धन्न, बस्ती जोगियो- समाचार - कान्तिपुर समाचार

धन्न, बस्ती जोगियो

कुमार आले त्यतिबेला सेती खोचमा थिए, माछा मार्न झरेका । विष्फोट भएझैं ठूलो आवाज आयो । रहमा बल्छी थाप्दै गर्दा माथिबाट एक्कासी ढुंगामाटो बर्सियो । ढुंगाले काँधमा लाग्यो, उनी रहमा हुत्तिए ।
लालप्रसाद शर्मा, दीपक परियार, अनिष भट्टराई

पोखर — पुरानै विमानस्थलतिर जहाज आइरहेको देखेपछि पोखरा पृथ्वीचोकका सञ्जय श्रेष्ठ आइतबार द्विविधामा परे । यती एयरको जहाज काहुँ डाँडापट्टिबाट बसपार्क हुँदै पुरानो विमानस्थलतर्फ सोझियो तर त्यहाँ अवतरण नगरी देब्रे मोडियो । जहाज कता जाँदै छ भन्ने पत्तो नपाउँदै ठूलो आवाज आयो । धूवाँको मुस्लो निस्कियो । उनी त्यतैतिर दौडिए ।

पोखरा–१५ चोरसाँघुनजिकै सेती खोचबाट एक सय मिटरको दूरीमा छ ब्लक उद्योग । माघे संक्रान्तिको दिन उद्योगमा बिदा थियो । कामदार क्यारमबोर्ड खेलेर समय बिताइरहेका थिए । बिहान १०ः५० बजे पुरानो विमानस्थलतिरबाट ब्लक उद्योग ताकेर हल्लिँदै–हल्लिँदै जहाज आयो ।

हेर्दाहेर्दै जहाज पारिपट्टिको भित्तामा धस्सिँदै खोच पार गरेर वारिपट्टि ठोक्किन आइपुग्यो । धन भुजेल र उनका साथीहरूले केही मेसो पाएनन् । विस्फोटको ठूलो आवाज आएपछि भने क्यारमबोर्ड छाडेर उद्योगपछाडि पुगे । ‘आगो र धूवाँको मुस्लोले अगाडि जानै सकिएन,’ उनले भने, ‘आगो बाँसको टुप्पोसम्मै आएको थियो । उद्धार गर्न पनि जान सकेनौं ।’

ब्लक उद्योगकै कामदार कुमार आले भने त्यतिबेला सेती खोचमा थिए । उनी माछा मार्न सेती झरेका थिए । रहमा बल्छी थाप्दै गर्दा माथिबाट एक्कासि ढुंगामाटो बर्सियो । ढुंगाले उनको काँधमा लाग्यो । उनी रहमा हुत्तिए । उनी पानीमै हुँदा दुईपल्ट विस्फोटको आवाज आयो । त्यतिञ्जेलसम्म उनले केही मेसो पाएनन् । झन्डै दुई सय मिटरमुनिको खोचबाट माथि हेर्न सक्ने अवस्था थिएन । उनीभन्दा केही माथि जहाजको भाग खस्यो तर उनले के खसेको भन्ने ठम्याउन सकेनन् । घरि ओढारमा बस्दै, घरि बुटा समाउँदै उनी माथि आएपछि बल्ल जहाज दुर्घटनामा परेको भेउ पाए । उनको काँध, निधार र खुट्टामा चोट लागेको छ ।

त्यसबेला उनका तीन छोरी र एक छोरा उद्योगमै खाना खाइरहेका थिए । जहाज ठोक्किएपछि खाना छोडेर दौडिए । आइतबार साँझ ५ बजे उद्योगमा भेट्दा आलेले भने, ‘छोराछोरीको सातो गएको छ । मैमाथि जहाज खस्दा बाँचेर आइएछ भन्ने भएको छ ।’

नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानका लागि धावनमार्गको पूर्व र पश्चिम दुवैतिरबाट अवतरण गर्न मिल्छ । पाइलटले आइतबार पूर्वपट्टिबाट जहाज अवतरण नगरी पश्चिम रोजे । काठमाडौंबाट पोखरा आउँदा दाहिने हुँदै काहुँ डाँडातिरबाट मोड लिए । उचाइ लिन नसकेको जहाज पुरानो विमानस्थलबाट झन्डै डेढ सय मिटर पर सेती खोचमाथि बजारियो । यती एयरको ९ एनएएनसी कल साइन भएको जहाजको अघिल्लो भाग पोखरा–७ घारीपाटनबाट धस्सिँदै पोखरा–१५ सीताराम हाउजिङतिर आइपुग्यो ।

कोल्टिएर आएको जहाजको एउटा पखेटा स्थानीय गीता सुनारको घरभन्दा झन्डै १०/१२ मिटरनजिक र सेती डिलको झन्डै १० मिटर वरै जमिनमा घिसारिएको थियो । त्यहाँबाट हुत्तिएको जहाजको अघिल्लो भाग सेती खोच पार गरेर पोखरा–१५ नयाँगाउँतर्फ पुगेको थियो भने पछाडिको भाग सेती खोचमा खसेको थियो । ‘अलिकति मात्रै यता जहाज खसेको भए बस्ती नै सखाप हुने रहेछ,’ घटनास्थलनजिकै घर भएकी सुनारले भनिन् ।

उनी माघे संक्रान्तिको दिन भएकाले बिहान मन्दिरमा पूजाआजा गरी फर्केर खाना खान लागेकी थिइन् । एक्कासि ठूलो आवाज सुनेपछि बाहिर निस्किएर हेर्दा धूवाँको मुस्लो निस्किरहेको थियो । सेती खोच, वल्लोपल्लो डिलमा पनि आगलागी भएको थियो । जहाज सुरुमा भुँइमा ठोक्किएको स्थानमा जहाजका केही पार्टपुर्जा र यात्रुका सामान थिए । वरिपरि केही शव छरिएका थिए ।

दुर्घटनास्थल पुरानो विमानस्थलबाट डेढ सय मिटर र नयाँ विमानस्थलबाट डेढ किलोमिटर टाढा छ । बिहान साढे १० बजे काठमाडौंबाट उडेको जहाजमा चालक दलका ४ जना र यात्रु ६८ जना थिए । जहाज वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । केसी उनै क्याप्टेन हुन्, जसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन हुनुअघि उक्त विमानबाट पहिलोपल्ट ‘डेमो’ उडान भरेका थिए । उनीसँग को–पाइलट अञ्जु खतिवडा थिइन् । सिर्जना हुनचुङ र ओसिन आलेमगर एयर होस्टेस थिए ।

दुर्घटना भएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको खबर पाएको १० मिनेटमा एम्बुलेन्स र दमकल पुगेको थियो तर अन्तर्राष्ट्रिय विमानस्थलको अत्याधुनिक दमकललाई घटनास्थल पुग्न निकै सकस परेको थियो । दुर्घटना भएको स्थानमा सर्वसाधारणको भीडले गर्दा सुरक्षा निकायलाई उद्धारमा कठिनाइ भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीले दुर्घटना हेर्न आउनेको ताँतीले एम्बुलेन्स, शववाहन र दमकललाई ओहोरदोहोर गर्नै समस्या पारेको बताए । उनका अनुसार जहाजको अगाडिको भाग ठोक्किएको नयाँगाउँपट्टि केही व्यक्ति उछिट्टिएका थिए । त्यहाँबाट तीन जनालाई उद्धार गरेर अस्पताल पुर्‍याउँदा निधन भइसकेको थियो । बाँकी शव सेतीमा खसेका थिए । केही अक्करमा परेका थिए । ‘निकै गहिरो ठाउँमा खसेको र डोरी लगाएर जानुपर्ने अवस्था छ,’ उनले भने, ‘आगो र धूवाँको मुस्लोले तल जानै कठिन थियो । सकुशल उद्धार गर्न नसकेपछि तीनवटै सुरक्षा निकायको समन्वयले चिन्न सकिने अवस्थाका शव निकालेर परिवारलाई बुझाएका छौं ।’

