१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रदेशकै पहिलो महिला सभामुख

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा एमालेकी नन्दा गुरुङ सभामुखमा निर्वाचित भएकी छन् । उनी मुलुकभरमै पहिलो महिला प्रदेश सभामुखसमेत बनेकी हुन् । प्रदेशसभाको अघिल्लो कार्यकालमा कोही पनि महिला सभामुख थिएनन् भने यसपालि पनि अरू प्रदेशमा सभामुखमा महिला निर्वाचित भएका छैनन् । 

प्रदेशकै पहिलो महिला सभामुख

गुरुङ प्रदेशसभामा एमाले, माओवादी र राप्रपाको मत पाएर सभामुखमा निर्वाचित भएकी हुन् । उनी प्रदेशसभा सदस्य भने समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएकी थिइन् । सभामुख भएसँगै चुनौती पनि थपिएको उनले बताइन् । कर्णाली प्रदेशमा धेरै कानुन बन्नै बाँकी भएकाले त्यही जिम्मेवारीलाई चुनौतीका रूपमा आफूले लिएको उनको भनाइ छ । ‘बनाएका कानुन पनि प्रभावकारी नभएको अवस्थामा मैले सभामुखको जिम्मेवारी सम्हालेकी छु,’ उनले भनिन्, ‘संविधानमा व्यवस्था भएअनुसार काम गर्न कुनै कसर बाँकी राख्नेछैन, प्रदेशको कामकाजलाई सहज र सफल बनाउन आवश्यक कानुनको निर्माण गर्ने नै मेरो पहिलो प्राथमिकता हुनेछ ।’

दैलेखको नारायण नगरपालिका–७ नयाँगाउँमा २०२३ फागुन २ मा जन्मिएकी गुरुङ अहिले वीरेन्द्रनगर–२ की स्थायी बासिन्दा हुन् । परिवार बसाइँ सरेका कारण उनको बाल्यकाल भने बर्दियाको बढैयातालमा बितेको थियो । गुरुङले २०४६ अघि प्रतिबन्धित अवस्थामा अनेरास्ववियु छैटौंमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी थिइन् । २०४६ पछि भने उनी एमालेमा लागेकी थिइन् । एमालेको जिल्ला कमिटीमा ३ कार्यकाल सदस्य भएकी उनी अहिले प्रदेश कमिटी सदस्य हुन् । उनी अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला अध्यक्ष पनि हुन् । उनले स्नातक तहसम्मको अध्ययन गरेकी छन् ।

२०५४ सालमा पतिको निधन भएपछि केही समय गुरुङ एकल महिला तथा महिलाको हकहितका लागि क्रियाशील भएकी थिइन् । अहिले उनी मानव अधिकारका लागि एकल महिला समूह सुर्खेतको कोषाध्यक्ष पनि हुन् । आफू महिला भएकाले कर्णालीका महिलाका समस्या हेरेर कानुन निर्माणमा भूमिका खेल्ने गुरुङको भनाइ छ । ‘काम गर्दा सबै क्षेत्रलाई आवश्यकताअनुसार प्राथमिकता त दिइने नै छ, तर म पनि महिला भएकाले महिलाका क्षेत्रमा केही नयाँ काम पक्कै हुनेछन्,’ उनले भनिन्, ‘कानुन निर्माणमा महिलालाई विशेष ध्यान दिइनेछ ।’

प्रकाशित : माघ ३, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?