सभामुख छान्न नसक्दा सुदूरपश्चिममा संकटमा गठबन्धन- समाचार - कान्तिपुर समाचार

सभामुख छान्न नसक्दा सुदूरपश्चिममा संकटमा गठबन्धन

नागरिक उन्मुक्ति पार्टीको तटस्थता कायमै रहे प्रदेश सरकारलाई विश्वासको मत नपुग्ने
अर्जुन शाह, कलेन्द्र सेजुवाल

धनगढी, काठमाडौं — सातदलीय सत्ता गठबन्धनको एक घटक नागरिक उन्मुक्ति पार्टी (नाउपा) तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचन अनिर्णीत बनेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ७ सदस्यसहित निर्णायक हैसियतमा रहेको नाउपाले शनिबार भएको दोस्रो पटकको निर्वाचनमा सत्ता गठबन्धनकै सभामुख उम्मेदवारलाई भोट दिएन ।

सुदूरपश्चिममा सत्ता गठबन्धनबाट माओवादीका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावल सभामुखका उम्मेदवार छन् । बिहीबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा बहुमत नपुगेपछि शनिबार दोस्रो पटक निर्वाचन भएको थियो । बिहीबार नाउपाका लक्ष्मणकिशोर चौधरी र एमालेका चक्र मल्ल अनुपस्थित थिए भने एक मत बदर भएको थियो । यसले गर्दा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीको पक्षमा २६ मत मात्रै परेको थियो । सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।

शनिबार भएको पुनः मतदानमा सत्ता गठबन्धनले त्यही मत पनि जोगाउन सकेन । गठबन्धनका उम्मेदवार भण्डारीको पक्षमा २२ मत मात्र आएपछि प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य शिवराज भट्टले अस्वीकृत भएको घोषणा गरे । सत्ता गठबन्धनको निर्णायक नाउपाका ७ सांसद तटस्थ बसेकाले भण्डारीको पक्षमा २२ मत मात्र परेको हो । शुक्रबार बैठक बस्न नसकेपछि शनिबार पनि बैठक हुने निश्चित थिएन तर बिहान ११ बजे सर्वदलीय बैठक बसेर साँझ ६ बजे बैठक सञ्चालन गर्ने सहमति जुटेको कांग्रेस सांसद मेघराज खड्काले बताए । ‘हामीले त माघ २ मा गरौं भनेका थियौं तर सत्ता गठबन्धनका साथीहरूले आजै गरौं भनेपछि बैठक सञ्चालन भएको हो,’ उनले भने, ‘बैठक हुँदैन होला भन्ठानेर हाम्रो सांसद (सरस्वती खड्का) त बाहिर गइसक्नुभएको थियो ।’

सुदूरपश्चिममा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी सत्तापक्षमा २९ सांसद छन् । अर्कोतिर कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र १ स्वतन्त्र सांसद छन् । गठबन्धन दलबीच मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख नाउपाले लिने सहमति छ । सहमतिअनुसार मुख्यमन्त्री नियुक्त गर्न सघाएको नाउपाले सभामुख निर्वाचनमा ‘हलो अड्काइरहेको’ छ ।

नाउपाका प्रमुख सचेतक चौधरीले सहमतिविपरीत मन्त्री नियुक्त गरिएकाले सभामुख चयनमा तटस्थ बसेको बताए । ‘हामीसँगका सम्झौता कहिल्यै कार्यान्वयन भएनन्, त्यसैले पहिलो दिन (बिहीबार) मतदानमा अनुपस्थित भएको हुँ,’ उनले भने, ‘आज (शनिबार) मतदानमा हामी तटस्थ बसेका छौं ।

नाउपाले सत्ता गठबन्धनकै सभामुख उम्मेदवारलाई मतदान नगर्नुका दुई कारण देखिएका छन् । पहिलो कारण– सत्ता गठबन्धन (सरकार) ले सम्झौता कार्यान्वयन नगरेको असन्तुष्टि हो, जुन सतहमा आइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेलमा रहेका नाउपाका नेता रेशम चौधरीलगायतलाई जेलमुक्त गरेर ‘माघीमा उपहार दिने’ बचन दिएका थिए । ‘हाम्रो मुख्य माग नै यही हो, सरकारमा गएर मन्त्री हुने कुरा त सहायक कुरा हुन्,’ नाउपाका सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता रामेश्वर चौधरीले भने, ‘तर हामीलाई आश्वासन दिने काम मात्र भयो, माग सुनुवाइ भएन ।’

