५७ अर्बका ठेक्कामा मन्त्री पाण्डेको कम्पनी- समाचार - कान्तिपुर समाचार

५७ अर्बका ठेक्कामा मन्त्री पाण्डेको कम्पनी

निर्माण व्यवसायीका रुपमा पाण्डेले प्राप्त गरेको ‘विज्ञता’ सरकारी निर्माणमा सहयोगी हुने समर्थकहरुको दाबी, तर उनको विज्ञता बुझ्न १३ अर्बको सिक्टा आयोजनासम्म पनि पुग्नुपर्दैन, राजधानीकै गोकर्णदेखि नख्खु खोलासम्म ३ अर्बका अपूरा आयोजना हेरे पुग्छ
विमल खतिवडा

काठमाडौँ — कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे सहरी विकासमन्त्री बनेपछि उनको ‘विज्ञता’ ले सरकारी निर्माण प्रभावकारी हुने दाबी समर्थकहरूले गरेका छन् । तर, उनको विज्ञता कस्तो छ भन्ने बुझ्न १३ अर्बको सिक्टा सिँचाइ आयोजनासम्म पनि पुग्नुपर्दैन, १ अर्ब ९० करोडको गोकर्णदेखि भत्केको पुलसम्मको सडक र १ अर्ब ५ करोडको नख्खु खोला करिडोरसहित राजधानीकै सडक आयोजना हेरे पुग्छ । सहरी विकासका आयोजना अलपत्र पार्ने उनी सहरी विकासमन्त्री भएका छन् ।

पाण्डेको कालिका कन्स्ट्रक्सनले सडक, पुल, जलविद्युत् आयोजनाका करिब ५७ अर्बका ठेक्कामा काम गरिरहेको छ । यीमध्ये केही ठेक्काको काम अन्तिम चरणमा छ भने केहीमा म्याद सकिँदासमेत काम अधुरै छ । आयोजना अलपत्र पारेकामा कारबाही हुनुपर्नेमा अब उनी नीति–निर्माण गर्ने मन्त्रिपरिषद्मै छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको २७ अर्ब ८७ करोड ६१ लाख २३ हजार रुपैयाँको ठेक्का कालिकाले संयुक्त रूपमा लिएको छ । त्यसबाहेक ऊर्जा मन्त्रालयअन्तर्गत तनहुँ जलविद्युत् आयोजनामा २१ अर्ब ६६ करोड र सर्वोच्च अदालतको भवन निर्माणमा ५ अर्ब ८७ करोडको ठेक्कामा संयुक्त रूपमा कालिका संलग्न छ । संयुक्त (जोइन्ट भेन्चर) रूपमा ठेक्का लिइएको भए पनि अधिकांशमा काम कालिकाले एकल रूपमा गरिरहेको छ ।

पाण्डे आफैं मन्त्री बनेको सहरी विकास मन्त्रालयका मात्रै करिब तीन अर्ब रुपैयाँभन्दा बढीका ठेक्कामा कालिका कन्स्ट्रक्सन संलग्न छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयपछि सबैभन्दा बढी ठेक्कापट्टा हुने मन्त्रालयमा सहरी विकास पर्छ ।

मन्त्रालयअन्तर्गत वाग्मती सुधार आयोजनामा वाग्मती सौन्दर्यीकरणको ठेक्कामा कालिका संलग्न छ । गोकर्ण ब्यारेजदेखि सिनामंगल भत्केको पुलसम्म सौन्दर्यीकरण गर्ने ठेक्का कालिका–रेनकिन–लामा जेभीले १ अर्ब ९० करोड रुपैयाँमा लिएको हो । यसका लागि सरकारले एसियाली विकास बैंक (एडीबी) बाट ऋण सहयोग लिएको छ । ०७३ कात्तिकमा भएको सम्झौताअनुसार यसको काम आगामी फागुन १६ भित्र सकिनुपर्नेछ । तर अहिलेसम्म १.९ किमि सडक कालोपत्र नै भएको छैन भने बिरुवा रोप्ने काम अझै सुरु भएको छैन ।

