अपांगता भएकी युवतीलाई गर्भ फाल्न दबाब- समाचार - कान्तिपुर समाचार

अपांगता भएकी युवतीलाई गर्भ फाल्न दबाब

भरत जर्घामगर

सिरहा — सिरहा सुखीपुर नगरपालिका–३ कुसहाकी शारीरिक अपांगता भएकी ३५ वर्षीया युवती सधैंजसो बाख्रा चराउन जान्थिन् । वान्ता गर्ने र पेट बढ्न थालेपछि आमाले मंसिर २७ मा छोरीको पेटमा गर्भ रहेको शंका गरिन् । २९ गते छरछिमेकसँग हारगुहार गरेर भेला डाकिन् । ‘हामी गरिबले भनेको कुरा मानेनन्, छिमेकीहरू पन्छिए,’ उनले भनिन्, ‘गाउँलेले कुनै सुनुवाइ नगरेपछि पुस १ गते इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा जाहेरी दर्ता गर्‍यौं ।’ 

प्रहरीले प्रादेशिक अस्पताल सिरहामा पुस ४ गते युवतीको स्वास्थ्य जाँच गराएको थियो । रिपोर्टमा ५ महिनाको गर्भ रहेको पुष्टि भएको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीले जनाएको छ । राम्ररी बोल्नसमेत नसक्ने युवतीमाथि बाख्रा चराउन गएका बेला साउन २८ गते छिमेकी चन्दनकुमार यादवले बलात्कार गरेको गरेको पीडित परिवारको भनाइ छ । त्यसपछि पटक–पटक उनीमाथि बलात्कार हुँदै आएको उनीहरूले दाबी गरेका छन् ।

उनीहरू साढे ४ धुर जग्गामा बसोबास गर्छन् । पीडित युवतीका बुबा मजदुरीबाट गुजारा चलाउँछन् । पाँच छोरीमध्ये चार छोरी विवाह गरेर घरजम चलाउँछन् । विवाहित दुई छोरा भिन्न भएकाले परिवारमा बाबुआमा र छोरी मात्रै छन् ।

छोरी गर्भवती भएको थाहा पाएपछि परिवारमा बज्रपात परेको छ । न्यायका लागि छिमेकी र प्रहरीमा भौतारिएका उनीहरूमाथि चन्दनको परिवारले गर्भ फाल्न दबाब दिने गरेको छ । गालीगलौज गर्न थालेपछि आफूहरू असुरक्षित भएको आमाले सुनाइन् । ‘छोरीको गर्भ नफाले जे पनि गर्छौं भनेर डर देखाउँछन्,’ दुःखेसो गर्दै भनिन्, ‘घरमा नयाँ मान्छे आउँदासमेत डर लाग्छ ।’ पीडित परिवारले ज्यान रक्षाको गुहार मागेका छन् । सञ्चारकर्मी र अधिकारकर्मीको टोली बस्ती पुग्दा घटनाबारे कसैले बोल्न मानेनन् । घटनापछि फरार चन्दनको खोजी भइरहेको प्रहरी निरीक्षक केशवकुमार कटुवालले बताए ।

चन्दनका बुबाले घटनाबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । छोरा पुसदेखि नै घरमा नरहेको उनको दाबी छ । ‘सुखीपुरमा कक्षा ९ मा पढ्दै थियो,’ उनले भने, ‘घटनाको हल्ला भएदेखि छोरा घरमा नआएकाले म केही भन्न सक्दिनँ ।’ इन्सेक प्रतिनिधि एवं अधिकारकर्मी दुर्गा परियारले पीडित पक्ष त्रासमा रहेकाले युवती र उनको परिवारको सुरक्षा गरी न्याय दिलाउन माग गरे ।

प्रकाशित : माघ ६, २०७९ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्

सगरमाथा स्कुलमा छात्राको मृत्यु प्रकरण : १२ राउण्ड हवाइफायर, १५ सेल अश्रुग्याँस प्रहार

डीएसपीसहित ८ प्रहरी घाइते, वरिष्ठ सई रामकुमार चौधरीलाई उपचारका लागि काठमाडौं लगियो
भरत जर्घामगर