शव निकाल्न डोरी, भर्‍याङ र क्रेनको समेत प्रयोग गरिएको थियो । आइतबार रातिसम्म ६३ जनाको शव संकलन गरिएको छ । त्यसमध्ये २६ जनाको मात्रै सनाखत भएको छ । केही शव अप्ठेरो ठाउँमा देखिएकाले सोमबार बिहानबाट पुनः निकाल्न सुरु गर्ने केसीले बताए । भने, ‘गोताखोरको पनि प्रयोग गर्नुपर्ने भएकाले आइतबार सबै शव निकाल्न सम्भव भएन । पहिचान भएका शव पोस्टमार्टम गरेर सोमबारदेखि परिवारलाई बुझाउँछौं ।’

पोखरामै भएको यो दोस्रो विमान दुर्घटना हो । यसअघि २०५९ भदौ ६ मा सांग्रिला एयरको ट्वीनअटर जहाज पोखरा–२१ कृस्तीमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जहाज दुर्घटनाले पर्यटन क्षेत्रलाई पनि स्तब्ध बनाएको बताए । उनले भने, ‘हवाई यात्रा सुरक्षित बनाउन नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र स्वयं विमान कम्पनीले पनि ध्यान पुर्‍याउनुपर्छ ।’

धन्न मैमाथि खसेन : कुमार आले

म १० बजेतिर सेती खोचमा झरेको थिएँ । अरू तीन जना पनि अलिक माथि रहेछन् । बल्छी थापिरहेको थिएँ, एक्कासि गड्याङगुडुङ गर्‍यो र ढुंगामाटो झर्‍यो । के भयो भन्ने थाहै भएन । बम पड्केको जस्तो आवाज आयो दुईपल्ट । कहींकेही देखिन, धूवाँले अँध्यारो भयो । पूरै माटैमाटो भएको थिएँ । माथितिर हेर्न सक्ने अवस्थै थिएन । मलाई काँधमा ढुंगाले लागेर पानीको तालमा फालिदियो । तल गयो भने झन् ढुंगाले लाग्छ भन्ने सोचेर माथि–माथि चढें । बीचमा ओढार जस्तो छ, केहीबेर त्यहीं बसें । आगोको मुस्लो पनि खसेको थियो तर म पानीले पूरै भिजेकाले धेरै पोलेन । ठूला ढुंगा खस्न बन्द नहुन्जेल ४–५ मिनेट ओढारमै बसें । ढुंगा खस्न रोकिएपछि ओढारबाट निस्किएर उक्लँदा बाटोमै दुईवटा टुक्रा जलिरहेको देखें । तिनलाई नै नाघेर आएँ । मेरो खुट्टा, निधार र काँधमा चोट लागेको छ ।

पछि माथि आएपछि बल्ल प्लेन झरेको रहेछ भन्ने थाहा भयो । धन्न मैमाथि खसेन, कसरी बाँचेछु जस्तो लागेको थियो । खोच नभएको भए सिधै ममाथि खस्ने रहेछ । इन्जिन त खोलामै पुगेको छ । मभन्दा २० मिटरजति पर खसेको थियो । मान्छेहरू कराएको केही सुनिनँ । बरु मेरो भाइ अर्जुन आले कराएको सुनेको थिएँ । दाइ, दाइ भन्दै बोलाएको चाहिँ सुनेको थिएँ । माथि आएपछि सुरुमा उसलाई भेटें । म आफैं कास्की सेवा अस्पताल गएँ, साहुको भाइको स्कुटरमा । पहिला त अस्पताल जान्न, ठीकै छ भन्ने लागेको थियो । पछि शरीर नै करकर खान थालेपछि जान्छु भन्ने लाग्यो ।