दोस्रो कारण– कांग्रेसले सुदूरपश्चिमको सभामुख निर्वाचनमार्फत नाउपाभित्र खेलेर सत्ता गठबन्धनलाई प्रभावित गर्ने प्रयास गर्नु हो । सुदूरपश्चिम प्रदेशसभामा बिहीबार सत्ता गठबन्धनका उम्मेदवारलाई बहुमत नपुगेपछि प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य भट्टले अर्को निर्वाचन गर्न ढिलाइ गरेका थिए । उनले माघ २ मा निर्वाचन गर्ने तयारी थालेका थिए । उक्त दिन प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिन पुग्ने भएकाले सत्ता गठबन्धनले ‘षड्यन्त्र भएको’ भन्दै तत्काल बैठक बोलाई सभामुख चयन गर्न माग गरेका थिए । शुक्रबार नाउपासहित २९ जना सत्तारूढ सांसदले संसद् सचिवालयमा भण्डारीको पक्षमा बहुमत भएकाले बैठक बोलाएर निर्वाचन गर्न माग गरेका थिए । तर ज्येष्ठ सदस्य भट्ट अनिश्चित समयका लागि बैठक स्थगित गरेर प्रदेशसभाले सभामुखका हैसियतमा उपलब्ध गराएको गाडी र पीएसओ प्रदेशसभामै छाडेर सम्पर्कविहीन भए ।

भट्टले शनिबार सभामुखको निर्वाचनका लागि बैठक त बोलाए, तर नाउपा अघिल्लो दिनको हस्ताक्षरबाट बदलिइसकेको थियो । ‘सुदूरपश्चिमको सभामुख चयनमा नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनभित्रै फरक पोजिसन राख्नुमा आफ्ना नेताहरूको रिहाइको मागमात्र होइन,’ कांग्रेस सुदूरपश्चिमका एक नेताले भने, ‘केन्द्रमा हुने सभामुखको निर्वाचनसँग पनि यसलाई जोड्न खोजिएको छ ।’ सातदलीय सत्ता गठबन्धन भए पनि सभामुख, राष्ट्रपतिलगायत पदमा कांग्रेसले भाग खोजिरहेको छ । केन्द्रमा माओवादीसँग र सुदूरपश्चिममा नाउपासँग सम्बन्ध बढाएर गठबन्धनभित्र खेल्ने रणनीति रहेको ती नेताले बताए ।

संविधानको धारा १८२ (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् भनिएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशसभा नियमावली २०७४ को नियम ७ (५) मा सभामुखमा प्रस्तावित प्रदेशसभा सदस्य तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएमा निर्वाचित भएको मानिने उल्लेख छ । सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक पुस १८ मा बसेको थियो । त्यस हिसाबले माघ २ (सोमबार) भित्र सभामुख र उपसभामुखको निर्वाचन भइसक्नुपर्छ । प्रदेशसभाका सचिव देवबहादुर बोगटीले सोमबारसम्म सभामुख निर्वाचित गर्न नसकिएकामा संवैधानिक जटिलता आउने बताए । ‘संविधानको व्यवस्थाअनुसार सोमबारसम्म सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ, सभामुख निर्वाचित भइदिए त त्यही दिन उपसभामुखको निर्वाचन गराउन सकिइहाल्थ्यो,’ उनले भने, ‘तर अहिलेकै अवस्था भयो भने त सभामुख नै निर्वाचित हुँदैन, यसबाट संविधानले तोकेको समयसीमा घर्किएर संवैधानिक जटिलता आउन सक्छ ।’

प्रदेशसभा सचिवालयले शुक्रबार मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायसँग कानुनी सल्लाह मागेको थियो । उपाध्यायले १५ दिनभित्र ‘निर्वाचन प्रक्रिया सुरु गरिसक्नुपर्ने’ भनेका थिए । प्रदेश प्रमुख देवराज जोशी भने १५ दिनभित्र सभामुख चयन गर्नैर्पर्ने बाध्यात्मक अवस्था हो या प्रक्रिया थाल्नुपर्ने मात्र हो भन्ने विषयमा यकिन गर्न परामर्शमा जुटेका छन् ।