१८८ रोपनी क्षेत्रको जग्गाको मुआब्जा विवादले ढिलाइ भएको दाबी आयोजनाको छ ।

सहरी विकास मन्त्रालयकै नख्खु खोला करिडोरको ठेक्का कालिका–टुन्दी–कुमार जेभीले लिएको हो । १ अर्ब ५ करोड रुपैयाँको उक्त ठेक्काको भौतिक प्रगति ७६ प्रतिशत मात्र छ । मुआब्जाको समस्या भएकाले ठेकेदारले असार मसान्तसम्म समय मागेको आयोजनाले जनाएको छ । ‘ठेक्का सम्झौता ०७५ जेठ ३० मा भएको हो,’ आयोजना एक कर्मचारीले भने, ‘३ किमि दूरीमा पर्खाल निर्माण, ढलको पाइप बिझ्याउने र करिडोर निर्माणको काम गर्नुपर्ने हो, अझै काम सकिएको छैन ।’ त्यस्तै हनुमन्ते खोला–मनोहरा दोभानमा पनि सडक र पर्खाल निर्माणको काम सकिएको छैन ।

कालिका कन्स्ट्रक्सनका निकोलस पाण्डे भने सहरी विकास मन्त्रालयअन्तर्गत धेरै ठेक्का नरहेको दाबी गर्छन् । ‘करिडोर निर्माणमा ठेक्का छ, त्यसको काम अन्तिम चरणमा पुगेको छ, गोकर्ण ब्यारेज–सिनामंगल भत्केको पुल खण्डको काम एक महिनाभित्र सकिन्छ,’ उनले भने, ‘यो ठाउँमा पहिला जग्गा विवादले समस्या थियो, त्यसैले ढिला भएको हो ।’

नख्खु खोलाको काम पनि अन्तिम चरणमै रहेको र छिट्टै सक्ने उनको दाबी छ । कालिकाले लिएको एकल ठेक्कामा समस्या नरहेको पनि उनले बताए । ‘राम्रो काम गर्ने कन्स्ट्रक्सनभित्रै पर्छौं,’ उनले भने, ‘संयुक्त रूपमा लिएको ठेक्कामा कहींकतै समस्या हुन सक्छ तर लिएको ठेक्कामा ढिलाइ गरिएको छैन ।’

सडक विभागअन्तर्गत गल्छी–बेत्रावती– मैलुङ–स्याफ्रुबेंसी सडक खण्डअन्तर्गत ११ वटा पुल निर्माणको ठेक्का कालिका–टुन्दी–हिमदुङ एन्ड थोकर जेभीले लिएको छ । यसको ठेक्का रकम ५७ करोड ९५ लाख रुपैयाँमध्ये ४४ करोड ९३ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । ०७३ कात्तिक २४ मा भएको ठेक्का सम्झौताअनुसार ०७८ असार ८ भित्र काम सकिनुपर्ने हो । तर आयोजना अपूरो छ ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयका प्रमुख ध्रुवकुमार श्रेष्ठका अनुसार ०७९ असारसम्म पुल निर्माण प्रगति ७७ प्रतिशत छ ।

११ वटा पुलमा अहिलेसम्म ९ वटाको निर्माण सम्पन्न भएको छ, जसमध्ये एउटा पुल निर्माण पूरा भए पनि सञ्चालनमा आएको छैन । ‘पहुँच सडक निर्माण भइनसकेकाले पुल नचलाइएको हो,’ प्रमुख श्रेष्ठले भने ।

