आपत्कालीन उद्धार गर्न संयन्त्र न उपकरण- समाचार - कान्तिपुर समाचार

आपत्कालीन उद्धार गर्न संयन्त्र न उपकरण

आपत्कालीन खोज तथा उद्धार गर्नुपर्ने घटना मुलुकभित्र पटकपटक भइरहेका छन्, त्यसमा मानिसको ज्यानसमेत गइरहेकै हुन्छ, तर त्यसबाट पाठ सिकेर प्रभावकारी उपकरण व्यवस्थापन र त्यसमा केन्द्रित संयन्त्र तयार पार्न सरकारले ध्यान दिएको छैन
मातृका दाहाल

काठमाडौँ — सेती नदीको खोंचमा यती एयरको विमान खसेको खबर पाएको १० मिनेटभित्रै सेना, प्रहरी र सशस्त्रका सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए । विमानमा आगो दनदनी लागिरहेको थियो । सुरक्षाकर्मीसँग आगो निभाउन न पानी वा दमकल थियो न अन्य उपकरण ।

‘आगोको मुस्लो छेउछाउ नै जान सकेनौं । माटो फ्याँकेर आगो निभाउने कोसिस गर्‍यौं । दुर्घटनाग्रस्त विमानमा हामी पुग्दा यात्रुलाई जीवित नै भेट्ने स्थिति थिएन,’ घटनास्थलमा खटिएका एक सुरक्षाकर्मीले भने ।

यती एयरको जहाज बस्तीनजिकै सेतीको खोंचमा दुर्घटनामा परेको थियो । दुर्घटनास्थल अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकै पर्छ । गण्डकी प्रदेशको राजधानी रहेकाले राज्यका प्रादेशिक संरचना त्यहीं छन् । सेनाको पश्चिम पृतना मुख्यालय नजिकै (विजयपुर) छ । प्रहरी र सशस्त्र प्रहरीका प्रदेशस्तरका मुख्यालय छन् । तीनवटै सुरक्षा निकायका प्रदेशस्तरीय संरचनामा विपद्सँग जुध्ने केही जनशक्ति पनि छन् । तर आइतबारको दुर्घटनाले विपद् सामना र खोज तथा उद्धारमा चाहिने बन्दोबस्तीको अवस्था कमजोर रहेको देखाएको छ ।

तारा एयरको विमान गत जेठ १५ मा जोमसोमका लागि पोखराबाट उडेको केहीबेरमै सम्पर्कविहीन भएको थियो तर दुर्घटनाको पुष्टि भोलिपल्ट मात्र हुन सक्यो । मुस्ताङको थासाङ गाउँपालिका–२, सानोस्वारेमा दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए । उनीहरूको शव खोज्नै तीन दिन लागेको थियो । त्यति बेला भने प्रतिकूल मौसम र विकट भएकाले पनि खोजीमा ढिला भएको थियो । आइतबार दुर्घटना हुँदा भने न मौसमको समस्या थियो, न पहुँच मार्गको । आइतबारको जस्तै आपत्कालीन खोज तथा उद्धार गर्नुपर्ने घटना मुलुकभित्र पटकपटक भइरहेका छन्, त्यसमा मानिसको ज्यानसमेत गइरहेकै हुन्छ । तर त्यसबाट पाठ सिकेर प्रभावकारी उपकरण व्यवस्थापन र त्यसमा केन्द्रित संयन्त्र तयार पार्न सरकारले ध्यान दिएको पाइँदैन ।

विपद् व्यवस्थापन विज्ञसमेत रहेका नेपाल प्रहरीका पूर्वएआईजी ठूले राईले घटना भइसकेपछि सरकारले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन तदारुकता देखाउने र बिस्तारै त्यसलाई बिर्सने गरेको बताए । ‘खोज तथा उद्धार भूगोल र अवस्था हेरेर गर्नुपर्ने हुन्छ, त्यसका लागि त्यहीअनुसार जनशक्ति र साधन स्रोत चाहिन्छ,’ उनले भने, ‘पहिले नै जोखिमको तालिम लिएकालाई मात्रै दुर्घटनाको अवस्था हेरेर कस्तो उद्धार टोली खटाउने, के उपकरण प्रयोग गर्ने भन्ने ज्ञान हुन्छ ।’ उद्धारसम्बन्धी ज्ञान नहुँदा अन्धाधुन्ध घटनास्थल जान खोज्ने, उद्धार कार्य भद्रगोल हुने गरेको राई बताउँछन् ।