नाउपाको अवस्था यही रहेमा सुदूरपश्चिम सरकार पनि संकटमा पर्ने देखिन्छ । सुदूरपश्चिममा एमाले, माओवादी, नाउपा र राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका छन् । नाउपाले रावललाई विश्वासको मत नदिए उनी पदमुक्त हुनेछन् । मुख्यमन्त्री चयन गर्न सत्ता गठबन्धनलाई सघाएको नाउपाले सभामुख चयनमा असहयोग गर्नुलाई धेरैले रहस्यमय भनेका छन् । नाउपाभित्र पनि दुई धार छ । लक्ष्मणकिशोर चौधरी र रेशम चौधरीनिकट मानिने संसदीय दलका नेता रामेश्वर चौधरी अलग–अलग समूहको नेतृत्व गरिरहेका छन् । लक्ष्मणकिशोर रामेश्वरलाई संसदीय दलको नेता बनाइएदेखि असन्तुष्ट रहेको स्रोतको भनाइ छ । त्यही कारण लक्ष्मणकिशोर पहिलो दिनको बैठकमा अनुपस्थित भएका थिए ।

विपक्षी बेन्चमा रहेका कांग्रेस र एकीकृत समाजवादीका सांसदले सभामुख चयन गर्न बहुमत नपुग्नु गठबन्धनको समस्या भएको बताएका छन् । कांग्रेस सांसद मेघराज खड्काले सभामुख निर्वाचनबाट सत्ता गठबन्धन अल्पमतमा परेको बताए । केन्द्रमा दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएको एकीकृत समाजवादी भने सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार बनेकाले विपक्षमा बसेको छ ।

प्रकाशित : माघ १, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्

एक्ला प्रधानमन्त्रीको जिम्मा १७ मन्त्रालय

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच विकसित शंकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
सरकारसँगै राष्ट्रपति तथा सभामुखको विषय टुंग्याउन एमालेको पहल, प्रधानमन्त्री भने क्रमशः अघि बढ्ने पक्षमा
गंगा बीसी, बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री नियुक्त भएको तीन साता पुग्दा पनि मन्त्रिपरिषद् अपूरो छ । सरकारले संसद्मा विश्वासको मत पाए पनि सत्तारूढ दलहरूबीचको अविश्वासले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । तीन मन्त्रीले मात्र विभागीय जिम्मेवारी पाएका छन् भने कुल २० मध्ये १७ मन्त्रालयको जिम्मा प्रधानमन्त्री एक्लैले लिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पटक–पटक छलफल भए पनि मन्त्रिपरिषद्बारे टुंगो लागेको छैन । सरकारले मंगलबार विश्वासको मत लिएपछि सातदलीय सत्ता गठबन्धनको बैठकसमेत बसेको छैन । दुई नेताबीच बुधबार, बिहीबार, शनिबार करिब ६ घण्टा वार्ता भए पनि सहमतिले अन्तिम रूप लिन पाएन ।

आइतबार बेलुकासम्म भने नाम टुंगो लगाएर सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको बालुवाटारको भनाइ छ । ‘लगभग सहमति भइसकेको छ, आइतबार बेलुका सात दलको बैठक बसी टुंगो लगाउने तयारी छ, सोमबार पूर्ण मन्त्रिपरिषद्को बैठक बस्ने तयारी छ,’ दाहालका स्वकीय सचिव रमेश मल्लले भने ।

पुस ११ मा प्रधानमन्त्री दाहालबाहेक विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्री, नारायणकाजी श्रेष्ठले उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री र रवि लाछिानेले उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका थिए । त्यही दिन शपथ लिएका एमालेका दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र जनमतका अब्दुल खानले मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।

विभागीय जिम्मेवारी नपाएका मन्त्रीहरूको दैनिकी यातनापूर्ण छ । उनीहरू जाने मन्त्रालय छैन । त्यसैले बाहिरबाहिर कार्यक्रममा डुलेर निवास फर्कन्छन् । ‘छिट्टै मन्त्रालय टुंगिन्छ भन्नेछ,’ मन्त्री राईले भने ।

