कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

घुम्दै फिर्दै रुम्जाटार

कुम्भराज राई

ओखलढुंगा — घुम्दै फिर्दै रुम्जाटार फेरि भेटौंला
दुःख नमान सानी बाँचे भेटौंला...
इटहरीका कलाकार बालकृष्ण कार्कीलाई गीतमा ‘घुमिफिरी रुम्जाटार’ जोड्नु थियो, २०४३र४४ ताका उनले गीतमा रुम्जाटार लेखे । तर, ओखलढुंगाको त्यो गाउँसँग उनको साइनो छैन, जो थेगोमा चर्चित छ – काम बनेन वा फेरि सुरुवातकै अवस्थामा आइपुग्नु परे भन्ने गरिन्छ, घुमिफिरी रुम्जाटार ।

घुम्दै फिर्दै रुम्जाटार

कार्की भन्छन् ‘गीतमा रुम्जाटार त जोडियो तर मलाई आज पनि जिज्ञासा छ आखिर घुमिफिरी रुम्जाटारचाहिँ के कारणले भनेका होलान् रु’ थेगोले घुम्दै फिर्दै रुम्जाटार पुगिन्छ भन्ने संकेत गरे पनि यो पुरानो पहाडी बस्ती छाडेर हिँडेका धेरै जना फेरि फर्किएका छैनन् । हाम्रो कथाले कार्कीको जिज्ञासा शान्त पार्नेछ ।

रुम्जाटारका बालासुन्दर गुरुङ भेडा चराउन सोलुखुम्बुको दूधकुण्डमाथि शैलुङ पोखरी पुगेका थिए । अचानक बिरामी भए । भेडीगोठमै अन्तिम सास फेरे । हिमालको फेदीबाट शव बोकेर ल्याउन सम्भव थिएन । गोठाले साथीहरूले उतै माटोले पुरेर अन्त्येष्टि गरे । यो २०३० अघिको घटना हो, जसलाई रुम्जाटारका पाका पुस्ता अझै सम्झन्छन् ।

‘बाजेको चिहानबाट नली हाड निकालेर जुनबेंसीको गुम्बाका लामाहरूले बजाउँछन् भन्ने पछिसम्म सुनेका थियौं,’ बालासुन्दरकी नातिनी ६३ वर्षीया पदमकुमारीले भनिन्, ‘पछि बज्यै पनि भेडा चराउन जाँदा सोलुको लोदिङमा २०४० मा बित्नुभयो, २०५६ मा गएर बज्यैको चिहानमा पूजा लगाएर फर्कियौं ।’

बालासुन्दरका नाति ढोलबहादुर र पनाति सन्तोष यतिखेर उदयपुरको रौतापोखरी छेउमा छन् । करिब एक हजार भेडा चराउँदै रौता नजिक पुगेका उनीहरूसँग अन्य चार गोठाले साथमा छन् । हिउँदमा बेंसी ९उदयपुरको कटारी, गाईघाट, सिन्धुली सीमा क्षेत्र० र वर्षामा लेक ९सोलुको दूधकुण्ड आसपास० पुर्‍याएर चराइने रुम्जाटारको भेडीगोठ लोप हुने चरणमा छ । बालासुन्दर जस्ता भेडीगोठमै कतिले ज्यान गुमाए यकिन छैन । तर रुम्जाटारे गुरुङका ती भेडीगोठका कथा अब सुनिन छाडेको छ । २०४० सम्म रुम्जाटारमा करिब ५० हजार भेडा पालिन्थ्यो । एक घरमा कम्तीमा ३०–४० भेडा हुन्थे । धेरैजसोले सयभन्दा बढी भेडा पाल्थे । समूहमा मिसाएर भेडा चराउने चलन थियो । खड्गसिंह गुरुङको सबैभन्दा ठूलो भेडीगोठ थियो । एक हजार भेडा त उनीसँगै थिए । रुम्जाटारदेखि सोलुखुम्बुको टाप्टिङ, पीकेलगायतका क्षेत्रमा हजारौं रोपनी भेडा चराउने खर्क उनकै नाममा थियो । २०४५ मा नापी हुँदा कतिपय जग्गा अरूले नपाए । हदबन्दीले गर्दा ती खर्क सबै जंगल र अरू व्यक्तिको नाममा दर्ता भयो । ‘जसको भेडा धेरै, उही धनी हुन्थ्यो,’ खड्गसिंहका नाति बद्रीकाजीले भने, ‘भेडापालन र राडीपाखी रुम्जाटारको पहिचान थियो ।’