हेर्दाहेर्दै जहाज खस्यो : कल्पना सुनार

मेरो घर तनहुँको दुलेगौंडा हो । माघे संक्रान्ति मनाउन शुक्रबार माइती आएकी थिएँ । आइतबार बिहान खाजा खाएर आँगनमा कपडा धुन लागेकी थिएँ । बच्चा सबै भित्र थिए । बाबा बैंसबहादुर विक ढलानबाट तल झर्नुभयो । जहाज तलतल कोल्टिएर आएको थियो । मैले बाबालाई के भयो यस्तो भन्दाभन्दै ड्वाङ्ग आवाज आयो । फर्केर हेर्दा धूवाँ र मुस्लो माथिसम्म आयो । निकै डर लाग्यो । बच्चालाई बाहिर निस्कन भनियो । आगोले भेट्लाजस्तो भएकाले भागाभाग भयो । माथिसम्म पुगियो । एकैछिनमा सर्वसाधारणको घुइँचो लाग्यो । प्रहरी पनि आए । आगो नियन्त्रण गर्न धेरै समय लाग्यो । पहिला सेतीको पश्चिमपट्टि सुरक्षाकर्मी आएका थिए तर जहाज उछिट्टिएर पारिपट्टि पुगेकाले उतै गए । घरमै खसेजस्तो भयो । हातखुट्टा लगलग कामे । थोरैले बाँचियो । बस्तीमै जहाज खसेको भए अझै ठूलो क्षति हुन्थ्यो ।

...

जो दुर्घटनामा परे

यात्रु : किसान आचार्य, निशान्त आचार्य, शालिग्राम आचार्य, सदाकत अलिमियाँ, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, अनिश बानियाँ, श्लोक भट्ट, नीरा छन्त्याल, आसिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजय गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, रक्की गुरुङ, सीता गुरुङ, शिव गुरुङ, यमुना गुरुङ, यस्मिन गुरुङ, रविन हमाल, शिशु (नाम खुल्न बाँकी), शिशु (नाम खुल्न बाँकी), रचना काफ्ले, सीता खड्का, भगवती कुँवर, ओमाया गुरुङ, सुष्मा पाण्डे, हरि परियार, क्रिस परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पुजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगीता शाही, आयुर्धी शर्मा, बेबी शर्मा, जमुना शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. सोना दिवाकर, बन्दना सुनार, डा. सुशील श्रेष्ठ, राजु ठकुरी, चूडा थापा, गणेश थापा, लवराज तिमिल्सेना, जानेटसन्द्रा पालाभेचिनो (अर्जेन्टिना), माइरन लभ (अस्ट्रेलिया), अलेक्जान्ड्रे इजिडोर (फ्रान्स), रुअन कालम ओरिटन (आयरल्यान्ड), कुंगचुल यु (कोरिया), स्याङयोन यु (कोरिया), एलेना बान्डुरो (रुसी), भिक्टोरिया अल्टुनिना (रुसी), इयुरी लिगन (रुसी), भिक्टर लिगन (रुसी), सञ्जय जैसवाल (भारतीय), सोनु जैसवाल (भारतीय), अनिलकुमार राजभार (भारतीय), अभिषेक कुशवाह (भारतीय) र विशाल शर्मा (भारतीय)

चालक दल : कमल केसी (क्याप्टेन), अञ्जु खतिवडा (क्याप्टेन), सिर्जना होङचुङ (परिचारिका), ओसिन आलेमगर (परिचारिका)

प्रकाशित : माघ २, २०७९ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्

यतीको जहाज खस्दा असाधारण क्षति

जहाज नयाँ विमानस्थलको रनवे–३० (लेखनाथतर्फ) बाट सहजै अवतरण गर्न सक्थ्यो । यही चालकदलले यही विमानलाई बिहान यही रनवेमा अवतरण गराएको थियो । पछिल्लो पटक भने उनीहरुले पुरानो विमानस्थलतर्फ फन्को लगाउँदै रनवे–१२ बाट अवतरण गर्न किन खोजे ? जिज्ञासा छ ।
सुरज कुँवर

