यसरी गरिएको थियो राजनारायण पाठक ‘घुस काण्ड’ को पर्दाफास   - समाचार - कान्तिपुर समाचार
रिपोर्टरको डायरी

यसरी गरिएको थियो राजनारायण पाठक ‘घुस काण्ड’ को पर्दाफास   

मणि दाहाल

काठमाडौँ — २०७५ जेठको अन्तिमतिर चिनजानका एक दाइले फोनमा भेट्न अनामनगर बोलाए । बेलाबेलामा समाचार हुने खालका सूचना दिने उनलाई भेट्न टिचिङ अस्पतालबाट नेपाल यातायात चढेर अनामनगर पुगेको थिएँ । ती दाइले नै अख्तियारका आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस खाएको बताए । सुरुमा मैले ठाने‌ यस्तो हुन्छ र ! मलाई पटक्कै विश्वास लागेन । 

मैले विश्वास नगरेपछि उनले पाठकले घुस खाएको कुरा स्वीकार गरेको भिडियो रहेको बताए । त्यसपछि विश्वास नगरी सुखै थिएन । अब चासो भनेको त्यो भिडियो कसरी हात पार्ने र भिडियोमा भएको व्यक्ति पाठक नै हुन भन्ने प्रमाणित गर्ने थियो । चिन्ता भनेको अरुले थाहा पाएर म भन्दा अघि नै नफुत्काउन भन्ने थियो ।

मैले उनलाई भिडियो दिन आग्रह गरे । तत्काल दिन मानेनन् । हेर्न दिनुहोस भनेर आग्रह गरे । अर्को दिन दिन्छु भनेर टारे । उनी राजी नभएपछि मसँग विकल्प पनि रहेन । भिडियो हात पारेँ र उनीहरुले भनेको जस्तो अख्तियारको आयुक्त पाठककै भिडियो हो भने त पत्रकारिता अभ्यासमा मैले अहिलेसम्म प्राप्त गरेको ठूलो समाचार हुन्थ्यो ! कल्पना गर्दै अफिस पुगेँ ।

त्यसबेला म नागरिक दैनिकमा काम गर्थे‌ं । साढे ९ वर्षदेखि म त्यहीँ काम गरिरहेको थिएँ । पछिल्लो २ वर्षदेखि राजनीतिक बिटमा काम गरिरहेको थिएँ । तर कुनै अनियमितताको जानकारी कसैले दिए, सूचना आएमा खोज्ने गर्थें । यसरी लेखेको विषयमा हयात होटलका संस्थापकले शेयर स्वामित्वमा चलखेल गरेर सरकारी स्वामित्वको अर्बौंको जग्गा हडपेको र काठमाडौंका रैथाने नेवारलाई फकाएर जग्गा खाने भूमाफियासम्मका विषय थिए ।

त्यस दिनको संयोग कस्तो पर्‍यो भने, त्यो दिन मैले नागरिक दैनिकबाट राजीनामा दिने दिन थियो । मैले राजीनामा दिने तयारी पहिले नै गरिसकेको थिएँ । एक महिनाअघि जानकारी गराउनुपर्ने नियमानुसार असारको अन्तिमबाट लागू हुने गरी जेठमा नै राजीनामा दिनुपर्ने थियो । असारमा नागरिक दैनिक छोडेपछि म नेपालखबर अनलाइनमा काम गर्न गएँ ।

अख्तियारका पूर्वआयुक्त पाठक र घूस दिने न्यौपाने भ्रष्टाचारी ठहर

विषयबस्तु त्यति परिपक्व नभएका कारण त्यस विषयमा अन्यसँग कुरा गर्ने अवस्था पनि थिएन । जो पायो त्यहीसँग कुरा गर्दा सूचना चुहिएर अरुले विषय उछिट्याउने जोखिम पनि उत्तिकै थियो ।

