कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३
पोखरा जहाज दुर्घटना

एकै परिवारका ४ सहित पर्वतका १० जनाको निधन

अगन्धर तिवारी

पर्वत — आइतबार बिहान पोखरास्थित सेती खोंचमा भएको यति एयसलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा पर्वतको बिहादी गाउँपालिका– ५ का एकै परिवारका ४ जनासहित पर्वतका १० जनाको निधन भएको छ ।

एकै परिवारका ४ सहित पर्वतका १० जनाको निधन

बिहादी–५ उराम पुर्ख्यौली घर भइ हाल काठमाडौं बसोबास गर्दै आएका जमुना शर्मा, उनका छोरा युवराज शर्मा, नातिनी आयुर्दी शर्मा र नाती बेबी शर्माको निधन भएको हो । छिमेकी विष्णु भुसालका अनुसार बिहादी–४ वाहाकीको सिर्वानेडाँडास्थित माइतीघरमा आयोजित पूजामा सहभागी हुन काठमाडौंबाट आउँदै थिए । ‘उहाँ(जमुना)को माइतीघर सिर्वानेडाँडामा सप्ताह रहेछ,’ भुसालले भनिन्, ‘त्यही पूजामा सहभागी हुन छोरा र नातीनातिनालाई लिएर आउँछु भन्नुभएको रहेछ । यस्तो नियति भोग्नुपर्‍यो ।’ परिवारकै मृत्युको खबरले बिहादी गाउँपालिका नै शेकमग्न भएको गाउँपालिका अध्यक्ष प्रविण गुरुङले बताए ।

कुश्मा–९ का अरुण पौडेल गत साता मात्रै गाउँबाट काठमाडौं फर्किएका थिए । काठमाडौंमै बसोबास गर्ने उनी पछिल्ला वर्ष गाउँ र काठमाडौंमा आधाआधी बसोबास गर्थे । केही दिनअघि सहपाठीहरु(२०४९ को एसएलसी समूह)को सामूहिक वनभोजमा सहभागी भएका उनी श्रीमती सुत्केरी भएकोले अलि समय गाउँ नफर्किने बताएर फर्किएको सहपाठी महेश तिवारीले बताए । ‘अब केही महिनापछि मात्रै भेट हुन्छ भनेर गएका थिए,’ उनले भने, ‘कहिल्यै नभेट्नेगरी गएछन् ।’ छिमेकी आनन्द हमालका अनुसार केही दिनअघि श्रीमती माइत गएपछि ९ वर्षीय छोरी प्रसिद्धीको विद्यालय बिदा भएकोले उनकै करकापमा गाउँ आउन लागेका थिए । पछिल्लो समय गाउँमा सामाजिक काममा समेत सक्रिय हुँदै आएका अरुण गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा क्रस खुकुरी चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उक्त निर्वाचनमा २७० मत ल्याएका थिए ।

कुश्मा नगरपालिका– १ की रचना काफ्ले र उनको १० महिने छोरा रिहान पौडेलको पनि सोही दुर्घटनामा निधन भएको छ । स्थानीयहरुका अनुसार ३ वर्षअघि विवाह भएकी काफ्ले काठमाडौंमै बसेर अध्ययन गर्दै आएकी थिइन् ।

कुश्मा–१४ आर्थर स्थायी घर भएका पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पोखरा कर्मथलो बनाएर पत्रकारितामा सक्रिय थिए । पोखराका विभिन्न पत्रपत्रिकामा सम्पादकको रुपमा कार्यरत उनी पत्रकार महासंघ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष समेत हुन् । दुर्घटनामा उनको निधनले समग्र पत्रकारिता क्षेत्र र पर्वतको एक विकासप्रेमी युवा समेत गुमाएको आर्थरका वडाध्यक्ष रुद्रमोहन रिमालले बताए । पत्रकार महासंघ पर्वतले पनि पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै १३ दिनसम्म महासंघको कार्यालयमा शोकपुस्तिका राखेर श्रद्धाञ्जली व्यक्त गर्ने जनाएको छ ।

सोही विमानमा मोदी गाउँपालिका–१ का विजय गुरुङको समेत निधन भएको छ । विमान दुर्घटनामा मृत्यु भएका पर्वतका सबै १० जनाकै सनाखत भएको पारिवारिक स्रोतबाट पुष्टि भएको छ । प्रतिनिधिसभा सदस्य पदम गिरी, कुश्माका नगरप्रमुख रामचन्द्र जोशी, विहादी गाउँपालिका अध्यक्ष प्रविण गुरुङ लगायतले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाले आफूहरु स्तब्ध भएको प्रतिकृया दिएका छन् ।

प्रकाशित : माघ २, २०७९ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?