यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

लालप्रसाद शर्मा, सुरज कुँवर

पोखरा, काठमाडौं — यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर–७२ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

उक्त विमान यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन । ७२ यात्रु क्षमताको एटीआर विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन ।

स्थानीयहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

अहिले घटनास्थलतर्फ हेलिकोप्टरमा उद्धार टोली जाँदै गरेको छ ।

प्रकाशित : माघ १, २०७९ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्

लालपुर्जाविहीन बस्ती

प्रताप विष्ट

हेटौंडा — घर आफ्नो नाममा छैन । जग्गा छ, लालपुर्जा छैन । यस्तो अवस्थामा बाँचिरहेका छन् दलबहादुर थिङ । २००१ सालदेखि कमाइ गरेको जग्गाको स्वामित्व उनको नाममा छैन । काभ्रेबाट उनका बाबु हेटौंडा–१६ पानीसरामा ७८ वर्षअघि बसाइँ सरेका थिए । त्यतिबेला दलबहादुर १७ वर्षका थिए ।

त्यतिबेलाका लक्का जवान दलबहादुर र उनका बाबुले पानीसरामा जंगल फाँडेर खेतीपाती सुरु गरे । उनी यहाँ आइपुग्दा आकाशधारा, पानीसरा र घोप्टेमा २–४ छाप्रा थिए । जंगली वन्यजन्तुको बिगबिगी थियो । ७८ वर्षमा बस्ती बढेको मात्र छैन बिजुलीसमेत पुगेको छ । तर, उनी अभावको जिन्दगी बिताइरहेका छन् ।

उपमहानगरपालिकाको विकट आकाशधारामा बुधबार हेटौंडा उपमहानगरले सार्वजनिक सुनुवाइ गरेको थियो । मेयर मीनकुमारी लामा, उपमेयर राजेश बानिया, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, वडाध्यक्ष रामकृष्ण कोइरालासामु पानीसराका केशरबहादुर भ्लोनले प्रश्न गरे, ý‘बाबु लालपुर्जा देख्न नपाई मरे, आफू पनि मर्ने बेला भइसक्यो, कहिले पाइन्छ लालपुर्जा ?’ उनी यो बस्तीमा बसेको ६० वर्ष बितिसकेको छ । स्थानीय रामलाल थिङले भने, ‘संघीयता आएपछि लालपुर्जा पाइन्छ भन्ने लागेको थियो । ५० वर्ष भइसक्यो आकाशधारामा बसेको तर लालपुर्जा पाइएन ।’ पानीसरा, घोप्टे, आकाशधाराका करिब ३ सय धुरीका बासिन्दा लालपुर्जाविहीन छन् । पहिलो पटक मेयर लामा पुगेको उक्त बस्तीमा स्थानीयले लालपुर्जालगायत विविध समस्या राखेका थिए ।

६ कक्षा पढ्ने विद्यालयनजिक नभएकाले अधिकांशले पढाइ छोड्नुपरेको टेकमान थिङले सुनाए । ५ कक्षा पास भएपछि बाराको डुमरवाना वा १६ नम्बरको चिसापानीस्थित विद्यालयमा जानुपर्ने बाध्यता छ । ‘त्यहाँ जान दैनिक ६ घण्टा हिँड्नुपर्छ, त्यसैले ५ पछि सबैले पढाइ छाड्ने गरेका छन्,’ उनले भने । पानीसरा, आकाशधारा र घोप्टेको बीचमा ५ कक्षासम्म पढाइ हुने एउटा विद्यालय छ । कक्षाकोठा अभावले २/२ वटा कक्षाका विद्यार्थी एउटै कोठामा राखेर पढाउने गरेको प्रधानाध्यापक प्रेमबहादुर विकले बताए । यहाँका बासिन्दाले सामान्य बिरामी हुँदा पनि उपचार गर्न नपाउँदा अकालमा ज्यान जाने गरेको केशरबहादुर भ्लोन बताउँछन् । ‘यहाँबाट स्वास्थ्य चौकी पुर्‍याउन कम्तीमा ३ घण्टा हिँड्नुपर्छ, वर्षायाममा त्यो पनि सम्भव छैन,’ उनले भने ।

प्रकाशित : माघ १, २०७९ ११:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×