कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सरकारबाट बाहिरिने चेतावनी दिएको जनमतलाई प्रधानमन्त्रीले बोलाए छलफलमा

काठमाडौँ — मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिने चेतावनी दिएको सीके राउत नेतृत्वको जनमत पार्टीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलका लागि बोलाएका छन् । जनमत पार्टीबाट सरकारमा सहभागी मन्त्री अब्दुल खान प्रधानमन्त्रीसँग छलफलका लागि जाने उक्त पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिएका छन् ।

सरकारबाट बाहिरिने चेतावनी दिएको जनमतलाई प्रधानमन्त्रीले बोलाए छलफलमा

आइतबारसम्म मन्त्रालय परिवर्तन नगरे सरकार छोड्ने जनमत पार्टीबाट मन्त्री भएका खानले प्रधानमन्त्री दाहाललाई जानकारी गराइसकेका छन् । महासचिव सिंहले मन्त्रालयबारे छलफल गर्नका लागि पार्टीलाई प्रधानमन्त्रीले बोलाएको जानकारी दिए । 'प्रधानमन्त्रीले छलफलका लागि पार्टीलाई बोलाउनुभएको छ । मन्त्री खान गएर आज कुरा गर्नुहुन्छ । प्रधानमन्त्रीले कस्तो धारणा राख्नुहुन्छ‚ त्यसका आधारमा हामी निर्णय गर्छौं,' उनले भने, 'प्रधानमन्त्रीले त हामीलाई जिम्मेवारी थप्ने कुरा गर्नुभएको छ । उहाँले भनेको कुरा पूरा गर्नुहुन्छ कि हुन्न हामी हेरिरहेका छौं ।'

प्रधानमन्त्री दाहाल र मन्त्री खानबीच शनिबार संसद्‌मा पनि छलफल भएको थियो । सुरुमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र मन्त्री खानबीच छलफल भएको थियो । त्यसपछि मन्त्री खानले प्रधानमन्त्री दाहालसँग छलफल गरेका थिए ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि संसद्‌बाटै सरकार र त्यसमा संलग्न अन्य पार्टीहरूको रवैयाप्रति आपत्ति जनाएका थिए । मधेस केन्द्रित दलहरूलाई शक्ति बाँडफाँटमा कम आँकेको भन्दै उनले यसविरुद्ध प्रतिकार हुने चेतावनी दिँदै आएका छन् ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको क्रममा जनमत पार्टीलाई खानेपानी मन्त्रालय दिएका थिए । सुरुमा जनमतले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो । उक्त मन्त्रालय दिने वचनपछि प्रधानमन्त्री दाहालसँगै जनमत पार्टीका सांसद खानले मन्त्रीको शपथ लिएका थिए । शपथपछि झन्डै तीन साता कुनै मन्त्रालय नतोकी राखिएको थियो । दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा माघ ३ गते खानलाई खानेपानी मन्त्रालय जिम्मा लगाइएको थियो । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाएका खानले पदभार ग्रहणसमेत गरकेा थिएनन् ।

प्रकाशित : माघ ८, २०७९ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?