काठमाडौँ — यती एयरलाइन्सको जहाज ९एन–एएनसी आइतबार बिहान ८ः१० मा पोखरा उड्नुपर्ने थियो । कमान्डर थिए क्याप्टेन कमल केसी र सहयोगी अञ्जु खतिवडा । यतीकै अर्को जहाज ९एन–एएलएन पनि ६ः५५ मा पोखरा उड्ने तालिका थियो । जसलाई उडाउँदै थिए क्याप्टेन रामोद श्रेष्ठ र एमके श्रेष्ठले । तर यात्रु कम भएको भन्दै उडान ‘मर्ज’ गरियो । केसी र खतिवडा पोखरा नै जाने भए तर अर्को जहाजमा । जहाजसँगै परिचारिका पनि फेरिए ।

उनीहरूसँग परिचारिकाका रूपमा के राना र एसआर ठकुरी जाने निश्चित भएकोमा सिर्जना होंङचुन र ओसिन आलेमगर पोखरा उडे । बिहान ८ः०५ मा पोखरा उडेका क्याप्टेन केसीको टिम ९ः१८ मा काठमाडौं फर्किएको थियो ।

जानु थियो फेरि पोखरा, ६८ जना यात्रु बोकेर चारै जनाको टोलीले १०ः३३ मा काठमाडौंको रनवे छाड्यो । जहाज ठीक १०ः५२ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका थियो ।

पोखरा विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) का अनुसार आइतबार यतीको दोस्रो उडान अवतरण गर्ने तरखरमा रहेका बेला विमानस्थलको भिजिविलिटी ७ किलोमिटर थियो, जबकि अवतरण गर्न ५ किलोमिटर भिजिविलिटी पर्याप्त हुन्छ । हावाको गति पनि प्रतिघण्टा साढे ५ किलोमिटर मात्र थियो अर्थात् जहाजलाई अवतरणमा बाधा पुग्ने स्थिति थिएन ।

जहाज नयाँ विमानस्थलको रनवे–३० (लेखनाथतर्फ) बाट सहजै अवतरण गर्न सक्थ्यो । बिहानको उडानमा यही चालक दलले यही धावनमार्ग प्रयोग गरेको थियो । यसपालि भने उनीहरूले पुरानो विमानस्थलतर्फ फन्को लगाएर रनवे–१२ बाट अवतरण गर्न अनुमति मागे । बाधा अड्चन र अरू ट्राफिक नभएकाले एटीसीले पनि कारण नसोधी अनुमति दिए ।

जहाज ‘लङ फाइनल’ हुँदै ‘फाइनल’ एप्रोचमा थियो । अर्थात् धावनमार्ग छुन १८ सय मिटर मात्रै टाढा । १०ः५० सम्म जहाज सम्पर्कमै थियो ।

टावर जहाज अवतरण गराउने तयारीमा थियो, यतीको कर्मचारी ‘रिसिभ’ गर्ने तयारीमा थिए । तर, पोखरा टावरले देखिसकेको जहाज एकाएक बिलायो । पुरानो विमानस्थलबाट तुरुन्तै उडाइएको प्रभुको हेलिकोप्टरले सेती खोचमा जहाज दुर्घटनामा परेको पुष्टि गर्‍यो ।

दुर्घटना कसरी भयो भन्ने यकिन तथ्य आइसकेको छैन । एक उड्डयन विशेषज्ञ भन्छन्, ‘जहाजमा प्राविधिक समस्या आएको पनि हुन सक्छ अथवा फन्को लगाउने क्रममा गति र उचाइबीच तालमेल नहुँदा जहाज असन्तुलित भएर स्टल (ढुंगा जसरी झरेको) हुन सक्छ ।’ यकिन कारण पत्ता लगाउन आइतबारै मन्त्रिपरिषद्ले पूर्वसचिव नगेन्द्र घिमिरे नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ ।

