उद्धारमा कुनै कमजोरी नगर्न प्रधानमन्त्रीको निर्देशन - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
पोखरामा यतिको विमान दुर्घटना

उद्धारमा कुनै कमजोरी नगर्न प्रधानमन्त्रीको निर्देशन 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकाको उद्दारमा कुनै कमजोरी नगर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । 

विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको 'रेस्क्यु कोअर्डिनेसन सेन्टर' पुगेर प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि पुगेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले विमान दुर्घटनामा संलग्न सुरक्षा निकायका अधिकारी र कर्मचारी उद्दारकर्ताहरूलाई कुनै पनि कमजोरी र ढिलाइ नगर्न प्रधानमन्त्री दाहालले भनेका थिए । 'रेस्क्यु कार्य चलिरहेको छ । केही शव निकालिसकेको अवस्था छ । खोँचमा भएकाले उद्दार कार्यमा कठिनाइ भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार कार्य गरिरहेको छ,' ठाकुरले भने, 'प्रधानमन्त्री र गृहमन्त्रीले रेस्क्यु कोअर्डिनेसन सेन्टरमा आएर उद्दारमा के भइरहेको छ भन्ने हेर्नुभएको छ । उद्दारमा को को संलग्न छन् भन्ने पनि बुझ्नुभएको छ । प्रधानमन्त्रीले उद्दारमा अलिकति पनि कमजोरी नहोस् भन्नुभएको छ ।'

दुर्घटनामा परेर जिवित रहेकाहरूलाई तत्काल अस्पताल पुर्‍याउन पनि प्रधानमन्त्रीले निर्देशन दिएका थिए । प्रधानमन्त्रीले दुर्घटनामा परेकाको विस्तृत विवरण बेलाबेला आफूलाई दिन निर्देशन दिएको पनि ठाकुरले बताए ।

प्रधानमन्त्रीले साढे १ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमान अवतरणको गर्ने बेलामा दुर्घटनामा परेको थियो ।

प्रकाशित : माघ १, २०७९ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्

पोखरामा यतिको विमान दुर्घटना : पाँच भारतीयसहित १५ विदेशी नागरिक

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा पाँच भारतीयसहित १५ विदेशी नागरिक परेको खुलेको छ । साथै ५३ नेपाली यात्रु रहेको पुष्टि भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानमा चार चालक दलका सदस्यसहित ७२ यात्रु थिए । जसमध्ये ३ बालबालिका र ३ शिशुसहित ६४ वयष्क थिए ।

दुर्घटनास्थलमा अहिले उद्धार कार्य जारी रहेको छ । आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यतिको एटीआर ७२ विमान कास्कीको नयाँगाउँमा दुर्घटना भएको हो । दुर्घटनास्थलबाट २६ जनाको शव संकलन गरिएको बताइएको छ ।

अहिले पनि उद्धारकार्य जारी रहेको छ । स्थानीयहरूले भने दुर्घटनास्थलबाट आगोको मुस्लो निस्किरहेको भिडियो सार्वजनिक गरेका छन् ।

प्रकाशित : माघ १, २०७९ १३:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×