अब हुनेछ रास्वपाको असली परीक्षा  - समाचार - कान्तिपुर समाचार

अब हुनेछ रास्वपाको असली परीक्षा  

देश संचालनका लागि मुख्य र अहिले धेरै विकृति भइरहेका शिक्षा, स्वास्थ्य, श्रम र गृहमा रास्वपा नेतृत्व पुगेको छ । अब रास्वपा नेतृत्वले त्यसमा सुधार गर्न के गर्छ हेर्नुपर्ने छ ।
स्वरूप आचार्य

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सामेल भएको छ । रास्वपाको भागमा परेका सबै मन्त्रालय आमनागरिकको जनजीवनसँग प्रत्यक्ष जोडिएका छन् । पार्टीको उदय नै आमनागरिकले दैनिक रुपमा भोगिरहेका समस्यालाई हटाउने प्रणसँगै भएको हो । त्यसैले रास्वपाबाट मन्त्रिपरिषद्‌मा सामेल भएकाहरुसँग जनअपेक्षा बढी नै छ ।

पार्टी सभापति रवि लामिछाने स्वयं सरकारको उपप्रधानसहित सबैभन्दा महत्त्वपूर्ण गृह मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सामेल भएका छन् । यस्तै मंगलबार मन्त्रिपरिषद् विस्तारको क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा डोलप्रसाद अर्याल मन्त्री भएका छन् । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्री डा. तोसिमा कार्कीको बनेकी छन् । आखिर देश संचालनका लागि मुख्य र अहिले धेरै विकृति भइरहेका शिक्षा, स्वास्थ्य, श्रम र गृहमा रास्वपा नेतृत्व पुगेको छ ।

रास्वपा रवि लामिछानेको महत्त्वाकांक्षा र हुटहुटीले जन्मिएको पार्टी हो । सञ्चारकर्म गर्दाका बखत उठाएका भुइँमान्छेका समस्यालाई सांसद भएर सत्तामा पुगेपछि सम्बोधन गर्ने वचन दिएकैले असाधारण लोकप्रिय मत उनको पार्टीले प्राप्त गरेको हो । यो तथ्य हो,अतिशयोक्ति भन्न मिल्दैन । तसर्थ रास्वपाको वास्तविक परीक्षा अब सुरु भएको छ ।

सानो संघीय देश नेपालको सरकारमा ४-४ जना उपप्रधानमन्त्रीको औचित्य के हो भन्ने प्रश्न अब रास्वपाका सभापति लामिछानेले हरेक मञ्चबाट दिनैपर्छ । हाल प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री भएरमात्रै सामेल हुनेसर्त राखेका उनले कुनैबेला टेलिभिजनको स्क्रिनका साथै चुनावी भाषणका मञ्चबाट यसलाई राजनीतिक कुसंस्कारको संज्ञा दिएका थिए । अब प्रश्न उनितर्फ सोझिएको छ- 'आफू उपप्रधानमन्त्री भएपछि कुसंस्कार सच्चिएकै हो त?'

काम गर्नकै लागि सरकारमा सामेल भएको हो भने क्याबिनेट मन्त्री हुनु र उपप्रधानमन्त्रीको पगडी लगाउनुमा कुनै तात्विक भिन्नता छैन । सरकार संचालन र सुशासनको अर्थमा यो केवल जुँगाको लडाइँ मात्रै हो । साथै, क्याबिनेट मन्त्री रहेको मन्त्रालयमा राज्यमन्त्रीको नियुक्ति पनि केवल पद प्राप्तिको माध्यम हो । क्याबिनेट मन्त्री रहेको मन्त्रालयमा राज्यमन्त्रीको कुनै काम नहुने विगतको अभ्यास छ । नमिठो सुनिएपनि तितो सत्य यही हो ।

