अवैध क्रसरलाई शक्तिकेन्द्रकै आड- समाचार - कान्तिपुर समाचार

अवैध क्रसरलाई शक्तिकेन्द्रकै आड

गृह मन्त्रालयको निर्देशनपछि ६ सय ३५ अवैध क्रसर उद्योगमा ताला, त्यति नै संख्यामा निर्बाध
मातृका दाहाल, ऋषिराम पौड्याल

काठमाडौँ — गृह मन्त्रालयले अवैध क्रसर उद्योग बन्द गर्न ७७ वटै जिल्ला प्रशासन र प्रहरीलाई निर्देशन दिएको एक सातामा ६ सय ३५ उद्योगमा ताला लागेको छ, त्यति नै संख्यामा अवैध क्रसर निर्बाध सञ्चालन भइरहेका छन् । अवैध क्रसर सञ्चालन गर्न दिने र त्यसबाटै नाजायज लाभ लिनेमा दलका नेता, प्रशासन, प्रहरी र स्थानीय तहका पदाधिकारी अगाडि छन् ।

कानुनविपरीत गतिविधि नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी–प्रशासनलाई सदैव अधिकार भए पनि दुवै निकायले यस विषयमा अनदेखा गर्छन् । अवैध क्रसरलाई कारबाही गर्न केन्द्रबाटै प्रयास भए पनि व्यापारीकै दबाब र प्रभावमा रोकिने गरेको छ ।

२०७१ चैतमा सिन्धुपाल्चोकका तत्कालीन स्थानीय विकास अधिकारी युवराज कट्टेल सुनकोसी नदी किनारमा सञ्चालित क्रसर अनुगमनमा निस्किए । अनुगमनका क्रममा अरनिको राजमार्गसँगै सार्वजनिक जग्गा अतिक्रमण गरी इन्द्ररत्न क्रसर उद्योग सञ्चालन गरेको भेटियो । सदरमुकाम चौतारा फर्किएका उनले जिल्ला विकास समितिका अधिकृत गोकुल बस्नेतलाई सुरक्षाकर्मीको टोलीसहित क्रसरमा ताला लगाउन पठाए ।

राजनीतिक दबाबमा क्रसर खुलाउन व्यापारीले चलखेल गरे । त्यसको केही दिनमै मुख्यसचिव लीलामणि पौडेलले ताला लगाएको विषयमा कट्टेलसँग जवाफ मागे । कानुनविपरीत क्रसर चलाएको भन्दै ताला नखोल्ने अडान कट्टेलले लिएपछि पौडेलले साथ दिए । त्यसपछि कट्टेलविरुद्ध क्रसर सञ्चालक अख्तियार पुगे । अख्तियार प्रमुख थिए– लोकमानसिंह कार्की । कार्कीकै आदेशमा अख्तियारले ताला खोल्न कट्टेललाई पत्र पठायो । उनले पुरानै अडान दोहोर्‍याए । केही महिनामै उनको सरुवा भयो । सर्वदलीय बैठकले क्रसर खोल्ने निर्णय गर्‍यो । त्यसपछि क्रसर निर्बाध सञ्चालन भइरहेको छ ।

२०७१ मा सिन्धुपाल्चोकमा अवैध क्रसरलाई कारबाही गर्दा सरुवामा परेका कट्टेल २०७४ मा नवलपरासीको स्थानीय विकास अधिकारी हुँदा पनि क्रसर व्यवसायीकै दबाबमा सरुवा भए । नवलपरासीमा उनले २१ क्रसरलाई राजस्व हिनामिनाको कसुरमा १२ करोड जरिवाना मागदाबीसहित अदालतमा मुद्दा दर्ता गरेका थिए । मुद्दा दर्ता गरेर फर्किएका कट्टेललाई कार्यालय नपुग्दै प्रधानमन्त्री कार्यालयले संघीय मामिला मन्त्रालयबाट वन मन्त्रालयमा सरुवा गरेको थियो ।

