माइतीघर पुगे गृहमन्त्री

महिला भन्छन्– ‘न्याय सुनिश्चित नभएसम्म फर्कन्नौं’

मुद्दामा न्याय गर्न नसक्ने अवस्था आए र त्यसमा कुनै कैफियत देखिए गृहमन्त्रीबाट राजीनामा दिनेसम्मको आश्वासन दिए पनि आन्दोलनकारी अडानमा
प्रकाश धौलाकोटी

काठमाडौँ — बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा न्यायको माग गर्दै १७ दिनदेखि काठमाडौंको माइतीघरमा धर्नारत महिलाले न्यायको सुनिश्चितता नभएसम्म संघर्ष जारी राख्ने अडान लिएका छन् ।

गृहमन्त्री रवि लामिछानेले शनिबार माइतीघर पुगेर कुर्मीको मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिइसकेको न्याय निरुपणको बाटोमा अघि बढेको भन्दै घर फर्किन आग्रह गरेपछि धर्नारत महिला अधिकारकर्मीहरूले न्याय पाउने सुनिश्चित नभएसम्म संघर्ष नछाड्ने अडान लिएका हुन् ।

‘मन्त्रीज्यूबाट हाम्रो माग सुनुवाइ भयो, उहाँले तत्काल आन्दोलन स्थगित गरेर अनुसन्धानमा सहयोग गर्न भन्नुभयो तर हामीले यसअघि नै सरकारबाट धोका खाइसकेका छौँ, त्यसैले उहाँको आश्वासनमा मात्रै विश्वस्त हुने अवस्था भएन, न्याय पाउने सुनिश्चितता नभएसम्म धर्नामै बस्छौँ,’ अधिकारकर्मी रुबी खानले भनिन् । आफूहरूले छिटोभन्दा छिटो न्यायको अनुभूति हुने वातावरण बनाउन माग गरेको उनले बताइन् । ‘हामी माइतीघरमै बस्छौँ, धर्ना जारी राख्छौँ, हामीलाई न्याय दिने गरी पहल गरिदिनुस्,’ मन्त्री लामिछानेलाई आग्रह गरेको सुनाउँदै उनले भनिन् ।

माइतीघरमा शनिबार दिउँसो करिब १० मिनेट बिताएका मन्त्री लामिछानेले उक्त मुद्दामा न्याय गर्न नसक्ने अवस्था आए र त्यसमा कुनै कैफियत देखिए आफूले राजीनामा दिनेसम्मको आश्वासन दिएका थिए । उनले पटक–पटक धर्नारत महिलालाई आश्वस्त पार्ने कोसिस गरे तर अधिकारकर्मीहरूले बोलीले मात्रै विश्वस्त हुने अवस्था नरहेको बताए । ‘हामीले यो मुद्दामा काम सुरु गरेको दुई सातामात्रै हुँदै छ । अहिले काम गर्ने समय दिनुहोस् । अहिलेको टिमले फुल फेजमा काम गर्छ, यसले सकेन भने अर्को चरणमा जाने कुरा हुन्छ । त्यसपछि न्यायिक आयोग बनाउनुपर्छ कि सार्वजनिक रूपमा अघि बढाउनुपर्छ या त्योभन्दा अझै माथि जानुपर्छ, त्यो गरौँला,’ गृहमन्त्री लामिछानेले भने, ‘अझ त्यहाँ मेरो भूमिकामा कुनै कैफियत देखियो र मैले राजीनामा दिनुपर्ने अवस्था आए म त्यसका लागि पनि तयार छु ।’

धर्नारत महिलाले विश्वास नगरेपछि लामिछानले आफू पनि सडकमै बसेर संघर्ष गर्नसमेत तयार रहेको बताए । ‘म त तपाईंहरूजस्तै आन्दोलनमा सहभागी भएर यहाँ आएको मान्छे हुँ, मलाई यो विषयमा एकदमै दबाब छ, म यो मुद्दामा संवेदनशील छु,’ उनले भने, ‘म अहिले गृहमन्त्रीको हैसियतले यो वचनबद्धता जनाइरहेको छु, मुद्दाले लिने समय दिनुहोस् । पीडितले न्याय पाउनुपर्छ । तपाईंहरूलाई यो चिसोमा बसाएर मैले काम गर्न सक्दिनँ, कि मलाई पनि यही छेउमा राख्नुस् ।’