जिल्लाभरिका सात भेडापालक किसान आबद्ध भई २०७७ मा भेडा विकास समिति गठन गरिएको छ । अहिले रुम्जाटारमा दुई वटा मात्र भेडीगोठ बाँकी छन् । राडी बुन्ने मान्छे घटेपछि किसानले पालेको भेडाको सबै ऊन रुम्जाटारमा खपत हुँदैन । ‘अहिले हामीसँग छ सय धार्नी जति ऊन छ,’ समितिका अध्यक्ष पदमकुमारी गुरुङ ले भनिन्, ‘अरू किसानले भोजपुरतिरकालाई ऊन बेच्न थालेका छन् ।’ भेडा चराउने मुख्य समस्या चरन अभाव हो । सबै जंगल सामुदायिक, कबुलियती र व्यक्तिको नाममा छ । जहाँ पुगे पनि भेडा चराउनलाई पैसा तिर्नुपर्ने ढोलबहादुर गुरुङले बताए ।

माघभरि उदयपुर र सिन्धुलीको सिमाना कमला नदी किनारमा मैनी बजार लाग्थ्यो । भलाकाजी गुरुङ पाँच जना भरिया लिएर राडी बेच्न पुस मसान्तमै मैनी बजार पुग्थे । एक भरियाले ३० देखि ४० वटा राडी बोक्थे । रुम्जाटारे गुरुङको मैनीबजारमा २०–२५ वडा राडीपाखी पसल हुन्थ्यो । मैनीबजारमा नबिकेको राडी लिएर भलाकाजी विराटनगरदेखि सर्लाहीसम्म पुग्थे । सबै बेचिसकेर घर फर्किंदा खल्तीभरि पैसा हुन्थ्यो । ‘अहिले सातदेखि आठ हजार पर्ने राडी त्यतिखेर २५–३० रुपैयाँमा बिक्री हुन्थ्यो,’ भलाकाजीले ती दिन सम्झे, ‘पैसाको दुःख थियो, अहिले पैसा सस्तो भयो, राडीपाखी बुन्ने, बिक्री गर्ने जमाना गयो ।’ भलाकाजी तीन वर्षअघिसम्म मैनीबजार, हलेसी, रबुवा ओखलढुंगाको प्रत्येक शनिबारे हाटमा राडीपाखी लिएर पुग्थे । ‘अब हिँड्न पनि सक्दिनँ,’ पुसको ठण्डीमा घर नजिकै घाम तापिरहेका ७६ वर्षीय उनले भने, ‘पहिले जस्तो बिक्री हुँदैन, दुःख मात्रै ।’


बेलायतको बसोबासी बनेकाहरूले आफ्नो गाउँ सम्झेर बनाएको प्रवेशद्वार ।

भलाकाजी सानोमा बुबासँगै भेडा गोठालो जान्थे । १९ वर्षको उमेरमा अंशबन्डा गर्दा दाजुलाई भेडीगोठ दिएर उनी राडीपाखी व्यापारमा लागेका थिए । रुम्जाटारमा भेडा नपाल्ने घरलाई छोरी दिँदैनथे । छोरी दिँदा धनी परिवारले दाइजोमा भेडीगोठ नै दिन्थे ।

रुम्जाटार विमानस्थलदेखि विमानमार्फत राडी काठमाडौं लगिन्थ्यो । भक्तपुरका व्यापारी राडीपाखी लिन विमानस्थलसम्मै आइपुग्थे । रुम्जाटारको प्रत्येक घरमा राडीपाखी बुनिन्थ्यो । अहिले यो २५–३० घरमा सीमित छ । बजारमा प्लास्टिकका सस्तो चकटी किन्न पाइन्छ । भेडा विकास समितिकी अध्यक्ष पदमकुमारीले पहिले जस्तो राडीपाखी बिक्री नहुने भएकाले सम्पर्कमा आधारमा मात्रै बुनेका सामान बेच्ने गरिएको बताइन् ।