देवीघाटको तादी खोलामा पुल बन्न बाँकी छ । उक्त पुलको बायाँपट्टिको जग तयार भइसकेको र दायाँपट्टिको जग तयार पार्न सुरु गर्दा मुद्दा परेको हुनाले ढिला भएको सडक योजना कार्यालय प्रमुख श्रेष्ठले बताए । ‘पुल बनाउने ठाउँमा घर रहेकाले मुद्दा परेको थियो,’ उनले भने, ‘अहिले त्यो विषय टुंगिसकेकाले काम सुरु भएको छ ।’ रसुवाको धुन्चे हुँदै आएको त्रिशूली खोला पुलमा बायाँपट्टि जग तयार भए पनि दायाँपट्टि जग निर्माण भएको छैन । ‘सबै काम असार मसान्तभित्र सक्ने लक्ष्य छ,’ श्रेष्ठले भने ।

तनहुँ हाइड्रोपावर लिमिटेडले बनाइरहेको १ सय ४० मेगावाट उत्पादन क्षमताको तनहुँ जलविद्युत् आयोजनाले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न नसक्ने देखिएको छ । तीन प्याकेजमा बाँडेर काम भइरहेकामा अहिले सबैभन्दा बढी प्याकेज–१ मा समस्या देखिएको छ । प्याकेज–१ अन्तर्गत बाँध र जलाशयको काम भियतनामको सोङ दा कर्पोरेसन र नेपालको कालिका कन्स्ट्रक्सनले संयुक्त रूप (जोइन्ट भेन्चर) मा ठेक्का लिएका हुन् । नदीको धार परिवर्तन (रिभर डाइभर्सन), डाइभर्सन टनेल, स्लोप प्रोटेक्सनलगायत काम सुस्त छन् । तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले अहिले काम भइरहेको बताए । ‘समय लम्ब्याएको छैन, काम भइरहेको छ,’ उनले भने, ‘तर काम ठीकैठीकै मात्र छ ।’ प्याकेज–१ को ठेक्का रकम २१ अर्ब रुपैयाँ छ, जसको ठेक्का गत वर्ष लगाइएको हो । यसको काम पाँच वर्षभित्र सक्नुपर्नेछ । यसमा १२ प्रतिशत प्रगति छ ।

सिक्टा सिँचाइ आयोजना अलपत्र पारेर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जनाविरुद्ध साढे ८ अर्बभन्दा बढी बिगो, त्यति नै जरिवाना तथा २ वर्ष कैद मागदाबीसहित चार वर्षअघि मुद्दा दायर गरेको थियो । विशेष अदालतले गत असार ५ मा उनीहरूलाई सफाइ दियो । उक्त फैसलाप्रति असहमति जनाउँदै पुनरावलोकनका लागि अख्तियार सर्वोच्च अदालत जाने तयारीमा छ ।

राप्रपाका उपाध्यक्षसमेत रहेका पाण्डे ०७० मा दोस्रो संविधानसभामा निर्वाचित भएपछि ०७३ साउनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भूमिसुधार र ०७४ भदौमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री थिए । तेस्रो पटक सरकारमा पुग्दा उनले आफ्नै कम्पनीलाई सिधै फाइदा पुर्‍याउन सक्ने मन्त्रालय पाएका हुन् ।

...