नागरिक दैनिकबाट औपचारिक रूपमा बिदाबारी नहुन्जेल भिडियो हुनेहरूलाई पनि भनेको थिइनँ । नागरिक छाडेपछि केही समय म खाली पनि बसेँ । त्यस समयमा तनाव भयो । केही गरी भिडियो हात लाग्यो भने कहाँ प्रकाशित गर्ने ? तर त्यस्तो अवस्था नै आएन । सूचना पाएको त्यो विषयलाई पुष्टि गर्न नौ महिनाभन्दा बढी समय लाग्यो ।

त्यो घुस प्रकरण भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजसँग सम्बन्धित थियो । कलेजका सञ्चालकहरू दुई समूहमा थिए । गैरनाफामुलूक संस्थाका रूपमा सञ्चालन हुँदै आएको कलेजलाई तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले उस्तै नाम गरेको निजी कम्पनी खोलेर सम्पत्ति हत्याउन खोजेका थिए । लम्बोदरविरुद्ध अन्य केही सञ्चालकहरूले अख्तियारमा उजुरी दिएका थिए । त्यस समयमा आयुक्त पाठकले शिक्षा क्षेत्र हेर्थे । अर्बौं रुपैयाँको सम्पत्ति हात पार्न खोजेका न्यौपानेले बिचौलिया प्रयोग गरेर त्यो विषय सेटल गर्नका लागि पाठकलाई घुस खुवाएका थिए । संयोग कस्तो पर्‍यो भने न्यौपानेले सो कलेज हात पार्न गरेको चलेखेलको विषयमा ३-४ पटक समाचार लेखिसकेको थिएँ । जुन समाचार नागरिक दैनिकमा प्रकाशित भएको थियो। त्यसैले विषयबस्तु र त्यसका पात्रहरुको बारेमा राम्रैसँग जानकार थिएँ । तर पछि त्यही न्यौपानेहरूलाई सहयोग गर्नेहरूको साथबाट भिडियोको भर पर्नुपर्ने अवस्था सिर्जना भयो ।

भिडियो भने न्यौपाने र पाठकको बीचमा सम्बन्ध बनाउने समूहले खिचेको थियो । उनीहरूका अनुसार पैसा लिएर पनि काम नगरिदिएको भन्दै भिडियो बनाएका रहेछन् । पहिलेदेखि चिनेका ती दाइको माध्यमबाट सो समूहसम्म पुगेको थिएँ । उनीहरुलाई एक दुई दिन बिराएर फोन गर्थे‍ । साता दिन, पन्ध्र दिनमा भेट्न जान्थेँ । उनीहरुसँग विभिन्न कुरा हुन्थ्यो त्यसबीचमा भिडियो बारेमा कुरा पनि गर्थें । त्यसमा को-को संलग्न छन् भनेर सोध्थेँ । उनीहरुले बताएको कुरालाई टिपेर राख्थेँ । उनीहरूले बताएका पात्र र घटनाका अन्य स्रोतहरु प्रयोग गरेर पुष्टि गर्न खोज्थें ।

अख्तियार आयुक्त पाठकको घूस प्रकरण : कार्यालय अख्तियार, अखडा तीनकुने, उच्च पदस्थहरू ४ महिनादेखि गुपचुप

उनीहरुले त्यस समयमा दिएको जानकारीअनुसार पाठकले घुसका लागि र्‍याकेट नै चलाएका थिए । उनीहरुले नाम लिएको व्यक्ति छ कि छैन ? उनीहरूले भने अनुसार काम गर्छ कि गर्दैन ? उनीहरूले भनेका कुराहरु ठीकै निस्कँदै गए । त्यसले विश्वास बढायो। सुरुमा जे भनेका थिए त्यसपछि पनि खासै फरक आएन ।

उनीहरूले भनेको आधारमा भन्दा पनि यो समाचार छाप्नका लागि भिडियो हात पार्नु आवश्यक थियो । जसरी हुन्छ भिडियो हात पर्‍यो भने ढुक्कले समाचार लेख्न सकिने अवस्था हुन्थ्यो । भिडियो खिचेको जानकारी पाएपछि पाठक पनि चुप लागेर बसेका थिएनन् । उनले त्यसलाई बाहिर आउन नदिनका लागि आफ्नो शक्ति र सामर्थ्य सक्ने जति लगाएका थिए । उच्च ओहोदाका प्रहरी अधिकृत, मन्त्रालयका सचिवदेखि नेतासम्मको प्रयोग गरेर फकाउने, धम्क्याउने गर्दै आएका थिए । जुनसुकै मूल्यमा पनि त्यसलाई दबाउन चाहन्थे ।

