइजिङको निजी ग्यालरी ‘चाइना गार्जियन अक्सन’ मा लिलामीमा राखिएको समाचार सार्वजनिक भएसँगै डोल्पाबाट दर्जनौं सम्पदा हराएको खुल्न थालेका छन् ।

उपल्लो डोल्पाका अधिकांश गुम्बा रित्तै

नेपाल गुम्बा व्यवस्थापन समिति, पुरातत्त्व विभागसहितका निकाय पनि डोल्पाको सम्पदा अभिलेखीकरणमा जुर्मुराएका छन् । गाकार गुम्बाको सम्पदा लुटपाटबारे प्रहरी प्रशासनको अनुसन्धान भने जारी छ ।

नेपाल गुम्बा व्यवस्थापन समितिमा डोल्पाका १ सय १८ वटा गुम्बा दर्ता छन् । ‘तर, त्यसभित्रको सम्पदा वा बौद्ध सामग्रीको सूची अप्राप्य छ,’ समितिका कार्यकारी प्रमुख होमबहादुर दोङले भने, ‘त्यहाँका कतिपय पुरातात्त्विक गुम्बा अझै दर्ता भएका छैनन् ।’ गाकार गुम्बाको शाक्यमुनि बुद्ध बेइजिङमा भेटिनुअघि डोल्पाकै से–फोक्सुन्डोस्थित लाङ गुम्बामा रहेको चौंधौं शताब्दीमा निर्मित तामाधातुले बनेको शाक्यमुनि बुद्धको सुनौलो मूर्ति अमेरिकाको सिकागोमा भेटिएको थियो । सन् ९० दशकको सुरुवातमा हराएको मानिने उक्त मूर्ति सिकागो राज्यअन्तर्गत निजी संग्रह प्रिज्कर (टम) कलेक्सनमा भेटिएको बारे गत साउनमा मात्रै सूचना बाहिर आएको थियो । यो प्रतिमाको प्रामाणिकता पहिल्याउन स्वीस अध्येता उर्लिच भोन स्क्रोडरको ‘इन्डो–टिबेटन ब्रोन्जेज (१९८१)’ पुस्तकमा संकलित तस्बिरलाई आधार मानिएको थियो ।

डोल्पासहित हिमाली जिल्लाका गुम्बाहरूबाट विभिन्न समय हराएका र चोरी भएका बौद्ध प्रतिमा ।

प्राचीन लाङ गुम्बाबाटै हराएको बोधिसत्व अवलोकितेश्वरको सुनौलो मूर्ति अस्ट्रेलियाको सिड्नीस्थित आर्ट ग्यालरी अफ न्यू साउथ वेल्समा गत असोजमा भेटिएको थियो । लाङमा रहेका पुरातात्त्विक सम्पदाबारेमा कला अध्येता एमी हेलरको ‘हिडन ट्रिजर्स अफ द हिमालयज : टिबेटन मेनुस्क्रिप्ट, पेन्टिङ एन्ड स्कलप्चर अफ डोल्पो (२००९) पुस्तकमा विस्तृत विवरण छ । उपल्लो डोल्पामा रहेका बौद्ध सम्पदा र गुम्बाबारेमा बेलायती शोधकर्ता डा. मिलिन स्मिथले अन्वेषण गर्दै आएकी छन् । स्मिथले सम्पदा संरक्षण अभियानमा सघाउ पुग्ने गरी ‘पेमा र डोल्पाबाट चोरिएको मूर्ति’ शीर्षकमा सचित्र पठनसामग्रीसमेत तयार पारेकी छन् ।

डोल्पाको से–फोक्सुन्डोस्थित येछेर जाङचुव–लिङ गुम्बासम्बद्ध रनग रिम्पोचेले आफूले आमाबुबाको पुस्ताबाट सुनेको आधारमा ‘डोल्पामा बोल्ने ताराका प्रतीक (मूर्ति)’ रहने गरेकामा अहिले ती सबै अप्राप्य भइसकेको जनाए । ‘३० वर्षअघिदेखि त्यस्ता पुरातत्त्व र महत्त्वका सम्पदा हराइरहेका छन्,’ उनले भने, ‘एउटा सम्पदा हराएपछि त्यहाँको संस्कृति र चिनारी पनि हराउँछ, सभ्यता र इतिहास पनि हराउँछ । डोल्पामा पुराना गुम्बाहरू संरक्षण अभावमा भत्काउँदै छन्, गुम्बाभित्रका मूर्तिहरू एकपछि अर्को गर्दै हराइरहेका छन् ।’