कालिकाले संयुक्त रूपमा लिएका ठेक्का

तनहुँ जलविद्युत् आयोजना

(१४० मेगावाट) को प्याकेज–१

  • सोङ दा कर्पोरेसन–कालिका जेभी, रकम २१ अर्ब ६६ करोड

सर्वोच्च अदालत भवन निर्माण

  • बिनापुरी–कालिका–समानान्तर जेभी, रकम ५ अर्ब ८७ करोड

गोकर्ण ब्यारेजदेखि सिनामंगल भत्केको पुलसम्म करिडोर निर्माण

  • कालिका–रेनकिन–लामा जेभी, रकम १ अर्ब ९० करोड

नख्खु खोला करिडोर निर्माण

  • कालिका–टुन्दी–कुमार जेभी, रकम १ अर्ब ५ करोड

चारआली–केचना सडक स्तरोन्नति

  • कालिका–कन्काई–याक्थुङहाङ जेभी, रकम ४१ करोड ६५ लाख

रतुवा–केशल्या सडक स्तरोन्नति

  • कालिका–मैनाचुली–वेदान्सी जेभी, रकम ८९ करोड ५६ लाख

गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी सडक खण्डमा पुल निर्माण

  • कालिका–टुन्दी–हिमदुङ एन्ड थोकर जेभी, रकम ५७ करोड ९५ लाख

तामाकोसी पुल, मुगिटार रामेछाप

  • कालिका–कल्पवृक्ष जेभी, रकम २८ करोड ८३ लाख

वाग्मती मधोपुर–बैरिया पुल, रौतहट

  • कालिका रसुवा जेभी, रकम १ अर्ब ३१ लाख

वीरगन्ज–ठोरी सडक

  • कालिका–बानियाँ जेभी, रकम १ अर्ब ६ करोड ७८ लाख

जनकपुर–ढल्केबर सिँचाइ आयोजना

  • कालिका–रसुवा–लुम्बिनी जेभी, रकम ६९ करोड ५० लाख

चन्द्रौटा–कृष्णनगर सडक स्तरोन्नति

  • दिनेशचन्द्र–कालिका जेभी, रकम ९१ करोड

भोटेचौर–धुलियाबिट सडक स्तरोन्नति

  • कालिका–केएस–वेदान्सी जेभी, रकम १ अर्ब ३ करोड

बेलबारी–फँडानी–सग्माडाँडा सडक

  • कालिका–वेदान्सी जेभी, रकम ११ करोड ३२ लाख

आमतोला सप्तरी हुँदै रंगेली झापा जोड्ने सडक

  • कालिका–वेदान्सी जेभी, रकम १३ करोड ९१ लाख

गछिया–लोचनी–शेषनारायण दिव्यधाम सडक

  • कालिका–वेदान्सी जेभी, रकम १३ करोड ९२ लाख

बयरवन–कौशलचोक–हसनदह–बक्राहा खोला सडक

  • कालिका–वेदान्सी जेभी, रकम १२ करोड २ लाख

सिद्धपुर–डकानी हुँदै झुम्का बजार जोड्ने सडक

  • कालिका–वेदान्सी जेभी, रकम १४ करोड ८ लाख

कटहरी–मोतीपुर–कसेनी बेलबारी सडक

  • कालिका–वेदान्सी जेभी, रकम १३ करोड ९६ लाख

तुलसीपुर–पुरनधारा–बोटेचौर सडक

  • कालिका–प्यासिफिक जेभी, रकम ४४ करोड ५१ लाख

कर्णाली–अत्तरिया सडक मर्मत

  • कालिका–जोशी जेभी, रकम १७ करोड ९६ लाख

मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली बजार–हेटौंडा सडक

  • दिनेशचन्द्र–कालिका, रकम ७ अर्ब १० करोड २४ लाख

लम्की–खर्कौला सडक स्तरोन्नति

  • कालिका–कुमार जेभी, रकम ४० करोड १९ लाख

राघुघाट पुल, बेनी जोमसोम कोरला सडक

  • कालिका–गजुरमुखी जेभी, रकम ६ करोड २५ लाख

मध्यपहाडी राजमार्गको वसन्तपुर–मैलुङ सडक स्तरोन्नति

  • कालिका–भीमेश्वर जेभी, रकम ६० करोड ४६ लाख

बाहुनेपाटी–दोलालघाट–चौंरीखोला सडक सुधार

  • कालिका–प्यासिफिक जेभी, रकम ४३ करोड ३८ लाख

मदन भण्डारी राजमार्गअन्तर्गत इलाम खण्डमा पुल निर्माण

  • कालिका–शर्मा–रसुवा जेभी, रकम ५० करोड २७ लाख

प्रकाशित : माघ ५, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

निर्माण सामग्री ओसारपसारमा क्रसर व्यवसायीकै अवरोध

‘यसै त निर्माण व्यवसायीले काम गरिरहेका थिएनन्, अब निर्माण सामग्री पाइएन भन्ने बहानाबाजी सुरू गरे, अब थप के काम गर्लान् ?’
विमल खतिवडा

