पोखरामा यति विमान दुर्घटना : छानबिन गर्न ५ सदस्यीय जाँच आयोग गठन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा यति विमान दुर्घटना : छानबिन गर्न ५ सदस्यीय जाँच आयोग गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले पोखरामा आइतबार भएको यतिको जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैर-सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम छानबिन गर्न जाँच आयोग बनाउने निर्णय गरेको हो ।

जाँच आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहने छन् भने सदस्यहरुमा नेपाली सेनाका अवकाश प्राप्त उपरथि दीपकप्साद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंङ थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

आयोगलाई दुर्घटनाको जाँचका लागि ४५ दिनको समय तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनका लागि अपनाउनुपर्ने वा गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्ने छ ।

यसका साथै घटनाका बारेमा परिवारलाई सत्य-तथ्य जानकारी दिन त्रिभुवन विमानस्थलमा कल सेन्टर बनाउने र पार्थिव शरीर आफन्तहरुले चाहेको स्थानमा पुर्‍याउन सहजीकरण गर्ने निर्णय पनि आकस्मिक मन्त्रिपरिषद् बैठकले गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।

साथै बैठकले नेपालमा आन्तरिक उडान गर्ने सबै विमानहरुको प्राविधिक परीक्षण गर्नुपर्ने र त्यसको अनुगमन नागरिक उड्‍ययन प्राधिकरणले गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित : माघ १, २०७९ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

काशीराम डाँगी

रोल्पा — रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार साँझ ६ बजेतिर पश्चिम रोल्पाको गंगादेव गाउँपालिका–४ सिस्नेमा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गंगादेव–७ राँकबाट तेल लिन खाली ड्रम बोकेर सल्यान जाने क्रममा रा १ त ४१६१ नम्बरको ट्याक्टर गंगादेव–४ मा दुर्घटनाग्रस्त भएको थियो ।

ट्याक्टर भित्री सडकबाट करिब २ सय मिटर तल खसेको थियो। ट्याक्टरमा तीन जना रहेकोमा चालक रोल्पा गंगादेव–७ तिम्ले निवासी २२ वर्षीय अम्मर वलीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । गंगादेव–७ का १७ वर्षीय राजेश केसी र गंगादेव–४ मालेखोलाका २२ वर्षीय वीरबहादुर केसी घाइते भएका हुन् ।

उनीहरू दुवैलाई उपचारका लागि शनिरबार राति नै दाङस्थित अस्पतालमा पुर्‍याइएको थियो । घाइते दुवैको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार घटना लगत्तै उद्धारका लागि रोल्पाको पाखापानीस्थित प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक योगेन्द्र पुनको नेतृत्वमा २ जना र घर्तीगाउँ इलाका प्रहरी चौकीबाट प्रहरी निरीक्षक देवराज भट्टराईको नेतृत्वमा ५ जना प्रहरी घटनास्थलमा पुगेका थिए ।

प्रकाशित : माघ १, २०७९ १४:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×