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह निर्वाचित भएपछि आमुल परिवर्तन हुने अपेक्षा ६ महिनामा धुमिल भइसकेको अवस्थामा गृहमन्त्री बनेपछि आइपरेको सबैभन्दा पहिलो प्रकोप व्यवस्थापन गर्ने लामिछानेको तरिकाबाट उनीसँग कति अपेक्षा गर्न सकिन्छ ? गत आइतबार मात्रै पोखरामा भएको यति एयर दुर्घटनाको त्रासदी पछि राष्ट्रिय शोक मनाउन दिइएको सार्वजनिक विदा आलोचित भएको छ । यस्तै, लामिछानेले आफ्नो नागरिकता विवादको टुंगो नलाग्दै तालुकदार मन्त्रालयको बागडोर सम्हाल्ने निर्णय पनि आफैंमा प्रश्न योग्य विषय हो । मन्त्री भएसँगै कामको नाममा दैनिकजसो दिने कतिपय निर्देशनहरुको औचित्य कति पुष्टि हुन्छ त्यो पनि हेर्न बाँकी नै छ ।

यसका साथै नागरिकलाई आइपर्ने हरेक समस्यामा प्रहरी र गृह प्रशासन जोडिन्छ । तर, दुवैको कार्यशैली प्रति आमनागरिको वितृष्णा छ, चाहे त्यो सामान्य भन्दा सामान्य अपराधको उजुरी होस् वा प्रशासनले जारी गर्ने नागरिकता नै किन नहोस् । पीडितलाई आफ्नो गुनासो सुनिन्छ र पीडकमाथि कारवाही हुन्छ भन्ने विश्वास नै छैन भने पनि हुन्छ । सजिलै र इज्जतका साथ पाउनुपर्ने सेवाका लागि राजनीतिक दलका विचौलियाको शरणमा जानुपर्ने बाध्यता रहेको छ । साथै, प्रहरीकै कर्मचारीले पनि सरुवा-बढुवादेखि सामान्य प्रशासनिक कार्यका लागि नेताको दैलो चाहर्नुपर्ने सोच व्याप्त छ । सुशासनको नारा दिएर उदाएको रास्वपाका सभापतिका साथै उपप्रधान तथा गृहमन्त्रीलाई आफ्नो मन्त्रालय भित्रका बेथिति हटाउन चुनौति छ ।

सत्ता गठबन्धनलाई मजबुत बनाउन रास्वपाले अगाडि सारेका लगभग हरेक सर्तमा प्रधानमन्त्री पुष्पकमल दाहाल र मुख्य घटक एमालेका अध्यक्ष केपी शर्मा ओली सहमत देखिएका छन् । अब, रास्वपा प्रति आमनागरिकले गरेको आशा र विश्वास कुन रुपमा मुखरित हुन्छ त्यो भविष्यको गर्भमा छ । तर, दाहाल नेतृत्वको सरकारले पूर्णता पाएसँगै रास्वपाबाट सरकारमा सामेल भएकाहरुको अग्नीपरिक्षा भने सुरु भइसकेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भएका शिशिर खनाल नेपालमा सार्वजनिक शिक्षालाई उकास्नका लागि लागि परेका युवा हुन् । 'टिच फर नेपाल'का सहसंस्थापक खनाल विद्यालय शिक्षामा रहेको बेथितिबारे जानकार व्यक्ति हुन् । कुनै समय सामुदायिक विद्यालयको कायापलट गर्न लागिपरेका खनाल कसरी अगाडि बढ्छन् भन्ने विषयमा आमनागरिको चासो छ ।

रास्वपाले आफ्नो उद्देश्य र नीति कार्यक्रमको ११ औं नम्बरको बुँदामा उल्लेख गरेको शिक्षासम्बन्धी अवधारणालाई कुन रुपमा कार्यान्वयन गर्नका लागि कस्तो प्रयत्न गर्छ भन्ने पनि हेर्नुपर्ने हुन्छ । 'शिक्षकलाई नै शिक्षा कसरी दिने भन्ने तालिम दिई परिक्षा लिइनेछ र उत्तीर्ण हुने शिक्षकहरु मुलुककै सबैभन्दा धेरै तलब सुविधा प्राप्त गर्ने पेसाकर्मी हुनेछन्' भन्ने उल्लेखित बुँदामा देशभरका शिक्षकहरुको मुख्य चासो रहने देखिन्छ ।

यस्तै अहिले देशमा संचालित अधिकांश निजी विद्यालय तथा कलेजको चर्को शुल्क अभिभावको टाउको दुखाइको विषय हो । सरकारले २०७२ सालमा संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ जारी गरेको छ । तर त्यो केवल कागजमै सिमित छ ।

