१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अधीर भूसाल

माधव नेपाललगायत नेताले नयाँ पार्टी खोलेर विद्रोह गरौं भन्दा घनश्याम भूसालले स्विकारेन् । बरु दसबुँदे सहमति गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्व स्विकारे । गत चुनावमा तिनै ओलीले टिकट नदिएपछि स्वतन्त्र वामका रुपमा रहने भन्दै तत्कालीन सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बने । तर चुनाव हारेको दुई महिना नपुग्दै भूसाल विगतमा आफैंले अस्वीकार गरेको पार्टी एकीकृत समाजवादीको प्रांगणमा ओत लाग्न आइपुगेका छन् । जसले बौद्धिक इमानदार वाम नेताको छवि भएका भूसालभित्र बढ्दै गएको अधीरता झल्काउँछ ।
मणि दाहाल

काठमाडौँ — आमनिर्वाचनमा अपेक्षाकृत परिणाम हासिल गर्न नसकेपछि मुर्झाएको नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरू काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रम उत्साहित देखिन्थे । नयाँ वानेश्वरको एक होटलमा आयोजित कार्यक्रममा गत चुनावअघि नेकपा एमाले छाडेर बसेका नेता घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै थिए । 

अधीर भूसाल

पत्रकार सम्मेलन कार्यकर्ताहरूले खचाखच भरिएको थियो । कार्यक्रमपछि कार्यकर्ताले मोटर साइकल र्‍याली गर्दै भूसाललाई तीनकुनेस्थित पार्टी कार्यालय पुर्‍याए ।

चुनाव अघि र पछि नेता भूसालले अन्तर्वार्ताहरूमा स्वतन्त्र रुपमा वाम आन्दोलनलाई अघि बढाउने बताउँदै आएका थिए । तर चुनाव सकिएको २ महिनामै उनी एकीकृत समाजवादीतर्फ लागेका छन् ।

वैचारिक रुपमा आफू नेकपाकालीन अवस्थामा रहेको भन्दै आएका भूसालले पछिल्लो समयमा एमाले र माओवादी केन्द्र भन्दा एकृकीत समाजवादीले लिएको धारणा ठिक रहेको निश्कर्षमा पुगे । त्यही आफ्नो एकल निश्कर्षको आधारमा शुक्रबार एकीकृत समाजवादी प्रवेश गरे ।

एमाले विभाजन हुनु गलत भएको भन्दै डेढ वर्षअघि भूसालले एकीकृत समाजवादी पार्टी निर्माण गर्ने माधव नेपाल लगायतका नेताहरूको कदमको विरोध गरेका थए । नेपाल लगातका नेताहरूले नयाँ पार्टीमा समाहित हुन जोडबल गर्दा उनले अस्वीकार गरेका थिए ।

बरु भूसाल लगायतका नेताहरू दस बुँदे सहमति गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्व स्वीकार्न तयार भए । तर अहिले भूसालले ओलीले आन्तरिक लोकतन्त्रलाई समाप्त पारेको आरोप लगाउँदै पार्टी छोडेर चुनावी चक्कर मार्दै एकीकृत समाजवादीको प्रांगणमा आइपुगेका छन् ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा भूसालले एमाले छाडेर स्वतन्त्र रुपमा रुपन्देही १ बाट उम्मेदवारी दिए । पार्टीले टिकट नदिने भएपछि उनले अन्तिम समयमा पार्टी छोडेका थिए । उनले स्वतन्त्र बाम भन्दै उम्मेदवारी दिए । उनको उम्मेदवारीलाई तत्कालीन पाँच दलीय सत्तारुढ गठबन्धनले समर्थन गरेको थियो । तर उनी एमालेका उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भए ।

वैचारिक नेताको रुपमा रहेका भूसालको पार्टीभित्र राजनीतिक रुपमा छवि भने विपक्षीको रुपमा रहँदै आएको छ । तर पछिल्लो समय उनले छिटो छिटो लिएका राजनीतिक निर्णयहरुले भने उनको अधैर्यतालाई झल्काएको छ ।

तत्कालीन मालेमा हुँदा सुरु गरेको तेस्रो धारदेखि साढे चार दशकदेखि संलग्न रहँदै आएको पार्टी छाड्नेसम्मको निर्णयले उनको अधीरता संकेत देखाएको छ ।