जहाजमा फ्लाइट डाटा रेकर्डर (एफडीआर) र पाइलटहरूले आपसी संवाद गरेको ककपिट भ्वाइस रेकर्डर (सीभीआर) हुन्छ । खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार विमानका दुवै उपकरण सुरक्षाकर्मीले भेट्टाइसकेका छन् ।

जहाज दुर्घटनामा मृत्यु भएका यात्रुको शव डोरीको माध्यमले सेती खोचबाट निकाल्दै सुरक्षाकर्मी । तस्बिर सौजन्य : मौसम जीसी

यती एयरका अधिकारीहरूका अनुसार आइतबारको उडानका क्रममा प्रशिक्षक पाइलट केसीले क्याप्टेन खतिवडालाई पोखराको नयाँ विमानस्थलमा ‘क्लियर’ गराइरहेका थिए । व्यावसायिक उडानमा यसलाई नियमित प्रक्रिया मानिन्छ । आइतबार काठमाडौंबाट जहाज उडाउने बायाँ सिटमा क्याप्टेन खतिवडा थिइन् । प्रशिक्षक पाइलट केसी को–पाइलटको सिटमा रहेर उनलाई ‘क्लियर’ गराइरहेका थिए । नेपाली आकाशमा १४ वर्षअघि भित्रिएको तथा पछिल्ला वर्ष वायुसेवा कम्पनीहरूले सर्वाधिक रुचाएको युरोपियन जहाज एटीआर टर्बोजेट विमानको यो पहिलो र अहिलेसम्मकै डरलाग्दो दुर्घटना हो । युरोपियन युनियनले नेपाली वायुसेवालाई १० वर्षदेखि लगाएको कालोसूचीबाट निस्किने तयारी भइरहेका बेला आइतबार पोखरामा ठूलो दुर्घटना भएको हो । आइतबार साँझसम्म उद्धारकर्मीले दुर्घटनास्थलमा कम्तीमा ६८ जनाको शव फेला पारिसकेका छन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार, २०४९ साउनमा १ सय १३ जनाको ज्यान जाने गरी नुवाकोटको घ्याङ्फेदीमा भएको थाई एयरवेजको विमान दुर्घटना र त्यही वर्ष असोजमा १ सय ६७ जनाको ज्यान गएको ललितपुरको भट्टेडाँडा दुर्घटनापछि सर्वाधिक यात्रुको ज्यान जाने गरी भएको यो तेस्रो हवाई दुर्घटना हो । यो दुर्घटनासहित ६७ वर्षयता नेपालमा १ सय ४ वटा दुर्घटना भएका छन् । तिनमा कम्तीमा नौ सयले ज्यान गुमाइसकेका छन् ।

दुर्गम र सुगममा उडान गर्ने एकमात्र वायुसेवा यती एयरलाइन्सले स्थापना भएको २४ वर्षयता ८ प्रकारका ३७ वटा जहाज प्रयोगमा ल्याएको छ । यीमध्ये ११ वटा जहाज दुर्घटनामा नष्ट भएका छन् । यति तथा उसका हेलिकोप्टर र दुर्गम उडान गर्ने वायुसेवा कम्पनीले व्यहोरेका दुर्घटनामा हालसम्म कम्तीमा १ सय ८० जनाले ज्यान गुमाइसकेका छन् ।

पोखरामा भएको यो दोस्रो हवाई दुर्घटना हो । २०५९ भदौमा सांग्रिलाको जहाज जोमसोमबाट आउँदै गर्दा पोखरामा खस्दा १८ जनाको ज्यान गएको थियो ।

प्रकाशित : माघ २, २०७९ ०६:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×