एमालेले ९, माओवादीले ५, स्वतन्त्र पार्टीले ३, राप्रपाले उपप्रधानमन्त्रीसहित ३ र जसपाले उपप्रधानमन्त्रीसहित ३ मन्त्रालयमा दाबी गरेका छन् । कुन मन्त्रालय कसले लिने भन्ने विषयले पनि सहमति असहज भएको छ । शुक्रबार ओली निवास बालकोटमा भएको छलफलमा एमालेले रक्षा, परराष्ट्र, पर्यटन र भूमिसुधार मन्त्रालयमा दाबी गरेको स्रोतको भनाइ छ । गृह स्वतन्त्र पार्टी र अर्थ एमालेले पाइसकेकाले परराष्ट्र पनि एमालेलाई दिन प्रधानमन्त्री असहज छन् । माओवादीले परराष्ट्रसहित सञ्चार, शिक्षा र स्वास्थ्यमा दाबी गरेको छ । यी मन्त्रालयमा स्वतन्त्र पार्टीको पनि दाबी छ ।

स्वतन्त्रले श्रम मन्त्रालयमा पनि दाबी प्रस्तुत गरेको छ, यो पार्टीले गृह लिइसकेको छ भने अब दुई मन्त्रालय पाउने सम्भावना छ । यस्तै राप्रपाले ऊर्जा र जलस्रोत तथा सिँचाइ मन्त्रालयमा दाबी गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति दुई दिन काठमाडौंबाहिर रहेकाले गठबन्धन दलको बैठक बस्न सकेन,’ श्रेष्ठले भने, ‘सरकारको महत्त्वपूर्ण घटक भएकाले हाम्रो दाबी स्वाभाविक हो । हामी अध्यक्षको नेतृत्वमा सरकारमा सहभागी हुन्छौं ।’

जनता समाजवादीले सत्ता साझेदार ठूला दलले भागबन्डा टुंग्याएपछि मात्र आफूहरूको विषय प्रवेश हुने जनाएको छ ।

‘प्रमुख दलबीच समझदारी भएपछि हामी सरकारमा जाने कुरा हुन्छ,’ प्रवक्ता मनीष सुमनले भने । जसपाले उपसभामुख पनि दाबी गरेको छ । दुई स्वतन्त्र सांसद अमरेश सिंह र प्रभु साह पनि मन्त्री बन्ने प्रयासमा छन् । प्रधानमन्त्री दाहालले एकीकृत समाजवादी र लोसपालाई समेत सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइलगायतका माग सम्बोधन भएपछि मात्र सरकारमा सहभागी हुने अडान लिएको छ । नागरिक उन्मुक्तिले समर्थन नदिएकाले सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार सभामुखमा निर्वाचित हुन सकेका छैनन् ।

सत्ता गठबन्धनलाई असहज बनाउने र सम्भव भए भत्काउने रणनीतिसहित कांग्रेसले दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि एमाले सशंकित छ । यसबाहेक सरकार सञ्चालनमा ओलीको ‘अतिरिक्त दबाब’ आए कांग्रेससँगको सहकार्य खुला राख्न सक्ने संकेत प्रधानमन्त्री दाहालले दिएपछि ओलीबीच असमझदारी देखिएको छ । ‘गठबन्धनको निरन्तरतालाई लिएर प्रधानमन्त्री र एमाले अध्यक्षबीच केही असमझदारी पैदा भएजस्तो देखिन्छ, यसले मन्त्रिपरिषद् विस्तारमा समस्या भएको छ,’ सत्ता गठबन्धनमा आबद्ध दलका एक शीर्ष नेता भन्छन्, ‘गठबन्धन बनेको तीन साता मात्र भएको छ, तर यसको निरन्तरताको विषयमा दुई दलका नेताहरूबीच सबालजवाफ सुरु भएको छ, प्रस्टीकरण दिने अवस्था आएको छ, यो शुभसंकेत अवश्य होइन ।’

मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइले सरकारको दैनिक कार्यसम्पादनमा असर पर्न थालेको कर्मचारीहरूको भनाइ छ । २१ बुँदे नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको गठबन्धनले एक महिनाभित्रै सम्बन्धित मन्त्रालय, विभाग एवं निकायबाट विस्तृत कार्ययोजना बनाई प्रक्रिया अघि बढाउने कार्यतालिका बनाएको थियो ।

संसद्मा विश्वासको मत लिनुभन्दा एक दिनअगाडि सत्तारूढ दलहरूले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै गठबन्धन दलहरूले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेका थिए । तर, मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइले सुशासन, प्रभावकारी सेवाप्रवाह र समृद्धिका लागि काम गर्ने सरकारको योजना प्रभावित हुन सक्छ ।

