नदी दोहन रोक्न कठोर कानुनको प्रस्ताव- समाचार - कान्तिपुर समाचार

नदी दोहन रोक्न कठोर कानुनको प्रस्ताव

नदीजन्य पदार्थको उत्खनन, प्रशोधन, मापदण्ड पालना भए/नभएको अनुगमन र नियमन गर्न तीनै तहका संयन्त्र प्रस्ताव
मातृका दाहाल, ऋषिराम पौड्याल

काठमाडौँ — सरकारले नदीजन्य पदार्थको अवैध उत्खनन, दोहन र राजस्व चुहावट नियन्त्रण गर्न क्रसर उद्योग सञ्चालनसम्बन्धी कठोर कानुन प्रस्ताव गरेको छ । बिनादर्ता, बिनानवीकरण र तोकिएका सर्त तथा बन्देजविपरीत खोलिएका क्रसरका सञ्चालकलाई फौजदारी अपराधमा कारबाही गर्न सकिने प्रावधानसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलो पटक कानुनको मस्यौदा गरेको हो । 

संघीय मामिलाले सैद्धान्तिक सहमतिका लागि मस्यौदा अर्थ मन्त्रालय पठाएको छ । अर्थले सहमति जनाए छिट्टै मन्त्रिपरिषद्बाट स्वीकृत गराएर चालु संसद् अधिवेशनमै नदीजन्य पदार्थ उत्खनन, प्रशोधन र बिक्रीसम्बन्धी विधेयक पेस हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए ।

मस्यौदामा पहिचान भएका वा सिमाना निर्धारण गरिएको क्षेत्रभन्दा बाहिर निर्माणमुखी खनिज पदार्थको उत्खनन र संकलन गरिए क्रसर सञ्चालकलाई ५ वर्षसम्म कैद वा १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । स्वीकृत वातावरणीय अध्ययन प्रतिकूल र निषेध गरिएका क्षेत्रमा उत्खनन भए पनि सोही सजाय प्रस्ताव गरिएको छ । मस्यौदामा अवैध उत्खननलाई मुलुकी फौजदारी कार्यविधि संहिताको अनुसूची १ मा राख्न प्रस्ताव गरिएको छ ।

अनुमति नलिई निर्माणमुखी सामग्री उत्खनन, संकलन, प्रशोधन वा बिक्री गरेमा, पूर्वसावधानी नअपनाई उत्खनन वा संकलन, ढुवानी, स्थानीय तहमा दर्ता नगराई उद्योग सञ्चालन गरेमा र मापदण्ड र सर्त पालना नभएमा तीन वर्षसम्म कैद र ७ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने मस्यौदामा उल्लेख छ ।

श्रममूलक प्रविधि प्रयोग, निर्माणमुखी सामग्री ढुवानी र उत्खनन वा संकलनको परिमाणात्मक नियन्त्रणसम्बन्धी तोकिएका सर्त र बन्देज पालना नगरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रस्ताव गरिएको छ । स्थानीय तहले कारबाही गर्ने, रोक्का राख्ने वा आदेश दिनेबाहेक अन्य विषयसँग सम्बन्धित कसुरमा नेपाल सरकार वादी भएर अदालतमार्फत मुद्दा चलाइने उल्लेख छ । त्यस्तो कसुरसँग सम्बन्धित मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची–१ मा समावेश भएको मानिने गरी प्रस्ताव गरिएको छ । यो सूचीमा परेका कसुरलाई गम्भीर प्रकृतिको मानिन्छ ।

अवैध क्रसरलाई शक्तिकेन्द्रकै आड

सर्वोच्च अदालतले गत साउन ९ मा सरकारलाई आदेश दिँदै प्राकृतिक स्रोतसाधन दोहनलाई कानुन बनाएर नियन्त्रण गर्न भनेको थियो । नदीजन्य पदार्थको अवैध उत्खननबाट वातावरणमा परेको असरसम्बन्धी रिटमा २०७७ चैत ९ मा सर्वोच्चले ‘नदी र खोलामा बालुवा, रोडा, गिट्टी र ढुंगा उत्खनन गर्ने कार्य र त्यससँग सम्बन्धित बालुवा प्रशोधन र क्रसरलाई बढी नियन्त्रण गर्ने र वातावरणको क्षेत्रलाई संरक्षण गर्न संवेदनशील भई विशेष ध्यान पुर्‍याउनुपर्ने’ भनेको थियो । तर, पालना भएको थिएन ।