२०७२ को विनाशकारी भूकम्पका बेला हेलिकोप्टर र अरू उपकरण खरिद गरेर खोज/उद्धारका लागि जनशक्ति चुस्त राख्ने कुरा उठेको थियो । ठूलो आगलागीका बेला हेलिकोप्टरबाट बाम्बी बकेटले आगो निभाउने र सेती खोंचजस्ता प्रतिकूल ठाउँमा हेलिकोप्टरको सहयोगले प्यारासुटबाट झरेर पहुँच पुर्‍याउन स्रोत साधन व्यवस्थापन गर्ने पनि भनिएको थियो । ‘तर भूकम्पको पीडा सेलाउँदै जाँदा सरकारले जोखिमसँग जुध्ने विषय पनि भुल्दै गयो,’ राईले भने ।

सरकारले विपद्विरुद्ध जुध्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण स्थापना गरेको छ तर विपद्सँग जुध्ने गरी ‘फ्लाइङ स्क्वार्ड’ गठनमा ध्यान दिइएको छैन । फ्लाई स्क्वार्ड घटना र भूगोल अनि मौसम विशेष विपद्सँग जुध्न तालिम र स्रोत साधनयुक्त जनशक्तिसहित त्यसैमा समर्पित फोर्स हो । नेपालमा विपद् सामनामा केन्द्रित छुट्टै फोर्स छैन । सुरक्षा निकायभित्रै एकाध युनिटका जनशक्तिलाई विपद्सम्बन्धी काममा केन्द्रित गरिएको छ ।

भारतमा एसएसबी, आईटीबीपी, बीएसएफलगायतमा जनशक्तिलाई आलोपालो ५ वर्ष विपद्सम्बन्धी युनिटमा काम गर्न खटाइन्छ । नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) लाई भारतले सबै प्रान्तमा हुने विपद्विरुद्ध जुध्न क्षेत्र विभाजन गरेर तैनाथ गराएको छ । बंगलादेशमा त्यहाँको नागरिक प्रशासनमातहत राखेर वडा तहसम्म ‘फायर सर्भिस’ लाई परिचालन गरिएको छ । पाकिस्तानमा विपद्विरुद्ध जुध्ने केन्द्रीय संयन्त्र ‘रेस्क्यु ११–२२’ छ । आवश्यक पर्दा यो संयन्त्रमार्फत पाकिस्तान सरकारले सुरक्षा निकायलाई तालिम र स्रोत साधनसहित तत्कालै खटाउने गर्छ ।

पूर्वएआईजी राई नेपालमा पनि सम्भव भएसम्म विपद्विरुद्ध जुध्न स्वायत्त संयन्त्र बनाउनुपर्ने बताउँछन् । ‘त्यो सम्भव नभए सेना, प्रहरी र सशस्त्रका जनशक्तिलाई निश्चित वर्षसम्म आलोपालो गरेर अविच्छिन्न रूपमा विपद्सम्बन्धी युनिटमा केन्द्रित गर्नुपर्छ,’ उनले भने, ‘एक जनालाई जागिरको दौरान एक पटक (४/५ वर्ष) काम गराउने र ऊ आफ्नै निकायमा फिर्ता भएपछि बदलामा अर्को कर्मचारी पठाउने गरेर अविच्छिन्न रूपमा डेडिकेटेड फोर्स विकास गर्न सकिन्छ ।’ सेना, प्रहरी र सशस्त्रबाट संख्या निर्धारण गरेर यो अभ्यासमा जान सकिने राईको धारणा छ ।

प्रकाशित : माघ २, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्

साढे दुई करोड अवैध भारु कारोबारमा पनि मुछिएका थिए पृथ्वी शाह

मातृका दाहाल

काठमाडौँ — नेपालमा कम्पनी खडा गरेर अमेरिकाबाट शंकास्पद रकम भित्र्याएका अछामका पृथ्वी शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेसँगै विगतमा उनले गरेका आपराधिक गतिविधि पनि सतहमा आएका छन् ।

