विमान दुर्घटनाका १४ शव पहिचान गर्न डीएनए परीक्षण- समाचार - कान्तिपुर समाचार

विमान दुर्घटनाका १४ शव पहिचान गर्न डीएनए परीक्षण

प्रशान्त माली

काठमाडौँ — पोखरामा आइतबार यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनाका मृतकमध्ये १४ जनाको शव पहिचान गर्न डीएनए परीक्षण गरिने भएको छ । परीक्षणका लागि कम्तीमा दुई महिना लाग्ने विज्ञहरूको भनाइ छ । 

चालक दलका ४ र यात्रु ६८ जना बोकेर काठमाडौंबाट पोखराका लागि उडेको विमान सेती नदीको खोंचमा दुर्घटना भएको थियो । दुर्घटनामा परेकामध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २२ जनाको शव पहिचान गरी आफन्तलाई बुझाइएको थियो । बाँकी ४८ वटा शव मंगलबार राजधानी ल्याइएको थियो । त्रिवि शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभागका अनुसार राजधानी ल्याइएका मध्ये बिहीबार साँझसम्म पोस्टमार्टम गरेर २२ वटा शव आफन्तलाई बुझाइएको छ । विभागका अनुसार थप १३ वटा शव मृतकका आफन्तले बनावट, ट्याटु, लुगा, उमेर, गरगहनालगायत हेरेर पहिचान गर्ने प्रयास गरिरहेका छन् । बाँकी १४ शव पूरै जलेको र टुक्रा–टुक्रासमेत भएकाले डीएनए परीक्षण गर्नुपर्ने भएको छ ।

त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागका विशेषज्ञ डा. गोपाल चौधरीको नेतृत्वमा चार जना, पाटन अस्पतालका दुई, भक्तपुर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक/एक जना, प्रहरी, दन्त विशेषज्ञसहित ३० जनाको टिमले शव परीक्षणको काम गरिरहेको छ । त्रिवि शिक्षण अस्पतालले विमान दुर्घटनासम्बन्धी फरेन्सिक विभागमा सूचना डेक्स राखेको छ । मृतकका आफन्त शव पाइने आसमा हरेक दिन विभाग परिसर पुग्ने गरेका छन् । आफन्त गुमाएको पीडामा रहेका उनीहरूलाई शव पर्खाइले थप मर्माहत बनाएको छ ।

मृतकका आफन्तजनले विभागका कर्मचारीसँग शव कहिले पाइन्छ भन्ने जिज्ञासा राख्ने गरेका छन् । शव हस्तान्तरणमा ढिलाइ भएको गुनासो बाहिरिएपछि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले विमान दुर्घटनाको पछिल्लो अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग पुगेका थिए । प्रधानमन्त्री दाहालले शव परीक्षण र हस्तान्तरण प्रक्रियामा ढिलाइ नहुने भन्दै मृतकका आफन्तलाई आश्वस्त पार्ने प्रयास गरेका थिए ।

नराम्रोसँग जलेका, अंगभंग भएका बाँकी १४ शवको पहिचान गर्न डीएनएबिना सम्भव नभएको त्रिवि शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभागले जनाएको छ । विभागका अनुसार डीएनए परीक्षणपछि मात्र ती शव आफन्तलाई बुझाइनेछ । त्रिवि शिक्षण अस्पताल फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी भन्छन्, ‘पहिचान नभएका मध्ये धेरैजसो शव जलेर नचिनिने अवस्थामा छ । कसैको हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै छ । एउटै शव दुई–तीन जनाले दाबी गरेका छन् ।’ उनले फिंगर प्रिन्ट, दाँत र शरीरको बनावटका आधारमा शवको पहिचान गर्ने कोसिस गरिरहेको बताए । ‘कतिपय शव टुक्रा–टुक्रा र शरीरभरि चोट भएकाले पहिचान गर्न डीएनएबाहेक अन्य विकल्प छैन,’ उनले भने, ‘सबैको डीएनए परीक्षणको रिपोर्ट आउन कम्तीमा दुई महिना लाग्छ ।’