सर्लाहीको धनकौलमा सञ्चालित क्रसर । तस्बिर : कान्तिपुर

नदीजन्य वस्तुको अवैध उत्खनन रोक्न र योसम्बन्धी कानुन बनाउन सर्वोच्च अदालतले सरकारलाई दिएको आदेश पालना भएको छैन । २०७७ चैत ९ मा सर्वोच्चले भनेको थियो, ‘बालुवा, रोडा, गिट्टी र ढुंगाको उत्खनन गर्ने कार्यलाई नियन्त्रण र वातावरण संरक्षण गर्न संवेदनशील भई विशेष ध्यान पुर्‍याउन आदेश जारी गरिन्छ ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव रुद्रसिंह तामाङले नदीजन्य पदार्थको दोहन नियन्त्रण गर्न र व्यवस्थित रूपमा उत्खनन गर्न कानुन निर्माण गर्न लागिएको बताए । ‘नदीजन्य पदार्थको अवैध उत्खनन र दोहन रोक्न छुट्टै कानुन आवश्यक देखियो,’ तामाङले कान्तिपुरसँग भने, ‘त्यसका लागि विधेयकको मस्यौदा बनाएर सैद्धान्तिक सहमतिका लागि अर्थमा पठाइएको छ ।’

नयाँ सरकार बनेपछि गृहले पुस २० मा देशभरका अवैध क्रसर उद्योग बन्द गर्न र त्यसको विवरण पठाउन निर्देशन दिएको थियो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले नदी तथा खोलाबाट कानुनविपरीत ढुंगा, गिट्टी, बालुवा उत्खनन र प्रशोधन गर्ने १ हजार २ सय १ क्रसर उद्योगको सूची आएको बताए । ‘त्यसमध्ये ६ सय ३५ वटा बन्द गरिएको छ । दर्ता नभएका, नवीकरण नगरिएका, वातावरणीय कानुनअनुसार सञ्चालन नभएका र सरकारी/सार्वजनिक जग्गा ओगटेर राखिएका क्रसर बन्द गर्न निर्देशन दिइएको छ,’ उनले भने, ‘आनाकानी गरेमा ज–जसले संरक्षण दिएका छन्, उनीहरूमाथि कारबाही हुन्छ । यसमा कुनै पनि किसिमको मोलाहिजा हुँदैन ।’

प्रवक्ता पोखरेलका अनुसार बिहीबार बेलुकासम्म ७७ वटै जिल्ला प्रशासनबाट आएको विवरणअनुसार प्रदेश १ का १ सय ५ क्रसरमध्ये ३२ वटा मात्रै बन्द भएका छन् । त्यसबाहेक विभिन्न आयोजनाका नाममा सञ्चालित क्रसरको संख्या ३२ छ । मधेस प्रदेशका १ सय ३४ क्रसरमध्ये अवैध १ सय ९ वटालाई खनिज उत्खननमा रोक लगाइएको छ ।

सबैभन्दा बढी अवैध क्रसर वाग्मती प्रदेशमा छन् । वाग्मतीमा ५ सय ८८ क्रसरमध्ये अवैध ३ सय २७ वटा बन्द गरिएका छन् । त्यसबाहेक आयोजना र स्थानीय तहबाट ६० वटा क्रसर चलिरहेका छन् । गण्डकीमा ८८ अवैध क्रसरमध्ये ४७ वटा बन्द गराइएको छ । आयोजनाका नाममा गण्डकीमा थप १३ वटा क्रसर चलिरहेका छन् । लुम्बिनीका अवैध १ सय ३ क्रसरमध्ये १ सय १ वटालाई बन्द गरिएको छ ।

आयोजनाका नाममा लुम्बिनीका विभिन्न जिल्लामा ७ वटा सञ्चालित छन् । कर्णालीका ४४ अवैध क्रसरमध्ये ८ वटामात्रै बन्द भएका छन् । कर्णालीमा आयोजनामार्फत १३ क्रसर सञ्चालनमा छन् । सुदूरपश्चिमका अवैध ३९ मध्ये गृहको पछिल्लो निर्देशनपछि १२ वटा बन्द गरिएको छ । आयोजनामार्फत १३ वटा सञ्चालित छन् । कानुनविपरीत सञ्चालित सबै क्रसरलाई कारबाही गरिने प्रवक्ता पोखरेलले बताए ।

