२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पाइलट श्रीमान्‌को सपना पूरा गर्न पाइलट नै भएकी थिइन् अञ्जु

१७ वर्षअघि जुम्लामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पति गुमाएपछि पाइलट कोर्स पढेर अञ्जु खतिवडा पनि यही पेसामा आएकी थिइन्
ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठको योजना थियो स्पाइन सर्जरीमा विशेषज्ञताका लागि सिंगापुर जाने, अध्ययन सकेर गृहनगर पोखरामा काम गर्ने 
विनोद भण्डारी

काठमाडौँ — २४ वर्षअघि विराटनगर–५ चाँदनी चोककी अञ्जु खतिवडाको काठमाडौं बत्तिसपुतली घर भएका दीपक पोखरेलसँग विवाह हुँदा सायदै कसैले सोचेको थियो– यो दम्पतीको जिन्दगीमा हवाई दुर्घटनाको दुर्भाग्यपूर्ण शृंखला जोडिएको छ । अञ्जुको विवाह को–पाइलट पोखरेलसँग भएको थियो, उनी नेपाली सेनाको हेलिकोप्टर उडाउँथे । बिहेको केही वर्षपछि यती एयरलाइन्सको पाइलट बनेका दीपकको सन् २००६ मा जुम्लामा जहाज दुर्घटनामा मृत्यु भयो ।

पाइलट श्रीमान्‌को सपना पूरा गर्न पाइलट नै भएकी थिइन् अञ्जु

उनको निधनको १७ वर्षपछि आइतबार पोखरामा भएको यती एयरलाइन्सकै जहाज दुर्घटनामा को–पाइलट अञ्जुले ज्यान गुमाइन् । अञ्जुका भानिज–काका गोपाल रेग्मीले आइतबारको घटनाले सिंगो परिवार शोकमा डुबेको बताए । श्रीमान्को मृत्यु हुँदा अञ्जु उड्डयन पेसामा जोडिएकी पनि थिइनन् ।

ज्वाइँको निधनपछि अञ्जुलाई बुबा गोविन्दले बीएन पढाउन भारत पठाउने तयारी गरेका थिए तर उनले मानिनन् । पति वियोगको शोक खेपेर उनी अमेरिकामा पाइलट कोर्स पढ्न गइन् । अञ्जुका नजिकका नातेदारका अनुसार अञ्जुले पाइलट पढ्न खोज्दा धेरैले अनौठो मानेका थिए । छोरीको अड्डीपछि गोविन्दले ६ वर्षकी नातिनी आफैंसँग राखेर अमेरिका पढ्न पठाएका थिए । पाइलट कोर्स सकेर फर्केपछि अञ्जु पतिको विगत जोडिएको यती एयरलाइन्समा जोडिएकी थिइन् ।

परिवारका सदस्यहरूका अनुसार विराटनगरको सेन्ट जोसेफ स्कुलबाट एसएलसी गरेकी अञ्जुले पाइलट बनेपछि काठमाडौं, भद्रपुर, विराटनगर, धनगढीलगायतका विमानस्थलमा करिब सय घण्टा उडान भरेकी थिइन् । आइतबारको काठमाडौं–पोखराको उडान उनको को–पाइलटका रूपमा अन्तिम उडान थियो । यो उडानपछि उनी पाइलट हुनेवाला थिइन् । अञ्जुका माइतीका छिमेकी एवं वडाध्यक्ष सन्तोष न्यौपानेले भने, ‘उनको सपना अधुरै रह्यो ।’

...

साइरन बजाउँदै हुइँकिएका एम्बुलेन्स, दमकल र शववाहनको ओहोरदोहोरले आइतबार पोखरा अशान्त बन्यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दृश्य हृदयविदारक थियो । दुर्घटनामा ज्यान गुमाएकाको शव संकलन गरेर प्रतिष्ठानमा पुर्‍याइएको थियो । जहाज दुर्घटना भएदेखि नै यात्रु र चालक दलका आफन्त प्रतिष्ठानमा जम्मा भइसकेका थिए । कोही आफ्ना आफन्त सकुशल आउने आशामा थिए, कोही शवको पर्खाइमा । पोस्टमार्टम भवनतर्फ शव बोकेर वाहन आउनेबित्तिकै उनीहरू झुम्मिन्थे । भवनभित्र शववाहन प्रवेश गराउनै हम्मेहम्मे हुन्थ्यो ।

