पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै

पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएकाको शव हेलिकोप्टरमार्फत पठाउने तयारी
रासस

पोखरा — पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।

दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए।

पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकोप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ ।

सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ ।

प्रकाशित : माघ २, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

बुटवल-नारायणगढ खण्डमा कालोपत्र सुरु

कान्तिपुर संवाददाता

पूर्वी नवलपरासी — निर्माणाधीन बुटवल नारायणगढ सडक खण्डको भेंडाबारीमा १ सय २० मिटर सडक कालोपत्र गरिएको छ । राजमार्ग निर्माणको ठेक्का लिएको ४२ महिनापछि चिनियाँ कम्पनीले शुक्रबारदेखि नारायणगढदेखि ११ किलोमिटर पश्चिम भेंडाबारीमा कालोपत्र गर्न सुरु गरेको इन्जिनियर राकेश झाले बताए । 

कालोपत्र गरिएको सडक १० मिटरभन्दा बढी फराकिलो छ । राजमार्गको मेन ट्र्याकअन्तर्गत पहिलो पटक परीक्षणका रूपमा कालोपत्र सुरु भएको हो । भेंडाबारी खण्डको यो क्षेत्रमा आउँदो २ साताभित्र एक किलोमिटर कालोपत्र गरिनेछ । धमाधम पिच गर्ने लक्ष्य रहे पनि सरकारले जिल्लाभरिका क्रसर उद्योग बन्द गरिएका कारण गिट्टीको अभावमा काम रोकिने झाले बताए । देशभरिका क्रसर उद्योग बन्द छन्, हामीलाई चाहिने मसिनो गिटी र बालुवाको अभावमा काम रोकिने अवस्था छ । क्रसर उद्योगबाट माल आउन सके आउँदो असारअगावै कम्तीमा १० किलोमिटर पक्की सडक फाइनल गरिने लक्ष्य रहेको छ ।

राजमार्गमा फिलिंग्सको काम भइरहँदा बन्द रहेका क्रसरका कारण काम अघि बढाउन अप्ठ्यारो परेको छ । ग्राभेल हालेर पुर्ने काम सकिए पनि माथिल्लो भाग सम्याउन क्रसरका विभिन्न साइजको गिट्टी आवश्यक पर्छ । बुटवल–नारायणगढ सडकको १ सय १४ किलोमिटर राजमार्ग फराकिलो पार्न चाइनिज ठेकेदार कम्पनीले ४२ महिनाअघि ठेक्का लिएको हो । पुस मसान्तसम्म राजमार्ग फराकिलो पार्ने काम २३ प्रतिशत मात्र पूरा भएको छ ।

प्रकाशित : माघ २, २०७९ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×