क्रसर र खानीजन्य उद्योग सञ्चालन गर्न खानी भूगर्भ विभागबाट स्वीकृति लिई स्थानीय तहमा दर्ता गराउनुपर्छ । उद्योग सञ्चालन गर्दा कम्तीमा २० रोपनी जग्गा हुनुपर्छ । उद्योग सञ्चालनअघि वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गरिएको छ । चुरे क्षेत्रमा त यस्ता उद्योग सञ्चालन गर्नै पाइँदैन ।

खानी तथा खनिजजन्य पदार्थ उत्खननसम्बन्धी मापदण्ड–२०७७ अनुसार घना बस्ती र वन क्षेत्रको दुई किलोमिटर, राजमार्गको ५ सय मिटर दूरीभित्रको नदी, सडक/पुल र झोलुंगे पुलको १ किमि तल र ५ सय मिटरमाथि उत्खनन गर्न नपाइने उल्लेख छ । त्यतिमात्र होइन, नदीजन्य पदार्थ उत्खनन गर्दा जलचरको जीवन पद्धतिमा असर पुग्ने काम गर्न पाइँदैन । तर, सार्वजनिक र सरकारी जग्गा ओगट्नेदेखि उत्खनन गरिएको पदार्थको वास्तविक परिमाण नै लुकाएर गैरकानुनी लाभ लिने क्रम रोकिएको छैन । प्रशासन र अनुगमन/नियमन गर्ने कर्मचारीले अवैध क्रसर बन्द गराउँदा उल्टै सरुवा भएका छन् ।

सुर्खेतमा बालुवा प्रशोधन र सिमेन्ट ब्लक निर्माण गर्नका लागि स्थापित एक क्रसर उद्योग । तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर

त्यस्तै सर्वोच्चले ‘मापदण्ड निर्देशिका २०७७ मा उल्लेखित क्रसर उद्योगको दूरीका सम्बन्धमा गम्भीर रूपमा पुनर्विचार गरी कार्यान्वयन गर्न निर्देशनात्मक आदेश दिएको थियो । त्यस आदेशमा भनिएको छ, ‘अवैध रूपमा सञ्चालित बालुवा प्रशोधन र क्रसर उद्योगलाई कानुनी प्रक्रिया अपनाएर बन्द गर्न लगाउने र मापदण्ड पूरा नगरी वैध रूपमा सञ्चालनमा रहेका त्यस्ता उद्योगलाई एक पटकलाई निश्चित समय अवधि दिएर मापदण्ड पूरा गर्न लगाउने ।’ सर्वोच्चले नदी तथा खोलामा क्रसरका एक्स्काभेटर, ट्र्याक्टर, जेसीबी र टिपरलाई प्रवेश नदिन आदेश दिएको थियो ।सर्वोच्चले आदेश अवज्ञा गर्ने उद्योगको दर्ता नै खारेज गर्न आदेश दिएको थियो तर न आदेश पालना भएको छ, न अवैध उद्योग बन्द गरिएको छ । नदी दोहन मात्र होइन, वातावरण संरक्षणमा पनि यसले थप जोखिम निम्त्याएको छ ।

२०७७ कात्तिक तेस्रो साता अवैध क्रसर/खानीजन्य उद्योग बन्द गराउन र नवीकरण नगरी सञ्चालनमा रहेकालाई कानुनी दायरामा ल्याउन विभिन्न मन्त्रालयका मन्त्री र सचिवको बैठकले निर्णय गरेको थियो । तत्कालीन गृहमन्त्री रामबहादुर थापासहितको बैठकले १५ दिनभित्र त्यस्ता क्रसर र खानी उद्योग बन्द गराउने निर्णय गरेको थियो । त्यही बैठकले ७७ वटै जिल्लामा सञ्चालित ढुंगा, गिट्टी, बालुवा तथा खानीजन्य उद्योगको संख्या, मापदण्ड पालना गरे/नगरेको तथा दर्ता भए/नभएको यकिन विवरण सात दिनभित्र पठाउन पनि प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको थियो । बैठकले ‘बिनादर्ता सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गर्ने/गराउने’ निर्णय गरेको थियो ।

