कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

तामाङ समुदायले मनाए सोनाम ल्होछार पर्व

सुशीला तामा‌ङ

काठमाडौं — काभ्रे नगरकोट घर भई हाल काठमाडौंमा बस्दै आएका पूर्णिमा  तामाङको परिवारले यो वर्ष सोनाम ल्होछार पर्व परिवार र आफन्तजनका साथ निकै रौनकका साथ मनाए । बिहानै ढल्कुस्थित दिदीको घरमा भेला भई सबैले दिदीको हातबाट टीका र आशिर्वाद ग्रहणपछि खानपिन गरी दिनभरि सबै जनाले टुँडिखेलमा नाचगानसहित निकै रमाइलो गरे ।  

तामाङ समुदायले मनाए सोनाम ल्होछार पर्व

उनका अनुसार विगतका दुई वर्ष कोरोना महामारीका कारण सबैले आ-आफ्नो घरमा सामान्य रुपमा ल्होछार पर्व मनाएका थिए । ‘दुई वर्ष त रोगको महामारीले ल्होछार खासै राम्ररी मनाएका थिएनौं । बच्चाहरूलाई हुलमुलमा ल्याउन डर नै थियो’, टुँडिखेलमा तीन बच्चा र परिवारसहित आएकी उनले भनिन्,‘यसपालि त सबै जनासँग भेटेरै ल्होछार मनाउन पाइयो । निकै रमाइलो नै भयो ।’

पूर्णिमाको परिवारले मात्र होइन यस वर्ष मुलुकभित्र र बाहिर विभिन्न स्थानमा रहेका तामाङ समुदायले आ–आफ्नो स्थानबाट हर्षोल्लासका साथ सोनाम ल्होछार पर्व मनाएका छन् । ताक ल्हो (बाघ वर्ष)को बिदाइ गर्दै मञ्जुश्री संवत् २८५९ औं ह्योअी तावार ल्हो(बिरालो वर्ष)लाई स्वागत गर्दै समुदायले आइतबार ल्होछार पर्व मनाएका हुन् ।

तामाङ जातिको उत्पत्ति, प्रकृति, दर्शन, सभ्यता, सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार पर्वको विशिष्ट स्थान रहेको छ । विज्ञहरूका अनुसार यो गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अंग हो । ‘ल्हो’ को अर्थ साल, वर्ष, सम्वत्, ‘छार’को अर्थ नयाँ अर्थात् नयाँ वर्ष हो । विभिन्न पशुपंक्षीको नामबाट १२ वटा ल्हो हुन्छन् । १२ ‘ल्हो’ मध्ये प्रत्येक वर्ष एक– एक वटा ‘ल्हो’ फेरिन्छ । यही ‘ल्हो’ फेरिने दिनलाई ल्हो पोबा, ल्हो दोबा वा ल्होछार भनिन्छ । तामाङहरूले मान्ने ल्होछार चन्द्र पात्राको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक माघ शुक्ल प्रतिपदादेखि सुरु हुन्छ । ल्होछार पर्व चीन, मङ्गोलिया, जापान, भियतनाम, ताइवानलगायतका मुलुकहरूमा चन्द्रमासमा आधारित नयाँ वर्षका रुपमा मनाइन्छ । नेपालमा भने ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो तामाङ, थकाली, जिरेल, खाममगर तथा शेर्पा समुदायले यस पर्वलाई मनाउने गरेका छन् ।

ल्होछार पर्वकै छेकोमा तामाङहरूको घर–घरमा पूजा गरी दर्ज्यू गाड्ने, प्रसादहरू लिने, चेलीबेटी, इष्टमित्र तथा आफन्तजनहरू भेटघाट गरी मान्यजनबाट आशिर्वाद, टीका ग्रहण गर्ने, मिष्ठान्न परम्परागत भोजनसहित सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्छन् । पत्रकार, लेखक एवं मातृभाषा अभियन्ता प्रतिक ङेसुर तामाङले आफ्नो परिवारमा ल्होछारलाई म्हेनिङ(दशैं) जस्तै मान्यजनबाट टीकाटालो, दक्षिणा र आशिर्वाद लिएर मनाउने गरेको बताए । उनका अनुसार यस वर्ष पनि बिहानै उनको निवासमा परिवार तथा आफन्तजन भेटघाट गरी कोम्हेन्दो(टोटलाको फूल) सहित टीकाटालो गरे र आशिर्वाद ग्रहण गरे । ‘हामीले त ल्होछार दशैं जस्तै मान्यजनबाट टीकाटालो गरेरै मनाउने गर्छौं । खानामा विशेष गरी संक्रान्तिमा जस्तै तरुल, कन्दमूल, आलुम(पानीरोटी), खाप्से पाक्छ । आज सबैजना मेरो घरमै जम्मा भएर ल्होछारकै मनाउने क्रममै छौं’, उनले कान्तिपुरसँगको कुराकानीमा भने ।

पर्वकै अवसरमा टुँडिखेलमा नेपाल तामाङ घेदुङलगायत विभिन्न संघ–संस्थाहरू सहभागिता भएको ल्होछार मूल समारोह समितिले शुक्रबारदेखि आइतबारसम्म समुदायको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, राजनीतिक, सामाजिक तथा मूल आदिम सभ्यताका विषयहरू उठान गर्दै तीन दिवसीय ल्होछार महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्‍यो । सांस्कृतिक उपसमितिले शुक्रबार चर्चित कलाकारहरूको उपस्थितिमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

शनिबार भने लामा, ताम्बा र बोन्बोहरूले विशेष पूजापाठ गरी गायक राजु लामा (मङ्गोलियन हर्ट) र डिजे तेन्जिङले सांगीतिक प्रस्तुति दिएका थिए । सहभागीहरूले बिरालो वर्षलाई स्वागत गर्दै दीप प्रज्ज्वलनसमेत गरेका थिए । अन्तिम दिन शनिबार पनि लामा, ताम्बा र बोन्बो गुरुहरूबाट विशेष पूजा, सहित झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्य, म्होन्दोमाया गीत, डम्फू सेलो प्रस्तुतिहरू भएका थिए । तामाङ समुदायसँग सम्बन्धित रहेका परम्परागत खाना, पुस्तक तथा वस्तुहरूलाई प्रदर्शन गरिएका थिए ।

ल्होछार समारोहमा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहालले तामाङ भाषामै ‘ल्होछारला ज्याबाडान्बा’ भनेर शुभकामना दिँदै यो पर्व तामाङको मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्वका रुपमा रहेको बताए । बहुजातिय, बहुसांस्कृतिक, बहुधार्मिक नै नेपालको गौरव रहेको सुनाउँदै उनले यसको एकत्रित स्वरुप नै मुलुकको संस्कृति तथा सम्पत्ति रहेको जिकीर गरे । ल्होछार पर्व मानव सभ्यता, दर्शन, इतिहास, विज्ञान र कृषि युगको सभ्यता र पहिचालाई समेत प्रतिनिधित्व गरेको उनले उल्लेख गरे । उनले भने, ‘विगतमा अधिनायकवाद सामन्ती राज्यले एउटा संस्कृतिलाई काखा र अर्कोलाई पाखा लगाउँदा ल्होछारजस्ता सांस्कृतिक पर्वहरू लोप भएर जाँदै छन् । अनि पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापित गर्दै छ ।’

ल्होछारकै अवसरमा आइतबार सरकारले सार्वजनिक बिदासमेत दिइएको थियो ।

प्रकाशित : माघ ९, २०७९ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?