पाठकले घुस खाएको भिडियो छ भन्ने विषयमा अख्तियार र सरकारको उच्च तहका अधिकारीहरूलाई जानकारी भइसकेको थियो । अलि ठूलो समूहमा त्यो विषय पुगेपछि पत्रकार कृष्ण ज्ञवाली यसमा जोडिन आइपुगे । कृष्ण त्यस समयमा कान्तिपुर दैनिकमै काम गर्थे । उनी पनि समाचार खोज्दै अख्तियार पुग्दा कसैले आयुक्त पाठकले घुस खाएको भिडियो रहेको जानकारी गराएपछि ती मानिसहरूलाई भेट्न आइपुगेका रहेछन् ।

कृष्णले पनि यही विषयको सूचना खोज्दै गरेको थाहा पाएपछि मलाई थपिएको चिन्ता थियो- म भन्दा अघि नै समाचार ब्रेक गरिदिने पो हुन् कि ! दुवैबीच एकैपटक सबै सूचना परिपक्व भएपछि त्यसलाई बाहिर ल्याउन एक प्रकारको समझदारी बन्यो । भिडियो खिच्नेहरूले भनेको विषयलाई कृष्णले पनि आफ्नै तरिकाले पुष्टि गर्दै आएका थिए ।

अख्तियारमा प्रमुख आयुक्त नवीनकुमार घिमिरे थिए । लोकमानसिंह कार्की र दीप बस्न्यातका काण्डहरूले बदनाम भएको अख्तियारमा पाठकको घटनाले झनै संकटमा पर्ने कुरामा प्रमुख आयुक्त घिमिरे चिन्तित थिए । पाठकले राजीनामा दिए सहज हुने उनको बुझाइ थियो । माघको अन्त्यतिर पर्ने अख्तियार दिवसको भन्दा अघि नयाँ विवाद नहोस् भन्ने घिमिरेको चाहना थियो । तर हामी धेरै दिन कुर्नु हुँदैन भन्ने पक्षमा थियौं ।

अख्तियार आयुक्त पाठकले घुस लिएको खुलासा

माघको अन्तिममा भिडियो एमाले नेता सुवास नेम्वाङ हुँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पुगिसकेको भन्ने आयो । यति भएपछि कम्तीमा अब यो भिडियो गायब हुँदैन भन्ने लाग्यो । अर्को जोखिम भनेको थप मानिसमा पुग्ने सम्भावना हुन्थ्यो । त्यसैले चाँडो समाचार लेख्नु पर्ने दबाब थियो ।

फागुन १ गते दिउँसो नेपालखबरका तत्कालीन सम्पादक कृष्ण ढुंगानासँग सल्लाह भयो, आजै समाचार प्रकाशित गर्ने । धेरै विषय लेखेर तयार थियो । फेरि भिडियो खिच्नेहरूसँग साँझतिर सम्पर्क गरें र थप जानकारी दिन आग्रह गरें । कृष्ण ज्ञवालीलाई पनि आजै समाचार प्रकाशित हुने जानकारी गराएँ ।

सरकारमा बसेका महत्त्वपूर्ण पदमा रहेका केही व्यक्तिहरूलाई फोन गर्दा पनि उनीहरूले पाठकले घुस खाएको भिडियो आएको स्वीकारे । सरकारले निकै अघि नै भिडियो भेटे पनि त्यसमा कारबाही नगरिकन बसेको रहेछ । यो विषयमा पछि समाचार पनि बन्यो । संवैधानिक आयोगका सदस्य रहेका पाठकलाई सरकारले त्यसै हटाउन सक्दैनथ्यो । पाठकले राजीनामा नदिएको अवस्थामा महाभियोग मात्रै विकल्प थियो ।

