२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नवलपरासीमा दुईवटा गैंडा मारिए

गैंडा मरेको स्थानमा विद्युतीय तार भेटिएको र एउटा गैंडाको खाग पनि फेला नपरेकाले सिकारी समूहले मारेको हुनसक्ने बताइएको छ
नारायण शर्मा

पूर्वी नवलपरासी — चितवन निकुन्जको पश्चिम सेक्टरमा शुक्रबार दुईवटा गैंडा सिकारीले मारेको देखिएको छ । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर २ सेहरी नजिकै नारायणी नदीको भंगालोमा दुईवटा गैंडा मारेको अवस्थामा भेटिएको जिल्ला प्रहरीले जनाएको छ । 

नवलपरासीमा दुईवटा गैंडा मारिए

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार गैंडा मारिएको स्थानमा विद्युतीय तारसमेत फेला परेकाले करेन्ट लगाएर मारिएको अनुमान गरिएको छ ।

एउटा गैंडाको खागसमेत चोरी भएका कारण चोरी सिकारी समूहले गैंडा मारेको हुनसक्ने प्रहरी र स्थानीयहरूको भनाइ छ ।

मरेकामध्ये माउ गैंडाको बहुमुल्य खाग चोरी भएको छ भने सानो गैंडाको खाग सुरक्षित छ । घटनाका बारेमा चितवन निकुन्जले अनुसन्धान सुरु गरेको जनाएको छ ।

राष्ट्रिय निकुन्ज क्षेत्र आसपासमा यसअघि पनि बहुमुल्य खाग तस्करीका लागि सिकारी समूहले गैंडा मार्ने गरेका थिए ।

चितवनको माडी क्षेत्रमा गत वर्ष साउन ११ गते एउटा गैंडा मारेर खाग चोरी भएको थियो । चितवन निकुन्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार शुक्रबार मारिएको माउपोथी र सानो गैंडा भाले हो ।

तिवारीका अनुसार माउ गैंडा अन्दाजी १४ वर्षको र बच्चा ४ वर्षको रहेको अनुमान छ । नेपालभर ७ सय ५२ गैंडा रहेकोमा चितवन निकुन्जमा मात्रै हाल ६ सय ९४ गैंडा छन् ।

प्रकाशित : माघ ६, २०७९ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?