सिरहा — सिरहामा विद्यालयको लापरबाहीका कारण शनिबार एक छात्राको मृत्यु भएपछि विद्यार्थी र स्थानीय अभिभावकहरुले प्रदर्शन गरेका छन् । आक्रोशित विद्यार्थीहरुले बिहान १० बजेबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरुले प्रदर्शन गर्दै मिर्चैयास्थित इलाका प्रहरी कार्यालयसमेत घेराउ गरेका थिए । अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

झडपका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा १२ राउण्ड हवाइफायर र १५ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार झडपका क्रममा इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरी बहादुर वलीसहित ८ प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीले ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेको प्रहरीको भनाइ छ ।

खुट्टा फ्याक्चर भएर गम्भीर घाइते भएका बरिष्ठ सई रामकुमार चौधरीलाई उपचारका लागि एम्बुलेन्सबाट प्रहरी अस्पताल काठमाडौं लगिएको र अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको र अवस्था सामान्य रहेको प्रवक्ता डीएसपी बुढाथोकीले जानकारी दिए । अपराह्नबाट राजमार्ग खुलेको र मिर्चैयाको अवस्था साँझसम्म सामान्य बनेको उनले जानकारी दिए ।

सिरहाको मिर्चैयास्थित सगरमाथा हाइयर सेकेन्डरी स्कुलमा अध्ययनरत सिरहा नगरपालिका–११ पदमपुरकी १६ वर्षीया सिर्जना कुमारी महराको औषधि खाने क्रममा पानीको बोतलमा रहेको स्प्रिट पिउँदा मृत्यु भएको हो । स्प्रिट पिएर शुक्रबार बिरामी परेकी महराको सिरहाको कर्जन्हास्थित फूल कुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा सिर्जनाको शनिबार राति १२ बजेतिर मृत्यु भएको थियो । विद्यालयको चरम लापरबाहीले सिर्जनाको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै राजमार्ग पटक पटक अवरुद्ध गरेका थिए ।

महिनावारीका कारण पेट दुखेपछि सिर्जनालाई शुक्रबार विद्यालयकै एक शिक्षिकाले दिएको औषधि खाने क्रममा पानीको सट्टा स्प्रिट पिउँदा बिरामी भएको अभिभावक र विद्यार्थीको आरोप छ । विद्यालयका शिक्षकहरूले ह्वाइट बोर्ड सफा गर्न स्प्रिटको प्रयोग गर्ने गरेका छन् । विद्यालयका संस्थापक प्रिन्सिपल प्रदिप तिवारीले आफैंले विद्यार्थीको उपचार गराउनुभन्दा केही भएको छैन भन्दै घर ल्याइदिएको सिर्जनाका वुवा धर्मेन्द्र महराले गुनासो गरेका छन् । सिर्जना कक्षा ८ मा अध्ययनरत थिइन् ।

‘प्रिन्सिपल तिवारीले सिर्जनाले थोरै स्प्रिट खाएकाले नशा लागेको छ, केही बेर सुताएपछि ठीक भइहाल्छ भनेर घरमा छाडेर गए,’ धर्मेन्द्रले भने, ‘सरले थोरै स्प्रिट खाएको भनेपछि हामीले विश्वास गर्‍यौं, तर पछि अस्पताल लैजाने बेलासम्म अवस्था खराब भइसकेको थियो ।’ शिक्षकको विश्वास गरेर अस्पताल लैजान हतार नगर्दा छोरी गुमाउनु परेको भन्दै धर्मेन्द्रले विद्यालयको लापरबाहीले छोरीको ज्यान गएको आरोप लगाएका छन् । साथै उनले विद्यालयलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेर दिएका छन् ।

कर्जन्हास्थित फूल कुमारी मेमोरियल अस्पतालका डा. श्याम कुमार साहले सिर्जनाको फोक्सो पूरै सेतो भइसकेको र अक्सिजनको कमीका कारण मृत्यु भएको जानकारी दिए । एक्सरेमा फोक्सो कालो देखिनुपर्नेमा सबै सेतो देखिएको र फोक्सो सेतो हुनको कारण फोरेन्सिक जाँचबाट मात्र खुल्ने उनले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरी वहादुर वलीले सिर्जनाको हातमा पानीको सट्टा कसरी स्प्रिट पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । विद्यालयले घटना स्वीकार गरेको छ । साथै औषधि दिने शिक्षिका अम्बिका लम्साल र प्रिन्सिपल प्रदिप तिवारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २४, २०७९ १८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×