बल्देधुरी झडप प्रकरण : हत्या अभियोगमा १६ जनालाई जन्मकैद

२०७७ सालको चैत १५ गते होली खेल्ने क्रममा भएको झडपमा बागलुङको निसीखोला गाउँपालिका–७ का प्रकाश कुँवर र दीपक परियारको मृत्यु भएको थियो ।
प्रकाश बराल

बागलुङ — दुई युवाको हत्या अभियोग लागेका बागलुङका १५ जना युवालाई जन्मकैदको फैसला भएको छ । घटनामा संलग्न एक बालकलाई सुधारगृह पठाइने भएको छ । २०७७ सालको चैत १५ गते होली खेल्ने क्रममा भएको झडपमा बागलुङको निसीखोला गाउँपालिका–७ का प्रकाश कुँवर र दीपक परियारको मृत्यु भएको थियो ।

कुटपिट गरेपछि भीरबाट खसाल्दा मृत्यु भएको प्रहरी अनुसन्धानमा खुलेपछि बडिगाड गाउँपालिका १०का १८ जना युवाहरु पक्राउ परेका थिए । पक्राउ परेकामध्ये १५ जनालाई जन्मकैद भएको हो । दुई जना तारेखमा छुटेका थिए ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको मंगलबारको इजलासले घटनाका दोषीलाई फौजदारी संहिताको दफा १७७ (२) अनुसार जन्मकैद फैसला भएको इजलास अधिकृत गंगाराम सापकोटाले जानकारी दिए । उनीहरुलाई २५ वर्ष कैद हुनेछ ।

२०७७ चैत १५ गते भएको घटनाका अभियुक्त अधिकांश पुर्पक्षमा थिए । पक्राउ परेका रेशम बुढामगर, रेशम भन्ने भेषराज बुढा, मिलन बुढा मगर, झनबहादुर बुढा, समबहादुर बुढा, तेजपाल भन्ने तेजेन्द्र छन्त्याल, सुमन बुढा, सूर्य बुढा, कुमार छन्त्याल, तीर्थराज बुढा, बिमल बुढा, रुपेश बुढा मगर, हस्तबहादुर बुढा, राजु बुढा र अर्पण बुढालाई जन्मकैदको फैसला भएको हो ।

१८ वर्षमुनिको भएकोले एकजनालाई भने सुधारगृह पठाउने फैसला गरिएको छ । घटना हुँदाको दिन उनी १७ वर्ष ९ महिना १७ दिनको भएको खुलेको छ । घटनापछि प्रहरीले केहीलाई गाउँबाटै र केही भागेर गएको अबस्थामा भैरहवाबाट पक्राउ गरेर ल्याएको थियो ।

प्रकाशित : पुस २८, २०७९ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्

स्ववियु निर्वाचन समयमै गर्न नेविसंघको ध्यानाकर्षण, बनायो दुई समिति

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्यार्थी संघले तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्न त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएको छ । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले तोकिएको मितिमै स्ववियु निर्वाचन सुनिश्चिन गर्न माग गर्दै त्यसको तयारीमा जुट्न निर्देशन गरेका छन् । शेर्पाले निर्वाचन सम्पन्न गर्न दुई वटा तयारी समिति समेत गठन गरेका छन् ।

त्रिविले चैत्र ५ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको छ । ‘समयमै परीक्षाफल प्रकाशित नहुनु र शैक्षिक बेरोजगारको सिर्जना हुनुले शैक्षिक क्षेत्रमा देखिएका ढिलासुस्ती र नीतिगत कठिनाइलाई चिर्न स्ववियु निर्वाचन अनिवार्य शर्त भएको छ,’ अध्यक्ष शेर्पाले भनेका छन् ।

उनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सशक्त ढंगले सहभागी भइ निवार्चनलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन समेत निर्देशन गरेका छन् । नेविसंघले पूर्वकेन्द्रीय सदस्य पूजन गन्धर्वको नेतृत्वको घोषणा पत्र तयारी समिति गठन गरेको छ भने सन्तोष उपाध्यायको नेतृत्वको प्रचार प्रसार समिति गठन गरेको छ ।

प्रकाशित : पुस २८, २०७९ १२:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×