डीएनए परीक्षणका लागि मृतकका आफन्तको रगत नमुना लिनुपर्छ । बिहीबार साँझसम्म पनि नमुना संकलन गरिएको छैन । त्यस्तै शवबाट कोषिका निकालिन्छ । रगतको नमुना र शवबाट निकालिएको कोषिकाको डीएनए परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा लगिने चौधरीले बताए । डीएनए मिलेपछि मात्र शव आफन्तलाई हस्तान्तरण गरिने चौधरीले बताए । ‘शरीरभरि डीएनएको एउटै कोष हुन्छ, शरीर जले पनि दाँत हतपत नजल्ने भएकाले दाँतभित्रको कोष निकालेर आफन्तको रगतसँग मिलान गरिन्छ,’ फरेन्सिक विशेषज्ञ डा. चौधरीले भने, ‘डीएनए परीक्षणका लागि श्रीमतीको रगत संकलन गरेर हुँदैन ।’ उनले आमाबुबा, छोराछोरी वा आफन्तकै रगत आवश्यक रहेको बताए । ‘डीएनएका लागि लामो प्रक्रिया रहेकाले कम्तीमा दुई महिना लाग्न सक्छ,’ उनले भने, ‘गलत शव परेमा ठूलो मेडिकल इस्यु बन्न सक्छ ।’

विमानका ७२ यात्रुमध्ये एक जनाको अवस्था अझै अज्ञात छ । नेपाली सेनाका सहायक रथी कृष्णप्रसाद भण्डारीले ती यात्रुको खोजी कार्य तीव्र भइरहेको बताए । ‘खोलाले बगाएको छ कि भनेर तनहुँ, कास्की, नवलपरासी र चितवनको नारायणी नदीसम्म पनि गस्ती भइरहेको छ,’ उनले भने ।

प्रकाशित : माघ ६, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्

सार्वजनिक बिदाले बिरामीलाई थप पीडा

विमान दुर्घटनाको शोक मनाउन सरकारले बिदाकै निर्णय गरेपछि बिरामीलाई प्रत्यक्ष असर परेको छ भने अत्यावश्यक काम पनि रोकिएका छन् 
प्रशान्त माली

काठमाडौँ — खोटाङकी ८० वर्षीया भगवती पुरीलाई मुटुको शल्यक्रिया गर्न सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका चिकित्सकले साउनको मिति दिएका थिए । त्यतिबेला अस्पतालमा ‘अक्सिजेनेटर’ मेसिन नहुँदा रोकियो । पछि मंसिर ४ लाई बोलाइयो, त्यसबेला पनि शल्यक्रिया हुन पाएन ।


पुस २० र २२ मा पनि नभएपछि सार्दासार्दै सोमबार तोकिएको थियो । यसपालि शल्यक्रिया हुनेमा उनी ढुक्क थिइन् । तर, पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले बिदा दिने निर्णय गरेपछि यस पटक पनि उनले उपचार पाइनन् । ‘अब कहिले हुने हो, ठेगान छैन,’ उनले गुनासो गरिन्, ‘अप्रेसन नहुँदा हृदयाघात रोक्ने औषधि खानुपरेको छ ।’

सिरहा नवराजपुर गाउँपालिका–३ का २१ वर्षीया बन्दनाकुमारी यादव सोमबार शल्यक्रिया गराउन खाली पेट बसिसकेकी थिइन् । आवश्यक सामान र औषधि खरिदमात्रै होइन रगत दिन दाता पनि तयार भइसकेका थिए । तर, बिदाका कारण उनको पनि शल्यक्रिया रोकियो । ‘मुटुको भल्भ फेर्नुपर्ने थियो,’ बुबा बिलतप्रसाद यादवले भने, ‘शोक मनाउनु त ठिकै हो तर अत्यावश्यक सेवा नै प्रभावित हुँदा हामीलाई निकै मार परेको छ ।’

प्यूठानका ४१ वर्षीया पुष्पा रोका क्षत्री मुटुको शल्यक्रिया गराउन असारमा आएका थिए । उनको पनि मिति सार्दासार्दै सोमबारलाई तोकिएको थियो । भान्जा थमबहादुर थापाका अनुसार पुष्पालाई दुई पटक हृदयाघात भइसकेको छ । ‘५–६ पटक आएपछि पालो आयो भनेर खुसी भएका थियौं, अचानक बिदाका कारण नहुने भन्ने सूचना आयो,’ उनी भन्छन्, ‘निजी अस्पतालमा गराउन सक्ने हैसियत छैन । अब के गर्ने अन्योलमा छौं ।’

गंगालालमा भल्भ फेर्नुपर्ने, मुटुको नसा जाम भएका जस्ता बिरामी शल्यक्रिया गराउन एक वर्षदेखि पालो कुरिरहेका छन् । त्यस्ता बिरामी औषधिको भरमा छन् । केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले शल्यक्रिया रोकिएको बारेमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।

चिकित्सकका अनुसार भल्भ फेर्नुपर्ने बिरामीलाई सास फेर्न गाह्रो हुन्छ भने अन्य समस्या भएकालाई तत्काल शल्यक्रिया गर्नुपर्छ । तर, सरकारले विमान दुर्घटनामा परेर दिवंगत भएकाप्रति श्रद्धाञ्जली दिन बिदाकै निर्णय गरेपछि मुटुको शल्यक्रिया गर्नुपर्ने बिरामीलाई त सोझो असर परेकै छ, अन्य अत्यावश्यक काम पनि रोकिएका छन् । यसरी आकस्मिक बिदाको निर्णय दिनुअघि त्यसले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभावबारे ध्यान दिनुपर्ने जनस्वास्थ्यविद्हरू बताउँछन् ।