भिडियो खिच्ने मानिसले फागुन १ गते साँझ परेपछि जोरपाटी बोलाए । म गएँ । जोरपाटीबाट साँझ ८ बजे फर्के । उनले भिडियो हेरेका केही व्यक्तिको नाम लिए । नम्बर खोज्दै एक एक गर्दै सबैलाई फोन गर्दै गएँ । कुराकानी गरेकामध्ये केहीले त्यस विषयमा खुलेर कुरा गरे भने केहीले भिडियो रहेको जानकारी मात्रै गराए ।

पाठकलाई पनि २ दिनअघिदेखि फोन गर्दै आएको थिएँ । तर उनका ३ वटा मोबाइल निरन्तर रूपमा ‘अफ’ थिए । समाचारमा पाठकको धारणा पनि राख्नुपर्ने भएकाले मैले तारन्तार फोन गरेको थिएँ । अन्तिममा शान्तिनगरमा रहेको उनको घरको ल्यान्डलाइन नम्बर भेटें । चार पटक फोन गर्दा बल्ल एक महिलाले फोन उठाइन् । पाठकको घर नभएको बताइन् । तर त्यो नम्बर पाठककै थियो । उनलाई आफ्नो परिचय दिँदै नम्बर दिएँ । पाठकलाई यस्तो समाचार आउँदै छ त्यसमा तपाईंको भनाइ के हो ? प्रश्न रहेको जानकारी गराए । समाचार प्रकाशित हुने अन्तिम समयमा पनि फोन गरें । त्यस समयमा ल्यान्डलाइन फोन व्यस्त मात्रै आयो ।

राति १० बजे समाचार हाल्ने सहमति भएको थियो । केही नयाँ जानकारी जोडेर नेपालखबरका सम्पादक कृष्ण ढुंगानालाई मेल पठाएँ । २०७५ फागुन १ गते राति १० बजे २० मिनेटमा नेपालखबरमा समाचार प्रकाशित भयो । समाचार प्रकाशित भएको केही समयमा सर्भरमा समस्या देखियो । अनलाइनमा समाचार प्रकाशित ट्विटर र फेसबुकमा समाचारहरु धेरै शेयर भइसकेको थियो । तर लिंक क्लिक गर्दा नखुल्ने । अफिसबाट घरमा पुग्दासम्म लिंक नखुलेको जिज्ञासा आइरहेका थिए ।

त्यसपछि साथीभाइ चिनेजानेकाहरूको फोन म्यासेन्जरमा आउन थाल्यो । नेपालमा राति भएकाले विदेशमा बस्ने साथीहरुको बढी चासो रहेको थियो ।

समाचार प्रकाशित भयो भोलि कस्तो प्रतिक्रिया आउला भन्ने चिन्ता थियो । त्यस राति खासै निन्द्रा परेन । बिहान अर्को काममा जानु पर्ने थियो । बिहान राम्रो प्रतिक्रिया आयो । चर्चा हुन थालिसकेको थियो । कान्तिपुरले पनि अघिल्लै दिन समाचार तयार पारेको रहेछ । यो सूचना पु्ष्टि गर्ने क्रममा कान्तिपुरका कृष्ण ज्ञवाली सक्रिय रूपमा लागेका थिए । बिहीबार बिहान ९ बजेतिर कान्तिपुरले आफ्नो अनलाइन पोर्टल इकान्तिपुरमा पाठकको घुस प्रकरणाबारे समाचार हाल्यो । कान्तिपुरमा पनि प्रकाशित भएपछि समाचारमा झनै चासो बढ्यो ।

समाचारको फलोअप आउन सुरु भइसकेको थियो । हामीले यो काण्डबारे अख्तियार र सरकारको प्रतिक्रिया बुझ्नतर्फ लाग्यौं । सत्तारुढ दलले पाठकलाई संसद्‍मा महाभियोग लगाउने तयारी गर्‍यो । तत्कालीन कानुनमन्त्री भानुभक्त ढकालले पनि महाभियोग लगाउने तयारी भएको बताए । बिहीबार त्यही विषयका समाचारहरु अन्य मिडियाले पनि प्रकाशित गर्न थाले । केहीले मलाई क्रेडिट दिँदै समाचार लेखे, कतिले समाचारको स्रोत खुलाएनन् ।