कोही प्रांगणमा बिलौना गरिरहेका थिए, कोही आफ्ना आफन्तलाई पुकारिरहेका थिए । तालचोककी निशा गुरुङको मन थामिएन । उनका बुबा बेलमान र आमा सीता गुरुङ त्यही जहाजबाट पोखरा आउँदै थिए । दुवैको अत्तोपत्तो थिएन ।

सिजनल कामदार भिसामा बेलायत गएर ६ महिनामा फर्किएका बेलमानलाई लिन शुक्रबार सीता काठमाडौं गएकी थिइन् । आइतबार बिहान छोरी निशासँग बुबाआमाको सम्पर्क भएको थियो । घरसम्म पुग्नलाई विमानस्थलमा ट्याक्सी पुगिसकेको थियो । ट्याक्सी चालकले फोन गर्दा सम्पर्क हुन सकेन । त्यतिबेलै विमान दुर्घटनाको समाचार सार्वजनिक भयो । निशाको मनमा चिसो पस्यो । बुबाआमा चढेकै जहाज दुर्घटनामा परेको उनले चाल पाइन् ।

माछापुच्छ्रे गाउँपालिकाको भुर्जुङखोलाका बेलमान ५ लाख रुपैयाँ खर्चिएर बेलायत गएका थिए । अरू साथी भिसा थपेर बसे पनि उनी ६ महिनामै फर्किए । बेलमानकी जेठी छोरी निशाले दुई वर्षअघि श्रीमान् गुमाएकी थिइन् । कोरोना संक्रमणबाट उनका श्रीमान्को निधन भएको थियो । श्रीमान् गुमाएको दुई वर्षमै आमाबुबा गुमाइन् । निशा पनि सिजनल भिसामा बेलायत जान प्रक्रिया चालिरहेको उनका आफन्त भूपेन्द्र गुरुङले बताए । ‘श्रीमान् बितेपछि बुबाआमाकै साथसहयोग थियो,’ उनले भने, ‘बुबाआमा नै गुमाएपछि सम्हाल्नै सकेको छैन ।’

पोखरामा आइतबार जहाज दुर्घटनामा निधन भएकाका आफन्त भाव विह्वल अवस्थामा । तस्बिर : दीपक परियार/कान्तिपुर

उक्त जहाजमै थिए, पोखरा–२५ हेम्जाका जितेन्द्र कुँवर र भगवती कुँवर दम्पती । छोरी जेनिशा कुँवर एमबीबीएस सकेर पोखराको बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालमा जागिरे थिइन् । छोरा जेनिश कुँवरले काठमाडौंमै बसेर सूचना प्रविधिमा स्नातक गरेका थिए । अर्को महिना अस्ट्रेलिया जाँदै थिए । छोरा बसेको सामान पोखरा सार्न संघीय खानेपानी आयोजनाको पोखरा कार्यालयका इन्जिनियर जितेन्द्र र श्रीमती भगवती काठमाडौं पुगेका थिए । जेनिशा शनिबारै बसमा पोखरा फर्किइन् । जेनिश आफ्नै गाडीमा सामान लिएर आइतबार बिहान पोखरा आइपुगे । गाडीमा सामान भएकाले दुई जना नअटेपछि कुँवर दम्पती जहाजबाट आएको उनका भाइ लोकेन्द्र कुँवरले बताए ।

पोखरा–२५ हेम्जाका राजन सापकोटा सात वर्षअघि विद्यार्थी भिसामा जापान गए । जापान बसाइको डेढ वर्षमै उनले अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) पाए र अमेरिका हान्निए । गत वर्ष नेपाल आएर पोखराकै अनिशा बानियाँसँग बिहे गरे । आउँदो माघ २२ मा उनीहरूको बिहेको एक वर्ष पुग्दै थियो । त्यसैको खुसी बाँड्न उनी पुस २८ मा नेपाल आए । ‘जिम्ती मेट्न’ नेपाल आएका उनलाई काठमाडौंमै लिन गइन्, अनिशा । यो जोडीले काठमाडौंमा दुई दिन बितायो । आइतबार बिहान पोखरा आउन जहाज चढे । उनीहरू आकाशमै अस्ताए, बिहेको एक वर्ष पनि नहुँदै यो जोडीको दुखान्त भएको छ ।