आमनागरिकलाई तत्काल राहत दिने हो भने नयाँ शैक्षिक सत्र सुरु हुने बेला हुँदै गर्दा मन्त्री बनेका खनालले निजी विद्यालयको चर्को शुल्कलाई नियमन गर्न केही गर्न सक्नुपर्छ । साथै, सरकारले नि:शुल्क शिक्षा भने पनि सामुदायीक विद्यालयले विभिन्न शिर्षकमा उठाउने शुल्कलाई पनि निरुत्साहित गर्नुपर्ने देखिन्छ ।

आर्थिक सर्वेक्षण २०७८-०७९ का अनुसार २०७८ सम्म देशमा २६ हजार ४५४ वटा सामुदायीक, ६ हजार ७६० संस्थागत र १ हजार १५४ वटा धार्मिक विद्यालयहरु संचालनमा छन् ।आमनागरिकका करिब ७५ प्रतिशत बालबालिका सामुदायीकमा पढ्छन् भने २५ प्रतिशतको हाराहारीमा निजीमा जान्छन् । यसले शैक्षिक स्तरको ठूलो खडाल तयार पारेको छ । यो खाडल पुर्नका लागि मन्त्री खनालले जिम्मेवारी पूर्वक के कस्ता नीतिहरु ल्याउँछन् त्यो हेर्नुपर्नेछ ।

कुनैपनि विद्यालयको शैक्षिकस्तरमा सुधार गर्ने विषय रातारात सम्भव छैन । तर दीर्घकालिन रुपमा त्यसलाई सुधार गर्नका लागि भने उनले आफ्नो विज्ञता देखाउनै पर्छ । यसका साथै विद्यालयदेखि विश्वविद्यालय तहसम्मका शिक्षकहरुमा रहेको राजनीति दलसँगको आवद्धताले निम्त्याएको वेथितीलाई सम्बोधन गर्ने चुनौती पनि उनलाई छ ।

खनाल कार्यकाल कति लामो वा छोटो अवधीको हुन्छ भन्ने विषयले पनि धेरै निर्णय र योजनाहरुको कार्यान्वयनमा असर पर्छ । तर पहिले नै निर्णय भएर थन्किएर बसेका फाइलका धुलो टक्टक्याएर अभिभावकलाई राहत दिने कार्य हुन्छन् भन्ने आशा भने गर्ने ठाउँ छ ।

श्रम मन्त्री बनेका डोरप्रसाद अर्याललाई काम गर्न सबैभन्दा बढी चुनौतीछ । किनभने रवि लामिछानेको सञ्चारकर्मको मुख्य पाटो नै वैदेशिक रोजगारमा गएका वा जान खोजेकाहरुले पाउने गरेको दु:खमा केन्द्रित थियो । लामिछानेको व्यक्तिगत मात्रै नभएर रास्वपा पार्टीको समर्थनको मुख्य आधार नै वैदेशिक रोजगारमा विभिन्न देशमा रहेका नेपाली नागरिक हुन् । उनीहरुले नै पठाएको रेमिट्यान्सले अर्थतन्त्र धानेको देशमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरुको समस्यालाई रास्वपाबाट मन्त्री भएका अर्यालले सम्बोधन गर्न बहाना बनाउने सुविधा छैन ।

रास्वपाले आफ्नो उद्देश्य र नीति कार्यक्रमको १० औं नम्बरको बुँदामा देशमा पर्याप्त रोजगारी सृजना हुन नसकेसम्म वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाइने उल्लेख गरेको छ । यस्तै, उद्यममैत्री सरकार र उद्यममैत्री बैंकिङ प्रणाली स्थापना गरिनुका साथै विदेशमा सीप र ज्ञान हासिल गरेका नेपालीलाई उचित अवसरको सिर्जना गरी राष्ट्रिय उत्पादन तथा विकासमा समेत योगदान पुर्‍याउन ‘घर फर्क’ अभियान सञ्चालन गरिने बताएको छ । यी प्रणले रास्वपाबाट मन्त्री बनेका अर्याललाई थप चुनौती छ ।