प्रमुख भएपछि गरौंला : आयुक्त पाठक (भिडियोसहित)

समाचारमा घुस खाएको भिडियो छ भनेर लेखेपनि हात परिसकेको थिएन । बिहीबार तत्कालीन प्रधानमन्त्री ओलीले भिडियो खिच्ने समूहसँग बालुवाटारमा भेट पनि गरे र कारबाही गर्ने बताए ।

घुस खाएको भन्ने सार्वजनिक भएको २ दिनपछि पाठकले राजीनामा दिए । अनि बल्ल भिडियो हात पर्‍यो। त्यसपछि अख्तियारले पक्राउ गरेर पाठकसँग बयान लिन सुरु गर्‍यो । बयान सकेर अख्तियारले पाठकमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरे । उक्त मुद्दामा विशेष अदालतले गत बिहीबार २०७९ साल पुस २८ गते पाठकलाई भ्रष्टाचारी ठहर गरेको छ । उनी भ्रष्टाचारी पुष्टि हुँदा मलाई पनि आफूले गरेको मिहिनेतप्रति सन्तोष लागेको छ ।

त्यस समयमा मैले ठूलो समाचारहरु ब्रेक गर्दा निकै दबाब महसुस गरेँ । यस्ता ठूला सूचना ब्रेक गर्दा त्यसलाई कसरी ह्यान्डल गर्ने भन्ने ज्ञान नहुँदा दबाब ज्यादा हुने रहेछ । त्यसैले सञ्चारकर्मीलाई राम्रोसँग प्रशिक्षित गर्न आवश्यक छ भन्ने मैले यस प्रकरणमा सिकेको पाठ हो ।

अर्को विषय भनेको तत्कालीन आयुक्त पाठक जस्तो व्यक्ति कसरी घुसको डिल गर्ने ठाउँमा पुग्न सफल भए र उनीहरूलाई त्यो ठाउँमा पुर्‍याउने व्यक्ति को हुन् भन्ने विषयमा पनि आवश्यक अनुसन्धान हुनुपर्छ । उच्च नैतिक चरित्र भएका व्यक्तिलाई मात्रै नियुक्ति दिनुपर्नेमा बद्नाम व्यक्तिलाई उक्त पदमा पुर्‍याउनेहरुलाई पनि जवाफदेही बनाउन आवश्यक देखिन्छ ।

अख्तियार आयुक्त राजनारायण पाठकद्वारा राष्ट्रपतिसमक्ष राजीनामा, महाअभियोग तयारी स्थागित

रक्षक नै भक्षक भएपछि अवस्था के हुन्छ ? यसको पछिल्लो उदाहरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त पाठक प्रकरण हो । राज्यका निकायमा बस्ने व्यक्तिहरू कसैले पनि आगामी दिनमा पाठकको नयाँ रूप धारणा नगरुन् । र राज्यका निकायमा नियुक्ति हुनेहरूको आचरणसमेत पूर्वपरीक्षण होस् ।

प्रकाशित : माघ २, २०७९ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्

अधीर भूसाल

माधव नेपाललगायत नेताले नयाँ पार्टी खोलेर विद्रोह गरौं भन्दा घनश्याम भूसालले स्विकारेन् । बरु दसबुँदे सहमति गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्व स्विकारे । गत चुनावमा तिनै ओलीले टिकट नदिएपछि स्वतन्त्र वामका रुपमा रहने भन्दै तत्कालीन सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बने । तर चुनाव हारेको दुई महिना नपुग्दै भूसाल विगतमा आफैंले अस्वीकार गरेको पार्टी एकीकृत समाजवादीको प्रांगणमा ओत लाग्न आइपुगेका छन् । जसले बौद्धिक इमानदार वाम नेताको छवि भएका भूसालभित्र बढ्दै गएको अधीरता झल्काउँछ ।
मणि दाहाल