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम सोमबार दिउँसोबाट ठप्प छ । प्रतिदिन दुई सिफ्टमा काम हुँदै आएको सुरुङमा बालुवा ढुवानी हुन नसक्दा काम रोकिएको हो । धादिङको महादेवबेसीबाट बालुवा ल्याएर सुरुङमा क्रंक्रिटिङको काम गरिँदै थियो । तर क्रसर व्यवसायीले ढुवानीमा अवरोध गर्न थालेपछि काम ठप्प बनेको हो ।

सुरुङको ठेक्का जापानी निर्माण कम्पनी हाज्मा एन्डोले लिएको छ । उसले वैधानिक रूपमा दर्ता भएका क्रसर उद्योगबाट बालुवा ल्याउने गरेको भए पनि अन्य अवैध रूपमा सञ्चालित क्रसर उद्योगले ढुवानी गर्न नदिएपछि काम रोकिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जनाए । सुरुङ खन्ने क्रममा निस्किएका ढुंगा फुटाएर गिट्टी बनाउने गरिएको छ । ‘वैध क्रसर उद्योगबाट बालुवा ल्याए पनि सारा क्रसर बन्द हुँदा यो मात्र चल्ने, हामीले चलाउन नपाइने भन्दै अन्य व्यवसायीकै दबाबमा बन्द भयो,’ महानिर्देशक थापाले भने, ‘स्थानीय प्रशासनले सुरक्षा दिन नसकेपछि ल्याउन बालुवा सकिएन ।’ क्रसरमा प्रहरी राखे पनि निर्माणस्थलसम्मै ल्याउन सुरक्षा चाहिन्छ । क्रसर व्यवसायीले तोडफोड गर्न सक्ने डरले ट्रिपर चालकले बालुवा बोक्न मानेका छैनन् ।

गत पुस २० मा गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अवैध क्रसर बन्द गराउन भनेको छ । देशभर १ हजार २ सय १ क्रसर सञ्चालनमा छन् । यसमध्ये ७ सयभन्दा बढी अवैध क्रसर प्रशासनले बन्द गराएको हो । ८६ वटा क्रसर उद्योग विभिन्न आयोजनाका नाममा देखाइएको छ । सुरुङ क्षेत्रमा सडक बनाउनेलगायत काम मात्र भइरहेको छ ।

‘नागढुंगा–सिस्नेखोला सुरुङमार्गको विस्फोट गराएको ठाउँमा क्रंक्रिटिङको काम बन्द भएको हो,’ महानिर्देशक थापाले भने, ‘काम नभए निर्माण व्यवसायीले हर्जाना माग्न सक्छन् । निर्माण सामग्री सहज रूपमा किन्न सक्ने व्यवस्था हामीले गरिदिने भनेका छौं, निर्माण सामग्री उपलब्ध गराउन नसकेर काम नभए स्वतः हर्जना तिर्नुपर्छ ।’ निर्माणको ठेक्का अवधि सकिन चार महिना बाँकी छ । अहिलेसम्म नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्र भौतिक प्रगति ४७.९० प्रतिशत छ । सुरुङ खन्ने काम ७३.३० प्रतिशत सकिएको छ ।