त्यसअघि २०७६ माघ १३ मा पनि ढुंगा, गिट्टी, बालुवाको उत्खनन/प्रशोधन तथा बिक्रीवितरण मापदण्डअनुसार भए/नभएको अनुगमन गर्न तत्कालीन गृहमन्त्री थापाकै अध्यक्षतामा ५ सदस्यीय समिति बनेको थियो । समितिको प्रतिवेदनका आधारमा २०७७ साउन ५ मा मन्त्रिपरिषद्ले ‘ढुंगा, गिट्टी तथा बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७’ पारित गरेको थियो । मन्त्रिपरिषद्कै निर्णयअनुसार १५ दिनभित्र खानी उद्योग सञ्चालनबारेको अद्यावधिक प्रतिवेदन बनाएर मन्त्रिपरिषद्मा पेस गर्न संघीय मामिला मन्त्रालयलाई निर्देशन दिइए पनि त्यसअनुसार कुनै काम भएन ।

देशभर ६ हजारभन्दा बढी क्रसर प्रशोधन उद्योग रहे पनि डेढ सयभन्दा कम मात्रै दर्ता गरी सञ्चालनमा रहेकाले अवैधलाई बन्द वा जरिवाना तिराएर कानुनको दायरामा ल्याउनुपर्ने सुझाव ३ वर्षअघि सरकारद्वारा गठित सरकारी समितिको प्रतिवेदनले दिएको थियो । तर, प्रतिवेदन कार्यान्वयन त परको कुरा, वन र नदीनालाको सौन्दर्य नै सखाप पारेर दोहन गर्ने प्रवृत्ति बढेको छ । ठेकेदार, जनप्रतिनिधि, गुन्डा तथा शक्तिकेन्द्रसँग निकट रहेका व्यक्तिकै मिलेमतोमा सर्त, मापदण्ड र बिनादर्ता अवैध उत्खनन तथा दोहन भइरहेको छ ।

प्रकाशित : पुस २९, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्

सत्ता र शक्तिविरुद्ध मतदाता

०४८ यताका सबैजसो निर्वाचनमा प्रधानमन्त्री, गृहमन्त्रीजस्ता शक्तिशाली र साधन स्रोतसम्पन्न व्यक्तिहरुलाई मतदाताले पत्याएका छैनन्
मातृका दाहाल, ऋषिराम पौड्याल

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले कात्तिक २६ मा बुटवलमा कांग्रेसनिकट नेपाल दलित संघले आयोजना गरेको चुनावी कार्यक्रममा भनेका थिए, ‘गोप्य अध्ययनले १ सय ३१ क्षेत्रमा गठबन्धन विजयको माला पहिराउने गरी अगाडि देखिएको छ ।’ खाँण आफैं पनि प्रतिनिधिसभातर्फ रूपन्देही–३ बाट राप्रपाका दीपक बोहरासँग प्रतिस्पर्धामा थिए । खाँणले थपेका थिए, ‘थप २३ क्षेत्रमा पनि प्रतिस्पर्धीका रूपमा गठबन्धन देखापरेको छ । एमाले २१ क्षेत्रमा मात्रै अगाडि छ ।’