२०७९ साउन ९ मा फेरि सर्वोच्चले त्यही आदेशका विषय समेटेर कानुन बनाउन भनेको थियो । त्यसपछि अदालतको अवहेलना हुने डरले कानुनको मस्यौदा बनाउन सरकार बाध्य भएको हो ।

हाल देशभर ६ हजारभन्दा बढी क्रसर उद्योग रहे पनि अधिकांश दर्ताबिनै चलिरहेका छन् । विगतमा दर्ता भएका क्रसर पनि २०७२ को विनाशकारी भूकम्पयता नवीकरण नगरी निर्बाध सञ्चालनमा छन् । अवैध क्रसर सञ्चालकबाट नाजायज लाभ लिने र तिनलाई संरक्षण दिनेमा प्रहरी, प्रशासन, स्थानीय तह, राजनीतिक दलका नेता/कार्यकर्ता छन् । जसका कारण सरकारले नै यस्ता क्रसरलाई कानुनी दायरामा ल्याउन सकेको छैन ।

पछिल्लो समय पुस २० मा गृह मन्त्रालयले देशभरका अवैध क्रसर बन्द गराउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएकोमा शुक्रबारसम्म साढे ६ सय उद्योग बन्द भइसकेका छन् । विगतमा पनि यस्तै आदेशका भरमा बन्द गरिएका क्रसर मिलेमतोमा पुनः सञ्चालन भएका थिए । यस पटक भने संघीय मामिला मन्त्रालय आफैं अग्रसर भएर कानुनको मस्यौदा गरेको हो ।

मस्यौदा तयार गर्नुअघि गृह, भौतक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेशका विभिन्न मन्त्रालय, स्थानीय तह तथा जिल्ला समन्वय समितिका प्रतिनिधिलगायतबाट सुझाव लिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले बताए । ‘अहिले देशभर अवैध रूपमा सञ्चालित क्रसरलाई व्यवस्थित गर्न एवं अनियन्त्रित रूपमा भइरहेको प्राकृतिक स्रोतसाधनको दोहन र राजस्व चुहावट नियन्त्रण गर्न छुट्टै कानुन आवश्यक भएकाले मस्यौदा बनाएका हौं,’ मन्त्रालयका प्रवक्ता तामाङले भने, ‘यसलाई चालु अधिवेशनमै विधेयकका रूपमा पेस गर्ने योजना छ । प्रस्तावित कानुन लागू भयो भने अनियन्त्रित दोहन रोक्न सकिन्छ ।’

आवश्यकताका आधारमा कानुनको मस्यौदामा कडा प्रावधान राखिएको उनले बताए । ‘तोकिएको कानुनअनुसार व्यवसाय सञ्चालन गर्नेलाई सहज हुने प्रक्रियामा मन्त्रालयले भूमिका निर्वाह गर्छ,’ उनले भने, ‘तर अवैध गतिविधि नियन्त्रणमा सरकार कठोर बन्छ । हामीले अर्थमा पठाएको मस्यौदामा पनि यिनै विषय समेटिएका छन् ।’ उनका अनुसार निर्माण व्यवसायीले पनि कानुन उल्लंघन भए जरिवानाको व्यवस्था राख्न उचित हुने सुझाव दिएका छन् । मस्यौदामा नदीजन्य पदार्थको उत्खनन, प्रशोधन, मापदण्ड पालना भए/नभएको अनुगमन, नियमनलगायतलाई प्रभावकारी रूपमा लागू गर्न तीन तहका संयन्त्रबाट हेर्ने प्रस्ताव गरिएको छ ।

