फरार सांसद कोइरी निर्बाध संसद्‍मा- समाचार - कान्तिपुर समाचार

फरार सांसद कोइरी निर्बाध संसद्‍मा

प्रहरी भन्छ : संसद् भवनमा खटिएका प्रहरीले चिन्नै सकेनन्
मकर श्रेष्ठ

काठमाडौँ — सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरी निर्बाध संसद् आउजाउ गर्दा पनि पक्राउ परेका छैनन् । प्रहरीको फरार सूचीमा रहेकै बेला महोत्तरी–१ बाट निर्वाचित कोइरीले पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । उनले पुस २६ मा संघीय संसद्‍मा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए ।

कोइरी मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् ।

२०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उक्त घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जनकपुर उच्च अदालतले ०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याएर कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो । त्यसयता उनी फरारको सूचीमा छन् ।

प्रतिनिधिसभा सदस्यको शपथग्रहणकै दिन प्रहरी प्रधान कार्यालयले संसद् सचिवालयलाई पत्र लेखेर फरारको सूचीमा रहेका कोइरीलाई संसद्को कामकारबाहीमा संलग्न नगराई सहयोग गरिदिन आग्रह गरेको थियो ।

प्रहरीको पत्रपछि पनि कोइरी प्रधानमन्त्रीलाई विश्वासको मत दिन बैठकमा सहभागी भएका थिए । संसद् भवनको बाहिर र गेटमा नेपाल प्रहरी नै खटिएका हुन्छन् । संसद् भवनभित्र मर्यादापालक पनि प्रहरी नै हुन्छन् । सचिवालयको काम विवादमा परेका सांसदलाई पक्राउ गर्न सघाउने निकाय नभएको सचिवालयका एक उच्च अधिकारीले बताए ।‘प्रहरीले सचिवालयलाई पत्र लेखेर आफू पन्छिने काम गरेको हामीले बुझेका छौं,’ ती अधिकारीले भने ।

कोइरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको समाचार आएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिइसकेको बताएका थिए ।

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले संसद् भवनमा खटिएका प्रहरीले नचिनेकै कारण कोइरीलाई पक्राउ गर्न नसकेको हुन सक्ने बताए । ‘मातहतको इकाइलाई पक्राउ गर्न निर्देशन भइसकेको छ,’ उनले भने, ‘अदालतको आदेश कार्यान्वयन हुन्छ ।’

प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिन र प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसद्‍मा उपस्थित भएका कोइरी बिहीबार सभामुखको निर्वाचनमा भने जान्छन्/जाँदैनन् यकिन छैन ।

प्रकाशित : माघ ५, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

सभामुखको चर्चामा रहेका देवराज घिमिरे को हुन् ?

मकर श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभाका सभामुखमा झापा २ बाट निर्वाचित देवराज घिमिरेको नाम चर्चामा आएको छ । ०५६ मा राष्ट्रिय सभा सदस्य भइसकेका घिमिरेको नाम सभामुखको उम्मेदवारको रुपमा चर्चामा आएको हो । सभामुखको निर्वाचन बिहीबार हुदैछ । सभामुख पदको निर्वाचनका लागि संघीय संसद् सचिवालयले मंगलबार कार्यतालिका सार्वजनिक गरेको छ  ।

सचिवालयले जारी गरेको कार्यतालिका अनुसार बुधबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनु पर्ने हुन्छ । सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार सभामुख पद एमालेको भागमा परेको भनिए पनि कसलाई बनाउने भनेर निर्णय भइसकेको छैन ।

सत्ता गठबन्धनमा एमालेले सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाउने सहमति भएको छ । सभामुखमा एमालेका पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, छविलाल विश्वकर्मा, विद्या भट्टराईको नाम बाहिर आएको छ । एमाले संसदीय दलले घिमिरेलाई बुधबार नागरिकता र दुई वटा फोटो लिएर आउन आग्रह गरेसँगै उनको नाम पक्का भएको हुन सक्ने आकलन गरिएको हो । ‘भोली नागरिकता र फोटो मागेको छ । केही जिम्मेवारी पाउने होकी जस्तो लागेको छ,’उनले भने । आफूले सभामुखको जिम्मेवारी पाए निष्पक्ष ढंगले निर्वाह गर्ने उनले बताए । ‘मसँग राष्ट्रिय सभाको सदस्य भएको संसदीय अनुभव छ,’उनले भने,‘यदि जिम्मेवारी पाएको अवस्थामा निर्वाह गर्न सक्छु ।’अर्जुनधारा नगरपालिका वडा ६ झापाका उनी २८ हजार ७ सय १६ मत ल्याउदै झापा २ बाट निर्वाचित भएका हुन् । उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ६१ मतले पराजित गरेका हुन् । ०१३ जेठ १३ मा ताप्लेजुङ सिकैचा ३ मा जन्मिएका घिमिरेले स्नातक अध्ययन गरेका छन् ।

०३१ मा झापा विद्रोहपछि राजनीतिक यात्रा सुरु गरेका उनी सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुन् । एमालेका स्थायी कमिटी सदस्य रहेका उनी ०५६ मा राष्ट्रिय सभा सदस्य भएका थिए । ०७५ मा नेकपाको प्रदेश १ को अध्यक्ष, ०७८ मा भएको एमालेको दशौ राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भएका थिए । उनी अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुन् ।

प्रकाशित : माघ ३, २०७९ २०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×