पोखरामा यति विमान दुर्घटना : ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा यति विमान दुर्घटना : ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

सुरज कुँवर, अनिष भट्टराई

काठमाडौं, पोखरा — पोखराको सेती नदीको खोंचमा आइतबार बिहान भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ । दिउँसो ४:१५ बजेसम्म एक बच्चासहित ६४ जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान गर्ने प्रक्रिया सुरु भएको छ ।

‍नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले ६८ शव दुर्घटनास्थलबाट निकालिएको विज्ञप्तिमार्फत जनाएको छ । केन्द्रका अनुसार खोजी जारी छ ।

शवहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएसँगै दिवंगत यात्रुका परिवारजनले प्रतिष्ठान परिसर भरिएको छ । अस्पताल परिसरमा दिवंगत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू धेरै जसोको पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ । हालसम्म विमानमा चालक दलकासहित ७२ जना सवार थिए ।

उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दुर्घटनामा परेका मृतक यात्रुका परिवारका सदस्य वा आफन्तजनहरुले थप जानकारी चाहिएमा काठमाडौं विमानस्थल कार्यालयको ०१-४११३१६३ र यती एयरलाइन्सका पेम्बा शेर्पाको ९८०१००७५३१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।


प्रकाशित : माघ १, २०७९ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्

रोहिणी गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न

जनसरोकारका विषयमा मिलेर काम गर्नुपर्छ : विश्वकर्मा
सन्जु पौडेल

तिलोत्तमा — रोहिणी गाउँपालिका, रुपन्देहीको १२ औं गाउँसभा शनिबार सम्पन्न भएको छ । गाउँसभाको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताए । उनले जनसरोकारका विषयमा मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सत्ता पक्ष र प्रतिपक्ष नभनी समझदारीका साथ अघि बढ्नुपर्ने आवश्यकता छ ।’ उनले जनताको समस्या समाधानका लागि अघि बढ्नुपर्नेमा जोड दिए ।

नेकपा एमालेका केन्द्रीय सचिवसमेत रहेका नेता विश्वकर्माले धराशायी बनेको मुलुकको अर्थतन्त्र सुधार गरेर अघि बढ्नुपर्ने बताए । नयाँ सरकार गठन भएपछि जनता तथा उद्योगी-व्यवसायी आशावादी हुने परिस्थिति बनेको उनको भनाइ थियो ।

‘रोहिणी गाउँपालिकामा क्याम्पस बनाउनुपर्ने आवश्यकता रहेको छ‚’ उनले भने, ‘विद्यार्थीहरूले आफ्नै घरदैलोमा उच्च शिक्षा हासिल गर्न पाउनुपर्छ ।’ नेता विश्वकर्माले जश पाउने होडबाजीमा जनताले पाउनुपर्ने अवसरबाट वञ्चित गर्न नहुने बताए । उनले रोहिणी नदीको संरक्षण, विकास र प्रवर्द्धन आवश्यक रहेको बताए ।

त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वराज्यमन्त्री अब्दुल रज्जाकले स्थानीय सरकारले प्राविधिक शिक्षामा जोड दिनुपर्नेमा जोड दिए । उनले सिंहदरबारको अधिकार गाउँ-गाउँमा भनिए पनि स्थानीय सरकारले पूर्ण रुपमा अधिकार पाइसकेको अवस्था नरहेकाले संविधान कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले भने, ‘किसानले आवश्यक परेको बेला मल पाउन नसकेकाले यसतर्फ सरकारले ध्यान दिनुपर्छ । ’नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता रज्जाकले कृषकलाई अनुदान भन्दा पनि आवश्यक परेको बेला मल चाहिएको बताए ।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, प्रवक्ता वीरबहादुर क्षेत्री, वडाअध्यक्षहरू, वडा सदस्यलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : माघ १, २०७९ १६:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×