अहिले जिल्लास्तरमा मात्रै अनुगमन र नियमन गर्ने संयन्त्र रहेकोमा अब संघ सरकारअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव संयोजक रहेको, गृह, सुरक्षा निकाय, सरोकारवाला मन्त्रालयलगायत अधिकारी सम्मिलित केन्द्रीय संयन्त्र रहने प्रस्ताव छ ।

त्यस्तै प्रदेशस्तरमा प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा प्रदेशका सुरक्षा निकायका प्रमुख, सरोकारवाला मन्त्रालयका प्रतिनिधि रहने प्रादेशिक संयन्त्र र जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा संयन्त्र राख्ने भनिएको छ ।

समन्वय, सहजीकरण, अनुगमन तथा निरीक्षण गर्न ‘केन्द्रीय समन्वय तथा सहजीकरण समितिको प्रस्ताव गरिएको छ । संघीय मामिला मन्त्रालयका सचिव संयोजक रहेको यो समितिमा गृह, उद्योग वाणिज्य तथा आपूर्ति, वन, भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव र प्रदेशका भौतिक पूर्वाधार सचिव सदस्य र संघीय मामिलाका सहसचिव सदस्यसचिव रहने छन् ।

त्यस्तै प्रदेश सरकारका प्रमुख सचिवको संयोजकत्वमा ‘प्रदेश समन्वय तथा सहजीकरण समिति’ रहने प्रस्ताव छ । यो संयन्त्रमा प्रदेशका वातावरण, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, प्रदेश प्रहरी प्रमुख, प्रदेशका वन निर्देशनालय प्रमुख र मुख्यमन्त्री कार्यालयका सचिव रहने छन् । प्रजिअ संयोजक रहेको जिल्ला अनुगमन समितिमा सम्बन्धित स्थानीय तहका प्रतिनिधि, प्रहरी र सशस्त्रका जिल्ला प्रमुख, वन, संयोजकले तोकेका एक इन्जिनियर र जिल्ला समन्वय अधिकारी रहने प्रस्ताव छ ।

हाल ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७’ अनुसार जिल्ला तहमा नदीजन्य वस्तुको उत्खनन मापदण्डअनुसार भए/नभएको अनुगमन/नियमन गर्न जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा संयन्त्र छ । तर, स्थानीय तहका पदाधिकारीसँग मिलेर जिसस प्रमुखले नै दोहनलाई प्रश्रय दिएको उजुरी आएपछि सरकारले संयन्त्रको नेतृत्व संघीय सरकारको प्रतिनिधिका रूपमा रहेको प्रजिअलाई प्रस्ताव गरिएको छ ।

कानुनमा तोकिएका सर्त र बन्देजको उल्लंघन गरेमा नदी उत्खननमा प्रयोग हुने यन्त्र, उपकरण तथा ढुवानीका साधन नियन्त्रणमा लिन सक्ने पनि प्रावधान समेटिएको छ । त्यसका लागि जिल्लास्थित प्रजिअ नेतृत्वको संयन्त्रले कारबाही गर्न सक्छ । ‘प्रमुख जिल्ला अधिकारीले यस ऐनको प्रतिकूल हुने गरी कसैले निर्माणमुखी सामग्रीको उत्खनन, संकलन, प्रशोधन, बिक्री वा ओसारपसारसम्बन्धी कार्यमा प्रयोग गरेको यन्त्र, औजार, यान्त्रिक उपकरण वा ढुवानीको साधन वा निर्माणमुखी सामग्री आफ्नो नियन्त्रणमा लिन सक्नेछ,’ मस्यौदामा छ ।

त्यसरी नियन्त्रणमा लिइएका औजार, साना उपकरण वा ढुवानी साधन भए एक लाख रुपैयाँसम्म र भारी यन्त्र, उपकरण वा सवारीसाधन भए पाँच लाख रुपैयाँसम्म जरिवाना गराएर सम्बन्धित धनीलाई फिर्ता दिन सक्ने अधिकार पनि प्रजिअलाई दिने प्रस्ताव गरिएको छ ।