छुट्टी मनाउन काठमाडौंबाट पोखरातर्फ उडेका अर्का बाबुछोरी पनि दुर्घटनामा परेका छन् । पर्वत कुश्मा नगरपालिका–९ कटुवाचौपारीका अरुण पौडेल र उनकी ११ वर्षीया छोरी प्रसिद्धि पौडेल दुर्घटनामा परेका हुन् । काठमाडौंको एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत प्रसिद्धिको बिदा भएपछि पर्वत जानका लागि उनीहरू बिहान विमान चढेका थिए । पोखरा घुम्न आएका हरि परियारको परिवारले पनि जहाज दुर्घटनामा ज्यान गुमाएको छ । काठमाडौं स्वयम्भूका हरिसहित उनकी श्रीमती लक्ष्मी, १६ वर्षीया छोरी रीता र १४ वर्षीय छोरा क्रिस परियार दुर्घटनामा परेका हुन् । उनको परिवार केही वर्षदेखि अमेरिका बस्दै आएको थियो । बिदा मनाउन काठमाडौं आएको केही दिनमा उनीहरू पोखरा घुम्न निस्किएका थिए । हरि टिकटकमा समेत सक्रिय थिए । उनले अमेरिकामा आफूले गर्ने कामका भिडियो टिकटकमा राख्ने गर्थे ।

लोकगायिका निरा छन्त्याल पोखराको एक कार्यक्रममा सहभागी हुन आउने तय थियो । छन्त्याल समाज कास्कीको आयोजनामा माघे संक्रान्तिका दिन खेलकुद कार्यक्रम थियो । पोखरा आउने भएपछि उनले शनिबार फेसबुकमा लेखेकी थिइन्, ‘छन्त्याल भवन काठमाडौंको माघी सकियो, अब भोलि पोखरामा रमाइलो गर्नुपर्छ ।’ माघीका लागि काठमाडौंबाट जहाज चढे पनि उनले पोखरा टेक्न पाइनन् ।

बिदा मनाउन गएर फर्केनन् चिकित्सक दम्पती

एक महिनापछि स्पाइन सर्जरीमा फेलोसिप गर्न सिंगापुर जाने तयारीमा थिए उनी । आमाबुबासँग भेट नभएको पनि धेरै भएको थियो । नातिको मुख पनि देखाउनु थियो । ‘बिदा मनाएर भोलिपल्टै फर्कन्छु’ भनेका डा. सुशील श्रेष्ठको श्रीमती डा. सोना दिवाकर र १० महिने छोरासहित आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेर निधन भएको छ । पोखराका ३८ वर्षीय डा. श्रेष्ठ राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन हुन् । उनका आमाबुबा पोखरामै बस्थे ।

डा. श्रेष्ठ ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा अनुभव बटुलिरहेका थिए । स्पाइन सर्जरीमा विशेषज्ञताका लागि सिंगापुर गएर अध्ययन गर्ने योजना थियो । उनका बाल्यकालका साथी ट्रमा सेन्टरका हाडजोर्नी विशेषज्ञ डा. सन्तोष पौडेलले भने, ‘स्पाइन सर्जरीमा रुचिका कारण उच्च तहको विशेषज्ञता हासिल गर्ने उनको सपना अधुरै रह्यो ।’ सरल, मिहिनेती श्रेष्ठको पढाइ सकेपछि पोखरामै गएर काम गर्ने इच्छा रहेको कुराकानीमा बताउने गरेको पौडेल सुनाउँछन् । पौडेल र श्रेष्ठले पोखराको गण्डकी बोर्डिङ स्कुलबाट एसएलसी गरेका हुन् ।

डा. श्रेष्ठ तीन वर्षअघि डा. दिवाकरसँग वैवाहिक बन्धनमा बाँधिएका थिए । एमडी गर्नका लागि डा. दिवाकर बिदामा थिइन् । राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुद्र मरासिनीका अनुसार डा. श्रेष्ठ दुई दिन ओटी गरेर दुई दिन बिदामा बसेका थिए । ‘हिजो इमर्जेन्सीमा शल्यक्रिया गर्दा मात्र कुराकानी भएको थियो,’ डा. मरासिनीले भने, ‘शनिबार किस्ट मेडिकल कलेजमा भएको स्पाइन नेपालको कार्यक्रममा सहभागी हुन सँगै गएको थिएँ । मेडिकल फिल्डमा अझ राम्रो गरेर देखाउनु छ भन्दै थियो ।’ उनका अनुसार डा. श्रेष्ठ ५ वर्षदेखि ट्रमामा कार्यरत थिए ।

