पोखरामा यति विमान दुर्घटना : सेती खोंचमा देखिएका १४ शव निकाल्ने प्रयास जारी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा यति विमान दुर्घटना : सेती खोंचमा देखिएका १४ शव निकाल्ने प्रयास जारी

अहिलेसम्म २९ शव निकालियो
कान्तिपुर संवाददाता

पोखरा — पोखराको सेती खोंचमा आइतबार बिहान भएको विमान दुर्घटनाबाट २९ जनाको शव संकलन गरिएको छ । हालसम्म २९ शवको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए ।

१४ वटा शव सेती खोंचमा फेला परेको तर निकाल्न गाह्रो भइरहेको र निकाल्ने प्रयास जारी रहेको एसपी केसीले बताए ।

आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा विमान दुर्घटना भएको थियो । विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना हो ।

नागरिक उड्डयन प्राधिकरणद्वारा जारी एभिएसन सेफ्टी रिपोर्ट अनुसार पोखरामा व्यवसायिक उडान अन्तर्गत भएको यो दोस्रो दुर्घटना हो । यसअघि ०५९ भदौ ६ गते सांग्रिला एयरको ट्वीनअटर दुर्घटना हुँदा चालक दलका सदस्यसहित १८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : माघ १, २०७९ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्

पोखरा विमान दुर्घटनाप्रति उच्चपदस्थ व्यक्तिहरूद्वारा शोक वक्तव्य

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाप्रति प्रधानमन्त्रीलगायत विभिन्न उच्चपदस्थ व्यक्तिहरूले दु:ख व्यक्त गरेका छन् । उनीहरूले शोक वक्तव्य जारी गर्दै दुर्घटनामा उद्धार कार्य तीव्र बनाउन पनि आफू मातहतका निकायहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरूले विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले दुर्घटनास्थलमा उद्धारका लागि खटिन निर्देशन दिएका छन् । साथै आइतबार नै उनले मन्त्रिपरिषद्‍को आकस्मिक बैठक पनि बोलाएका छन् ।

यससँगै माओवादी केन्द्र, नेपाली कांग्रेस लगायतका राजनीतिक दलहरूले पनि उक्त घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

यस्तै गृहमन्त्री रवि लामिछानेले पनि दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै उद्धारका लागि खटिन प्रहरीलाई निर्देशन दिएका छन् । यस्तै, माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले शोक वक्तव्य जारी गर्दै घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

यसैबीच पूर्वराजा ज्ञानेद्र शाहले पनि एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा मृत्यु हुनेका परिवारप्रति समवेदन व्यक्त गरेका छन् । आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर ७२ विमान पोखराको नयाँगाउँस्थित दुर्घटनामा परेको हो । दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी छ ।

घटनास्थलबाट अहिलेसम्म २६ जनाको शव संकलन गरिएको छ । संकलन गरिएका शवलाई पोस्टमार्टमका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लगिँदै छ ।

प्रकाशित : माघ १, २०७९ १४:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×