लामिछानेले पटक–पटक आग्रह गरे पनि महिलाले धर्ना छोड्न मानेनन् । ‘हामीलाई छिटो न्याय दिनुहोस्, हामी न्याय नपाएसम्म यहाँबाट जाँदैनौँ,’ लामिछानेकै अघिल्तिर उभिएर खानले भनिन् । गृहमन्त्री लामिछानेले मुद्दामा अनुसन्धान भइरहेको बताए पनि आफूहरूलाई प्रहरीले त्यसबारे अनुसन्धान भइसकेको बताउने गरेको धर्नारत महिलाले जानकारी दिए । ‘अनुसन्धान गर्ने निकायले हामीलाई सही सूचना दिँदैन, प्रहरीले हामीलाई अनुसन्धान गरिसक्यौँ भनेको छ, त्यो भनेको हामीले अहिले यो संघर्ष नगर्ने हो भने मुद्दा अदालत जान्छ कि जाँदैन ? त्यो पनि भन्नसक्ने अवस्था छैन,’ खानले भनिन् ।

उनले तत्काल न्यायिक आयोग बनाएर त्यसमार्फत छानबिन हुनुपर्ने बताइन् । ‘अहिले निर्मला कुर्मीले न्याय नपाउनु भनेको अरू हजारौँ महिला असुरक्षित हुने अवस्था हो,’ उनले भनिन्, ‘जो दोषी हो, उसले हामीलाई धम्की दिएर हिँडिरहेको छ, सरकार उसलाई पक्राउ गर्दैन, हामीलाई आन्दोलन नगर्नुस् मात्रै भन्छ ।’

मुद्दाका आरोपित कांग्रेसका प्रदेश सांसद बादशाह कुर्मीसहित आठ जनालाई तत्काल हिरासतमा लिएर अनुसन्धान गर्नुपर्ने उनीहरूको माग छ । जबकि कुर्मीसहित आरोपितलाई प्रहरीले हाजिरी जवानीमा छोडेको छ ।

गृहमन्त्री लामिछानेले भने कसैको संरक्षण पाएकै आधारमा दोषी नउम्किने बताएका छन् । ‘कसैको संरक्षण भएर दोषी उम्किने कुरा हुँदैन, कसैले संरक्षण गरेको प्रमाण भेटिन्छ भने म कारबाहीको दायरामा ल्याउँछु,’ धर्नारत महिलासमक्ष लामिछानेले भनेका छन् ।

संघर्षरत महिलाले मुद्दा अनुसन्धानको पछिल्लो अवस्थाबारे नागरिक सुनुवाइ हुनुपर्ने माग गरेका छन् । उनीहरूको मागमा गृहमन्त्री लामिछाने सकारात्मक छन् । ‘गृहमन्त्रीज्यू नागरिक सुनुवाइ गर्न तयार हुनुभएको छ,’ खानले भनिन्, ‘यहाँ हामीले न्यायको माग गर्नु अपराध हो भनेजस्तो भएको छ, त्यसैले हामीले मुद्दा के हो ? कहाँसम्म अनुसन्धान भयो ? त्यसको विवरण सार्वजनिक गर्न माग गरेका हौँ । सरकार र हामीसमेत बसेर अनुसन्धानको पछिल्लो अवस्था सार्वजनिक गर्ने कुरा भएको छ ।’ उनले मुद्दाको तथ्य बाहिर आएपछि शक्ति र सरकारमा भएको व्यक्ति अपराधबाट कसरी भाग्छ, उसलाई कसरी संरक्षण दिइन्छ भनेर छर्लंग हुने दाबी गरिन् ।

निर्मला कुर्मी नेपालगन्ज उपमहानगरपालिका–१७, परस्परकी हुन् । उनी ०७५ पछि बेपत्ता छिन् । उनको हत्या भयो वा मृत्यु, कुनै ठेगान छैन । अधिकारकर्मीहरूले उनको सम्पत्ति हत्याउन अपहरण गरी हत्या गरिएको आरोप लगाउँदै आएका छन् । सरकारी छानबिन समितिले पनि बादशाह कुर्मीसहित ८ जनामाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