२०७७ साल फागुन २३ मा सर्वोच्चअदालतको फैसालपछि एमालेभित्र विवाद हुँदा चैतको पहिलो साता नेपाल पक्षले ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो । जसको राजनीतिक दस्तावेज भूसालले नै तयार पारेका थिए । जसले एमालेमा फर्किनका लागि पार्टी संगठनलाई २०७५ जेठ ३ मा फर्काउनु पर्ने सर्त अघि सारेको थियो । तर विवाद अघि बढ्दै जाँदा भूसालसहितका १० नेताहरुले १० बुँदे सहमति गरेर एमालेमै रहे ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पनि सञ्चारकर्मीहरुले सो विषयमा प्रश्न गरेका थिए । उनले लड्न सकिन्छ कि भनेर एमालेमा गएको र त्यो लागू गर्न लडेको बताए ।

‘मैले पार्टीको एकता जोगाउन र त्यस पार्टीलाई एकीकृत नै राखेर सुधार्न मैले प्रत्यन्न गरे, म केमा सफल र केमा असफल भएँ भन्ने अर्को कुरा हो । दस बुँदे सहमति हुँदा पनि १० जना साथीहरुसँग भएको कुरा पनि त्यहाँ लड्न जाने हो हाम्रो निर्णय र समझदारी थियो,’ भूसालले भने । मैले सार्वजनिक रुपमा के कसम आएको थिएँ त्यो काम गरेर आएको छु । सार्वजनिक रुपमा प्रतिबद्धता अनुसार नै लडेँ ।’

स्थानीय चुनावमा भन्दा प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा खराब प्रदर्शन गरेको एकीकृत समाजवादीले ३ प्रतिशत थ्रेसहोल्ड पनि कटाउन नसकेकाले राष्ट्रिय पार्टी बन्न सकेको छैन । त्यसैले प्रतिनिधिसभातर्फ १० स्थान जितेको एकीकृत समाजवादीको भविष्य के हुने भन्ने चर्चा चलिरहेको छ ।

‘शक्तिको हिसाबले सबैभन्दा कमजोर र अफ्ठ्यारो अवस्थामा एकीकृत समाजवादी भएपनि वैचारिक रुपमा ठिक ठाउँमा छ,’ भूसालले इकान्तिपुरसँग भने, ‘वैचारिक रुपमा ठिक हुँदा सानो दल पनि ठूलो भएको र ठूलो दल पनि सानो भएको भएको इतिहास छ । एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले यो कुरालाई राम्रोसँग बुझ्छन् वा बुझ्दैनन् भन्ने विषयले यसको भविष्य निर्माण गर्ने छ’ उनले भने ।

भूसालले तयार पारेको 'कम्युनिष्ट पार्टीको एकीकरण, रुपान्तरण र एकीकरणका लागि प्रस्ताव नामको 'दस्तावजेमा नेकपा विभाजनपछि एमाले र माओवादी केन्द्रले दुवै पार्टीले इतिहासलाई आफ्नो आधारमा संकीर्णतामा व्याख्या गर्न थालेको बताएका छन् । उनले एकीकृत समाजवादी इतिहासको जडताबाट मुक्त भएर वैचारिक विषयमा छलफल गर्ने ठाउँमा रहेको बताएका छन् ।

'नेकपा विभाजित भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताइए पछि ती दुवै पार्टीले इतिहासलाई आआफ्ना संकीर्णतामा व्याख्या गर्न थालेका छन्' उनले भनेका छन्, 'तर नेकपा (एकीकृत समाजवादी) इतिहासका ती जडताबाट मुक्त भई इतिहासको व्याख्या गर्न सक्ने ठाउँमा उभिएको छ ।'

उनले एमाले र माओवादी केन्द्रलाई वैचारिक रुपमा नेकपाकालीन अवस्था नफर्की सुख नभएको बताएका छन् ।