डा. श्रेष्ठले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस अध्ययन सकेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका थिए । उनले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्यचौकीमा मेडिकल अधिकृतका रूपमा पनि काम गरेका थिए । उनी एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपालका सदस्य पनि थिए ।

उक्त विमान दुर्घटनामा गोरखा वेलफेयर स्किम अस्पताल पोखरामा कार्यरत डा. गणेश थापाको पनि निधन भएको छ । उनी पाटन अस्पतालमा कार्यरत श्रीमतीलाई भेटेर पोखरा फर्किएका थिए । चीनबाट एमबीबीएस गरेका डा. थापाले अस्ट्रेलियाबाट एमपीएच अध्ययन गरेका थिए । पोखरामा काम गर्नुअघि उनले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा काम गरेका थिए ।

घुम्न गएका थिए आमाछोरा

महेन्द्रनगरका व्यवसायी सञ्जीवचन्द्र भट्ट घुमफिर र आफन्तसँग भेटघाटका लागि पुस २८ मै पोखरा पुगिसकेका थिए । उनले आइतबार बिदाको मौका पारेर काठमाडौंमा रहेका श्रीमती सुष्मा र कान्छो छोरा श्लोकलाई बोलाए । उनीहरू आइतबार बिहान काठमाडौंबाट यती एयरलाइन्सको जहाजमा उडे तर पोखरामा उत्रन पाएनन् । जहाज सेती खोंचमा खस्दा उनीहरू जोगिन सकेनन् ।

सञ्जीव महेन्द्रनगरमा व्यापार व्यवसाय गर्छन् । उनकी श्रीमती छोराछोरीको पढाइमा हेरचाह गर्दै काठमाडौं बसेकी थिइन् । ‘ज्वाइँ उतै (पोखरा) थिए, भतिज (सञ्जीव) पनि दुई/तीन दिनअघि भेटघाट गर्न पोखरा गएको थियो,’ सञ्जीवका काका यज्ञराजले भने, ‘बुहारी र नातिलाई पनि उतै बोलाएको रहेछ, यस्तो घटना भयो, परिवारमाथि नै वज्रपात पर्‍यो ।’ यज्ञराजका अनुसार आइतबार साँझसम्म सुष्मा र श्लोकको सनाखत हुन सकेको छैन । ‘शव पहिचानका लागि भतिजालाई बोलाएका थिए रे । तर पहिचान हुन सकेन रे,’ उनले भने, ‘अब जीवित हुने आस छैन, लाससम्म मिले हुन्थ्यो ।’

सञ्जीवका दुई छोरी र दुई छोरामध्ये दुर्घटनामा परेका कान्छा श्लोक काठमाडौंको सेन्ट जेभियर्समा कक्षा ११ मा अध्ययनरत थिए । सञ्जीवको घरमा वृद्ध आमा मायादेवी मात्रै छिन् । बुहारी र नाति दुर्घटनामा परेको खबरले उनी बेहोस छिन् ।

दुई पत्रकारको निधन

यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेमा पोखराका दुई पत्रकार पनि छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल र रेडियो एपोस्टलका स्टेसन म्यानेजर अनिल शाहीको निधन भएको हो । पोखरा होटलाइनका सम्पादक पौडेल दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए । उनी पत्रकार महासंघको गण्डकी प्रदेशका संस्थापक अध्यक्ष र प्रेस सेन्टर नेपालका उपाध्यक्ष थिए ।

पौडेलको निधनमा पत्रकार महासंघलगायत पत्रकारसँग सम्बन्धित संघसंस्थाले विज्ञप्ति प्रकाशन गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् । पत्रकार महासंघले सोमबारबाट महासंघका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय १३ दिनसम्म बन्द गर्ने र शोकसभाबाहेक औपचारिक कार्यक्रम नगर्ने र शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ ।

