१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अमेरिकी नागरिक रहँदै नेपाली पासपोर्ट लिएको स्वीकार

नेपाली नागरिकता परित्याग नगरेरै अमेरिका गएको र त्यहाँको नागरिकता लिएकाले ऐनको व्यवस्थाअनुसार पुनः प्राप्तिको प्रक्रियामा गइरहन नपर्ने जिकिर
जयसिंह महरा

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकका हैसियतमा नेपाली भिसामा आएका बेला पुरानो नागरिकता पेस गरेर पासपोर्ट लिएको स्वीकार गरेका छन् ।

अमेरिकी नागरिक रहँदै नेपाली पासपोर्ट लिएको स्वीकार

नागरिकतासम्बन्धी विवादलाई लिएर संसद् सदस्यका रूपमा अयोग्य रहेको दाबीसहित परेका रिटको जवाफमा उनले सर्वोच्च अदालतलाई यस्तो जवाफ पठाएका हुन् ।

युवराज पौडेलको एकल तथा अधिवक्ताद्वय रविराज बसौला र नानीबाबु खत्रीले दायर गरेको रिटमा सर्वोच्चले लामिछानेबाट लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । लामिछानेले जवाफमा भनेका छन्, ‘मैले नेपाली नागरिकता प्राप्त गरेपछि अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका पुगेको र त्यहाँ बस्दै जाने क्रममा स्थायी बसोबास अनुमति (पीआर) तथा २१ फेब्रुअरी २०१४ (२०७० फागुन ९) मा अमेरिकाको नागरिकता प्राप्त गरेको थिएँ ।’ लामिछानेले २०५० फागुन १० मा वंशजका आधारमा जिल्ला प्रशासन कार्यालयबाट १८२२२ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । अमेरिकी नागरिकका हैसियतमा नेपाल आई उनले पुरानो नागरिकताको आधारमा सन् २०१५ मे २७ मा ०८८३४८३८ नम्बरको पासपोर्ट लिएका थिए ।

राहदानी ऐन, २०७६ मा ‘झूटा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिए वा लिन प्रयत्न गरे’ दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ । लामिछानेले अमेरिकाको नागरिकता र राहदानी २०७५ जेठ ५ मा नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिई नागरिकता त्याग्न लाग्ने दस्तुर २ लाख ५८ हजार ५ सय रुपैयाँ बुझाएर प्रक्रिया अगाडि बढाएको र अमेरिकी नागरिकता परित्याग गरेको स्वीकृतिपत्र प्राप्त गरी २०७५ असार १४ देखि आफू अमेरिकी नागरिक नभएको जानकारी सर्वोच्चलाई दिएका छन् ।

अमेरिकी नागरिकता लिए पनि नेपालको नागरिकता परित्याग गर्ने प्रक्रियामा आफू नगएकाले नागरिकता ऐन, २०६३ को कुनै पनि व्यवस्थाले आफूलाई कहिले पनि नेपालको नागरिकबाट मुक्त नगरेको उनको भनाइ छ । नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) मा कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिए नेपालको नागरिकता स्वतः कायम नरहने उल्लेख छ । विदेशी नागरिकता लिने नेपालीले नेपालको नागरिकता त्याग गर्नेबारे नेपालका कूटनीतिक वा सम्बन्धित निकायलाई जानकारी दिनुपर्छ । सूचना प्राप्त भएको ७ दिनभित्र नेपाली कूटनीतिक नियोगले परराष्ट्र मन्त्रालयमा लेखिपठाउनुपर्ने र नागरिकता खारेजीको प्रक्रिया थाल्ने उल्लेख छ ।

नेपाली नागरिकता कहिल्यै परित्याग नगरेकाले पुनःप्राप्तिको प्रक्रियामा गइरहन नहुने जिकिर लामिछानेको छ । ऐनमा भने ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ’ भन्ने व्यवस्था छ ।

चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्दा आफूविरुद्ध निर्वाचन आयोगमा राजकुमार पाण्डेले उजुरी दिएको पनि लामिछानेले लेखेका छन् । ‘आयोगले उम्मेदवार हुन योग्य रहेको ठहर गरी २०७९ मंसिर ९ मा प्रतिनिधिसभा निर्वाचनमा विजयी भएको घोषणा गरी प्रमाणपत्रसमेत दिएको अवस्था छ,’ उनले उल्लेख गरेका छन् ।

निवेदक पौडेलले मंसिर १६ मा गृह मन्त्रालयमा नागरिकताबारे छानबिन गर्नका लागि उजुरी दिएका थिए । अहिले गृह मन्त्रालयमा उक्त उजुरीमाथि छानबिन भइरहेको छ ।

लामिछाने ५१२९६६९८१ नम्बरको अमेरिकी राहदानी बोकेर नातेदार भिसामा नेपाल आएका थिए । सोही राहदानी प्रयोग गरेर उनले पटकपटक विभिन्न मुलुक ओहोरदोहोर गरेको अध्यागमन विभागले जनाएको छ । उनले अमेरिकी नागरिकका हैसियतमा अन्तिम पटक सन् २०१७ अक्टोबर ४ मा १ वर्षका लागि नेपालको भिसा लिएका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

प्रकाशित : माघ ४, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?