त्यतिमात्र होइन, नदीजन्य पदार्थको अवैध उत्खनन र दोहन नियन्त्रण गर्न संघीय सरकारले सुराकीसमेत परिचालन गर्न सक्ने प्रस्ताव गरेको छ । ‘कसैले ऐनको प्रतिकूल हुने गरी अनुमतिपत्र वा सञ्चालन अनुमतिपत्र प्राप्त नगरी निर्माणमुखी सामग्री उत्खनन, संकलन, प्रशोधन वा बिक्री गरेको वा चोरी गरी ढुवानी गरेको वा गर्न लागेको सुराकी वा सूचना दिएमा त्यस्तो सुराकी वा सूचना दिनेलाई जफत गरिएको सामग्री बिक्रीबाट आउने निश्चित रकमसहित पुरस्कृत गरिनेछ,’ मस्यौदामा छ ।

ऐनले नदीजन्य पदार्थ उत्खनन गर्दा त्यसबाट आउने राजस्वको १० प्रतिशत वातावरणलगायत संरक्षणमा खर्च गरिने प्रस्ताव छ । त्यसबाट बचेको रकम संघ, प्रदेश र स्थानीय तहलाई प्रतिशत निर्धारण गरेर बाँडफाँट गर्नुपर्ने मस्यौदामा उल्लेख छ । सरकारले सम्बन्धित प्रदेश सरकारसँग परामर्श गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर राष्ट्रिय सुरक्षा, सार्वजनिक हित, धार्मिक, सांस्कृतिक ऐतिहासिक पर्यटकीय वा सौन्दर्यपरक महत्त्वको दृष्टिले संवेदनशील मानिएका, भौगर्भिक अवस्था संवेदनशील भएका कुनै क्षेत्रमा निर्माणमुखी सामग्री उत्खननमा निषेध गर्न सक्ने उल्लेख छ ।

प्रकाशित : पुस ३०, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्

अवैध क्रसरलाई शक्तिकेन्द्रकै आड

गृह मन्त्रालयको निर्देशनपछि ६ सय ३५ अवैध क्रसर उद्योगमा ताला, त्यति नै संख्यामा निर्बाध
मातृका दाहाल, ऋषिराम पौड्याल

काठमाडौँ — गृह मन्त्रालयले अवैध क्रसर उद्योग बन्द गर्न ७७ वटै जिल्ला प्रशासन र प्रहरीलाई निर्देशन दिएको एक सातामा ६ सय ३५ उद्योगमा ताला लागेको छ, त्यति नै संख्यामा अवैध क्रसर निर्बाध सञ्चालन भइरहेका छन् । अवैध क्रसर सञ्चालन गर्न दिने र त्यसबाटै नाजायज लाभ लिनेमा दलका नेता, प्रशासन, प्रहरी र स्थानीय तहका पदाधिकारी अगाडि छन् ।

कानुनविपरीत गतिविधि नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी–प्रशासनलाई सदैव अधिकार भए पनि दुवै निकायले यस विषयमा अनदेखा गर्छन् । अवैध क्रसरलाई कारबाही गर्न केन्द्रबाटै प्रयास भए पनि व्यापारीकै दबाब र प्रभावमा रोकिने गरेको छ ।

२०७१ चैतमा सिन्धुपाल्चोकका तत्कालीन स्थानीय विकास अधिकारी युवराज कट्टेल सुनकोसी नदी किनारमा सञ्चालित क्रसर अनुगमनमा निस्किए । अनुगमनका क्रममा अरनिको राजमार्गसँगै सार्वजनिक जग्गा अतिक्रमण गरी इन्द्ररत्न क्रसर उद्योग सञ्चालन गरेको भेटियो । सदरमुकाम चौतारा फर्किएका उनले जिल्ला विकास समितिका अधिकृत गोकुल बस्नेतलाई सुरक्षाकर्मीको टोलीसहित क्रसरमा ताला लगाउन पठाए ।