उनी आफैं पनि जापानबाट नेपालमा रेमिट्यान्स भित्र्याउने कम्पनी 'इजी लिंक'का संचालक हुन् । तसर्थ वैदेशिक रोजगारमा गएकाहरुले भोग्ने र भोगेका समस्याहरु बारे उनी पूर्णरुपमा अनविज्ञ छैनन् । दैनिक हजारौंको संख्यामा श्रम गर्न विदेश जान चाहनेले नागरिकता बनाउनेदेखि राहदानी लिनेसम्म र श्रम स्वीकृति पाउँदासम्म भोग्नुपरेको हैरानीलाई कम गर्न रास्वपाबाट मन्त्री भएका अर्यालले के गर्छन् आमनागरिकले नजिकबाट नियाल्ने छन् ।

रास्वपाबाट पदका लागि मात्रै राज्यमन्त्री बनेकी डा. तोसिमा कार्कीबाट आमजनता र उनकै चिकित्सीय क्षेत्रबाट पनि अपेक्षा रहने छ । तर, एमालेको पूर्ण क्याबिनेट मन्त्री भएको मन्त्रालयमा उनले के कस्तो भूमिका प्राप्त गर्छिन् त्यो अहिले निर्क्योल गर्न सकिन्न । तर इतिहासलाई पल्टाउने हो भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री रहँदारहँदै राज्यमन्त्री बनेकाहरुको काम भनेको केवल कानुनी रुपमा कुनै हैसियत नभएको निर्देशन दिने मात्रै हुने गरेको देखिन्छ ।


प्रकाशित : माघ ३, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्

६ महिनामै रविको सत्तायात्रा

पार्टी स्थापना गरेको केवल ६ महिनामा नै सत्तामा पुग्नु रास्वपाका लागि ऐतिहासिक उपलब्धी हो भने नेपाली राजनीतिको पनि नयाँ परिघटना हो । अब राष्ट्रिय स्वतन्त्र पार्टी पनि संसदीय राजनीतिमा नयाँ खेलाडीका रूपमा प्रकट भएको छ। सञ्चारकर्ममा रहँदा नै विवादको भूमरीमा परेका रवि लामिछानेको नेतृत्वमा रास्वपाको संसदीय र सत्ता यात्रा कस्तो रहन्छ त्यो हेर्न बाँकी नै छ ।
स्वरूप आचार्य

काठमाडौँ — आफ्नो व्यक्तिगत हुटहुटीपछि ६ महिनाअघि मात्रै राजनीतिमा हाम्फालेका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । उनले सञ्चारकर्मलाई पूर्णविराम लगाउँदै गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आमनिर्वाचनमा अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गर्दै संघीय संसदमा प्रत्यक्ष र समानुपातिकसहित २० सिटमा जित हासिल गरेपछि उनी पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल भएका हुन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७२ साल आफू पहिलोपटक प्रधानमन्त्री हुँदा 'सिधा कुरा प्रधानमन्त्रीसँग' चलाउने अनुमति दिएर सञ्चारकर्मको दोस्रो इनिङको विधिवत सुरुवात गरिदिएको सात वर्षपछि लामिछाने उनकै आग्रहलाई टार्न नसकेर सरकारमा सामेल भएका हुन् भन्दा अत्युक्ति हुँदैन । अरुले नपत्याउँदा ओलीले त्यसबखत लगाएको गुन उनले आफ्नो पहिलो टीभी कार्यक्रम बन्द गरिदिने पुष्पकमल दाहालको नेतृत्वलाई समर्थन गरेर तिरेका छन् ।

सञ्चारकर्मीका रुपमा काम गर्दै गर्दा अमेरिका पलायन भएर उतैको नागरिकतासमेत लिएका लामिछानेले नेपाल आएर ६२ घण्टा लगातार ‘टक सो’ चलाएर विश्व कीर्तिमान राखेपछि केही चर्चा बटुलेका पात्र हुन् । विश्व किर्तिमानी टक सो चलाए पनि नेपाली मिडियाबाट अपेक्षाकृत चर्चा नपाएपछि भने आफूले अमेरिकी नागरिकता लिएको उनले बताउने गरेका छन् ।

