चिनियाँ परराष्ट्रमन्त्रीले नेपाली समकक्षीलाई पठाए बधाइ सन्देश- समाचार - कान्तिपुर समाचार

चिनियाँ परराष्ट्रमन्त्रीले नेपाली समकक्षीलाई पठाए बधाइ सन्देश

लक्ष्मी लम्साल

बेइजिङ — चिनियाँ परराष्ट्रमन्त्री छिन् काङ्ले नेपालकी नवनियुक्त समकक्षी विमला राई पौड्याललाई बधाइ सन्देश पठाएका छन्। सन् २०२३ सुरूमा चीनको परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि छिनले पहिलो पटक नेपाल मामिलामा ध्यान दिँदै नवनियुक्त नेपाली परराष्ट्रमन्त्री पौड्याललाई शुभकामना सन्देश पठाएका हुन्।

उनले जनवरी १९ तारिख जारी गरेको शुभकामना सन्देशमा सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना यता नेपाल-चीन सम्बन्ध स्वस्थ तथा स्थिर रुपमा विकसित हुँदै आएको बताएका छन्।

यो सम्बन्धले शान्तिपूर्ण सहअस्तित्वका क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको भन्दै उनले भने, ‘चीन र नेपाल पहाड तथा नदीले जोडिएका मैत्रीपूर्ण असल छिमेकी मुलुक हुन्। यसले मुलुकहरुबीच शान्तिपूर्ण सह-अस्तित्वको आपसी मित्रता तथा सहायताका क्षेत्रमा आदर्श स्थापना गरेको छ।’

शुभकामना सन्देशमा परराष्ट्रमन्त्री छिनले दुई देशका राष्ट्रप्रमुखले एकअर्को मुलुकको भ्रमण गरेको र त्यस दौरान भएका सहमतिहरू कार्यान्वयनको पक्षलाई उठाएका छन्। सन् २०१९ मा दुई मुलुकका राष्ट्र प्रमुखले द्वीपक्षीय सम्बन्धलाई विकास र समृद्धि उन्मुख युगौं युग मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्तरमा उकास्ने सहमति गरेका थिए।

उनले परराष्ट्र मन्त्री पौड्यालसँगै मिलेर दुई मुलुकका नेताबीच सम्पन्न महत्वपूर्ण मतैक्यतालाई व्यवहारमा उतार्ने प्रयत्नका लागि सहकार्यको इच्छा पनि प्रकट गरेका छन्। उनले भने, ‘चीन-नेपाल सम्बन्धको विकासका लागि नयाँ योगदान पुर्‍याउन कोसिस गर्न इच्छुक छु।’

प्रकाशित : माघ ७, २०७९ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्

पोखरा विमान दुर्घटनाप्रति चीनद्वारा दु:ख व्यक्त

लक्ष्मी लम्साल

बेइजिङ — चीनले नेपालमा आइतबारको विमान दुर्घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ । सोमबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिङले पत्रकारहरुको जिज्ञासामा उक्त घटनाप्रति दुःख प्रकट गरे।

'नेपालको परम्परागत र इमानदार मित्रको नाताले यस दुःखको घडीमा हामी नेपाली जनतासँगै रहेका छौं, उनले भने, ‘विमान दुर्घटनामा मृतकका आफन्तप्रति गहिरो समवेदना र मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।’

स्थानीय समयअनुसार माघ १ गते (जनवरी १५) मा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त भई आगलागी भएको थियो। दुर्घटनामा विमानमा सवार सबै ७२ जनाको मृत्यु भएको पुष्टि भएको थियो।

यसैबीच नेपालस्थित चिनियाँ दूतावासले दुर्घटनाग्रस्त विमानमा कुनै पनि चिनियाँ नागरिक नरहेको पुष्टि गरेको चिनियाँ संचारमाध्यमहरूले जनाएका छन्। यसअघि आइतबार नै उक्त घटनाप्रति भारतीय, चिनियाँ र अमेरिकी दूतावासले दु:ख व्यक्त गर्दै मृतकका परिवारजनलाई समवेदन व्यक्त गरेका थिए ।

प्रकाशित : माघ २, २०७९ १६:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×