राजनीतिक दबाबमा क्रसर खुलाउन व्यापारीले चलखेल गरे । त्यसको केही दिनमै मुख्यसचिव लीलामणि पौडेलले ताला लगाएको विषयमा कट्टेलसँग जवाफ मागे । कानुनविपरीत क्रसर चलाएको भन्दै ताला नखोल्ने अडान कट्टेलले लिएपछि पौडेलले साथ दिए । त्यसपछि कट्टेलविरुद्ध क्रसर सञ्चालक अख्तियार पुगे । अख्तियार प्रमुख थिए– लोकमानसिंह कार्की । कार्कीकै आदेशमा अख्तियारले ताला खोल्न कट्टेललाई पत्र पठायो । उनले पुरानै अडान दोहोर्‍याए । केही महिनामै उनको सरुवा भयो । सर्वदलीय बैठकले क्रसर खोल्ने निर्णय गर्‍यो । त्यसपछि क्रसर निर्बाध सञ्चालन भइरहेको छ ।

२०७१ मा सिन्धुपाल्चोकमा अवैध क्रसरलाई कारबाही गर्दा सरुवामा परेका कट्टेल २०७४ मा नवलपरासीको स्थानीय विकास अधिकारी हुँदा पनि क्रसर व्यवसायीकै दबाबमा सरुवा भए । नवलपरासीमा उनले २१ क्रसरलाई राजस्व हिनामिनाको कसुरमा १२ करोड जरिवाना मागदाबीसहित अदालतमा मुद्दा दर्ता गरेका थिए । मुद्दा दर्ता गरेर फर्किएका कट्टेललाई कार्यालय नपुग्दै प्रधानमन्त्री कार्यालयले संघीय मामिला मन्त्रालयबाट वन मन्त्रालयमा सरुवा गरेको थियो ।

सर्लाहीको धनकौलमा सञ्चालित क्रसर । तस्बिर : कान्तिपुर

नदीजन्य वस्तुको अवैध उत्खनन रोक्न र योसम्बन्धी कानुन बनाउन सर्वोच्च अदालतले सरकारलाई दिएको आदेश पालना भएको छैन । २०७७ चैत ९ मा सर्वोच्चले भनेको थियो, ‘बालुवा, रोडा, गिट्टी र ढुंगाको उत्खनन गर्ने कार्यलाई नियन्त्रण र वातावरण संरक्षण गर्न संवेदनशील भई विशेष ध्यान पुर्‍याउन आदेश जारी गरिन्छ ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव रुद्रसिंह तामाङले नदीजन्य पदार्थको दोहन नियन्त्रण गर्न र व्यवस्थित रूपमा उत्खनन गर्न कानुन निर्माण गर्न लागिएको बताए । ‘नदीजन्य पदार्थको अवैध उत्खनन र दोहन रोक्न छुट्टै कानुन आवश्यक देखियो,’ तामाङले कान्तिपुरसँग भने, ‘त्यसका लागि विधेयकको मस्यौदा बनाएर सैद्धान्तिक सहमतिका लागि अर्थमा पठाइएको छ ।’

नयाँ सरकार बनेपछि गृहले पुस २० मा देशभरका अवैध क्रसर उद्योग बन्द गर्न र त्यसको विवरण पठाउन निर्देशन दिएको थियो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले नदी तथा खोलाबाट कानुनविपरीत ढुंगा, गिट्टी, बालुवा उत्खनन र प्रशोधन गर्ने १ हजार २ सय १ क्रसर उद्योगको सूची आएको बताए । ‘त्यसमध्ये ६ सय ३५ वटा बन्द गरिएको छ । दर्ता नभएका, नवीकरण नगरिएका, वातावरणीय कानुनअनुसार सञ्चालन नभएका र सरकारी/सार्वजनिक जग्गा ओगटेर राखिएका क्रसर बन्द गर्न निर्देशन दिइएको छ,’ उनले भने, ‘आनाकानी गरेमा ज–जसले संरक्षण दिएका छन्, उनीहरूमाथि कारबाही हुन्छ । यसमा कुनै पनि किसिमको मोलाहिजा हुँदैन ।’