आफूलाई महत्त्वाकांक्षी र छिटो निर्णय लिने व्यक्तिका रुपमा चिनाउने लामिछानेको सानिध्यता एमाले अध्यक्ष ओलीसँग नयाँ भने होइन । पहिलोपटक प्रधानमन्त्री भएसँगै ओली र लामिछानेको निकटता बढेको थियो । रविले तत्कालीन प्रधानमन्त्री ओलीलाई आफ्ना योजनाहरू सुनाउँदै 'सिधा कुरा प्रधानमन्त्रीसँग' कार्यक्रम नेपाल टेलिभिजनबाट चलाउन राजी गराएका थिए । ओली राजी भएर कार्यक्रम अनएयर हुन थालेपछि लामिछानेले १४ वर्षको अमेरिका बसाइँ छोड्ने निर्णय गरेका हुन् ।

लामिछानेले आफ्नो अमेरिका बसाइँ निकै उत्पादनमूलक रहेको दाबी गर्ने गरेका छन् । तर‚ उनलाई नजिकबाट चिन्नेहरू भने पारिवारिक कलहसँगको आर्थिक उतारचढावले गर्दा अमेरिका छोड्नु उनका लागि हितकर रहेको देखेरै लामिछाने नेपाल आएको बताउँछन् । अमेरिकामा रहँदाको पारिवारिक कलह कस्तो थियो भन्ने विषय उनकी पूर्वपत्नी ईशा लामिछानेले स्वयंले सार्वजनिक गरेकी थिइन् । त्यसबारे रवि र ईशा दुवैको आ-आफ्नो भनाइ बाहिर आएको थियो । जसले रविको अमेरिका बसाइ पारिवारिक रुपमा सुखद नरहेको भने स्पष्ट पारेको थियो ।

ओली प्रधानमन्त्रीबाट हटेर पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै उनको कार्यक्रम 'सिधा कुरा प्रधानमन्त्रीसँग' नेपाल टेलिभिजनबाट बन्द भयो । नेपाल टेलिभिजनबाट बिदा भएपछि उनले न्यूज २४ बाट 'सिधाकुरा जनतासँग' भन्ने कार्यक्रम चलाउन सुरु गरे । जसले उनलाई चर्चाको शिखरमै पुर्‍यायो । उनको प्रस्तुति शैलीले वाहवाही बटुलिरहेकै बेला २०७६ श्रावण २० गते पत्रकार शालिकराम पुडासैनी मृत अवस्थामा फेला परे । प्रहरी अनुसन्धानको क्रममा पुडासैनीको मोबाइलमा लामिछानेसहित अन्य तीन जनाका कारणले आफूले आत्महत्या गरेको उल्लेख गरिएको भिडियो फेला पर्‍यो । फल स्वरुप रवि लामिछानेलाई प्रहरीले प्रकाउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा नै चलायो । यद्यपि सो मुद्दामा अदालतबाट लामिछानेले सफाइ पाइसकेका छन् ।

आत्महत्या दुरुत्साहनको मुद्दा लागेर प्रहरी हिरासतमा पुग्नु उनका लागि भविष्यमा चितवनबाट आमनिर्वाचनमा विजयी हुने आधार नै बन्यो । त्यसबखत लामिछाने हिरासतमा रहँदा उनको समर्थनमा दिनहुँजसो चितवनको सडक अशान्त बनेको थियो । ११ दिन प्रहरी हिरासतमा बसेर धरौटीमा रिहा भएको भोलिपल्ट रविले नारायणी किनारमा आफूलाई समर्थन गर्नेहरूलाई धन्यवाद दिन कार्यक्रम राखे‚ जसमा हजारौं सहभागी भएका थिए । त्यसबेला नारायणी किनारमा उर्लिएको भिडले नै रविलाई एक प्रकारको छुट्टै ढाडस दियो । रविलाई नजिकबाट चिन्नेहरूका अनुसार त्यहाँ जम्मा भएको भीडले नै उनको मनमा कुनै दिन राजनीतिमा प्रवेश गर्न सकिन्छ भन्ने सोचलाई पनि अंकुरित गराइदिएको थियो ।

