पोखरा विमान दुर्घटनाप्रति उच्चपदस्थ व्यक्तिहरूद्वारा शोक वक्तव्य- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरा विमान दुर्घटनाप्रति उच्चपदस्थ व्यक्तिहरूद्वारा शोक वक्तव्य

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाप्रति प्रधानमन्त्रीलगायत विभिन्न उच्चपदस्थ व्यक्तिहरूले दु:ख व्यक्त गरेका छन् । उनीहरूले शोक वक्तव्य जारी गर्दै दुर्घटनामा उद्धार कार्य तीव्र बनाउन पनि आफू मातहतका निकायहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरूले विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले दुर्घटनास्थलमा उद्धारका लागि खटिन निर्देशन दिएका छन् । साथै आइतबार नै उनले मन्त्रिपरिषद्‍को आकस्मिक बैठक पनि बोलाएका छन् ।

यससँगै माओवादी केन्द्र, नेपाली कांग्रेस लगायतका राजनीतिक दलहरूले पनि उक्त घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

यस्तै गृहमन्त्री रवि लामिछानेले पनि दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै उद्धारका लागि खटिन प्रहरीलाई निर्देशन दिएका छन् । यस्तै, माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले शोक वक्तव्य जारी गर्दै घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

यसैबीच पूर्वराजा ज्ञानेद्र शाहले पनि एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा मृत्यु हुनेका परिवारप्रति समवेदन व्यक्त गरेका छन् । आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर ७२ विमान पोखराको नयाँगाउँस्थित दुर्घटनामा परेको हो । दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी छ ।

घटनास्थलबाट अहिलेसम्म २६ जनाको शव संकलन गरिएको छ । संकलन गरिएका शवलाई पोस्टमार्टमका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लगिँदै छ ।

प्रकाशित : माघ १, २०७९ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्

विमान दुर्घटनाको उद्धारमा खटिन स्थानीय पार्टी संयन्त्रलाई सभापति देउवाको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको उद्धारमा खटिन नेपाली कांग्रेसको स्थानीय पार्टी संयन्त्रलाई निर्देशन दिएका छन् ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भएलगत्तै सामाजिक संजालमार्फत देउवाले उद्धारमा खटिन नेपाली कांग्रेस कास्कीको पार्टी संयन्त्रलाई निर्देशन दिएको बताएका छन् ।

देउवाले उद्धार कार्य प्रभावकारी बनाउँदै आवस्यक सबै प्रक्रिया अबिलम्व सुरु गर्न नेपाल सरकारसँग माग समेत गरेका छन् ।

‘यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खबरले स्तव्ध भएको छु। यस दुखद् र त्रासदीपूर्ण दुर्घटनाको तत्कालै प्रभावकारी रुपमा उद्दार कार्य अघि बढाउन नेपाल सरकारसँग अनुरोध गर्दछु,’ ‘साथै उद्दारमा खटिन नेपाली कांग्रेसको स्थानीय पार्टीका सबै निकायलाई निर्देशन गर्दछु।’

प्रकाशित : माघ १, २०७९ १४:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×