निर्मलाका श्रीमान् ०६६ सालमा बितेपछि उनी दुई छोरासँग बस्दै आएकी थिइन् । श्रीमान् बितेपछि उनको घर र साढे चार बिघा जमिन हडप्न तत्कालीन संविधानसभा सदस्य कुर्मीसहितको गिरोह सक्रिय बनेको थियो ।

२०६६ मंसिरमा १० दिनको अन्तरमा निर्मलाका छोराहरू १८ वर्षीय रामसागर र १४ वर्षीय सुरेशको शंकास्पद मृत्यु भयो । निर्मलाले चाहेर पनि छोराहरूको मृत्युबारे प्रहरीले उजुरी लिएन न त पोस्टमार्टम नै भयो । त्यहीबेला संविधानसभा सदस्य कुर्मीले उनको जग्गाको कागज र नागरिकता नियन्त्रणमा लिएर सम्पत्ति हडप्ने प्रपञ्च रचेका थिए । कुर्मीविरुद्व निर्मलाले ०६८ असोज ३० मा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन् । निर्मलाको अवस्थाबारे गाउँले र महिला अधिकारकर्मीले खोजी गर्दा प्रहरीले ०७६ चैत १४ मा भारतमा मृत्यु भएको शंकास्पद सूचना दिने गरेको थियो । त्यसपछि महिलाले आन्दोलन थालेका थिए ।

अहिलेको संघर्ष तेस्रो चरणको हो । यसअघि नेपालगन्जदेखि २० दिन पैदल काठमाडौं आएर धर्ना दिएका महिलालाई सरकारले छानबिन समिति गठन गरेर शान्त पारेको थियो तर त्यसपछि पनि न्याय पाउने अवस्था नबनेपछि फेरि गत वर्ष ४३ दिनसम्म उनीहरूले धर्ना दिए । तैपनि मुद्दामा प्रहरीले अनुसन्धान पूरा गरेको छैन । मुद्दा अदालतसम्म पनि पुगेको छैन । अधिकारकर्मीले भने मुद्दामा दोषी देखिएका व्यक्तिहरूको राजनीतिक पहुँचका कारण अनुसन्धानको नाउँमा प्रमाण नष्ट गर्ने काम भएको गुनासो गर्दै आएका छन् ।

प्रकाशित : माघ १, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्

सभामुख छान्न नसक्दा सुदूरपश्चिममा संकटमा गठबन्धन

नागरिक उन्मुक्ति पार्टीको तटस्थता कायमै रहे प्रदेश सरकारलाई विश्वासको मत नपुग्ने
अर्जुन शाह, कलेन्द्र सेजुवाल

धनगढी, काठमाडौं — सातदलीय सत्ता गठबन्धनको एक घटक नागरिक उन्मुक्ति पार्टी (नाउपा) तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचन अनिर्णीत बनेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ७ सदस्यसहित निर्णायक हैसियतमा रहेको नाउपाले शनिबार भएको दोस्रो पटकको निर्वाचनमा सत्ता गठबन्धनकै सभामुख उम्मेदवारलाई भोट दिएन ।

सुदूरपश्चिममा सत्ता गठबन्धनबाट माओवादीका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावल सभामुखका उम्मेदवार छन् । बिहीबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा बहुमत नपुगेपछि शनिबार दोस्रो पटक निर्वाचन भएको थियो । बिहीबार नाउपाका लक्ष्मणकिशोर चौधरी र एमालेका चक्र मल्ल अनुपस्थित थिए भने एक मत बदर भएको थियो । यसले गर्दा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीको पक्षमा २६ मत मात्रै परेको थियो । सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।