शाहसहित उनका साझेदार र सहयोगी अछाम बन्निगढी गाउँपालिका–६ घर भई हाल काठमाडौंको चाबहिल बस्ने विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिम नवरपराससीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद पक्राउ परेका छन् । पक्राउ परेका ६ जनालाई सीआईबीले शुक्रबार अदालतबाट ६ दिनको म्याद लिइसकेको छ । ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदीले उनीमाथि विदेशबाट शंकास्पदरुपमा रकम भित्र्याएको कसुरमा अनुसन्धान सुरु भएको बताए ।

शाहमाथी शंकास्पद रुपमा विदेशी मुद्रा भित्र्याएको कसुरमात्र होइन, भारतीय नोटको गैरकानुनी कारोबारको कसुरमा साढे ४ वर्षअघि नै उनी समातिएका थिए । तर, शक्ति केन्द्रको दबाबमा उनी छुटेका थिए । त्यसपछि पनि शाह गैरकानुनी धन्दामा निरन्तर लागिरहेको पछिल्लो पटक विदशेबाट आएको शंकास्पद कारोबारबाट खुलेको छ ।

कहिले भारु र कहिले डलरको शंकास्पद कारोबारमा मुछिएका शाहलाई परिचालन गर्ने शक्तिकेन्द्र अरु नै भएको स्रोतहरु बताउँछन् । शाहले अमेरिकाबाट शंकास्पदरुपमा ल्याएको रकम छुटाउन निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा स्वयं लागि परेका थिए । उनले शाहका नाममा आएको रकम छुटाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिए पनि राष्ट्र बैंकले मानेको थिएन ।

पछिल्लो पटक राष्ट्र बैंकको समेत पत्रका आधारमा अनुसन्धान अघि बढाएको सीआईबीले मुख्य आरोपित शाह र अन्य ५ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । नेपालमा संगठित गिरोह बनाई प्रतिबन्धित भारु भित्र्याएको आरोपमा सीआईबीले २ जेठ २०७४ मा १५ जनालाई पक्राउ गरेको थियो । त्यस घटनामा प्रतिबन्धित ५०० र १००० का नोट ल्याई काठमाडौंका विभिन्न स्थानमा कारोबार भइरहेको सूचना आएपछि गौरीघाटस्थित एक घरमा खानतलासी गर्दा दुई वटा झोलामा ९८ लाख भारतीय रुपैयाँ बरामद भएको थियो ।

सीआईबीले त्यस बेला पठाएको मुचुल्कामा भनिएको छ, ‘अर्को दिन ३ जेठमा तिलगंगामा रहेको होटल पाँचथर अगाडि कारमा ३ वटा झोलामा १ करोड १८ लाख ६१ हजार फेला परेको हो ।’ यो प्रकरणमा नगदसहित ३ कार र १२ वटा मोबाइल सेट बरामद भएका थियो ।

त्यस बेला ३ गाडीसहित २ करोड १६ लाख ६१ हजार भारु सीआईबीले राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो । साथमा अछामका पृथ्वीबहादुर शाहसहितका व्यक्ति पक्राउ परेका थिए । तर, पछि शक्तिको बलमा कमजोर फाइल बनाई अभियुक्तहरूलाई उन्मुक्ति दिइएको थियो । शाहले अमेरिकाबाट भित्र्याएको शंकास्पद रकम राष्ट्र बैंकले रोकेपछि एक सार्वजनिक कार्यक्रममै तत्कालीन अर्थमन्त्री शमाले भनेका थिए, ‘राज्य, सरकार, मन्त्री भएपछि मलाई मर्का पर्‍यो, मलाई अन्याय भयो भन्दै मानिस आउँछन्, अन्याय पर्‍यो भने बोली दिने काम हाम्रो होइन ?’ शाहले काठमाडौंमा रेमिट, ट्राभल, टायल तथा मार्बलको कारोबार गर्न कम्पनी खोलेको बताएका थिए । तर, उनको कारोबार यति ठूलो मात्रामा नभएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । सीआईबीका एक अधिकारीले शाह विगतमा जोडिएका कसुरमा पनि अनुसन्धान हुने बताए ।

प्रकाशित : पुस २२, २०७९ १८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×