४६ जनाको शव काठमाडौं पठाइने, बाँकी पोखरामै आफन्तलाई बुझाइने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
यती विमान दुर्घटना :

४६ जनाको शव काठमाडौं पठाइने, बाँकी पोखरामै आफन्तलाई बुझाइने

दीपक परियार

पोखरा — यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका क्रु मेम्बर, विदेशी र पहिचान नभएका शव भोलि (मंगलबार) मात्रै काठमाडौं पठाइने भएको छ । यसअघि हेलिकप्टरमा सोमबार नै शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउने तयारी भए पनि अबेर भएकाले मंगलबार मात्र पठाइने भएको हो । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उद्धार तथा समन्वय केन्द्रका अनुसार ४६ जनाको शव काठमाडौं पठाइने भएको छ । त्यस्तै २३ जनाको शव भने पोखरामै अभिभावकलाई बुझाउने तयारी छ । पोखरामा मृतकका आफन्तलाई शव बुझाउन सुरु गरिएको पनि केन्द्रले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले सोमबार साँझ परिसकेकोले मंगलबार बिहान ९ बजेपछि शव काठमाडौं पठाइने बताए । उनका अनुसार हालसम्म फेला परेका ६९ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । तीनजना अझैँ बेपत्ता छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सेती खोंचमा खोजी कार्य जारी राखेको छ । ‘पानीबाहिर देखिएका शव निकालिएको र अन्य शव पानीभित्र रहेको आशंकामा एपीएफको गोताखोर टोलीले खोजिरहेको छ,’ उनले भने, ‘खोंचमा समेत उद्धार टोलीले खोजी कार्य गरिरहेको छ । उद्धारमा नेपाल प्रहरीका दुई कुकुरसमेत परिचालन गरिएको छ ।’

अस्पतालको पोस्टमार्टम गृहमा भएका ६९ मध्ये ४४ शवको पहिचान भएको छ । पहिचान भएका शवको पोस्टमार्टम प्रक्रिया सुरु भइसकेको अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीले बताए । उनका अनुसार ७ सदस्यीय पोस्टमार्टम टिम बनाइएको छ । दुई फरेन्सिक विशेषज्ञ काठमाडौंबाट आएका छन् । त्रिवि शिक्षण अस्पतालका डा.गोपाल चौधरी र डा.समारिका दाहाल पोखरा आएका हुन् ।

पाँचजना पोखराकै फरेन्सिक विशेषज्ञ छन् । ‘पहिला शवको औपचारिक सनाखत हुन्छ त्यसपछि पोस्टमार्टम गर्छौं,’ उनले भने, ‘पोस्टमार्टमपछि पुनः सनाखत गर्नुपर्ने हुन्छ । त्यसपछि शव परिवारलाई बुझाउँछौं ।’ सनाखत हुन नसकेका शव डीएनए परीक्षणका लागि काठमाडौं पठाइने उनले जनाए । मृतकका आफन्तले भने दुर्घटना भएको २४ घण्टाभन्दा बढी भइसक्दा समेत शव बुझ्न नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रकाशित : माघ २, २०७९ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्

विमान दुर्घटना : सेनाले उड्डयन प्राधिकरणलाई बुझायो 'ब्ल्याक बक्स'

दीपक परियार

काठमाडौँ — आइतबार पोखरामा दुर्घटना भएको विमानको ब्ल्याक बक्स नेपाली सेनाको खोज तथा उद्धार टोलीले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ । दुर्घटनास्थलमा उद्धारमा खटिएको सेनाको टोलीले प्राधिकरणका प्रतिनिधिलाई सोमबार उक्त ब्ल्याक बक्स हस्तान्तरण गरेको हो ।

नेपाली सेनाका सहसेनानी सरोज कोइरालाले सोमबार दिउँसो उक्त ब्ल्याक बक्स नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भरतराज पराजुलीलाई हस्तान्तरण गरेका हुन् ।

यस क्रममा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक विकाश अर्याल, स्थानीय पोखरा महानगरपालिका वडा नं १५ का वडाध्यक्ष तोरण बहादुर बानिया, नेपाली सेनाका प्रमुख सेनानी सन्तोष चन्द, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाही लगायतका अधिकारीहरू सहभागी थिए ।

प्रकाशित : माघ २, २०७९ १५:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×