शोकमा सिर्जनाको घर

पाल्पाको बगनासकाली गाउँपालिका–९ सेरुवामा आइतबार मध्याह्नदेखि नै शोक छायो । पोखरामा भएको जहाज दुर्घटनामा सेरुवाकी सिर्जना हुङचुङको मृत्यु भएको छ । २०७२ देखि विमान परिचारिकाका रूपमा काम गरेकी २९ वर्षीया सिर्जना घरकी एक्ली छोरी थिइन् ।

गत दसैंमा कान्छो भाइलाई निमोनिया भएपछि १० दिनको बिदामा घर आएकी सिर्जनाले त्यसपछि घर आउने छुट्टीसमेत पाएकी थिइनन् । शनिबार साँझ उनले घरमा कुरा गरेर आइतबारको पोखरा उडानबारे परिवारलाई बताएकी थिइन् । त्यही कुराकानी उनको अन्तिम भइदियो । आइतबारको कुराकानीमा सिर्जनाले ६१ वर्षीया आमा खिमसरासँग आफूलाई मनपर्ने बटुका पकाएर पठाइदिन भनेकी थिइन् । आइतबार विमान दुर्घटना हुँदा खिमसरा छोरीलाई पठाउन बटुका पकाउँदै थिइन् । सिर्जना दुर्घटनामा परेको सुनेदेखि खिमसरा सम्हालिन सकेकी छैनन् ।

...

पाइलट केसीलाई सम्झँदै रूपावासी

पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर दिवंगत पाइलट कमल केसीलाई सम्झेर उनको गाउँ नै शोकमग्न छ । कास्कीको रूपा गाउँपालिका पोल्याङले उनी पाइलट भएकामा निकै गर्व गर्दै आएको थियो ।

केसीको निधनले परिवारजन त पीडामा छन् नै, आफ्नो गौरव गुमाउनुपर्दा उनको जन्मस्थान पोल्याङवासी मर्माहत छन् । उमेरले ६ दशक पुगेका केसी अनुभवी पाइलटका रूपमा परिचित थिए । जनवरी १ देखि सञ्चालनमा आएको पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डेमो फ्लाइट’ गर्न केसी आएका थिए । उक्त विमानस्थलमा पहिलो विमान अवतरण गराएका केसी सँगसँगै यात्रा गरेका पर्यटन व्यवसायीले उनलाई झलझली सम्झिएका छन् ।

लामो समय उड्डयन क्षेत्रमा बिताएका केसी सुखद अवकाशको पर्खाइमा थिए । उनी नयाँ पुस्तालाई सिकाउन रुचि राख्थे । कमलका प्राथमिक विद्यालयका तत्कालीन शिक्षक बद्रीविनोद प्रतीक दुःखद खबरले मर्माहत बनाएको बताए । कमलले रूपा–१ को जटेश्वर माविमा कक्षा ५ सम्म पढेका थिए । ‘कमल कक्षामा जहिल्यै पनि प्रथम हुन्थे । सानैदेखि मिहिनेती र अनुशासित थिए,’ प्रतीक भन्छन्, ‘आफूले प्राथमिक शिक्षा प्रदान गरेको एक जना शिष्य र देशकै कुशल पाइलट गुमाउँदा असाध्यै पीडा भएको छ ।’ पाइलट बनेपछि समेत केसीसँग पटक–पटक भेटघाट हुने गरेको प्रतीकले सुनाए ।

‘भेट्दाखेरि जहिले पनि सम्मान र आदर गर्थे । सन्चो, बिसन्चो सोधपुछ गर्ने गर्दथ्यौं । उनले चलाएको जहाज दुर्घटनामा परेको सुनेदेखि नै दिनभरि कसैसँग बोल्न पनि सकिनँ ।’ अमेरिकाबाट पढेर आएका केसी रूपा गाउँपालिकाका बासिन्दामा पहिलो पाइलट थिए । गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार केसीको अनुसरण गर्दै पछि धेरै जनाले उक्त क्षेत्रलाई करिअरका लागि रोजेका छन् । ओझाले भने, ‘केसीको निधन हाम्रा लागि अपूरणीय क्षति हो ।’

साथमा दीपक परियार, अनिश भट्टराई (पोखरा)भवानी भट्ट (कञ्चनपुर), सन्जु पौडेल (लुम्बिनी) र प्रशान्त माली (काठमाडौं)

प्रकाशित : माघ २, २०७९ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?