कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नास्टमा रोकियो रेडियोधर्मी परीक्षण

गोविन्द पोखरेल

काठमाडौँ — स्वास्थ्य संस्थामा एक्सरे र सिटीस्क्यान कक्षका प्राविधिक विकिरणको जोखिममा हुन्छन् । रेडियोधर्मी विकिरण निस्कने ती कक्षमा काम गर्नेहरूले सरदर ३/३ महिनामा आफ्नो स्वास्थ्य जाँच गराउनुपर्छ र आफ्नो शरीरले ती विकिरण कति धारण गरिरहेको छ भन्ने पत्ता लगाउनुपर्छ ।

नास्टमा रोकियो रेडियोधर्मी परीक्षण

प्राविधिकहरूका अनुसार शरीरले धेरै विकिरण धारण गरेकाहरूलाई विभिन्न प्रकारका क्यान्सरको जोखिम हुन्छ । त्यसैले शरीरले रेडियोधर्मी विकिरण कति सोसेको छ भनेर मात्रा थाहा भएपछि सावधानी अपनाउन सहज हुन्छ ।

विकिरण निकाल्ने उपकरण प्रयोग गर्दा स्वास्थ्यकर्मी तथा रेडियोलोजिस्टले टीएलडी कार्ड लगाउने गर्छन् । उक्त कार्डमा हुने चिप्स जस्तो देखिने थर्मो लुमिनेसेन्ट क्रिस्टलले विकिरण सोस्छ । त्यो क्रिस्टललाई टीएलडी रिडरमा परीक्षण गर्दा विकिरणको मापन र त्यसको जोखिम निर्धारण हुन्छ ।


मानव शरीरमा रेडियोधर्मी पदार्थको मात्रा परीक्षण नेपालमा विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले गर्दै आएको थियो । हाल थर्मो लुमिनेसेन्ट डोसिमिटर (टीएलडी) को उक्त सेवा रोकिएको छ । नास्टले यो सेवा रोकेपछि रेडियोधर्मी उपकरण प्रयोग गर्ने प्राविधिकहरूको जोखिमको मूल्यांकन हुन छाडेको छ ।

मुलुकमा रेडियोधर्मी उपकरण सबैभन्दा बढी प्रयोग स्वास्थ्य क्षेत्रमा हुने गरेको छ । नास्टले सन् २०१८ देखि रेडियोधर्मी विकिरण उत्पादन, उपकरण प्रयोग गर्ने संस्थाहरूलाई टीएलडी कार्ड वितरण गरेको थियो । सुरुमा करिब ९ सय जनालाई कार्ड वितरण गरिएको थियो । स्वास्थ्यकर्मी तथा रेडियोलोजी प्राविधिकहरूले आफ्नो शरीरले लिएको विकिरणको मात्रा थाहा पाउने हरेक तीन/तीन महिनामा टीएलडी कार्डको परीक्षण गर्नुपर्छ ।


सामान्यतः एक जनाले एक वर्षमा २० मिलिसिभर्टभन्दा बढी विकिरण सोसेको खण्डमा उसको स्वास्थ्यमा जोखिम बढ्ने भौतिकशास्त्री रुद्र खनाल बताउँछन् । ‘२० मिलिसिभर्टभन्दा बढी मात्रामा लियो भने शरीरमा ट्युमर वा क्यान्सरको जोखिम बढ्छ,’ उनले भने, ‘तोकिएको मात्राभन्दा बढी सोसेको पाइएमा सम्बन्धित व्यक्तिलाई काममा खटाइँदैन ।’ भारतको बाबा न्युक्लियर सेन्टरमा विद्यावारिधि गरिरहेका खनालका अनुसार नेपालमा गरिएको पछिल्लो अध्ययनहरूमा एउटा कार्डमा ५ मिलिसिभर्टसम्म विकिरण पाइएको थियो ।

नेपाललाई अन्तर्राष्ट्रिय आणविक ऊर्जा नियोग (आईएईए) ले करिब १ हजार ३ सयवटा टीएलडी कार्ड दिएको थियो । तीमध्ये नास्टले ९ सय व्यावसायिक र ४ सय अध्ययन प्रयोजनका लागि राखेको थियो । टीएलडी कार्डमा मानिसहरूले लिएको विकिरणको अध्ययन तथा परीक्षण गरेर नास्टले रिपोर्ट आईएईएलाई समेत बुझाउँदै आएको थियो ।