‘घटनाप्रति गहिरो दुःख व्यक्त गर्नु ठिकै हो । तर, सार्वजनिक बिदा दिँदा त्यसले पार्ने प्रभावबारे पनि मूल्यांकन गर्नुपर्छ,’ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले भने । उनका अनुसार राणाकालमा दसैंको महाष्टमी, नवमी, दशमी, तिहारको लक्ष्मीपूजा र भाइटीकाबाहेक अन्य दिन कुनै पनि अस्पतालको सेवा बन्द गर्न नपाउने नियम थियो । ‘बिरामीको चापका कारण अस्पताल सार्वजनिक बिदाको दिन पनि उल्टो लाभांश दिएर चलाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘सरकारी अस्पतालमा अप्रेसन गराउन डेढ/दुई वर्षदेखि पालो कुरिरहेका बिरामी थुप्रो छन् । उनीहरूको काठमाडौं बसाइ निकै कष्टकर हुने गरेको छ ।’ हवाई दुर्घटनामा बिदा दिएपछि सडक दुर्घटनामा दिने कि नदिने भन्ने प्रश्न उठ्ने उनी बताउँछन् ।

वीर अस्पतालले भने इमर्जेन्सीबाहेक ओपीडी (बहिरंग सेवा) र मिति तोकेर गरिने नियमित शल्यक्रिया स्थगन गरेको छ । वीरमा दैनिक ५० देखि ५५ वटा इमर्जेन्सीसहित शल्यक्रिया हुने गर्छ । प्रशासन शाखा प्रमुख सागर मिश्रले सोमबार मात्र नभई अन्य सार्वजनिक बिदाको दिन ओपीडी बन्द हुने गरेको बताए । ‘इमर्जेन्सी अप्रेसन रोकेका छैनौं,’ उनले भने ।

त्रिवि शिक्षण अस्पतालले भने बिरामीको चापलाई मध्यनजर गरेर ओपीडी सेवा आधा मात्र बन्द गरेको छ । इमर्जेन्सी र नियमित गर्नुपर्ने शल्यक्रिया सञ्चालन गरिएको अस्पतालको भनाइ छ । यहाँ दैनिक करिब ५५ वटा शल्यक्रिया हुन्छ । त्रिविका उपनिर्देशक सन्तकुमार दासले बिरामीलाई पर्न सक्ने प्रभावलाई मध्यनजर गरेर सेवा सञ्चालन गरिएको बताए । प्रसूति गृहका निर्देशक डा. पवनजंग रायमाझीले पनि आफूहरूले शल्यक्रिया नरोकेको बताए ।

चिकित्सकहरूले विशेष परिस्थितिमा दिइने बिदामा स्वास्थ्य क्षेत्र नसमेट्न गृह मन्त्रालयलाई पटक–पटक ध्यानाकर्षण गर्दै आएका छन् । तर, यसलाई मन्त्रालयले गम्भीर रूपमा नलिने गरेको नेपाल मेडिकल काउन्सिलको भनाइ छ । गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले अत्यावश्यक सेवाबाहेकका लागि मात्र बिदाको निर्णय भएको बताए । ‘अस्पतालले ओपीडी र इमर्जेन्सी अप्रेसनबाहेक अन्य नियमित अप्रेसन पनि गर्नुपर्छ,’ उनले भने, ‘नगरेमा स्वास्थ्य मन्त्रालय जवाफदेही हुनुपर्छ ।’ तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले अत्यावश्यक सेवामा अस्पताल परे पनि ओपीडी र इमर्जेन्सीबाहेकको अन्य नियमित अप्रेसन अत्यावश्यकअन्तर्गत नपर्ने दाबी गरे । प्रधानमन्त्री कार्यालयका प्रवक्ता महादेव पन्थले भने वार्षिक क्यालेन्डरअनुसारको बिदाका अतिरिक्त विशेष परिस्थितिमा पनि बिदा दिने चलन रहेको बताए ।

सार्वजनिक बिदाबाहेकका दिनमा विभिन्न कारण देखाएर स्वास्थ्य संस्थाको सेवा बन्द गर्ने गरिएको छ । गत साउनमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रमका लागि ओपीडी बन्द गरेको थियो । त्यसको चौतर्फी आलोचना भएको थियो ।

प्रकाशित : माघ ३, २०७९ ०८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×