०००

रुम्जाटारमा साउनमा कोदो रोपिन्छ । असारदेखि माइती ९केटा० र चेली ९केटी० बीचमा चुरोट, रोटी, रक्सी बैना गरेर पर्मका लागि निम्तो दिइन्थ्यो । बैना लिइसकेपछि धोका दिएमा भौतिक कारबाही गर्ने सामाजिक नियम थियो । साउन लागेपछि कोदो रोपाइँ सुरु हुन्थ्यो । माइतीहरू खन्ने, चेलीहरू रोप्ने । ‘४०–५० जनाको पर्मेली हुल हुन्थ्यो,’ स्थानीय कल्याण राईले पुराना दिन सम्झिए, ‘त्यस्तो हुल रुम्जाटारभरि दर्जनौं हुन्थे, पर्मेली भाकामा गीत गाउँदै कोदो रोप्दै बिहानदेखि झमक्कै साँझ पारिन्थ्यो ।’

मेलामा जाँदा चेलीहरूले टाउकामा घुमराडी ओढ्दै कोदालो बोक्थे । प्रत्येक दिन पर्मेलीका हूल काम सकेर साँझमा कोदालो ठोक्दै, मादल बजाउँदै तेर्सो बाटोमा जम्मा हुन्थे । त्यहाँ जाँडरक्सी खाने, नाचगान गर्ने, बलियाहरू जुध्ने गर्थे । रातिसम्म रमाइलो गर्‍यो, बिहान फेरि पर्ममा हाजिर । ‘ती दिन साँच्चिकै रमाइला थिए,’ कल्याण भन्छन् ।

कोदो टिप्ने मौसममा मंसिर १५ का दिन सिलाम र काँचो चामल खाने चलन थियो । मंसिरे पूर्णेमा काफलबोटको भगवती मन्दिरमा एकराते मेला लाग्थ्यो । माइती–चेली सबै जम्मा हुन्थे । माइतीले रोटी, तरकारी, अचार किनेर ख्वाउँथे । चेलीले रक्सी किनेर ख्वाउनुपर्थ्यो । साउनमा कोदो रोप्ने, भदौमा गोड्ने र मंसिरमा टिप्ने पर्मेली संस्कृति थियो । ‘अहिले पर्मेली गीत र पर्म दुवै हरायो,’ कल्याणले भने, ‘अब त सम्झनामा मात्रै छन् ती दिन ।’

रुम्जाटारको अर्को पहिचान हो सुन्तला । प्रत्येक घरमा सुन्तलाका बगैंचा हुन्थे । मंसिर लागेपछि पहेंलपुर बगैंचा रमितलाग्दो हुन्थ्यो । मूलखर्कतिरका तामाङहरू डोको बोकेर सुन्तला किन्न आउँथे । ‘२० रुपैयाँमा सय दाना बिक्री हुन्थ्यो,’ भलाकाजी गुरुङले भने, ‘अहिले सुन्तलाको मूल्य राम्रो छ तर बोट मर्न थाले, आधाभन्दा धेरै सुन्तला मरिसके ।’ रासायनिक मल र विषादीको प्रयोगमात्रै होइन जलवायु परिवर्तनसँगै बढ्दो तापक्रमले सुन्तलाको बोट मर्न थालेको स्थानीय अनुमान गर्छन् ।

‘सुन्तला मासिनुको प्रमुख तीन कारण छन्,’ कृषि ज्ञानकेन्द्र ओखलढुंगाका प्रमुख हेम आलेमगरले भने, ‘पहिलो त सुन्तलाको बोट व्यवस्थापन गोडमेल, सिँचाइ मलजल भएन । दोस्रो, पशुपालन नभएपछि प्रांगारिक मलभन्दा रासायनिक मलको प्रयोग बढ्यो र माटोमा अम्लियपना धेरै भयो । तेस्रोचाहिँ जलवायु परिवर्तन हुन सक्छ, सुन्तला फल्ने उचाइ बर्सेनि बिस्तारै बढ्दै गएको छ ।’


