कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

देशभरका तुइन विस्थापित हुन्छ : सहरी विकासमन्त्री पाण्डे

'सहरी विकास मन्त्रालयमा काम किन हुन नसकेको भन्ने थाहा छ ।'

काठमाडौँ — नवनियुक्त सहरी विकासमन्त्री विक्रम पाण्डेले  देशभरका तुइन विस्थापित गरेर झोलुंगे पुल बनाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार सहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले  पश्चिम नेपालमा खोलामा झोलुंगे पुल नहुँदा तुइनबाट खोला तर्दा खोलामा खसेर मुत्यु भइरहेको भन्दै सबैभन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुंगे पुल बनाउने बताएका हुन् ।

देशभरका तुइन विस्थापित हुन्छ : सहरी विकासमन्त्री पाण्डे

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पनि तुइन विस्थापन गर्ने घोषणा गरेको थियो । प्रधानमन्त्री ओलीले २०७२ असोजमा पहिलो पटक प्रधानमन्त्री भएलगत्तै जहाँजहाँ तुइन छन्, ती ठाउँमा झोलुंगे पुलमार्फत तुइन विस्थापन गर्ने पहिलो निर्णय गरेका थिए ।

तर विस्थापन गर्ने निर्णय गरेको ७ वर्ष बितिसक्दा पनि तुइन हटेका छैनन् । अझै विकट बस्तीका स्थानीय जोखिम मोलेर तुइनबाटै नदी वारपार गर्न बाध्य छन् ।

तुइन बोलीमा मात्र हट्यो

तुइन हटाएर झोलुंगे पुल बनाउन नसक्ने मन्त्रालयको औचित्य नहुने उनको भनाइ छ । मन्त्री पाण्डेले अब नेपालको कालीगण्डकी क्षेत्रमा हरेक आधाघण्टाको फरकमा झोलुंगे पुल निर्माण गरिने बताए । सहरी विकास मन्त्रालयमा गर्नुपर्ने कामको प्राथमिकताका आधारमा काम गर्ने उनको भनाइ छ । विकास निर्माणका काम के कारण रोकिएको छानबिन गरी भएका समस्या तत्काल समाधान गर्ने योजना रहेको उनले बताए ।

'सहरी विकास मन्त्रालयमा काम किन हुन नसकेको भन्ने थाहा छ । अब त्यस्ता समस्या आउन नदिने सोचले मलाई मन्त्रालयमा पठाइएको छ । त्यो पूरा गरेर देखाउँछु । एक ठाउँबाट अर्को ठाउँमा जानको लागि पश्चिमतिर भएको तुइनबाट खसेर मानिसहरुको दर्दनाक मुत्यु भएको छ । त्यो काम यो मन्त्रालयले अहिलेसम्म पनि पूरा गर्न सक्दैन भने मन्त्रालयको स्थापना भएर काम छैन ।

त्यो काम सबैभन्दा पहिला पूरा गरिन्छ । त्यहाँ सबैभन्दा पहिला तुइन हटाएर झोलुंगे पुल बनाउनु काम पूरा गरिन्छ । हरेक आधा घण्टाको दूरीमा झोलुंगे पुल हुन्छ । क्रस गर्ने सुविधा नभएको ठाउँमा पुल हुन्छ,’ उनले भने ।

आफू सहरी विकास निर्माणको विषयमा जानकार भएकाले कुनै स्वार्थ नबाझिने उनको दाबी छ । कालिका कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका पाण्डे राप्रपाबाट चितवन–३ मा निर्वाचित भएका हुन् ।

सिक्टा सिँचाइ आयोजना अलपत्र पारेर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जनाविरुद्ध साढे ८ अर्ब बढी बिगो, त्यति नै जरिवाना तथा २ वर्ष कैद मागदाबीसहित चार वर्षअघि दायर गरेको थियो, विशेष अदालतले गत असार ५ मा उनीहरूलाई सफाइ दिए पनि फैसलाको पूर्ण पाठ आएपछि अख्तियार सर्वोच्च अदालत जाने तयारीमा छ ।

प्रकाशित : माघ ३, २०७९ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?