काठमाडौँ — आमनिर्वाचनमा अपेक्षाकृत परिणाम हासिल गर्न नसकेपछि मुर्झाएको नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरू काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रम उत्साहित देखिन्थे । नयाँ वानेश्वरको एक होटलमा आयोजित कार्यक्रममा गत चुनावअघि नेकपा एमाले छाडेर बसेका नेता घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै थिए । 

पत्रकार सम्मेलन कार्यकर्ताहरूले खचाखच भरिएको थियो । कार्यक्रमपछि कार्यकर्ताले मोटर साइकल र्‍याली गर्दै भूसाललाई तीनकुनेस्थित पार्टी कार्यालय पुर्‍याए ।

चुनाव अघि र पछि नेता भूसालले अन्तर्वार्ताहरूमा स्वतन्त्र रुपमा वाम आन्दोलनलाई अघि बढाउने बताउँदै आएका थिए । तर चुनाव सकिएको २ महिनामै उनी एकीकृत समाजवादीतर्फ लागेका छन् ।

वैचारिक रुपमा आफू नेकपाकालीन अवस्थामा रहेको भन्दै आएका भूसालले पछिल्लो समयमा एमाले र माओवादी केन्द्र भन्दा एकृकीत समाजवादीले लिएको धारणा ठिक रहेको निश्कर्षमा पुगे । त्यही आफ्नो एकल निश्कर्षको आधारमा शुक्रबार एकीकृत समाजवादी प्रवेश गरे ।

एमाले विभाजन हुनु गलत भएको भन्दै डेढ वर्षअघि भूसालले एकीकृत समाजवादी पार्टी निर्माण गर्ने माधव नेपाल लगायतका नेताहरूको कदमको विरोध गरेका थए । नेपाल लगातका नेताहरूले नयाँ पार्टीमा समाहित हुन जोडबल गर्दा उनले अस्वीकार गरेका थिए ।

बरु भूसाल लगायतका नेताहरू दस बुँदे सहमति गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्व स्वीकार्न तयार भए । तर अहिले भूसालले ओलीले आन्तरिक लोकतन्त्रलाई समाप्त पारेको आरोप लगाउँदै पार्टी छोडेर चुनावी चक्कर मार्दै एकीकृत समाजवादीको प्रांगणमा आइपुगेका छन् ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा भूसालले एमाले छाडेर स्वतन्त्र रुपमा रुपन्देही १ बाट उम्मेदवारी दिए । पार्टीले टिकट नदिने भएपछि उनले अन्तिम समयमा पार्टी छोडेका थिए । उनले स्वतन्त्र बाम भन्दै उम्मेदवारी दिए । उनको उम्मेदवारीलाई तत्कालीन पाँच दलीय सत्तारुढ गठबन्धनले समर्थन गरेको थियो । तर उनी एमालेका उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भए ।

वैचारिक नेताको रुपमा रहेका भूसालको पार्टीभित्र राजनीतिक रुपमा छवि भने विपक्षीको रुपमा रहँदै आएको छ । तर पछिल्लो समय उनले छिटो छिटो लिएका राजनीतिक निर्णयहरुले भने उनको अधैर्यतालाई झल्काएको छ ।

तत्कालीन मालेमा हुँदा सुरु गरेको तेस्रो धारदेखि साढे चार दशकदेखि संलग्न रहँदै आएको पार्टी छाड्नेसम्मको निर्णयले उनको अधीरता संकेत देखाएको छ ।

२०७७ साल फागुन २३ मा सर्वोच्चअदालतको फैसालपछि एमालेभित्र विवाद हुँदा चैतको पहिलो साता नेपाल पक्षले ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो । जसको राजनीतिक दस्तावेज भूसालले नै तयार पारेका थिए । जसले एमालेमा फर्किनका लागि पार्टी संगठनलाई २०७५ जेठ ३ मा फर्काउनु पर्ने सर्त अघि सारेको थियो । तर विवाद अघि बढ्दै जाँदा भूसालसहितका १० नेताहरुले १० बुँदे सहमति गरेर एमालेमै रहे ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पनि सञ्चारकर्मीहरुले सो विषयमा प्रश्न गरेका थिए । उनले लड्न सकिन्छ कि भनेर एमालेमा गएको र त्यो लागू गर्न लडेको बताए ।

