राष्ट्रपति भण्डारीद्वारा धरानका शक्तिपीठमा पूजाअर्चना- समाचार - कान्तिपुर समाचार

राष्ट्रपति भण्डारीद्वारा धरानका शक्तिपीठमा पूजाअर्चना

धरानका मेयर साम्पाङ अनुपस्थित
प्रदीप मेन्याङ्बो

सुनसरी — राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो धरानको विजयपुरस्थित शक्तिपीठ दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर र बुढासुब्बा मन्दिरमा पूजाअर्चना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले माघ १ गते मकर संक्रान्ति मेलाको अवसर पारेर बराहक्षेत्र-१ स्थित कोका कौशिकीको संगमस्थलमा लाग्ने धार्मिक मेला अवलोकन र बराहक्षेत्र मन्दिरमा विशेष पूजाअर्चना गरेर हेलिकप्टरमा आएकी थिइन् ।

धरान–१३ स्थित नेपाली सैनिक क्याम्पमा दिउँसो २ बजे ओर्लिएर राष्ट्रपति भण्डारी हात्तीसारको सडक हुँदै विजयपुर परिसरमा रहेका दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिर पुगेकी थिइन् । उनले दन्तकाली मन्दिरमा करिब २० मिनेट विशेष पूजाअर्चना गरेकी थिइन् भने पिण्डेश्वर मन्दिरको गर्भगृहमा प्रवेश गरेर शिवलिङको पूजा गरेकी थिइन् ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई धरानकी पूर्वउपमेयर मञ्जु भण्डारी, धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई तथा वडाध्यक्षहरू, भयवाद अध्ययन केन्द्र नेपालका अध्यक्ष रहेका प्राडा टंकप्रसाद न्यौपाने लगायतले स्वागत सम्मान गरेका थिए ।

राष्ट्रपति भण्डारी प्राडा न्यौपानेका पूर्वविद्यार्थी भएकाले आफूले पढाएको छात्रा उच्च तहमा पुगेकाले सम्मान गरेको प्रा डा न्यौपानेले बताए । राष्ट्रपति भण्डारीलाई प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की, बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुखलगायत स्थानीय समाजसेवी अगुवाहरू तथा जनप्रतिनिधिहरूले फूलमालाले स्वागत गरेका थिए ।

राष्ट्रपतिको आगमन हुँदा धरानका प्रमुख हर्कराज साम्पाङ र उपप्रमुख अइन्द्रविक्रम बेघा भने अनुपस्थित थिए । राष्ट्रपतिको स्वागतमा नगएको बारे प्रमुख साम्पाङले उनको आधिकारिक फेसबुक पेज हर्क साम्पाङ अ रिभुल्युसन पेजमा भनेका छन्, ‘धेरै जाम हुन्छ भनेर म नगाको के ।’

प्रकाशित : माघ १, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश १ र सुदूरपश्चिम प्रदेशको विजयी सुरुआत

प्रदीप मेन्याङ्बो

सुनसरी — प्रदेश १ र सुदूरपश्चिम प्रदेशको विजयसँगै सुनसरीको इटहरीमा शुक्रबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रदेश १ ले मधेस प्रदेशमाथि ९ विकेटको फराकिलो जित दर्ता गर्‍यो । ५० रनको झिनो लक्ष्यलाई प्रदेश १ ले ११.४ ओभरमै पूरा गर्‍यो ।

प्रदेश १ को जितमा काजल श्रेष्ठ र रुविना क्षेत्रीको ओपनिङ जोडीले जितको बलियो आधार तयार पार्‍यो । काजलले ४२ बलमा ४ चौका मद्दतले २४ रन बनाउँदा रुविनाले २७ बलमा २ चौका मद्दतले २१ रनको अविजित इनिङ्स खेलिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेस प्रदेशले १९.२ ओभरमा अलआउट भयो । प्लेयर अफ द म्याच सवनम राईले ४ विकेट लिइन् । रुविना क्षेत्री र निशा शाहले २/२ तथा ज्योति दनुवार र एलिसा खडियाले १/१ विकेट लिए । मधेसबाट सन्तोषी चौधरीले १२ रन बनाउनुबाहेक अरूले दोहोरो अंक जोड्न सकेनन् । दोस्रो खेलमा सुदूरपश्चिमले वाग्मती प्रदेशलाई ३३ रनले हरायो । युवा अलराउन्डर कविता कुँवरको उत्कृष्ट ब्याटिङमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो । कविताले ५२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५० रन जोडिन् ।

ऋतु कनोजिया २१ बलमा ४ चौकासहित २७ रनमा अविजित रहिन् । कप्तान बिन्दु रावल र सम्झना खड्काले १०–१० रन बनाए । रुवि पोद्दार ८, शोभा रोकाया २ र कविता जोशीले ७ रन बनाए । वाग्मतीकी तीव्र गतिकी बलर अस्मिना कर्माचार्यले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । यशु पाण्डे, खुसी डंगेला र मनीषा उपाध्यायले १/१ विकेट लिए ।

वाग्मतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९४ रनमात्र बनाउन सकियो । कञ्चन श्रेष्ठ २१ बलमा १ चौकासहित सर्वाधिक १६ रन बनाए । ओपनर अस्मिता खरेल ३, सोनी पाख्रिन १५, हेलिसा गुरुङ ९, अस्मिना कर्माचार्य १३ र खुसी डंगोलले १४ रन बनाए । ऋतुले ४ ओभरमा १० र मनीषा उपाध्यायले ४ ओभरमा २० रन खर्चेर २/२ विकेट लिए ।

प्रकाशित : पुस ३०, २०७९ ०७:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×