मकै बारीमा कोदो रोप्दै स्थानीय

अहिले रुम्जाटारमा एक सयभन्दा बढी सुन्तलाका बगैंचा छन् । एउटा बगैंचामा १५–२० देखि बढीमा ४०–५० बोटसम्म सुन्तला छन् । तर ४० प्रतिशत बोट मासिसकेका छन् । गाउँ छोड्ने क्रम बढेकाले पनि भएका बोटबिरुवाको स्याहार नगर्ने र नयाँ बिरुवा रोप्ने काम भएको छैन । समथर भूभाग र पारिलो ठाउँको सुन्तला भएकाले पहिले रुम्जाटारको सुन्तला स्वादिलो मानिन्थ्यो । अहिले फलेको पनि धेरैजसो अमिलो हुने गरेको छ । एक दशक अघिसम्म जिल्लाको सबैभन्दा बढी सुन्तला फल्ने भनेर चिनिएको रुम्जाटार अहिले पछि परिसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

रुम्जाटारमा विमानस्थल बनाउने भन्दै २०१९ मा सर्भे भएको थियो । २०२६ देखि पिलाटस पोर्टरले अवतरण सुरु गर्‍यो । धावनमार्ग कच्ची भए पनि २०३१ देखि नियमित उडान भयो । वर्षौंसम्म जिल्लावासीले कालोपत्रको माग गरेपछि धावनमार्ग कालोपत्र त भयो तर विमानस्थल बन्द हुन पुग्यो । विमानस्थल कालोपत्र सुरु हुँदा मध्यपहाडी राजमार्गअन्तर्गत घुर्मी–खुर्कोट बाटोको ट्र्याक खुल्दै थियो । त्यसअघि यात्रुहरू तीन दिन लगाएर राजधानी पुग्न उदयपुरको कटारी घुमेर जान्थे । मध्यपहाडी ट्र्याक खुलेपछि यात्रुलाई राजधानी जाने बाटो छोटियो । सुनकोसीमा पुल नबनुन्जेल विमान चलिरहेकै थियो । सात वर्षअघि पक्की पुल बन्यो । विमानका लागि यात्रु पाइन छाडे । बन्द भएको विमानस्थल लामो समयदेखि कार्यालय सहयोगीको भरमा छ ।

शुक्रबारेभन्दा अलि तल चन्द्रकला गुरुङको पुरानो विशाल घर छ । उनीहरू दुई दशकदेखि घर छाडेर राजधानीमा छन् । अहिले घरको रेखदेख गर्ने मान्छेसमेत छैनन् । चन्द्रकलाको मात्रै होइन, रुम्जाटारमा सयभन्दा बढी घरका गुरुङहरू राजधानी, बेलायत, हङकङ बसाइँ गए । काँचो माटोले बनेका पुराना घर खण्डहरमा परिणत हुन थालेका छन् ।

‘कति त भत्केर गइसके,’ ४० वर्षदेखि रुम्जाटार बसेका जीवनाथ खतिवडाले भने, ‘यहाँको समस्या घरजग्गा बिक्री नगर्ने भएकाले पनि खण्डहरमा परिणत हुन थालेका हुन् ।’ अधिकांश गुरुङ समुदायमा पहिले–पहिले छोरीलाई दाइजोका रूपमा जग्गा दिने चलन थियो । त्यसैले रुम्जाटार छोडेर बसाइँ गएकाले बाबुबाजेको चिनो भन्दै जग्गा बेच्न नमान्ने खतिवडा सुनाउँछन् ।

रुम्जाटारको भूगोल ३।९ किलोमिटर उत्तर दक्षिण लम्बाइ र २ किमि पूर्वपश्चिम चौडाइमा फैलिएको छ । यहाँ ७ सय ५६ घरधुरी छन् । दुई दशकअघिसम्म यहाँ ९० प्रतिशत घर गुरुङहरूकै थियो । अन्य समुदायको प्रवेशसँगै हाल गुरुङ ५० प्रतिशत मात्र छन् । बेलायतमै रुम्जाटारे गुरुङहरू १ सय १४ घर छन् । भेडापालन छाड्दै यहाँबाट लाहुर जाने चलन सुरु भयो । लाहुरपछि वैदेशिक रोजगारी । त्यसपछि शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर खोज्दै गाउँ छाड्ने क्रम बढेको पूर्वगाविस अध्यक्ष सीताराम गुरुङ बताउँछन् ।