‘मैले पार्टीको एकता जोगाउन र त्यस पार्टीलाई एकीकृत नै राखेर सुधार्न मैले प्रत्यन्न गरे, म केमा सफल र केमा असफल भएँ भन्ने अर्को कुरा हो । दस बुँदे सहमति हुँदा पनि १० जना साथीहरुसँग भएको कुरा पनि त्यहाँ लड्न जाने हो हाम्रो निर्णय र समझदारी थियो,’ भूसालले भने । मैले सार्वजनिक रुपमा के कसम आएको थिएँ त्यो काम गरेर आएको छु । सार्वजनिक रुपमा प्रतिबद्धता अनुसार नै लडेँ ।’

स्थानीय चुनावमा भन्दा प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा खराब प्रदर्शन गरेको एकीकृत समाजवादीले ३ प्रतिशत थ्रेसहोल्ड पनि कटाउन नसकेकाले राष्ट्रिय पार्टी बन्न सकेको छैन । त्यसैले प्रतिनिधिसभातर्फ १० स्थान जितेको एकीकृत समाजवादीको भविष्य के हुने भन्ने चर्चा चलिरहेको छ ।

‘शक्तिको हिसाबले सबैभन्दा कमजोर र अफ्ठ्यारो अवस्थामा एकीकृत समाजवादी भएपनि वैचारिक रुपमा ठिक ठाउँमा छ,’ भूसालले इकान्तिपुरसँग भने, ‘वैचारिक रुपमा ठिक हुँदा सानो दल पनि ठूलो भएको र ठूलो दल पनि सानो भएको भएको इतिहास छ । एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले यो कुरालाई राम्रोसँग बुझ्छन् वा बुझ्दैनन् भन्ने विषयले यसको भविष्य निर्माण गर्ने छ’ उनले भने ।

भूसालले तयार पारेको 'कम्युनिष्ट पार्टीको एकीकरण, रुपान्तरण र एकीकरणका लागि प्रस्ताव नामको 'दस्तावजेमा नेकपा विभाजनपछि एमाले र माओवादी केन्द्रले दुवै पार्टीले इतिहासलाई आफ्नो आधारमा संकीर्णतामा व्याख्या गर्न थालेको बताएका छन् । उनले एकीकृत समाजवादी इतिहासको जडताबाट मुक्त भएर वैचारिक विषयमा छलफल गर्ने ठाउँमा रहेको बताएका छन् ।

'नेकपा विभाजित भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताइए पछि ती दुवै पार्टीले इतिहासलाई आआफ्ना संकीर्णतामा व्याख्या गर्न थालेका छन्' उनले भनेका छन्, 'तर नेकपा (एकीकृत समाजवादी) इतिहासका ती जडताबाट मुक्त भई इतिहासको व्याख्या गर्न सक्ने ठाउँमा उभिएको छ ।'

उनले एमाले र माओवादी केन्द्रलाई वैचारिक रुपमा नेकपाकालीन अवस्था नफर्की सुख नभएको बताएका छन् ।

'नेकपा एमाले नवौं महाधिवेशनभन्दा पनि पछाडि फर्केर जनताको बहुदलीय जनवादलाई २०४७ सालको संविधानको वरिपरी कैद गर्न पुगेको छ । अर्कोतर्फ नेकपा माओवादी केन्द्रले समाजवादी कार्यदिशा त लिएको छ तर मार्गनिर्देशक सिद्धान्तमा ‘माओवाद’ नै कायम राखेर सैद्धान्तिक गञ्जागोलमा फसेको छ, पछाडि फर्केको छ,’ भूसालले लेखेका छन् ‘नेकपा (एकिकृत समाजवादी) सैद्धान्तिकरुपमा अहिले पनि नेकपा कै विन्दुमा छ, पार्टी एकताको दस्तावेजमा उल्लेख भएको समाजवादी कार्यदिशामा स्पष्ट छ । कुनै दिन नेपालको कम्युनिष्ट आन्दोलन फेरि एकीकृत हुँदा अहिले नेकपा (एकीकृत समाजवादी) कायम रहेको सैद्धान्तिक विन्दुमा नफर्किकन सुखै छैन ।'