'नेकपा एमाले नवौं महाधिवेशनभन्दा पनि पछाडि फर्केर जनताको बहुदलीय जनवादलाई २०४७ सालको संविधानको वरिपरी कैद गर्न पुगेको छ । अर्कोतर्फ नेकपा माओवादी केन्द्रले समाजवादी कार्यदिशा त लिएको छ तर मार्गनिर्देशक सिद्धान्तमा ‘माओवाद’ नै कायम राखेर सैद्धान्तिक गञ्जागोलमा फसेको छ, पछाडि फर्केको छ,’ भूसालले लेखेका छन् ‘नेकपा (एकिकृत समाजवादी) सैद्धान्तिकरुपमा अहिले पनि नेकपा कै विन्दुमा छ, पार्टी एकताको दस्तावेजमा उल्लेख भएको समाजवादी कार्यदिशामा स्पष्ट छ । कुनै दिन नेपालको कम्युनिष्ट आन्दोलन फेरि एकीकृत हुँदा अहिले नेकपा (एकीकृत समाजवादी) कायम रहेको सैद्धान्तिक विन्दुमा नफर्किकन सुखै छैन ।'

साढे ४ दशकदेखि राजनीतिमा सक्रिय रहेका भूसालले प्रतिनिधिसभा चुनावको मनोनयनको अघिल्लो दिन मात्रै एमाले परित्याग गरेका थिए । एमाले छाड्दा उनी एमालेको स्थायी कमिटीका सदस्य रहेका थिए । नवौं महाधिवेशनमा भने उप-महासचिवमा निर्वाचित भएका थिए ।

२०७८ भदौ २ मा एमालेबाट नेकपा एकीकृत समाजवादी विभाजित हुँदा भ”साललाई आफ्नोतर्फ पार्न जोड गरेका थिए । तर उनी गएनन् ।

एमाले अध्यक्ष ओलीसँग वैचारिक रुपमा फरक कित्तामा रहँदै आएका उनले दशौं महाधिवेशनमा उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । तर उपाध्यक्षमा पराजित भएपनिकेन्द्रीय सदस्यमा निर्वाचित भएका भूसाललाई एमालेको स्थायी कमिटी सदस्य बनाएको थियो । त्यसपछि उनलाई अर्थ तथा योजना विभागको प्रमुखको जिम्मेवारी पनि एमालेले दिएको थियो ।

२०३५ सालमा तत्कालीन नेकपा मालेमा संगठित हुँदा भूसाल हाइस्कुलका विद्यार्थी थिए । जनवर्गीय संगठन अनेरास्ववियुमा रहेर उनले २०४८ सालसम्म विद्यार्थी राजनीति गरे । उनी अनेरास्ववियुमा महासचिवसम्म बने । अधिकांश समय संस्थापनइतर समूहमा रहेर प्रश्न गर्दै आएका उनले अनेरास्ववियुको अध्यक्ष बन्ने अवसर भने पाएनन् । एमालेभित्र उनको राजनीति उतारचढावपूर्ण रह्यो । लामो समयसम्म पार्टीमा जिम्मेवारीबाट विमुख रहँदा पनि उनले पार्टी छाडेका थिएनन् । भूसाल २०५२ सालमा उपनिर्वाचन जितेर प्रतिनिधिसभा सदस्य बनेका थिए । २०५४ सालको विभाजनपछि उनी मालेतर्फ लागे । २०५८ सालमा वामदेव गौतमको नेतृत्वमा एमालेमा फर्के पनि उनले खासै जिम्मेवारी प्राप्त गर्न सकेका थिएनन् । २०६२–६३ को आन्दोलनपछि पार्टी राजनीतिमा उनले प्रभाव पारे । आठौं महाधिवेशनमा तत्कालीन महासचिव झलनाथ खनालको राजनीतिक प्रतिवेदनमा पूरक प्रस्ताव ल्याउन भूसालले नेतृत्व गरेका थिए । सो प्रस्तावले २००६ सालपछिको कम्युनिस्ट पार्टीभित्रको नयाँ ‘डिस्कोर्स’ सुरु गर्‍यो ।

कम्युनिस्ट पार्टीले नेपालको राजनीतिक आर्थिक अवस्थालाई अर्ध सामन्ती र अर्ध औपनिवेशिक भनेर व्याख्या गर्दै आएको थियो । तर नवौं महाधिवेशनले २०६२–६३ सालको आन्दोलनपछि देश प्रारम्भिक चरणको पुँजीवादी अवस्थामा प्रवेश गरेको निश्कर्ष निकाल्यो । जुन निश्कर्षको प्राधिकार भूसालसँग छ ।

प्रकाशित : पुस २९, २०७९ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?