मौसम ठीक थियो, मापदण्ड पूरा गरेरै उडान गरिएको हो : महाप्रबन्धक ठाकुर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मौसम ठीक थियो, मापदण्ड पूरा गरेरै उडान गरिएको हो : महाप्रबन्धक ठाकुर

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरा विमानस्थल नजिकै आइतबार बिहान दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानले मापदण्ड पूरा गरेरै उडान भरेको र मौसम पनि ठीक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा स्थापना गरिएको रेस्क्यु कोअर्डिनेसन सेन्टरमा पुगेर अवस्थाको जानकारी लिएपछि महानिर्देशक ठाकुरले पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।

उनले भने, 'मौसम खराब थियो भन्न सकिँदैन । पोखरा टावरको भनाइ अनुसार बिहानैदेखि मौसम राम्रो छ । त्यसैले मौसमलाई दोष दिन मिल्दैन । हाम्रो हरेक एयरपोर्टको मापदण्ड हुन्छ । यति भिजिबिलिटी भयो भने आईएफआर खोल्ने र यति भिजिबिलिटी भयो भने भीएफआर फ्लाइट खोल्ने भन्ने मापदण्ड हुन्छ । त्यो मापदण्ढ पूरा नगरी एयरपोर्ट खुल्दैन । पोखरा एयरपोर्ट मापदण्ड पूरा गरेर बिहानदेखि खुला छ । फ्लाइट भइरहेको छ । त्यो भन्दा पहिला पनि फ्लाइट भएका थिए ।'

एयरलाइन्स र एयरपोर्टले सम्पूर्ण मापदण्ड पूरा गरेर नै उडान भरेको ठाकुरले बताए । एयरपोर्टबाट नजिकैको दूरीमा दुर्घटना भएको पनि उनले जानकारी दिए ।

दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानमा पाँच भारतीयसहित १५ विदेशी नागरिक थिए । त्यसमा ५३ नेपाली यात्रु रहेको पनि ठाकुरले बताए । विमानमा चार चालक दलका सदस्य थिए । सबै गरेर विमानमा ७२ यात्रु थिए ।

दुर्घटनास्थलमा अहिले उद्धार कार्य जारी रहेको छ । आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यतिको एटीआर ७२ विमान कास्कीको नयाँगाउँमा दुर्घटना भएको हो ।

प्रकाशित : माघ १, २०७९ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान स्थगित

रासस

काठमाडौँ — आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए ।

विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए । 'मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ', उनल भने यो, 'विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।'


प्रकाशित : माघ १, २०७९ १३:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×