खाँणको दल कांग्रेससहित माओवादी, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा देशभर एमालेविरुद्ध गठबन्धन गरेर चुनावमा होमिएका थिए । एमालेले केही सिटमा राप्रपा र जसपासँग तालमेल गरेको थियो । त्यही मेसोमा चुनावी कार्यक्रममै खाँणले गोप्य रिपोर्टको हवाला दिँदै गठबन्धन एक्लैले प्रत्यक्षमा बहुमतनजिक सिट जित्ने दाबी गरेका थिए । उक्त अभिव्यक्तिपछि सुरक्षा संयन्त्र दुरुपयोग गरेर रिपोर्ट तयार पारेको भन्दै खाँणको आलोचना भएको थियो ।

हुन पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको खटनपटन गृह मन्त्रालयबाटै हुन्छ । प्रधानमन्त्री मातहत राखिए पनि राष्ट्रिय अनुसन्धान विभागले शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, कानुन कार्यान्वयन र सूचना संकलनलगायतका काम गृहमन्त्रीकै खटनपटनमा गर्ने गर्छ । चुनावी सुरक्षा रणनीति निर्माण र कार्यान्वयनमा सेनाले केन्द्रीय सुरक्षा समितिअन्तर्गत रहेर काम गर्छ । सुरक्षा समितिको अध्यक्ष स्वयं गृहमन्त्री हुन् । राज्यका महत्त्वपूर्ण र गोप्य सूचनाको पहुँच गृहमन्त्रीसँग रहन्छ । त्यसकै आडमा खाँणले सिट संख्या तोकेरै अभिव्यक्ति दिएको आशंका गरिएको थियो ।

उक्त अभिव्यक्तिको अर्को साता प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि चुनाव सम्पन्न भयो । मत परिणाम आउने क्रम जारी छ । आगामी ५ वर्ष कुन दलको कस्तो हैसियत रहन्छ भन्ने लगभग अनुमानयोग्य भएको छ । मत परिणाम अन्तिम चरणमा पुग्दा गृहमन्त्री खाँणले दिएको अभिव्यक्ति गलत सावित मात्रै भएन, उनी आफैंले पनि जित्न सकेनन् । उनको ठाउँमा राप्रपाका दीपक बोहरा विजयी भएका छन् । सत्ता गठबन्धनले चुनावअघि गरेको प्रक्षेपण पनि गलत ठहरियो । चुनावले गठबन्धनमा आबद्ध माओवादी र एकीकृत समाजवादीलाई ठूलै धक्का दियो । कांग्रेसले पनि अनुमान गरेभन्दा कम सिटमा चित्त बुझाउनुपरेको छ । गठबन्धनले सानो आकारमा खुम्चिने आकलन गरेको एमाले कांग्रेसकै हाराहारीमा रहने देखिएको छ । योभन्दा रोचक त अघिल्लो आमनिर्वाचनमा राष्ट्रिय पार्टी नै बन्न नसकेको राप्रपा उल्लेख्य सिटसहित संसद् प्रवेश गर्दै छ । राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमै उल्लेख्य सिट जितेको छ । नागरिक उन्मुक्ति र जनमत पार्टी क्षेत्रीय शक्तिका रूपमा उदाएका छन् ।

सत्ता र शक्तिमा रहेका दलले विगतको नतिजालाई देखाएर तथा सरकारी स्रोत साधनको नजानिँदो रूपमा दोहन गरेर जनमत तान्ने प्रयासलाई यस पटक मतदाताले दण्डित गरिदिएका छन् । राजनीतिशास्त्रका प्राध्यापक लोकराज बरालका अनुसार जनतामा आएको चेतनाका कारण शक्तिको दुरुपयोग कम हुँदै गएको छ । भन्छन्, ‘अब शक्तिमा बस्नेले निर्वाचनमा धाँधली गरेर जित्छु भन्ने मानसिकता नराख्दा हुन्छ । समय नै पारदर्शिताको आएकाले त्यो सम्भव छैन ।’

