मलेसियाबाट आउँदै गरेको निगमको विमान कोलकाता डाइभर्ट

नेपालगन्जबाट काठमाडौं आउँदै गरेको श्री एयरलायन्सको विमान भद्रपुर पुग्यो
सुरज कुँवर

काठमाडौँ — न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि नेपाल वायुसेवा निगमको मलेसियाबाट आउँदै गरेको जहाज सिमराबाट भारतको कोलकाता डाइभर्ट भएको छ । शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो ।

यस्तो अवस्थामा निगमको विमान ११ सय मिटर भिजिविलिटी सम्ममा अवतरण गर्न सकिने ननप्रिसिजिन अप्रोच प्रणालीमा आधारित आरएनपी–एआर एप्रोच विधि अपनाएर अवतरण हुन सक्थ्यो । तर चालकदलले आरएनपी–एआर एप्रोच प्रणालीमा अवतरण गर्न नसक्ने बताउँदै डाइभर्ट गरेका छन् । आरएनपी–एआर एप्रोच प्रणाली किन गर्न सकेन कारण खुलाएका छैनन् ।

‘आरएनपी–एआर अप्रोच गर्न सक्दैनौं भनेर पाइलटले जहाज कोलकत्ता डाइभर्ट गरे,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने ।

काठमाडौंबाट बिहीबार राति १० बजे मलेसियाको राजधानी क्वालालमपुरका लागि उडेको निगमको विमानमा दुई सेट (चार जना) पाइलट थिए । तीमध्ये तीन जना आरएनपी–एआर प्रणाली सर्टिफाइड थिए ।

काठमाडौं आउँदै गरेको विमान भद्रपुर पुग्यो

यसैबीच, नेपालगन्जबाट काठमाडौं आउँदै गरेको श्री एयरलायन्सको विमान भद्रपुर पुगेको छ । उक्त विमानलाई अवतरणका लागि न्यूनतम २२ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । तर काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेकाले सिमराबाट भद्रपुरतर्फ डाइभर्ट भएको हो ।

प्रकाशित : माघ ६, २०७९ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्

एभोकाडो तथा धनकुटा महोत्सव आज

रमेशचन्द्र अधिकारी

धनकुटा — एभोकाडो तथा धनकुटा महोत्सव शुक्रबारदेखि सुरु हुँदैछ । महोत्सव आगामी माघ १६ गतेसम्म सञ्चालन हुने आयोजक उद्योग वाणिज्य संघ धनकुटाले जनाएको छ ।

धनकुटा नगरपालिकाले यसअघि आयोजना गर्दै आएको एभोकाडो महोत्सवसहित प्रादेशिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् पाचौं धनकुटा महोत्सव आयोजना गरिने वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, उद्योग व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो । तल्लो टुँडिखेलमा ११ बजे औपचारिक सुरुवात हुने महोत्सवमा एकीकृत व्यापार रणनीतिमा समावेश अलैंची, अदुवा, अल्लो, ओलन, अकबरे लगायतका १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गरिने छ ।

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भनिए पनि राष्ट्रिय राजनीतिक घटनाक्रमका कारण उनी आउन नसक्ने भएकोले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईबाट हुने आयोजकले जनाएको छ ।

महोत्सवमा १ सय ८२ स्टल रहने छ । जसमध्ये १ सय ३७ स्टल कृषि प्रदर्शनी स्टल रहने आयोजकले जनाएको छ। प्रत्येक दिन राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको साथमा सांगितिक प्रस्तुति रहने छ ।

प्रकाशित : माघ ६, २०७९ ०८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×