विज्ञान मन्त्रालयलाई आईएईएले यो कार्ड उपलब्ध गराएपछि नास्टमार्फत परीक्षणको सेवा सुरु गरिएको थियो । नास्टले महाराजगन्जको त्रिवि शिक्षण अस्पताललाई २५, थापाथलीको नर्भिकलाई ४५, नेपालगन्जको सुशील कोइराला क्यान्सर अस्पताललाई ११ र अन्य स्वास्थ्य संस्था तथा पोलिक्लिनिकहरूलाई टीएलडी कार्ड उपलब्ध गराएको छ । कार्ड परीक्षण शुल्क १ हजार रुपैयाँ तोकिएको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयको नियमन तथा अनुसन्धान शाखाका उपसचिव प्रह्लाद पोखरेल भन्छन्, ‘रेडिएसनमा काम गर्नेहरूले टीएलडी कार्ड लगाउनैपर्छ । यो कार्ड लगाएपछि कति मात्रामा रेडिएसन लिइरहेको थाहा हुन्छ र नियमन गर्न सजिलो हुन्छ ।’

नेपालमा परीक्षणको सेवा सुरु हुनुअघि अस्पताल तथा क्लिनिकहरूमा प्रयोग गरिएको टीएलडी कार्ड परीक्षणका लागि भारतको बाबा एटोमिक रिसर्च सेन्टर पठाउने गरिएको थियो । नास्टले यही सेवा दिन भनेर ३ करोड खर्चेर टीएलडी रिडर मेसिन खरिद गर्नुका साथै परीक्षण पनि गर्दै आएको थियो । तर, कर्मचारी अभावको कारण देखाउँदै नास्टले हाल सेवा बन्द गरेको छ । निजी कम्पनीमार्फत परीक्षण गराउने नियतले नास्टले परीक्षण बन्द गरेको दाबी त्यहींका एक अनुसन्धानकर्ताले गरे । उनले कान्तिपुरसँग भने, ‘एक जना अनुसन्धानकर्तालाई करारमा राख्नेबित्तिकै सेवा तत्कालै सुरु गर्न सकिन्छ । तर, त्यसो नगरी निजी क्षेत्रलाई दिन चलखेल भइरहेको छ ।’


२०७८ मंसिरदेखि गत कात्तिकसम्म नास्टले टीएलडी रिडर मेसिन बिग्रिएको जनाएपछि कार्डलाई परीक्षणका लागि मलेसिया पठाइएको थियो । नास्टको विज्ञान संकाय मातहतको भौतिकशास्त्र विभागले यसको परीक्षण गर्दै आएको थियो । विभागका वैज्ञानिक डा. बुद्धराम साह एक वर्षका लागि अमेरिका गएपछि अर्का वैज्ञानिक डा. विपिन मुल्मीले हेर्दै परीक्षणको काम आएका थिए । मुल्मी पनि अध्ययनका लागि जापान गएपछि गत शुक्रबारदेखि परीक्षण सेवा फेरि रोकिएको छ ।

नास्टका सचिव डा. महेश अधिकारीका अनुसार परीक्षण गर्ने वैज्ञानिकहरू अध्ययनको सिलसिलामा विदेश गएकाले सेवा सञ्चालनमा बाधा भएको हो । नयाँ भर्ना प्रक्रिया चलिरहेको बताउँदै समस्या समाधान हुने उनले बताए । प्रवक्ता डा. रवीन्द्र ढकाल जनशक्ति अभावका कारण र इन्टर्नमा रहेका अनुसन्धानकर्ताहरूलाई हस्ताक्षर गराउन नमिल्ने भएकाले सेवा बन्द भएको जिकिर गर्छन् ।

‘यो सेवा बन्द हुँदा स्वास्थ्य सेवालाई नै असर गर्ने देखिएकाले समस्या समाधानका लागि नास्ट गम्भीर छ,’ उनले भने । त्रिवि शिक्षण अस्पतालका रेडियोलोजी विभागका इन्चार्ज विष्णुहरि सिंह टीएलडी कार्ड लिएपछि शरीरमा विकिरण कति मात्रामा गएको थाहा हुने भएकाले जोखिम मूल्यांकनका लागि कार्डको नियमित परीक्षण अनिवार्य भएको बताउँछन् ।

विज्ञान मन्त्रालयले नियमित रूपमा विकिरण निकाल्ने उपकरणको अनुगमन गर्दा डोसिमिटर प्रयोगलाई अनिवार्य गरेको छ । तर, कानुन अभाव देखाएर मन्त्रालयले विकिरण उपकरणहरू प्रयोगस्थलको अनुगमन गरेको छैन । अनुगमन शाखाका अधिकृत राजन पन्थीले अनुगमन गर्ने तयारी र छुट्टै निर्देशिका पनि बनिरहेको जानकारी दिए ।

प्रकाशित : पुस २८, २०७९ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?