त्यसो त मन्त्रिपरिषद् विस्तारमा गठबन्धनका दुई मुख्य दल एमाले र माओवादीबीच फरक धारणा देखिएको छ । एमालेले मन्त्रालयहरूको बाँडफाँटसँगै सभामुख र राष्ट्रपतिको विषय ‘प्याकेज’ मै टुंग्याउन चाहेको छ भने माओवादीले अहिले मन्त्रिपरिषद् विस्तारमा मात्र जोड गरेको छ ।

माघ अन्तिम साता हुने राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारलाई गठबन्धनको समर्थन निश्चित हुनुपर्ने प्रस्ताव ओलीले दाहालसमक्ष राखेको बालुवाटार स्रोतले जनाएको छ ।

माघ ५ मा आफ्नो दलका तर्फबाट सभामुख निर्वाचित हुनुपर्ने र राष्ट्रपतिको विषयमा पनि स्पष्ट मार्गचित्र लिएर अघि बढ्नुपर्ने उनको अडान छ । दाहालले भने सभामुख चयन भएपछि मात्र राष्ट्रपति निर्वाचनमा केन्द्रित हुने बताएका छन् । दाहालले आफूलाई विश्वासको मत दिने दल (कांग्रेस) सँगसमेत सभामुख तथा राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्ने बताएका छन् ।

दुई नेताबीच शनिबार भएको छलफलपछि दाहालले मंगलबार सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । ‘सभामुख र राष्ट्रपति छनोटका विषयमा प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने दलहरूसँग पनि छलफल गरेर सहमति गर्न चाहनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘त्यसका लागि माघ ३ मा सर्वदलीय बैठक राख्नुभएको छ ।’

पुस १० मा दाहाल र ओलीबीच प्रधानमन्त्री माओवादी, राष्ट्रपति र सभामुख एमालेले लिने गरी समझदारी भएको थियो । दाहालले एमाले र माओवादीबीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेस प्रतिपक्षमा बस्ने अनुमान गरिए पनि उसले विश्वासको मत दिएका कारण राष्ट्रपति तथा सभामुखसहितको महत्त्वपूर्ण पदमा पनि उसको भूमिका के हुन्छ भनेर सोध्नु उपयुक्त हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

कांग्रेस र माओवादीबीच बढ्दो संवादले एमाले र माओवादीबीच अविश्वास उत्पन्न भएको छ । ‘एमाले अध्यक्ष ओलीको राष्ट्रपति निर्वाचन के हुन्छ भन्नेमा आशंका रहेछ, त्यसकारण प्याकेजमै सहमतिको प्रयास भइरहेको छ,’ बालुवाटार स्रोतले शनिबार भन्यो, ‘प्रधानमन्त्रीले त्यसमा शंका नगर्न आग्रह गर्नुभएको छ, तर सरकारलाई जस्तै सभामुख र राष्ट्रपतिमा पनि कांग्रेसले साथ दिन्छ कि भनेर सोध्नु प्रधानमन्त्रीको कर्तव्य हुन्छ ।’

एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने कांग्रेसले सरकारलाई विश्वासको मत दिएकामा धन्यवाद भन्नुपर्ने तर्क गरे । ‘कांग्रेसले विश्वासको मत दिँदैमा गठबन्धनभित्र अविश्वास हुँदैन,’ उनले भने, ‘बाहिर अविश्वासको फुल पार्दैमा चल्ला निस्कँदैन ।’ दुई शीर्ष नेताबीच निरन्तर छलफल भइरहेकाले छिट्टै सबै आशंका मेटिने उनको भनाइ छ ।

कांग्रेसले विश्वासको मत दिएपछि प्रधानमन्त्री दाहालले ‘राष्ट्रिय सहमति’ को विषय उठाउन थालेका छन् । ‘सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आयो, यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो,’ शनिबार एक पुस्तक लोकार्पण कार्यक्रममा दाहालले भने, ‘करिब राष्ट्रिय सहमति नै भयो । यो मेरा लागि गौरवको विषय हो, चुनौती पनि हो । मैले त्यही ठानेको छु । सिंगो देशलाई एकताबद्ध भएर जाने वातावरण बनेको छ, देश एकताबद्ध भएर जान्छ ।’

प्रकाशित : माघ १, २०७९ ०७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×