‘लस्ट आर्ट्स अफ नेपाल’ ले दिएको जानकारीअनुसार, लामा र बौद्ध प्रतीकसहितको महाकाल पानी रङको कपडाचित्र क्यालिफोर्नियाको नर्टन सिमोन म्युजियममा पाइएको छ भने बोन धर्म/देवतासम्बन्धी १६ औं शताब्दीको कपडा–चित्राकृति जर्मनीको स्टुटगार्टस्थित नागेल अक्सनमा लिलामी हुने जनाइएको थियो । गत ६ डिसेम्बरमा लिलामी हुने उक्त कलाकृतिका बारे पछिल्लो ‘अपडेट’ आएको छैन । यस्तै, बुद्ध शाक्यमुनीको २० औं शताब्दीकै थाङ्काचित्र पनि गत नोभेम्बर ३० मा मार्कोपोलो एसियन आर्ट, इटालीमा लिलामीमा राखिएको थियो । बोन देवतासम्बन्धी ‘स्नेला ओकार’ को १६ औं शताब्दीको थाङ्का पनि गत ८ डिसेम्बरमै पेरिसमा लिलामीमा राखिएको थियो । डोल्पो क्षेत्रबाटै संकलित १४ औं शताब्दीको ‘क्राउन्ड बुद्ध’ पनि २०११ नोभेम्बर २ मा जुरिचको कोलर अक्सनमा लिलामी गरिएको प्रमाण ‘लस्ट आर्ट्स अफ नेपाल’ ले राखेको छ । यी सबै पुरातात्त्विक सम्पदाहरू डोल्पाबाटै संकलन गरिएको थियो ।

हाल जर्मनी स्टुर्टगार्टमा रहेको बोन धर्मसम्बन्धी डोल्पो थाङ्का

यसैगरी, डोल्पाको मार्गम गुम्बाबाट हराएको बौद्धगुरु पाल्देन लोडोको पोट्रेट स्विट्जरल्यान्डको रिएटबर्ग म्युजियममा भेटिएको छ भने अक्षधारा प्रतिमा पनि यही म्युजियममा संकलित छ । सिकागो राज्यअन्तर्गत निजी संग्रह प्रिज्कर (टम) मा डोल्पोसहितका एक दर्जनभन्दा बढी सम्पदा सामग्री छन्, जसको ‘उत्पत्तिको पहिचान’ प्रमाणित गर्ने कार्य जारी छ ।

हाल अमेरिकाको क्यालिफोर्नियामा रहेको महाँकाल–लामा थाङ्का
यसरी हराएका डोल्पाका दर्जनौं सम्पदा र पुरातात्त्विक सामग्रीमध्ये अहिलेसम्म बेइजिङमा भेटिएको शाक्यमुनि बुद्ध मात्रै घर फर्कन सक्ने पहल अघि बढेको छ । यसबारेमा ‘उत्पत्तिको पहिचान’ खुलेपछि पुरातत्त्व विभाग हुँदै परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासले गरेको पहलमा यो सम्पदाको लिलामी भने रोकिएको छ । ‘हामीले उक्त सम्पदाबारेको प्रमाण जुटाएर तथा सन् २०११ मा खिचिएको उक्त सम्पदाबारेको तस्बिर/भिडिओसमेत उपलब्ध गराएर पुरातत्त्व विभागमार्फत हाम्रो सम्पत्तिको लिलामी रोक्न आग्रह गरेका थियौं,’ रिम्पोचे सेई नामखाई दोर्जीले भन्छन्, ‘परराष्ट्र मन्त्रालयमार्फत बेइजिङस्थित दूतावासमा उक्त अनुरोध गएपछि कूटनीतिक प्रक्रियाबाट सम्पदा लिलामी हुनबाट जोगिएको छ, तर अब घरफिर्तीको प्रक्रिया भने बाँकी छ ।’