न्युज २४ को व्यवस्थापन पक्षसँग खटपट भएपछि उनले २०७७ फागुनमा नयाँ टेलिभिजन ग्यालेक्सी फोरके सञ्चालन गर्ने घोषणा गरेका थिए भने २०७८ असोज १५ गतेदेखि विधिवत रुपमा टेलिभिजनले आफ्नो प्रशारण सुरु गरेको थियो । तर‚ उनको नयाँ टेलिभिजन यात्रा त्यति सुखद भने रहेन । उनले गत असारमा उक्त टेलिभिजन छोडेर राजनीति गर्ने घोषणा गरे ।

एकातर्फ ग्यालेक्सीमा उनको खस्किँदो साख र अर्कोतर्फ स्वतन्त्रको नाममा काठमाडौं महानगरबाट बालेन्द्र शाह र धरान उपमहानगरबाट हर्क साम्पाङको उत्साहजनक जतिले उनको मनमा केही वर्ष पहिले नारायणी किनारमा अंकुरित भएको राजनीतिज्ञ बन्ने सोचलाई मलजल गरिदियो । त्यसैले उनले असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरे । परम्परागत पार्टीहरूको विकल्पमा काम गर्ने भन्दै राजनीतिमा होमिएका लामिछानेले अन्तत: विभिन्न अड्कलबाजीबीच चितवन-२ बाट उम्मेदवारी दिए ।

निर्वाचनको केही दिनअघि लामिछानेको नेपाली नागरिकताको वैधतामाथि विवाद भए पनि त्यो विषयले उनको राजनीतिक यात्रालाई धक्का दिन सकेन बरु थप बल पुर्‍यायो । त्यससँगै उनको राहदानीबारे पनि विवाद सतहमा आयो । उनको नागरिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला उनी भने उपप्रधान तथा गृहमन्त्रीका रुपमा शपथ लिँदै सरकारमा सामेल भएका छन् ।

पार्टी स्थापना गरेको केवल ६ महिनामा नै सत्तामा पुग्नु रास्वपाका लागि ऐतिहासिक उपलब्धि हो भने नेपाली राजनीतिको पनि नयाँ परिघटना हो । अब राष्ट्रिय स्वतन्त्र पार्टी पनि संसदीय राजनीतिमा नयाँ खेलाडीका रूपमा प्रकट भएको छ। सञ्चारकर्ममा रहँदा नै विवादको भूमरीमा परेका रवि लामिछानेको नेतृत्वमा रास्वपाको संसदीय र सत्ता यात्रा कस्तो रहन्छ त्यो हेर्न बाँकी नै छ ।

निर्वाचनमा परम्परागत दलहरूलाई चुनौति दिन लामिछाने स्वयंले पुराना नेताहरूको नेतृत्वमा सरकारमा नजाने बरु देशलाई बलियो प्रतिपक्षको आवश्यकता रहेको बताउने गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष तथा एमाले अध्यक्ष केपी ओलीसँग उनको के विषयमा कुरा मिल्यो र रास्वपाले सरकारमा सहभागी हुने निर्णय गर्‍यो त्यो औपचारिक रुपमा स्पष्ट भइसकेको छैन ।

चितवन दुईबाट निर्वाचन जित्ने पक्कापक्की भएको बेला कान्तिपुरसँग कुराकानी गर्दै रवि लामिछानेले नेपालमा सबै दलहरु कुनै न कुनै किसिमले एक अर्कासँग मिलेकाले यहाँ बलियो प्रतिपक्ष नभएको प्रतिक्रिया दिएका थिए । 'लोकतन्त्रमा प्रतिपक्ष नहुनु भनेको सबैभन्दा खतराको बिषय हो । हाम्रो ध्यान यतिबेला अलिकति प्रतिपक्षमा छ,' उनले यसो भन्दै गर्दा सरकारमा सामेल हुनसक्ने आधार पनि बताएका थिए, 'तर त्यसो भन्दै गर्दा एउटा जिम्मेवारी लिएर भोलि सरकारमा सहभागी भएर नागरिकलाई डेलिभरी दिने कुरामा पछाडि हटनु पनि सार्न्दभिक नहोला ।' तर रातारात उनीसहित बनेको ६ दलीय सत्ता गठबन्धनको नेतृत्व गरेका पुष्पकमल दाहालमा के देखे प्रश्न उठेको छ ।

प्रकाशित : पुस ११, २०७९ १६:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×