दाउरा ल्याउन आधा दिन, पानी भर्न २ घण्टा

वर्षौंदेखि अभावै अभावमा छन् भिईका २७७ परिवार
राजबहादुर शाही

मुगु — जानसरा कुमालको घरमा दाउराबाटै खाना पाक्छ । सोरु गाउँपालिका–३ भिई गाउँकी उनको बस्ती नजिक वन छैन । त्यसैले उनी र उनका गाउँलेले एक भारी दाउरा खोज्न नाथर्पु, गैरीपाल्त, पातीहाल्नलगायतका सामुदायिक वनमा पुग्नुपर्छ ।

दाउरा ल्याउन आधा दिन, पानी भर्न २ घण्टा

‘उज्यालो नहुँदै घरबाट हिँडिहाल्नुपर्छ,’ बिहानै गए पनि घर फर्कंदा झमक्क साँझ पर्छ, छिटो आउन सकिँदैन,’ उनी भन्छिन् । दाउरा मात्र होइन गाउँमा पानीको पनि उस्तै दुःख छ । पानी ल्याउन ९ किलोमिटर टाढाको अडिना मुहान पुग्नुपर्छ ।

बाल्यकालदेखि नै दाउरा र पानीको संकट खेप्दै आएको छिमेकी हरिमाया कुमालले बताइन् । ‘हाम्रो गाउँमा त कहिले सुख आउला,’ उनले भनिन्, ‘बारीको उब्जनीले जसोतसो खान त पुग्छ तर हामीले दाउरा र पानीकै लागि पुस्तौंदेखि सास्ती भोगिरहेका छौं ।’ यो समस्याबारे जनप्रतिनिधि बेखबर होइनन् । हरेक निर्वाचनका बेला भोट माग्न आउने नेताहरूले खानेपानीको दुःख टार्छौं र घरघरमा ग्यास चुलो ल्याएर दाउराको सास्ती हटाइदिन्छौं भने पनि अझै पूरा नभएको उनले गुनासो गरिन् ।

हिमाली जिल्ला मुगुको भिईसहित भाम, भीत, काटी, बैना, कासेडीलगायत ८ गाउँका बासिन्दा वर्षौंदेखि अभाव भोग्दै आइरहेका छन् । जसमध्ये भिईका २ सय ७७ परिवार बढी समस्यामा रहेको नागरिक अगुवा रूपबहादुर विकले बताए । ‘जंगलमा दाउरा समयमै पाइए मात्रै, नत्र यहाँका महिला र बालबालिका दाउराकै लागि जंगलमै बास बस्न बाध्य छन्,’ उनले भने, ‘सामुदायिक वनले काँचा दाउरा काट्न दिँदैन । झिँझा र सुकेका रूख खोज्दाखोज्दै दिन बित्छ ।’

अन्नबालीभन्दा आफूहरूलाई दाउराको दुःख भएको भिईकी ईश्वरा धामीले बताइन् । ‘ग्यास चुलो बालौं भने त्यो किन्न सदरमुकाम गमगढी नै जानुपर्छ,’ उनले भनिन्, ‘दाउरा ल्याउन पनि नजिकै जंगल छैन । दुःखैदुःख सहेर बस्नुपरेको छ ।’ चिसो ठाउँ भएकाले दाउरा सधैं चाहिने उनले बताए । वैशाखदेखि भदौसम्मका ५ महिनाबाहेक अरूबेला गाउँमा दाउरा बाल्नैपर्ने बाध्यता छ । दुई दशकअघिसम्म नजिकै वन थियो, घाँसदाउरा सहज थियो । तर, लगातार फडानी गरेर बोटबिरुवा हुर्काउन ध्यान दिने अग्रसरता नहुँदा जंगल पातलियो । अब बस्तीबाट वन निकै टाढा पर्छ । वन घटेसँगै खानेपानीका लागि पनि दुःखका दिन सुरु भएका हुन् ।

स्थानीयका लागि खानेपानी सहज बनाउन १५ वर्षअघि आइएनएफ संस्थाले भीइबाट ९ किलोमिटर टाढा अडिना मुहाननजिकै योजना ल्याएको थियो । तर, त्यो योजना ५ वर्ष पनि नटिकेपछि स्थानीयबासीलाई खानेपानीका लागि सास्ती भएको हो । स्थानीय दलवीर कार्कीले गाउँको सास्ती सहन नसकेर एक वर्षको अवधिका झन्डै २ दर्जन परिवार बसाइ गएको बताए । ‘विकासको कुरा छाडौं, यहाँ त परिवारलाई पुग्ने पानीकै समस्या छ,’ उनले भने, ‘दाउराको पनि उस्तै सास्ती छ । एक दिन टाढाबाट ल्याएको एक भारी दाउराले एक हप्ता पनि पुग्दैन । त्यसैले सबै परिवार २/३ दिनमा दाउरा खोज्न जंगलतिर गएकै हुन्छन् ।’ उनका अनुसार गाउँमा सञ्चार समस्या पनि उस्तै छ । नेपाल दूरसञ्चार प्राधिकरणले गाउँभन्दा माथिको भिईडाँडामा मोबाइल टावर जडान गरेको छ । तर, विद्युत् समस्याका कारण टावर बिग्रिएपछि बनेको छैन । फोन गर्नका लागि गाउँले एक घण्टामाथिको डाँडामा पुग्छन् । ‘फोन गर्न पनि डाँडामा जानुपर्छ, त्यही पनि सितिमिति टावरै टिप्दैन,’ उनले भने, ‘सानो कामका लागि ठूलो सास्ती भोग्न बाध्य छौं ।’

सोरु–३ का वडाध्यक्ष सिंहबहादुर धामीले पानी ल्याउने योजनाका लागि छलफल भइरहेको बताए । सोलार प्रविधिमार्फत कर्णाली नदीबाट पानी गाउँमा ल्याउन सकिने भए पनि पालिकाबाट विनियोजित हुने बजेटले नपुग्ने उनको जिकिर छ । ‘वनजंगल त नजिक ल्याउन सक्ने कुरा भएन, गाउँको खानेपानी समस्या समाधान गर्न जतिसक्दो प्रयास गरिरहेका छौं,’ उनले भने ।

प्रकाशित : माघ ९, २०७९ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?