मुख्य र आपत्कालीन सुरुङसहित ५ दशमलव ४९९ किमि दूरी छ । निर्माण थालेको ३ वर्ष भएको छ । मुख्य सुरुङको दूरी भने २.६८८ किमि छ । ठेक्का लिने कम्पनीले तीन महिनाभित्र सुरुङको ब्रेक थ्रु गर्ने आयोजनाले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ कात्तिकमा शिलान्यास गरेको सुरुङ ४२ महिनाभित्र निर्माण सक्नुपर्नेछ । कुनै समस्या नआए ०८० साउनमा सुरुङबाट गाडी चल्ने आयोजनाको दाबी छ । सुरुङ निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ । सुरुङ बनेपछि साढे ७ किमि सडक छोटिँदा नागढुंगा उकालोमा हुने सवारी जामको समस्याबाट यात्रुले छुटकारा पाउनेछन् । धादिङ र काठमाडौं दुवैतिर सुरुङ खन्ने काम जारी छ । ‘समयमै काम गर्न नपाए तोकिएको समयमा काम सक्न गाह्रो छ,’ महानिर्देशक थापाले भने, ‘त्यसका लागि काममा अवरोध हुन भएन, निर्माण सामग्री निर्बाध रूपमा ढुवानी गर्ने वतावरण बनाउनुपर्‍यो ।’

निर्माण सामग्री अभावमा नागढुंगा–नौबिसे सडकको काम पनि रोकिएको छ । ‘जहाँ–जहाँ मौज्दात निर्माण सामग्री छ, त्यहाँ काम भइरहेको छ,’ उनले भने, ‘उक्त सडक खण्डमा पनि पर्खाल लगाउने, नाली बनाउने काम रोकिएको छ ।’ यस सडकका लागि निर्माण व्यवसायीले जग्गा भाडामा लिएर करिब एक हजार ट्रिप बालुवा राखे पनि प्रहरीले वैधानिकता खोजेपछि निर्माणस्थलसम्म निर्माण सामग्री लैजान नसकिएको सडक विभागको भनाइ छ । वैधानिक प्रक्रिया पूरा नगरेको भन्दै धादिङ जिल्ला प्रशासन कार्यालयले साइटसम्म निर्माण सामग्री ढुवानी गर्न रोकेको आयोजनाको दाबी छ । मुग्लिङ–पोखरा सडकमा पनि फाट्टफुट्टबाहेक अन्य काम हुन नसकेको महानिर्देशक थापाले जनाए ।

क्रसर सञ्चालनसम्बन्धी मापदण्ड व्यावहारिक नहुँदा त्यसको प्रभाव आयोजनाहरूमा परेको उनी बताउँछन् । ‘नौबिसेदेखि मुग्लिङसम्म ढुंगा, गिट्टी, बालुवा झिक्ने भनेको महेशखोला, त्रिशूली नै हो, खोलाबाट ५ सय मिटर बाहिर क्रसर हुनुपर्ने भन्ने मापदण्ड छ,’ उनले भने, ‘सबै मापदण्ड पालना गर्दा डाँडामा लगेर क्रसर चलाउनुपर्छ ।’ खोलानालाको अवस्था हेरेर मापदण्ड बनाउनुपर्ने उनको सुझाव छ ।

...

ठूला आयोजनामा ठूलै प्रभाव

क्रसर बन्द भएपछि निर्माणाधीन ठूला आयोजनामा प्रभाव पारेको छ । काठमाडौं उपत्यकामा लामो समयदेखि ठेक्का भएर पनि काम नभएका सडकको काम अघि बढेको छैन । धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक हुँदै निर्माण सामग्री उपत्यका भित्रिन्छ । अहिले ती जिल्लामा रहेका क्रसर बन्द भएपछि निर्माण सामग्री भित्रिन छाडेको छ ।

