कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जीवित शिशुलाई चिकित्सकले मृत घोषणा गरेपछि...

अस्पतालबाट बोकेर बाहिर लैजाँदै गर्दा शिशुले हातखुट्टा चलाएपछि आक्रोशित परिवारजनद्वारा चिकित्सकमाथि हातपात
विनोद भण्डारी

विराटनगर — कोसी अस्पतालको आकस्मिक कक्षका डा. आकाश यादवले जीवित शिशुलाई मृत घोषणा गरेपछि बुधबार दिनभरि अस्पताल परिसर तनावग्रस्त रह्यो । मृत घोषणा गरिएकी शिशुको अहिले कोसी अस्पतालभन्दा सय मिटर टाढाको गोल्डेन अस्पतालको एनआईसीयूमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार ती शिशुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

जीवित शिशुलाई चिकित्सकले मृत घोषणा गरेपछि...

गत पुस १७ मा उमा मुखियाले १ किलो ४ सय ग्रामकी ती शिशुलाई कोसी अस्पतालमै जन्म दिएकी थिइन् । श्वासप्रश्वासमा समस्या देखिएपछि मोरङको जहदा गाउँपालिका–३ भाथिगछकी १८ दिनकी शिशुलाई उपचारका लागि बुधबार बिहान अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएको थियो । त्यहाँ मेडिकल अफिसर यादवसहित अहेवद्वय टीका भण्डारी र लक्ष्मण माझीले शिशुलाई मृतक घोषणा गरेपछि अस्पतालमा तनाव भएको हो । चिकित्सक यादवलाई शिशुका आक्रोशित आफन्तले कुटपिट गरेका छन् । उनको टाउकामा चोट लागेको छ ।

‘इमर्जेन्सीमा ल्याइएपछि डा. यादवले छोरीको स्वास्थ्य जाँच गरेका थिए,’ शिशुका पिता दिलीप मुखियाले भने, ‘चिकित्सक यादवले शिशुको सास छैन, मुटु चलेको छैन भन्दै लैजान सुझाव दिए ।’ मुखियाका अनुसार त्यसपछि बच्चालाई अस्पतालको बेडबाट बोकेर बाहिर लैजाँदा शिशुले हातखुट्टा चलाएपछि ऊ जीवितै रहेको पुष्टि भएसँगै आक्रोशित परिवारजनले चिकित्सकमाथि हातपात गरेका हुन् । उनले लापरबाही गर्ने चिकित्सकमाथि कडा कारबाहीको माग गरेका छन् ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. लक्ष्मीनारयण यादवले शिशुको उपचारमा संलग्न आकस्मिक कक्षका टोलीलाई सोधपुछ गर्दा मुटुको चाल बन्द हुनुका साथै सास रोकिएको र दुवै आँखा बन्द भएको अवस्थामा आफूहरूले मृत घोषणा गरेको प्रस्टीकरण दिएको बताए । ‘नवजात शिशुमा हुने एक प्रकारको मेडिकल कन्डिसन एपनियाले पनि कहिलेकाहीं १५–२० सेकेन्ड मुटुको चाल र श्वास बन्द गराउँछ,’ यादवले भने, ‘ती शिशुमा पनि त्यही भएको हुन सक्छ, थप बुझ्ने काम भइरहेको छ ।’

मेडिकल सुपरिन्टेन्डेन्ट यादवले चिकित्सकको लापरबाही पुष्टि भएमा उनीहरूमाथि हदैसम्मको कारबाही हुने बताए । चिकित्सकमाथि आक्रमण गर्ने मन्नु मुखिया र मनोज मुखियालाई प्रहरीले नियन्त्रणमा लिए पनि अस्पताल प्रशासन तथा पीडित पक्षबीच सहमतिपछि माफी मगाएर छाडिएको मेसु यादवले बताए ।

प्रकाशित : माघ ४, २०७९ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?