दुई सय ५० वर्षअघि नेपाल एकीकरणका क्रममा सेनाका रूपमा आएका गुरुङहरूले रुम्जाटार कब्जा गरी बसेका थिए । शाहकालभरि राजदरबारसँग प्रत्यक्ष साइनो जोडिएको रुम्जाटार कुनै बेला सदरमुकामभन्दा गुल्जार हुन्थ्यो । त्यसैले ‘घुमी फिरी रुम्जाटार’ उखानै बनेको थियो । अब भने रुम्जाटार उखानमा मात्र सीमित भएको छ । घरको मूल ढोकामा ताल्चा मारेर रुम्जाटार छाड्नेहरू फिर्न छाडेका छन् ।

‘रुम्जाटार पहिलेकै स्वरूपमा फर्किने र गुल्जार हुने सम्भावना त रहेन,’ लेखक डीआर पोखरेलले भने, ‘संस्कृति र जीवन परिवर्तनशील छ, सांस्कृतिक जीवनमात्रै बाँच्दैन, त्यसका लागि भौतिक परिवेश निर्भर रहन्छ ।’ रुम्जाटारका उनी हाल चितवन बस्छन् । उनको भनाइमा रुम्जाटारे पहिचान चाहेर पनि संरक्षण गर्न कठिन छ ।

यहाँ भेडीगोठका लागि चरन मासिए । भेडीगोठ चराउने पुरुष र राडीपाखी बुन्ने महिला छैनन् । रुम्जाटारको अर्थतन्त्र आत्मनिर्भरताबाट परनिर्भरतातर्फ लागेपछि सुरु भएको उनी बताउँछन् । ‘परनिर्भर बनाउने कामको सुरुवात तत्कालीन दरबारले गर्‍यो,’ पोख्रेल भन्छन्, ‘सुसारे, धाइआमा, द्वारेको रूपमा बाहिरिया रानीजस्ता अनेक कामका लागि रुम्जाटारका सयौं नारीलाई दरबार लगेर एक किसिमको शोषणसहित रोजगारी दिए । त्यसबाट उनीहरूले आम्दानी पनि गर्न थालेपछि परम्परागत पेसाबाटै आत्मनिर्भर हुने चलनमा असर पर्‍यो ।’

गोर्खा भर्ती जाने अर्को चरण सुरु भयो । भर्ती गएपछि पैसा कमाउने र गाउँ नफर्किने चलन बढ्यो । भेडा चराउने, श्रम साटासाट गर्ने पर्मर्लेी प्रथाको संस्कृति पनि हराउँदै गयो । हाल रुम्जाटारको इतिहासलाई संरक्षण गर्ने उद्देश्यले स्थानीयले गुरुङ संग्रहालय र नेपाली सेनाले आफ्नो इतिहास बुझाउने संग्रहालय निर्माण गरिरहेका छन् । यसले थोरै रुम्जाटारको इतिहास संरक्षण गर्ने आशा गरिएको छ ।

चार वर्षअघि प्रदेश १ सरकारले रुम्जाटारलाई स्मार्ट सिटी बनाउने अवधारणा ल्यायो । भइरहेकै संरचनालाई यथावत् राखी स्मार्ट सिटी बनाउने वा नयाँ संरचना बनाउने भन्ने टुंगो लागेन । विकल्पसहितका विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० बनेको छ । तर अब स्मार्ट सिटीकै काम अघि बढ्छ कि बढ्दैन भन्ने अन्योल छ । यदि काम अघि बढिहालेमा स्थानीय मौलिकता, पहिचान जगेर्ना हुन्छ या हुँदैन भन्ने टुंगो नभएको स्थानीय बताउँछन् ।

प्रकाशित : माघ ३, २०७९ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x