सभामुखको चर्चामा रहेका देवराज घिमिरे को हुन् ?

मकर श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभाका सभामुखमा झापा २ बाट निर्वाचित देवराज घिमिरेको नाम चर्चामा आएको छ । ०५६ मा राष्ट्रिय सभा सदस्य भइसकेका घिमिरेको नाम सभामुखको उम्मेदवारको रुपमा चर्चामा आएको हो । सभामुखको निर्वाचन बिहीबार हुदैछ । सभामुख पदको निर्वाचनका लागि संघीय संसद् सचिवालयले मंगलबार कार्यतालिका सार्वजनिक गरेको छ  ।

सभामुखको चर्चामा रहेका देवराज घिमिरे को हुन् ?

सचिवालयले जारी गरेको कार्यतालिका अनुसार बुधबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनु पर्ने हुन्छ । सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार सभामुख पद एमालेको भागमा परेको भनिए पनि कसलाई बनाउने भनेर निर्णय भइसकेको छैन ।

सत्ता गठबन्धनमा एमालेले सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाउने सहमति भएको छ । सभामुखमा एमालेका पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, छविलाल विश्वकर्मा, विद्या भट्टराईको नाम बाहिर आएको छ । एमाले संसदीय दलले घिमिरेलाई बुधबार नागरिकता र दुई वटा फोटो लिएर आउन आग्रह गरेसँगै उनको नाम पक्का भएको हुन सक्ने आकलन गरिएको हो । ‘भोली नागरिकता र फोटो मागेको छ । केही जिम्मेवारी पाउने होकी जस्तो लागेको छ,’उनले भने । आफूले सभामुखको जिम्मेवारी पाए निष्पक्ष ढंगले निर्वाह गर्ने उनले बताए । ‘मसँग राष्ट्रिय सभाको सदस्य भएको संसदीय अनुभव छ,’उनले भने,‘यदि जिम्मेवारी पाएको अवस्थामा निर्वाह गर्न सक्छु ।’अर्जुनधारा नगरपालिका वडा ६ झापाका उनी २८ हजार ७ सय १६ मत ल्याउदै झापा २ बाट निर्वाचित भएका हुन् । उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ६१ मतले पराजित गरेका हुन् । ०१३ जेठ १३ मा ताप्लेजुङ सिकैचा ३ मा जन्मिएका घिमिरेले स्नातक अध्ययन गरेका छन् ।

०३१ मा झापा विद्रोहपछि राजनीतिक यात्रा सुरु गरेका उनी सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुन् । एमालेका स्थायी कमिटी सदस्य रहेका उनी ०५६ मा राष्ट्रिय सभा सदस्य भएका थिए । ०७५ मा नेकपाको प्रदेश १ को अध्यक्ष, ०७८ मा भएको एमालेको दशौ राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भएका थिए । उनी अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुन् ।

प्रकाशित : माघ ३, २०७९ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?