शनिबार भएको पुनः मतदानमा सत्ता गठबन्धनले त्यही मत पनि जोगाउन सकेन । गठबन्धनका उम्मेदवार भण्डारीको पक्षमा २२ मत मात्र आएपछि प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य शिवराज भट्टले अस्वीकृत भएको घोषणा गरे । सत्ता गठबन्धनको निर्णायक नाउपाका ७ सांसद तटस्थ बसेकाले भण्डारीको पक्षमा २२ मत मात्र परेको हो । शुक्रबार बैठक बस्न नसकेपछि शनिबार पनि बैठक हुने निश्चित थिएन तर बिहान ११ बजे सर्वदलीय बैठक बसेर साँझ ६ बजे बैठक सञ्चालन गर्ने सहमति जुटेको कांग्रेस सांसद मेघराज खड्काले बताए । ‘हामीले त माघ २ मा गरौं भनेका थियौं तर सत्ता गठबन्धनका साथीहरूले आजै गरौं भनेपछि बैठक सञ्चालन भएको हो,’ उनले भने, ‘बैठक हुँदैन होला भन्ठानेर हाम्रो सांसद (सरस्वती खड्का) त बाहिर गइसक्नुभएको थियो ।’

सुदूरपश्चिममा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी सत्तापक्षमा २९ सांसद छन् । अर्कोतिर कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र १ स्वतन्त्र सांसद छन् । गठबन्धन दलबीच मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख नाउपाले लिने सहमति छ । सहमतिअनुसार मुख्यमन्त्री नियुक्त गर्न सघाएको नाउपाले सभामुख निर्वाचनमा ‘हलो अड्काइरहेको’ छ ।

नाउपाका प्रमुख सचेतक चौधरीले सहमतिविपरीत मन्त्री नियुक्त गरिएकाले सभामुख चयनमा तटस्थ बसेको बताए । ‘हामीसँगका सम्झौता कहिल्यै कार्यान्वयन भएनन्, त्यसैले पहिलो दिन (बिहीबार) मतदानमा अनुपस्थित भएको हुँ,’ उनले भने, ‘आज (शनिबार) मतदानमा हामी तटस्थ बसेका छौं ।

नाउपाले सत्ता गठबन्धनकै सभामुख उम्मेदवारलाई मतदान नगर्नुका दुई कारण देखिएका छन् । पहिलो कारण– सत्ता गठबन्धन (सरकार) ले सम्झौता कार्यान्वयन नगरेको असन्तुष्टि हो, जुन सतहमा आइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेलमा रहेका नाउपाका नेता रेशम चौधरीलगायतलाई जेलमुक्त गरेर ‘माघीमा उपहार दिने’ बचन दिएका थिए । ‘हाम्रो मुख्य माग नै यही हो, सरकारमा गएर मन्त्री हुने कुरा त सहायक कुरा हुन्,’ नाउपाका सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता रामेश्वर चौधरीले भने, ‘तर हामीलाई आश्वासन दिने काम मात्र भयो, माग सुनुवाइ भएन ।’

दोस्रो कारण– कांग्रेसले सुदूरपश्चिमको सभामुख निर्वाचनमार्फत नाउपाभित्र खेलेर सत्ता गठबन्धनलाई प्रभावित गर्ने प्रयास गर्नु हो । सुदूरपश्चिम प्रदेशसभामा बिहीबार सत्ता गठबन्धनका उम्मेदवारलाई बहुमत नपुगेपछि प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य भट्टले अर्को निर्वाचन गर्न ढिलाइ गरेका थिए । उनले माघ २ मा निर्वाचन गर्ने तयारी थालेका थिए । उक्त दिन प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिन पुग्ने भएकाले सत्ता गठबन्धनले ‘षड्यन्त्र भएको’ भन्दै तत्काल बैठक बोलाई सभामुख चयन गर्न माग गरेका थिए । शुक्रबार नाउपासहित २९ जना सत्तारूढ सांसदले संसद् सचिवालयमा भण्डारीको पक्षमा बहुमत भएकाले बैठक बोलाएर निर्वाचन गर्न माग गरेका थिए । तर ज्येष्ठ सदस्य भट्ट अनिश्चित समयका लागि बैठक स्थगित गरेर प्रदेशसभाले सभामुखका हैसियतमा उपलब्ध गराएको गाडी र पीएसओ प्रदेशसभामै छाडेर सम्पर्कविहीन भए ।