हरेकजसो निर्वाचनमा ‘सरकारमा रहेका दलले राज्यको स्रोत साधन र शक्ति दुरुपयोग गरेर जनमत पोल्टामा पारेको’ आरोप लाग्ने गर्छ । हुन पनि चुनाव आफ्नो पक्षमा पार्न सरकारमा भएका दलले सुरक्षाकर्मीदेखि प्रशासन र मतदान अधिकृतसम्मलाई दुरुपयोग गरेका कैयौं तथ्य र प्रमाण बाहिरिएका पनि छन् । तर, अपवादबाहेक सत्ता र शक्तिमा रहेर निर्वाचन गराउने दल तथा नेताको विपक्षमा जनमत गएको देखिन्छ । पूर्वगृह सचिव खेमराज रेग्मी शक्तिको दुरुपयोग गरेर निर्वाचन जित्ने अवस्था अन्त्य हुँदै गएको बताउँछन् । पञ्चायतमा कतै–कतै प्रशासन लगाएर धाँधली गर्न खोज्दा त सम्भव थिएन, अब झन् कठिन छ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी हुन् या जिल्ला प्रहरी प्रमुख, शक्तिमा रहने कसैकसैले व्यक्तिगत स्वार्थका लागि राजनीतिक व्यक्तिलाई रिझाउन खोजे पनि फिल्डका कर्मचारीले नमान्ने अवस्था बनेको उनी बताउँछन् । शक्तिमा हुनेको फुर्तिफार्तीले मतदातामा झन् बढी नकारात्मक असर पर्ने धारणा उनको छ । ‘प्रमुख जिल्ला अधिकारीले अह्राउने प्रहरी प्रमुखलाई हो, उसले पनि मातहतका जुनियर अफिसरलाई अह्राउने हो,’ उनी भन्छन्, ‘ती जुनियरहरू शिक्षित भएर सेवामा प्रवेश गरेका हुन्छन् । सही के, गलत के छुट्याउन सक्छन् ।’

२०४६ को बहुदलपछि पाँचवटा आमनिर्वाचन र दुई पटक संविधानसभा सदस्य निर्वाचन भए । एकाधबाहेक अधिकांशको नतिजाले पहिले ठूलो शक्तिमा रहेका दललाई जनताले ‘सबक’ सिकाएको देखिन्छ । कतिसम्म भने प्रधानमन्त्री, गृहमन्त्री र विगतमा शक्तिशाली मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका स्थापित नेताहरूले पराजय भोगेको देखिन्छ । ०४६ मा प्रजातन्त्र बहालीपछि अन्तरिम सरकारमा कांग्रेस सभापति कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री र कांग्रेसकै नेता योगप्रसाद उपाध्याय गृहमन्त्री बने । त्यही सरकारले ०४८ मा आमनिर्वाचन गरायो । पार्टीलाई भट्टराईले बहुमत दिलाए तर उनी स्वयं भने काठमाडौं–१ मा कम्युनिस्ट नेता मदन भण्डारीसँग पराजित भए । आमनिर्वाचनबाट त्यसबेलाको २ सय ५ सिटमा कांग्रेस एक्लैले १ सय १०, एमालेले ६९, संयुक्त जनमोर्चाले ९ सिट र बाँकी अरूले जितेका थिए ।

निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसको एकल बहुमतको सरकार गठन भयो । शेरबहादुर देउवा गृहमन्त्री भए । आमनिर्वाचनबाट दिइएको ५ वर्षे जनादेशको अवधि नपुग्दै २०५१ मा मध्यावधि निर्वाचन भयो । प्रधानमन्त्री कोइराला र गृहमन्त्री देउवाले गराएको निर्वाचनबाट कांग्रेसको हैसियत खुम्चियो, ठूलो दल एमाले बन्यो । कांग्रेस ८३ सिटमा सीमित भयो भने ८८ सिटसहित एमालेले अल्पमतको सरकार बनायो । ९ महिनामै सरकार ढलेपछि कहिले राप्रपाको लोकेन्द्रबहादुर चन्द समूह त कहिले राप्रपाकै सूर्यबहादुर थापा समूहसँग मिलेर कांग्रेस र एमालेले सरकार बनाउने/ढाल्ने खेल खेलिरहे । त्यही क्रममा अर्को आमनिर्वाचन हुनुअघि नै एमाले फुट्यो । त्यसको असर २०५६ को आमनिर्वाचनमा पर्‍यो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री गोविन्दराज जोशी थिए । त्यस निर्वाचनबाट एमाले पुरानो हैसियत गुमाएर ७१ सिटमा खुम्चियो भने कांग्रेसले एकल बहुमतसहित १ सय ११ सिट जित्यो ।