साढे ४ दशकदेखि राजनीतिमा सक्रिय रहेका भूसालले प्रतिनिधिसभा चुनावको मनोनयनको अघिल्लो दिन मात्रै एमाले परित्याग गरेका थिए । एमाले छाड्दा उनी एमालेको स्थायी कमिटीका सदस्य रहेका थिए । नवौं महाधिवेशनमा भने उप-महासचिवमा निर्वाचित भएका थिए ।

२०७८ भदौ २ मा एमालेबाट नेकपा एकीकृत समाजवादी विभाजित हुँदा भ”साललाई आफ्नोतर्फ पार्न जोड गरेका थिए । तर उनी गएनन् ।

एमाले अध्यक्ष ओलीसँग वैचारिक रुपमा फरक कित्तामा रहँदै आएका उनले दशौं महाधिवेशनमा उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । तर उपाध्यक्षमा पराजित भएपनिकेन्द्रीय सदस्यमा निर्वाचित भएका भूसाललाई एमालेको स्थायी कमिटी सदस्य बनाएको थियो । त्यसपछि उनलाई अर्थ तथा योजना विभागको प्रमुखको जिम्मेवारी पनि एमालेले दिएको थियो ।

२०३५ सालमा तत्कालीन नेकपा मालेमा संगठित हुँदा भूसाल हाइस्कुलका विद्यार्थी थिए । जनवर्गीय संगठन अनेरास्ववियुमा रहेर उनले २०४८ सालसम्म विद्यार्थी राजनीति गरे । उनी अनेरास्ववियुमा महासचिवसम्म बने । अधिकांश समय संस्थापनइतर समूहमा रहेर प्रश्न गर्दै आएका उनले अनेरास्ववियुको अध्यक्ष बन्ने अवसर भने पाएनन् । एमालेभित्र उनको राजनीति उतारचढावपूर्ण रह्यो । लामो समयसम्म पार्टीमा जिम्मेवारीबाट विमुख रहँदा पनि उनले पार्टी छाडेका थिएनन् । भूसाल २०५२ सालमा उपनिर्वाचन जितेर प्रतिनिधिसभा सदस्य बनेका थिए । २०५४ सालको विभाजनपछि उनी मालेतर्फ लागे । २०५८ सालमा वामदेव गौतमको नेतृत्वमा एमालेमा फर्के पनि उनले खासै जिम्मेवारी प्राप्त गर्न सकेका थिएनन् । २०६२–६३ को आन्दोलनपछि पार्टी राजनीतिमा उनले प्रभाव पारे । आठौं महाधिवेशनमा तत्कालीन महासचिव झलनाथ खनालको राजनीतिक प्रतिवेदनमा पूरक प्रस्ताव ल्याउन भूसालले नेतृत्व गरेका थिए । सो प्रस्तावले २००६ सालपछिको कम्युनिस्ट पार्टीभित्रको नयाँ ‘डिस्कोर्स’ सुरु गर्‍यो ।

कम्युनिस्ट पार्टीले नेपालको राजनीतिक आर्थिक अवस्थालाई अर्ध सामन्ती र अर्ध औपनिवेशिक भनेर व्याख्या गर्दै आएको थियो । तर नवौं महाधिवेशनले २०६२–६३ सालको आन्दोलनपछि देश प्रारम्भिक चरणको पुँजीवादी अवस्थामा प्रवेश गरेको निश्कर्ष निकाल्यो । जुन निश्कर्षको प्राधिकार भूसालसँग छ ।

प्रकाशित : पुस २९, २०७९ १८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×