निर्माण सामग्री अभावको प्रभाव मुड्खु–तीनपिप्ले सडक खण्डमा पनि परेको छ । माघभित्र काम सक्ने भनेर ठेक्का गरिएको उक्त सडकमा निर्माण सामग्री उपलब्ध हुन नसक्दा काम अघि बढाउन समस्या भएको सडक विभागले जनाएको छ । नख्खु–भैंसेपाटी, कमलविनायक–नगरकोट, सोह्रखुट्टे–चुनीखेललगायत सडकको काम अघि बढेको छैन । ‘त्यसै त निर्माण व्यवसायीले काम गरिरहेका थिएनन्, अब निर्माण सामग्री पाइएन भन्ने थप बहानाबाजी भयो,’ थापाले भने, ‘झन् के काम गर्लान् ? काम लगाउनै गाह्रो भएको छ ।’

निर्माणका लागि अनुकूल मौसम भएकै बेला निर्माण सामग्री अभाव हुँदा चालु ८० प्रतिशत आयोजना प्रभावित बनेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको दाबी छ । ‘जेठदेखि असोजसम्म काम हुँदैन, त्यो बेला क्रसर उद्योगलाई नियमन गरेको भए हुन्थ्यो,’ अध्यक्ष सिंहले भने, ‘त्यति बेला चुप लागेर बस्ने, जब निर्माणको सिजन आयो, त्यही बेला क्रसर उद्योग बन्द गरेर निर्माण ठप्प गर्ने काम गर्न भएन ।’ देशभर विभिन्न मन्त्रालय, विभागअन्तर्गत ठेक्का भएका करिब ८ हजार आयोजना चालु रहेको उनले जनाए ।

‘थलिएको अर्थतन्त्र अनि निजी क्षेत्र र एकदमै सुस्त रहेको निर्माणको कामलाई झन् रोक्ने काम गरिएको छ,’ उनले भने, ‘इन्धनको मूल्यवृद्धि भएर काम गर्न नसकेको अवस्थामा निर्माण सामग्री उपलब्ध हुन नसक्दा समस्या भएको छ ।’ यसले राज्यसँग नजिक भएका र प्रहरी प्रशासनसँग सहकार्य सक्नेलाई मात्र फाइदा पुग्ने उनको दाबी छ । ‘नेपालभर एउटै कानुन नबनाई आवश्यकताअनुसार बनाउन सकिन्छ, सरकारले पटकपटक बन्द गर्दै खोल्नुभन्दा वैज्ञानिक आधारमा व्यावहारिक ऐन कानुन बनाउनुपर्छ । सबै पालिकामा कहाँकहाँ क्रसर उद्योग राख्न मिल्छ,’ उनले भने, ‘स्थानीय निकायलाई नै अधिकार दिएर समग्र रूपमा राष्ट्रिय गाइडलाइन बनाउनुपर्छ ।’

एक लाख घनमिटर उत्खनन गर्ने भनेर अनुमति लिनेले दुई करोड घनमिटर उत्खनन गरेर दोहन गरिरहेको पाइएको पनि उनको भनाइ छ । ‘कहीं उत्खनन नगरेका कारण बर्खामा गाउँ डुबानमा पर्ने गरेका पनि छन्,’ उनले भने, ‘निर्माण सामग्रीको अत्यधिक मूल्य वृद्धि र अहिले निर्माण सामग्री अभावका कारण निर्माणले गति लिन सकेको छैन, काम गर्न प्रोत्साहन गर्नुपर्नेमा हतोत्साही बनाउने काम मात्र भएको छ ।’ निर्माण सामग्री ढुवानीमा समस्या आएपछि निजी स्तरमा निर्माण भइरहेका घरको काम पनि रोकिएको बताइएको छ ।

‘निर्माण सामग्री अभावमा कतै पनि सन्तोषजनक काम भएको छैन, कमला–कञ्चनपुर, नारायणगढ–बुटवल सडकमा पनि कामको गति घटेको छ,’ महानिर्देशक थापाले भने, ‘पटकपटक ताकेता गरेपछि निर्माण व्यवसायी बल्ल काम गर्न तातेका थिए । यही बेला निर्माण सामग्री पाउन छाडेपछि काम रोकिन थाले ।’

प्रकाशित : माघ ३, २०७९ ०७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×