२०६२/६३ को जनआन्दोलनपछि संविधानसभाबाट संविधान लेख्ने सर्तसहित माओवादी शान्ति प्रक्रियामा आयो । सात दल र माओवादीबीच भएको सम्झौताअनुसार संविधानसभा निर्वाचन गराउने गरी कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौलासहित ७ दलीय गठबन्धनको सरकार बनेको थियो । त्यही सरकारले २०६४ चैतमा गराएको संविधानसभा निर्वाचनमा शक्तिशाली गृहमन्त्री सिटौला माओवादीका जिल्लास्तरका नेतासँग पराजित भए । त्यति मात्र होइन, कांग्रेस माओवादीभन्दा सिटका आधारमा निकै तल खुम्चियो । स्थापित दल कांग्रेस र एमालेलाई निकै तल धकेलेर माओवादीले एक्लै प्रत्यक्षमा १ सय २० र समानुपातिकमा १ सय सिट हात पार्‍यो । कांग्रेस प्रत्यक्षमा ३७ र समानुपातिकमा ७३ तथा एमाले प्रत्यक्षमा ३३ र समानुपातिक ७० सिटमा खुम्चिए ।

संविधान लेख्न नसकी कार्यकाल सकिएपछि म्याद थपेर संविधान लेख्ने प्रयास भए पनि कांग्रेस र एमालेले असहमति जनाए । त्यसपछि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्यो । गैरराजनीतिक व्यक्तिहरूको सरकारमा माधव घिमिरे गृहमन्त्री थिए । त्यो सरकार गठनमा एमाले–कांग्रेसकै रुचि थियो । त्यसले गराएको चुनावमा अघिल्लो पटक सबैभन्दा ठूलो दल बनेको माओवादी तेस्रोमा खुम्चियो । कांग्रेस र एमालेको पक्षमा नतिजा आयो । संविधान जारी भएपछि संघीय अवधारणाअनुसार ०७४ मा आमनिर्वाचन सम्पन्न भयो । चुनावी सरकारको नेतृत्व देउवाले गरेका थिए ।

गृहमन्त्रीको समेत कार्यभार सम्हालेर चुनाव गराएका देउवाले पार्टीको आकार भने थप घटाए । चुनावले एमाले र माओवादीको पक्षमा करिब दुई तिहाइ जनमत दियो । त्यसपछि केपी शर्मा ओली एमालेबाट प्रधानमन्त्री भए । माओवादी–एमाले एकता भएर नेकपा बन्यो । तर अनेक राजनीतिक खिचातानीका कारण उत्पन्न परिस्थिति र संसद् विघटनको खेलले नेकपा विभाजित भएर एमाले र माओवादी आ–आफ्नै हैसियतमा फर्किएपछि नयाँ राजनीतिक समीकरण बन्यो । २०७८ असारमा देउवा प्रधानमन्त्री बने । त्यसपछिको करिब डेढ वर्ष कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको सरकारले हालै चुनाव गरायो तर गृहमन्त्री खाँण नै पराजित भएका छन् । उनी मात्रै होइन, पूर्वगृहमन्त्री कृष्ण सिटौला पनि राजावादी नेता राजेन्द्र लिङ्देनसँग झापामा पराजित भए । पूर्वगृहमन्त्री कमल थापालाई उनकै राजनीतिक चेला राप्रपाका दीपक सिंहले मकवानपुरबाट पराजित गरे । पश्चिम नवलपरासीमा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई राप्रपाकै ध्रुवबहादुर प्रधानले हराए ।

प्रकाशित : मंसिर ११, २०७९ ०७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×