भट्टले शनिबार सभामुखको निर्वाचनका लागि बैठक त बोलाए, तर नाउपा अघिल्लो दिनको हस्ताक्षरबाट बदलिइसकेको थियो । ‘सुदूरपश्चिमको सभामुख चयनमा नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनभित्रै फरक पोजिसन राख्नुमा आफ्ना नेताहरूको रिहाइको मागमात्र होइन,’ कांग्रेस सुदूरपश्चिमका एक नेताले भने, ‘केन्द्रमा हुने सभामुखको निर्वाचनसँग पनि यसलाई जोड्न खोजिएको छ ।’ सातदलीय सत्ता गठबन्धन भए पनि सभामुख, राष्ट्रपतिलगायत पदमा कांग्रेसले भाग खोजिरहेको छ । केन्द्रमा माओवादीसँग र सुदूरपश्चिममा नाउपासँग सम्बन्ध बढाएर गठबन्धनभित्र खेल्ने रणनीति रहेको ती नेताले बताए ।

संविधानको धारा १८२ (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् भनिएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशसभा नियमावली २०७४ को नियम ७ (५) मा सभामुखमा प्रस्तावित प्रदेशसभा सदस्य तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएमा निर्वाचित भएको मानिने उल्लेख छ । सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक पुस १८ मा बसेको थियो । त्यस हिसाबले माघ २ (सोमबार) भित्र सभामुख र उपसभामुखको निर्वाचन भइसक्नुपर्छ । प्रदेशसभाका सचिव देवबहादुर बोगटीले सोमबारसम्म सभामुख निर्वाचित गर्न नसकिएकामा संवैधानिक जटिलता आउने बताए । ‘संविधानको व्यवस्थाअनुसार सोमबारसम्म सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ, सभामुख निर्वाचित भइदिए त त्यही दिन उपसभामुखको निर्वाचन गराउन सकिइहाल्थ्यो,’ उनले भने, ‘तर अहिलेकै अवस्था भयो भने त सभामुख नै निर्वाचित हुँदैन, यसबाट संविधानले तोकेको समयसीमा घर्किएर संवैधानिक जटिलता आउन सक्छ ।’

प्रदेशसभा सचिवालयले शुक्रबार मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायसँग कानुनी सल्लाह मागेको थियो । उपाध्यायले १५ दिनभित्र ‘निर्वाचन प्रक्रिया सुरु गरिसक्नुपर्ने’ भनेका थिए । प्रदेश प्रमुख देवराज जोशी भने १५ दिनभित्र सभामुख चयन गर्नैर्पर्ने बाध्यात्मक अवस्था हो या प्रक्रिया थाल्नुपर्ने मात्र हो भन्ने विषयमा यकिन गर्न परामर्शमा जुटेका छन् ।

नाउपाको अवस्था यही रहेमा सुदूरपश्चिम सरकार पनि संकटमा पर्ने देखिन्छ । सुदूरपश्चिममा एमाले, माओवादी, नाउपा र राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका छन् । नाउपाले रावललाई विश्वासको मत नदिए उनी पदमुक्त हुनेछन् । मुख्यमन्त्री चयन गर्न सत्ता गठबन्धनलाई सघाएको नाउपाले सभामुख चयनमा असहयोग गर्नुलाई धेरैले रहस्यमय भनेका छन् । नाउपाभित्र पनि दुई धार छ । लक्ष्मणकिशोर चौधरी र रेशम चौधरीनिकट मानिने संसदीय दलका नेता रामेश्वर चौधरी अलग–अलग समूहको नेतृत्व गरिरहेका छन् । लक्ष्मणकिशोर रामेश्वरलाई संसदीय दलको नेता बनाइएदेखि असन्तुष्ट रहेको स्रोतको भनाइ छ । त्यही कारण लक्ष्मणकिशोर पहिलो दिनको बैठकमा अनुपस्थित भएका थिए ।

विपक्षी बेन्चमा रहेका कांग्रेस र एकीकृत समाजवादीका सांसदले सभामुख चयन गर्न बहुमत नपुग्नु गठबन्धनको समस्या भएको बताएका छन् । कांग्रेस सांसद मेघराज खड्काले सभामुख निर्वाचनबाट सत्ता गठबन्धन अल्पमतमा परेको बताए । केन्द्रमा दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएको एकीकृत समाजवादी भने सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार बनेकाले विपक्षमा बसेको छ ।

प्रकाशित : माघ १, २०७९ ०७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×