हाल फ्रान्सको पेरिसमा रहेको बोन धर्मसम्बन्धी डोल्पो थाङ्का

नेपाल गुम्बा व्यवस्थापन समितिका अनुसार, समितिको जिम्मामा गुम्बाको दर्ता र मर्मतसम्भारका लागि अवस्था हेरीकन बढीमा ५ लाख रुपैंयासम्म प्रतिगुम्बालाई दिन सकिने प्रावधान छ । समितिका कार्यकारी प्रमुख दोङले ‘बौद्ध धर्ममा धेरै सिद्धगुरुहरू जन्मेको ठाउँ भए पनि डोल्पाका लागि राज्यले खासै ध्यान दिन नसकेको’ बताए । ‘उपल्लो डोल्पाको कुनै बिन्दुमा रहेको गुम्बाको मर्मतसम्भार वा सम्पदा सुरक्षामा ५ लाख रुपैयाँ दिइए पनि त्यहाँको भौगोलिक अवस्थिति र खर्च गर्नैपर्ने ढुवानीसहितका कठिनाइका कारण यो पैसाको खासै महत्त्व रहँदैन,’ दोङले भने, ‘डोल्पासहितका हिमाली जिल्लाको बौद्ध सम्पदा र सभ्यताको जगेर्नाका निम्ति भिन्नै योजना र प्रबन्ध जरुरी देखिएको छ । यसमा पैसाभन्दा पनि बढी सम्पदा र सभ्यताको जगेर्नामा सरोकार जोडिएको हुनुपर्छ । यसका लागि केन्द्रदेखि स्थानीय तहसम्मको विशिष्ट तहको प्राथमिकता तय हुन सक्नुपर्छ ।’

‘डोल्पाको बौद्ध सम्पदा रित्तिँदै छ’

उपल्लो डोल्पा, धो–तरपस्थित गाकार गुम्बाबाट २०१६ को अप्रिल ९ को रात शाक्यमुनि बुद्ध कास्यमूर्ति, ताज पहिरिएको बज्रधारासहितका ४ वटा पुरातात्त्विक सम्पदा चोरिएको घटनापछि त्यो क्षेत्रमा निकै त्रासको स्थिति बढ्न थालेको थियो । युनेस्को सूचीमा रहेका यी सम्पदाको चोरी र गुम्बामा भएको आक्रमणबारेमा हिमालयन डोल्पो गाकर–हङट्राम फाउन्डेसनका तर्फबाट तत्कालै प्रहरी कार्यालय (जोमसोम र काठमाडौं) तथा पुरातत्त्व विभागसमेतलाई अवगत गराएका थियौं ।

रिम्पोचे सेई नामखाई दोजी

झन्डै ६ वर्षपछि ‘लस्ट आर्ट्स अफ नेपाल’ अभियानले गाकार गुम्बाबाट चोरिएको बुद्ध शाक्यमुनिको मूर्ति चीनको बेइजिङमा लिलामीमा राखिएको प्रमाणसहितको सूचना बाहिर ल्याएपछि यो हाम्रो सम्पदा फिर्ता ल्याउने पहलमा म लागेको छु । उक्त बुद्ध प्रतिमाको ‘उत्पत्तिको पहिचानसहितका प्रमाण’ जुटाएर पुरातत्त्व विभागमार्फत हकदाबीको कागजात बेइजिङ पठाएका छौं । यो एउटा उदाहरणबाहेक शे–फोक्सुन्डोको लाङ, मार्गम, बोन गुम्बा र उपल्लो डोल्पाका दर्जनौं गुम्बाहरूबाट थुप्रै पुरातात्त्विक सम्पदाहरू चोरी भइसकेको सूचना आइरहेको छ । स्थिति कस्तो भइदियो ५/७ वर्ष पुराना गुम्बाहरू संरचना र मर्मतसम्भारका हिसाबमा धेरै नाजुक भइरहेको यथार्थ त एकातर्फ छँदै छ, अर्कातिर ती गुम्बामा रहेका बौद्ध सामग्री, पुरातत्त्व बनिसकेका मूर्ति, हस्तलिखित पाण्डुलिपि र थाङ्का चित्रहरू पनि आज पाउन छाडिएको छ । एक प्रकारले डोल्पाको बौद्ध सम्पदा रित्तिने क्रममा पुगेको देखिन्छ ।

यही सरोकार लिएर म सरकारी निकायका रूपमा रहेको गुम्बा व्यवस्थापन समितिमा पनि केही जानकारी लिन र दिनसमेत गएँ । समितिको सूचीमा डोल्पामा १ सय १८ वटा गुम्बा रहेको भए पनि त्यसको अद्यावधिक स्थिति र हराइरहेका सम्पदाहरूको बारेमा खासै अभिलेखको काम भएकै रहेनछ । बौद्ध सभ्यता, सम्पदा र साधनाका हिसाबमा पनि परापूर्वकालदेखिको तपस्थली मानिने डोल्पाका बारेमा पुरातत्त्व विभागले पनि तत्कालै विषयगत अध्यन र अनुसन्धान थाल्नुपर्ने देखिन्छ । कम्तीमा डोल्पामा रहेका बौद्ध सम्पदाहरूको अभिलेखीकरण गर्ने काम भने थाल्नैपर्ने देखिन्छ, अन्यथा डोल्पाको बौद्ध सम्पदा, गुम्बा र पहिचान नामेट हुने स्थिति छ ।

प्रकाशित : माघ ९, २०७९ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?