प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर गल्ती गर्‍यौं : कोइराला- समाचार - कान्तिपुर समाचार

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर गल्ती गर्‍यौं : कोइराला

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको शेखर कोइरालाले बताएका छन् । पार्टीभित्र अल्पमतले राखेको सुझाव नेतृत्वले नसुन्दा समस्या भएको कोइरालाले बताएका हुन् । 

काठमाडौंमा आइतबार आफ्नो पक्षको भेलामा शेखर कोइरालाले प्रधानमन्त्रीले मागेको विश्वासको मत विभाजनका क्रममा तटस्थ बस्नुपर्ने सुझाव दिएको पनि बताएका छन् । 'हामीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर गल्ती गर्‍यौं,' उनले भने, 'तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समितिमा राखेको थिए, त्यसको सुनुवाइ भएन ।'

बहुमतको निर्णय मान्दा बाध्यतामा परेको पनि कोइरालाले बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आडमा बाध्यतामा पारेको बताएका हुन् । 'बहुमतको निर्यण मान्नुपर्ने बाध्यता भयो । विश्वासको मत दिन हुन्थेन,' उनले भने ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसको कोइराला समूहले छलफल गरिरहेको छ । कांग्रेस अहिले सत्तापक्ष हो कि प्रतिपक्ष भन्ने प्रश्न उठेको बेला कोइरालाको यस्तो अभिव्यक्ति आएको हो ।

कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएका मा‌ओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । पुस १० मा दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सत्ता साझेदारी गरेका थिए । सोही दिन उनी प्रधानमन्त्री नियुक्त भएका थिए । पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत मागेका दाहालले कांग्रेसको पनि विश्वास पाएका थिए । दाहालको विपक्षमा जम्मा २ मत परेको थियो । उनलाई २६८ सांसदले विश्वासको मत दिएका थिए । कांग्रेसले विश्वासको मत दिएपछि उसको स्थान सत्तापक्षमा हो कि प्रतिपक्षमा भन्ने प्रश्न उठेको छ ।

प्रकाशित : माघ ८, २०७९ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्

नरैनापुरमा ९ हजार ९१३ बालबालिकालाई लगाइयो दादुरा-रुबेला विरुद्धको खोप

रुपा गहतराज

नेपालगन्ज — बाँकेको नरैनापुरको दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्षमुनिका ९ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइएको छ ।

नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहका अनुसार नरैनापुरमा १४ हजार २२ जना बालबालिकामध्ये ७०.६९६ प्रतिशत अर्थात् ९ हजार ९ सय १३ जना बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् ।

सरकारले प्रभावित क्षेत्रमा दादुरा नियन्त्रण गर्ने उद्देश्यले माघ ५ गतेबाट दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।

नरैनापुर स्वास्थ्य शाखाका सर्भिलेन्स अफिसर विवेक पौडलेका अनुसार नरैनापुरका ७ वटा वडामा खोप अभियान सञ्चालन भइरहेको बताउँदै सोमबारसम्म लक्ष्य अनुसार खोप लगाइ सक्ने बताए ।

यता, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले खोप अभियान सञ्चालनमा कुनै कमी हुन नदिन नियमित रुपमा खोप केन्द्रको अनुगमन र स्थानीयलाई खोप लगाउन आग्रह गर्दै आएका छन् । योसँगै जिल्लाका पाँच वटा पालिकामा दादुरा संक्रमण देखापरेको छ ।

बाँकेमा अहिलेसम्म नेपालगन्ज उपमहानगरपालिकामा दुई सय जना, खजुरामा १८ जना, कोहलपुर नगरपालिकामा तीन जना, नरैनापुर गाउँपालिकामा २१ जना र डुडुवा गाउँपालिकामा आठ जना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य कार्यालय, नेपालगन्जका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार पाँच वटा पालिकाको २६ वटा वडा प्रभावित छन् ।

प्रकाशित : माघ ८, २०७९ ११:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×