प्रवक्ता पोखरेलका अनुसार बिहीबार बेलुकासम्म ७७ वटै जिल्ला प्रशासनबाट आएको विवरणअनुसार प्रदेश १ का १ सय ५ क्रसरमध्ये ३२ वटा मात्रै बन्द भएका छन् । त्यसबाहेक विभिन्न आयोजनाका नाममा सञ्चालित क्रसरको संख्या ३२ छ । मधेस प्रदेशका १ सय ३४ क्रसरमध्ये अवैध १ सय ९ वटालाई खनिज उत्खननमा रोक लगाइएको छ ।

सबैभन्दा बढी अवैध क्रसर वाग्मती प्रदेशमा छन् । वाग्मतीमा ५ सय ८८ क्रसरमध्ये अवैध ३ सय २७ वटा बन्द गरिएका छन् । त्यसबाहेक आयोजना र स्थानीय तहबाट ६० वटा क्रसर चलिरहेका छन् । गण्डकीमा ८८ अवैध क्रसरमध्ये ४७ वटा बन्द गराइएको छ । आयोजनाका नाममा गण्डकीमा थप १३ वटा क्रसर चलिरहेका छन् । लुम्बिनीका अवैध १ सय ३ क्रसरमध्ये १ सय १ वटालाई बन्द गरिएको छ ।

आयोजनाका नाममा लुम्बिनीका विभिन्न जिल्लामा ७ वटा सञ्चालित छन् । कर्णालीका ४४ अवैध क्रसरमध्ये ८ वटामात्रै बन्द भएका छन् । कर्णालीमा आयोजनामार्फत १३ क्रसर सञ्चालनमा छन् । सुदूरपश्चिमका अवैध ३९ मध्ये गृहको पछिल्लो निर्देशनपछि १२ वटा बन्द गरिएको छ । आयोजनामार्फत १३ वटा सञ्चालित छन् । कानुनविपरीत सञ्चालित सबै क्रसरलाई कारबाही गरिने प्रवक्ता पोखरेलले बताए ।

क्रसर र खानीजन्य उद्योग सञ्चालन गर्न खानी भूगर्भ विभागबाट स्वीकृति लिई स्थानीय तहमा दर्ता गराउनुपर्छ । उद्योग सञ्चालन गर्दा कम्तीमा २० रोपनी जग्गा हुनुपर्छ । उद्योग सञ्चालनअघि वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गरिएको छ । चुरे क्षेत्रमा त यस्ता उद्योग सञ्चालन गर्नै पाइँदैन ।

खानी तथा खनिजजन्य पदार्थ उत्खननसम्बन्धी मापदण्ड–२०७७ अनुसार घना बस्ती र वन क्षेत्रको दुई किलोमिटर, राजमार्गको ५ सय मिटर दूरीभित्रको नदी, सडक/पुल र झोलुंगे पुलको १ किमि तल र ५ सय मिटरमाथि उत्खनन गर्न नपाइने उल्लेख छ । त्यतिमात्र होइन, नदीजन्य पदार्थ उत्खनन गर्दा जलचरको जीवन पद्धतिमा असर पुग्ने काम गर्न पाइँदैन । तर, सार्वजनिक र सरकारी जग्गा ओगट्नेदेखि उत्खनन गरिएको पदार्थको वास्तविक परिमाण नै लुकाएर गैरकानुनी लाभ लिने क्रम रोकिएको छैन । प्रशासन र अनुगमन/नियमन गर्ने कर्मचारीले अवैध क्रसर बन्द गराउँदा उल्टै सरुवा भएका छन् ।

सुर्खेतमा बालुवा प्रशोधन र सिमेन्ट ब्लक निर्माण गर्नका लागि स्थापित एक क्रसर उद्योग । तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर

त्यस्तै सर्वोच्चले ‘मापदण्ड निर्देशिका २०७७ मा उल्लेखित क्रसर उद्योगको दूरीका सम्बन्धमा गम्भीर रूपमा पुनर्विचार गरी कार्यान्वयन गर्न निर्देशनात्मक आदेश दिएको थियो । त्यस आदेशमा भनिएको छ, ‘अवैध रूपमा सञ्चालित बालुवा प्रशोधन र क्रसर उद्योगलाई कानुनी प्रक्रिया अपनाएर बन्द गर्न लगाउने र मापदण्ड पूरा नगरी वैध रूपमा सञ्चालनमा रहेका त्यस्ता उद्योगलाई एक पटकलाई निश्चित समय अवधि दिएर मापदण्ड पूरा गर्न लगाउने ।’ सर्वोच्चले नदी तथा खोलामा क्रसरका एक्स्काभेटर, ट्र्याक्टर, जेसीबी र टिपरलाई प्रवेश नदिन आदेश दिएको थियो ।सर्वोच्चले आदेश अवज्ञा गर्ने उद्योगको दर्ता नै खारेज गर्न आदेश दिएको थियो तर न आदेश पालना भएको छ, न अवैध उद्योग बन्द गरिएको छ । नदी दोहन मात्र होइन, वातावरण संरक्षणमा पनि यसले थप जोखिम निम्त्याएको छ ।

२०७७ कात्तिक तेस्रो साता अवैध क्रसर/खानीजन्य उद्योग बन्द गराउन र नवीकरण नगरी सञ्चालनमा रहेकालाई कानुनी दायरामा ल्याउन विभिन्न मन्त्रालयका मन्त्री र सचिवको बैठकले निर्णय गरेको थियो । तत्कालीन गृहमन्त्री रामबहादुर थापासहितको बैठकले १५ दिनभित्र त्यस्ता क्रसर र खानी उद्योग बन्द गराउने निर्णय गरेको थियो । त्यही बैठकले ७७ वटै जिल्लामा सञ्चालित ढुंगा, गिट्टी, बालुवा तथा खानीजन्य उद्योगको संख्या, मापदण्ड पालना गरे/नगरेको तथा दर्ता भए/नभएको यकिन विवरण सात दिनभित्र पठाउन पनि प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको थियो । बैठकले ‘बिनादर्ता सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गर्ने/गराउने’ निर्णय गरेको थियो ।

त्यसअघि २०७६ माघ १३ मा पनि ढुंगा, गिट्टी, बालुवाको उत्खनन/प्रशोधन तथा बिक्रीवितरण मापदण्डअनुसार भए/नभएको अनुगमन गर्न तत्कालीन गृहमन्त्री थापाकै अध्यक्षतामा ५ सदस्यीय समिति बनेको थियो । समितिको प्रतिवेदनका आधारमा २०७७ साउन ५ मा मन्त्रिपरिषद्ले ‘ढुंगा, गिट्टी तथा बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७’ पारित गरेको थियो । मन्त्रिपरिषद्कै निर्णयअनुसार १५ दिनभित्र खानी उद्योग सञ्चालनबारेको अद्यावधिक प्रतिवेदन बनाएर मन्त्रिपरिषद्मा पेस गर्न संघीय मामिला मन्त्रालयलाई निर्देशन दिइए पनि त्यसअनुसार कुनै काम भएन ।

देशभर ६ हजारभन्दा बढी क्रसर प्रशोधन उद्योग रहे पनि डेढ सयभन्दा कम मात्रै दर्ता गरी सञ्चालनमा रहेकाले अवैधलाई बन्द वा जरिवाना तिराएर कानुनको दायरामा ल्याउनुपर्ने सुझाव ३ वर्षअघि सरकारद्वारा गठित सरकारी समितिको प्रतिवेदनले दिएको थियो । तर, प्रतिवेदन कार्यान्वयन त परको कुरा, वन र नदीनालाको सौन्दर्य नै सखाप पारेर दोहन गर्ने प्रवृत्ति बढेको छ । ठेकेदार, जनप्रतिनिधि, गुन्डा तथा शक्तिकेन्द्रसँग निकट रहेका व्यक्तिकै मिलेमतोमा सर्त, मापदण्ड र बिनादर्ता अवैध उत्खनन तथा दोहन भइरहेको छ ।

प्रकाशित : पुस २९, २०७९ ०७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×